‘हामी समाप्त हुन तयार छौं, एमाले खरानी हुन दिन्नौं’ – Online Khabar


२८ जेठ, काठमाडौं । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै विभाजित बनेको पुनर्स्थापित एमाले अलग संगठन संरचनामा चलिरहेको छ । पार्टी संरचनादेखि संसदीय मोर्चामा समेत विभाजित हुनुको मूल्य एमालेले चुकाउँदै पनि आएको छ ।

तर केही समय यता दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन भनेर सक्रिय छन् । तिनैमध्येका एक हुन्- गोकर्ण विष्ट । एमालेको नवौं महाधिवेशनबाट सचिव निर्वाचित विष्ट, एमाले नजोगाउने हो भने पश्चिम बंगाल वा सोभियत युनियनको इतिहास दोहोरिने बताउँछन् ।

केही नेताको व्यक्तिगत स्वार्थ र दुवै समूहमा रहेको अतिवादी चिन्तनले पार्टी एकतामा अप्ठ्यारोे परेको बताउने विष्ट भन्छन्, ‘हामी मासिन, समाप्त हुन तयार छौं । हामीलाई कुनै पद चाहिएको छैन । तर हामीलाई एउटा सबल कम्युनिष्ट पार्टी चाहिएको छ ।’

एकता नचाहने नेताहरूबारे विष्ट व्यङ्ग्य गर्छन्, ‘कतिपय व्यक्तिमा ठूलो समुद्रमा पौडी खेलेर प्रतिस्पर्धाको दौडमा आफूलाई श्रेष्ठ सावित गर्ने आँट नहुन सक्छ । त्यसका कारण सानो पोखरी खोज्नुपर्ने अवस्था होला । तर ठूलो समुद्रमा पौडी खेलेर प्रतिस्पर्धामा श्रेष्ठता स्थापित गर्न सक्छौं भन्ने हामीमा आँट छ ।’

प्रस्तुत छ, विष्टसँग अनलाइनखबरकर्मीले गरेको कुराकानीको सम्पादित अंश :

एमाले व्यावहारिक र राजनीतिक रूपले विभाजित छ । ५ पुस यताको गतिविधिबाट निकै टाढा पुगिसक्नुभएको छ । तर तपाइँ सहित केही नेताहरू एमाले एकता भनिरहनुभएको छ । किन फेरि जरूरी परेको एकता ?

घनश्याम भुसाल र योगेशजी बहालवाला मन्त्रीबाट राजीनामा दिएर आउनुभएको हो । मैले मन्त्रीबाट बाहिरिन तयार छु, तर श्रमजीवी जनताको हितमा उभिन्छु भन्ने मान्यता राखेर बाहिर आएको हुँ । हामीले पदको लालचमा एकताको कुरा गरेको होइन ।

नेकपाको आन्तरिक अन्तरविरोध सही ढंगले व्यवस्थापन गर्न नसक्दा एमाले र माओवादी केन्द्रबीचको एकता जोगाउन सकेनौं । तर सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र अलग अस्तित्वमा फर्कायो । त्यसपछि एमाले एकताबद्ध गर्ने र पार्टीको समस्या पार्टीभित्रै व्यवस्थापन गर्ने भन्ने झलनाथ खनाल र माधव नेपाल समूहभित्र हामी सबैको जोड रहृयो । अन्तरविरोधको समाधान पार्टीभित्रै खोज्ने निष्कर्षका साथ हाम्रो मान्यता सार्वजनिक गर्‍यौं ।

तर, दुःखका साथ भन्नुपर्छ- अध्यक्ष कमरेडले फागुन २८ गते आधा केन्द्रीय सदस्यहरूलाई कुनै सूचना नदिइकन बालुवाटारमा बैठक बोलाउनुभयो । त्यसलाई केन्द्रीय कमिटीको नाम दिएर पदाधिकारी पदमुक्त गर्ने, जिम्मेवारी हेरफेर गर्ने, महाधिवेशन आयोजक कमिटी बनाउने काम गर्नुभयो । यस्तो अभ्यास नेकपा एमालेको इतिहासमा कहिल्यै भएको छैन । केही व्यक्तिलाई थपेर त्यसैलाई प्रचार गरियो ।

यसले एमालेभित्र तिक्तता र अविश्वास बढ्यो । हाम्रो समूहले २८ गतेको निर्णय सच्याउनुपर्ने अडान लियौं, अध्यक्षले सच्याउदिनँ भनेर अडान राख्नुभयो । यी अडानहरू बीच लड्दै जाँदा समानान्तर अभ्यास गर्ने, केन्द्र र प्रदेशमा फ्लोर क्रस गर्ने जस्ता नौलो अभ्यासहरू देखा परे । यी अभ्यासको मूल जग पार्टी संस्थागत ढंगले र प्रणालीका आधारमा नचलाउने कुराबाटै सिर्जित थियो ।

तर द्वन्द्व बढ्दै जाँदा हामी एकीकृत पार्टी सञ्चालन गर्ने कुरामा अयोग्य सावित भयौं । चाहे नेताहरूको इगो, दुवै समूहमा रहेका अतिवादी सोच र नेपालको राजनीतिलाई प्रभाव पार्न चाहने शक्तिहरूको कारणले एकीकृत पार्टी निर्माणमा समस्या भयो । द्वन्द्व बढ्दै जाँदा एकअर्कोलाई समाप्त पार्ने गरी अगाडि बढ्यौं । पक्कै पनि एकअर्कालाई गाली गर्दा र कमजोर बनाउँदा दुई किनारमा उभिएका हामीहरूलाई ‘क्या मजा’ पनि लाग्यो ।

