आपतकालमा तपाईंको ज्यान जोगाउन सक्ने स्मार्टफोनको फिचर, यसरी सेट गर्नुहोस्


काठमाडाैं । तपाईंको फोनमा रहेका धेरै स्मार्ट फिचरहरुमध्ये इमर्जेन्सी कन्ट्याक्ट र मेडिकल आईडी थाहा पाइराख्न एकदमै जरुरी हुन्छ । सबैजसो स्मार्टफोनमा हुने यी फिचरबारे धेरैलाई थाहा हुँदैन । थाहा भए पनि खासै वास्ता गरेका हुँदैनन् । यदि तपाईं कुनै कारणले दुर्घटनामा पर्नुभयो वा डरलाग्दो गरी अप्ठ्यारोमा पर्नुभयो भने यसले तपाईंको जीवन रक्षा गर्न सक्छ ।

खासगरी आफू असहाय महसुस हुने गरी समस्यामा पर्दा यो फिचर निकै काम आउन सक्छ । यसमा आफ्नो इमर्जेन्सी सम्पर्क नम्बर र मेडिकल जानकारी राख्न बढीमा १० मिनेट जति लाग्छ । झञ्जट नमानी यत्ति काम गर्नुभयो भने तपाईंको फोन नै आपतमा तपाईंको जीवन रक्षा गर्ने साथी बन्न सक्छ । 

आईफोनमा यसरी राख्नुहोस् ‘मेडिकल आईडी’

आईफोनमा भएको मेडिकल आईडी फिचरमा सुरुमा तपाईंलाई इमर्जेन्सी अवस्थामा फेला पार्ने मान्छेले पहुँच पाउँछ । उसले लक भएकाे आईफोनमा बिना पासकाेड पहुँच राख्न सक्छ । फाेनमा तपाईंको आईडीमा तपाईंको कुनै पनि स्वास्थ्य अवस्था, औषधिले निम्त्याउने एलर्जी र इमर्जेन्सी सम्पर्क नम्बरहरु राख्न सकिन्छ । यहाँ उल्लेख गरिएको तरिका अपनाएर आईफोनमा तपाईं आफ्नो मेडिकल आईडी बनाउन सक्नुहुन्छ । 

  • सुरुमा ‘Health’ एप खोल्नुहोस् र माथि सिरानीको दायाँ कुनामा रहेको ‘Your profile picture’ मा ट्याब गर्नुहाेस् । 
  • मेडिकल डिटेल भित्र रहेको Medical ID लाई छनौट गर्नुहोस् र इडिट गर्नुहोस् ।
  • इमर्जेन्सीमा सघाउने व्यक्तिले थाहा पाउन जरुरी सूचना त्यसमा भर्दै जानुहोस् ।
  • अनि ‘Show when locked’ लाई टर्न अन राख्नुहोस् ।
  • एक पटक तपाईंले आफ्नो सूचनाहरु भरिसकेपछि ‘Done’ मा ट्याप गर्नुहोस् ।

आफ्नो मेडिकल आईडी हेर्न तथा यो कस्तो देखिन्छ भनेर थाहा पाउन अनि अरु कसैले मेडिकल आईडीमा कसरी पहुँच पाउन सक्छ भन्ने कुरा जान्नका लागि आईफोनलाई अनलक गर्न माथितर्फ स्वाइप गर्नुहोस् ।

एक पटक आफ्नो पासकोड राख्ने कोसिस गर्नुहोस् । त्यहाँ तपाईंले स्क्रिनको तल्लो भागमा इमर्जेन्सी लेखिएको देख्नुहुनेछ । त्यसमा ट्याप गर्नुभयो भने आफ्नो मेडिकल आईडी देख्न सक्नुहुनेछ । 

एन्ड्रोइड फोनमा इमर्जेन्सी विवरण राख्न यसो गर्नुहोस्

एन्ड्रोइडमा यो प्रक्रिया फोनको ब्राण्ड र अपरेटिङ सिस्टमअनुसार फरक हुन सक्छ । तपाईंले बुझ्नुपर्ने कुरा के हो भने तपाईंको फोन लिने जो कोहीले तपाईंको फोन अनलक नगरी तपाईंको सन्देश र आपतकालीन जानकारी हेर्न सक्दछ ।

एन्ड्राेइड फाेनमा इमर्जेन्सी विवरण राख्न सबैभन्दा पहिले फाेनमा रहेकाे Setting एप खाेल्नुहाेस् । यसपछि स्क्रिनको सिरानीमा रहेको सर्चबारमा Emergency information लेखेर सर्च गर्नुहोस् । त्यसमा रहेको एउटा परिणामले तपाईंलाई सेटिङको उपयुक्त स्थानमा पुर्‍याउनेछ ।

उदाहरणका लागि सामसङ प्रयोगकर्ताले Setting एप हुँदै ‘फोन’ अप्सन खोली कन्ट्याक्ट ट्याबमा गएर माई प्रोफाइलभित्रको अन्तिममा जानुहाेस् । त्यहाँ रहेको इमर्जेन्सी इन्फरमेशन सेक्सनमा आफूले सेयर गर्न चाहेको मेडिकल र इमर्जेन्सी सूचनाहरु राख्नुहोस् । यति गरेपछि तपाईंको मेडिकल आईडी तथा इमर्जेन्सी कन्ट्याक्ट तयार हुन्छ ।

अरुले तपाईंको फोन हेर्दा कस्तो देखिन्छ भनेर हेर्न वा अरु कसैको फोनमा मेडिकल सूचना हेर्ने अभ्यासको रुपमा पावर बटन दबाएर वा स्क्रिनमा ट्याप गरेर फोन अनलक गर्ने कोसिस गर्नुहोस् । पासवर्ड राख्ने स्थानमा पुगेपछि त्यहाँ रहेको इमर्जेन्सी वा इमर्जेन्सी कल मा जानुहाेस्  । भित्र गइसकेपछि तपाईंले मेडिकल सूचना देख्न सक्नुहुनेछ । 

एन्ड्राेइड फाेनमा कम्पनी र अपरेटिङ सिस्टमअनुसार यसकाे प्रक्रिया र फिचर फरक फरक हुने गर्छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0