होटल व्यवसायबाट सडकमा पुगेकी कौशाको कथा – Online Khabar


३० जेठ, धनगढी । कोठाको एक कुनामा राखिएको सकिनै लागेको चामलको बोरा देखाउँदै भनिन्, ‘हेर्नुस् सर खाने ७ जनाको परिवार छ । अन्नको नाममा यति आधा कठ्ठा चामलमात्र हो । यो पनि कति दिन पुग्ने हो थाहा छैन । सकिएपछि के गर्ने भन्ने चिन्ताले सताउन थालिसक्यो ।’

उनले देखाएको त्यो चामल पनि आफैंले किनेको भने होइन, समस्यामा परेको थाहा पाएपछि केही दिनअघि एकजना मनकारी व्यक्तिले दिएका हुन् । एक पोका तेल, नुन, एक किलो दाल र २५ किलोको एक बोरा चामल पाउँदा कौशाको मन फरुङ्ग भएको थियो त्यतिखेर । ‘एक कठ्ठा (बोरा) चामल त हो सर आखिर कति दिन धान्थ्यो र ?’ उनले भनिन्, ‘लकडाउन भए पनि पापी पेटलाई खाना चाहिने नै रहेछ । छोराछोरीलाई भोकभोकै कसरी राख्नु मनले मान्दैन । यसरी नै सहयोग मागेर साँझ बिहानको छाक टारिरहेकी छु । दिनेले पनि कतिदिन दिन्छन् र ?’

यो तिनै कौशा बिष्टको नियती हो-जो २०६६ सालमा बाढीले घर, खेत बगाएपछि दार्चुलाबाट विस्थापित भएकी थिइन् । लेकम गाउँपालिका-१ मा रहेको बोरेगाड खोलामा आएको बाढीले घर, खेत बगाएपछि विस्थापित हुँदै केही समय सदरमुकाम बसेको थियो उनको परिवार । ४ छोरी र एक छोराकी आमा हुन् कौशा । सदरमुकाममा गुजरा नचल्ने भएपछि २०७४ सालमा स-परिवार कामको खोजी गर्दैै धनगढी झरिन् ।

धनगढी पुगेपछि मनस्थिति परिवर्तन हुनु पुग्यो । बरु ऋण काढेरै सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्ने सोच उनले बताइन् । सोही योजनाअनुसार धनगढीस्थित सब्जीमण्डीमा सटर भाडामा लिएर सानो होटल व्यवसाय सुरुआत गरिन् । श्रीमान-श्रीमती र छोराछोरी मिलेर होटल राम्रैसँग चलाइरहेका थिए तर दुर्भाग्य भन्नुपर्छ उनका श्रीमान दोस्रो विवाह गरेर हिँडे । श्रीमान अर्की श्रीमती लिएर दार्चुला गए पनि त्यसपछि उनीसँग कौशाको सम्पर्क भएको छैन । भन्छिन्, ‘छोराछोरीलाई केही समयसम्म फोन त गर्नुहुन्थ्यो । तर आजकल सम्पर्कमा हुनुहुन्न । खै कहाँ जानुभो ।’

श्रीमानले अर्को बिहे गरेर हिँडेपछि छोराछोरीको लालनपालन र शिक्षादीक्षा दिने जिम्मेवारी आमा कौशाकै काँधमा आइपर्यो । जेठी छोरी बुझ्ने भइसकेकीले उनलाई त्यति समस्या परेन । होटल व्यवसायलाई निरन्तरता दिने अठोट उनीहरुले गरे । सोहीअनुसार होटल राम्रैसँग चलिरहेको थियो । तर गत वर्ष कोरोना महामारीपछि जारी लकडाउनले उनीहरुको व्यवसायमा लात हान्यो । करिब ६ महिना लामो लकडाउनले व्यवसाय ठप्प भयो । साहुले लकडाउन अवधीमा पनि सटरको भाडा लिन भने छोडेनन् । मासिक १२ हजार रुपैयाँ भाडा तिर्न नसक्ने अवस्था आएपछि उनीहरुले साहुलाई सटरको चाबी बुझाए ।

०००

जेठी छोरीको पढाइ बीचमै छुट्यो । राम्रैगरी चलिरहेको होटल व्यवसायको लय टुट्यो अनि विष्टको परिवार आर्थिक संकटमा पर्यो । मासिक कोठा भाडा, छोराछोरीको स्कुलको शुल्क कसरी जोहो गर्न आपत पर्यो । भाइहरु विदेशमा रोजगारी गर्ने भएकाले केहीसमय उनीहरुले भरथेग गरे ।

होटल व्यवसाय छुटेपछि कौशाले ठेला व्यवसाय गर्ने सोच बनाइन् । जेठी छोरीले स्कुल छोडिसकेकाले व्यवसायमा अरुले भन्दा उनैले सघाउथिन् । विदाको दिन सबैजना मिलेर काम गर्थे । ठेलामा खाजाका परिकार बनाउने भएकाले राम्रै चलिरहेको थियो । ठेलाको कमाइले साँझबिहानको छाक टार्न, कोठा भाडा तिर्न र छोराछोरीको स्कुल फी तिर्न सघाउ पुगिरहेकै थियो । तर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि जारी निषेधाज्ञाले भने ठेला व्यवसाय रोकियो ।

डेढ महिनादेखि विष्टको परिवारको आम्दानीको स्रोत रोकिएको छ । प्रहरीले निषेधाज्ञामा सडकमा ठेला लगाउन नदिएपछि कौशाले दुई छाक टार्ने खर्च जुटाउन सकेकी छैनन् । थोरै बचतले जेनतेन एक महिना कटे पनि पछिल्लो दुई सातायता उनको परिवार समस्यामा परेको छ । ‘ठेलाको मासिक भाडा रु. १५०० पनि बुझाउन नसक्ने भएपछि त्यो पनि फिर्ता गरिसकें,’ उनले अनलाइनखबरसँग भनिन्, ‘मलाई रोग भन्दा पनि भोकको चिन्ता छ । परिवार कसरी पाल्ने, छोराछोरीको स्कुल फी कहाँबाट ल्याउने भन्ने पीर परेको छ ।’

०००

विष्टको परिवारले मासिक पाँच हजार तिर्ने गरी धनगढीमा दुई कोठा भाडामा लिएको छ । ३ महिनाको १५ हजार भाडा तिर्न बाँकी छ । जेठको समेत गरेर अब उनले २० हजार रुपैयाँ तिर्नुपनेर् छ । निषेधाज्ञा खुलेपछि सडकमा ठेला लगाएरै भए पनि कोठा भाडा तिर्ने अठोट उनको छ । तर निषेधाज्ञा कहिले पो खुल्छ पत्तो छैन ।

विष्टकी कान्छी छोरी ५ कक्षामा पढ्छिन् । छोरा ९ कक्षा, एक छोरी १० र अर्की छोरी १२ कक्षामा पढ्छन् । केही वर्ष अघि विवाह गरेकी जेठी छोरी पनि उनीसँगै बस्छिन् । ज्वाइँले दोस्रो विवाह गरेपछि छोरी र नातिनी पनि आफूसँगै बस्दै आएको उनले सुनाइन् ।

लकडाउनले होटल व्यवसायदेखि ठेला व्यवसायबाट समेत विस्थापित हुन पुगेका उनको परिवारलाई यतिबेला सहयोगको खाँचो छ । सो कुरा थाहा पाएपछि बिहीबार सामाजिक कार्यमा सकि्रय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले घरमै पुगेर खाद्यान्न, नुन, तेल, दाल लगायतका सामाग्री सहयोग गरेको छ । ती सामग्री बुझ्दै विष्टले भनिन्, ‘संकटका बेला सहयोग गर्नु भएकोमा धेरै-धेरै धन्यवाद । केहीदिनको छाक टर्ने भयो ।’ याचना गर्दै उनले थपिन्, ‘सकिन्छ भने अरुलाई पनि सहयोगका लागि भनिदिनुहोला सर मेरा छोराछोरीको उद्दार हुन्थ्यो ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0