तर जनताप्रति जिम्मेवारी बोध हुन जरूरी छ । सबैखाले शोषण र विभेद अन्त्य गर्दै पछिपरेका समुदाय, वर्ग र क्षेत्रका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्न कम्युनिष्ट आन्दोलन चल्दै आएको बुझ्न जरूरी छ । नागरिकहरू पढ्ने, उपचार गर्ने, खाने, बस्ने लगायत आधारभूत आवश्यकताबाट वञ्चित छन् । उपचारको अभावमा कोरोनाबाट जीवन गुमाइरहेका छन् ।

एकपटक कम्युनिष्ट आन्दोलनले लाखौं नागरिकको आँखामा जगाएको आशा र उनीहरूले चाहेको परिवर्तन सम्झन जरूरी छ । लाखौं नागरिकलाई परिवर्तनको झण्डामा गोलबन्द गरिएको इतिहास सम्झन जरूरी छ । त्यसैले केही नेताहरूको कारण वा प्राविधिक कारणले पार्टी विभाजनमा लैजान हुन्न भनेर एकतामा जोड दिइरहेका हौं ।

तर जनताको मनमा जन्मिएको परिवर्तनको चाहना पूरा गर्ने त निकै टाढाको कुरा भयो । अहिले तपाइँहरूको अभियान पनि पदको लोभमा भइरहेको भन्ने आशंका छ नि !

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई लगायत एकताको चाहना राख्ने हामीले कुनै पदका लागि यो प्रयत्न गरिरहेका छैनौं । त्यस्तो पद त त्यागेर नै आएका हौं नि ! घनश्याम भुसाल र योगेशजी बहालवाला मन्त्रीबाट राजीनामा दिएर आउनुभएको हो । मैले मन्त्रीबाट बाहिरिन तयार छु, तर श्रमजीवी जनताको हितमा उभिन्छु भन्ने मान्यता राखेर बाहिर आएको हुँ । नेपाली युवाहरूमाथि दलालहरूको शोषणलाई आँखा चिम्लेर बस्न बस्दिनँ भनेर बाहिर आएको हुँ । सुरेन्द्रजी पनि अर्थमन्त्री भएर राम्रै काम गर्नुभएको हो । अहिले मन्त्री हुनका लागि अपेक्षा राख्नुभएको छैन ।

हामीले पदको लालचमा एकताको कुरा गरेको होइन । हाम्रो मूल्य र मान्यता भनेको जनताको परिवर्तन र रूपान्तरणका निम्ति एउटा सही विचार, कार्यदिशा, मूल्य र मान्यता बोकेको एकीकृत पार्टी बनाउने भन्ने हो । त्यस्तो सशक्त पार्टीले मात्रै राष्ट्र, जनता र लोकतन्त्रको हित गर्न सक्छ । यो कुरामा हाम्रो विश्वास हो ।

आमजनताले कम्युनिष्ट पार्टी मन पराउने, कम्युनिष्ट पार्टीलाई साथ र समर्थन गर्ने, तर केही अन्तरविरोधको कारणले बेमेल हुने कुरा हुनुहुन्न । अन्तरविरोध भनेको त नयाँ पार्टी बनाउँदा पनि हुन्छ । कुनै पनि त्यस्तो पार्टी हुनेछैन, जहाँ अन्तरविरोध नहोस् । नयाँ होओस् वा पुरानो पार्टीमा देखिने अन्तरविरोध समाधान गर्ने क्षमता हामीमा हुन जरूरी हुन्छ ।

शिरदेखि पुछारसम्म चिरिएको एमालेको घर र भत्किएको मन जोड्ने रसायन फेला पर्ला त ?

हामी मासिन तयार छौं, समाप्त हुन तयार छौं । हामीलाई कुनै पद चाहिएको छैन । व्यक्तिगत आकांक्षा छैन । तर हामीलाई एउटा सबल कम्युनिष्ट पार्टी चाहिएको छ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्टको हित गर्ने सशक्त पार्टी चाहिएको छ । आर्थिक-सामाजिक रूपान्तरण मार्फत नेपाली जनताको जीवन माथि उठाउने पार्टी चाहिएको छ ।

अहिले संविधानको प्रगतिशील उपलब्धिहरू कार्यान्वयन भएको देख्न नचाहने शक्तिहरू संविधान नै सम्पूर्ण रूपमा असफल पार्न चाहिरहेका छन् । त्यसैले संविधान र यसका उपलब्धि रक्षा गर्न एउटा बलियो पार्टी आवश्यक छ । त्यसका लागि नेकपा एमालेको एकता अनिवार्य छ ।

फेरि यो पार्टी दुई-चार जनाले बनाएको हो र ? लाखौं कार्यकर्ताको त्याग, तपस्या र बलिदानबाट निर्मित हो । लाखौं जनताको साथ र समर्थनबाट विकास भएको हो । केही व्यक्तिहरूलाई चित्त नबुझेको कारणले अलग हुने कुरा हुन्न ।

भनिसकें, पार्टीभित्र अन्तरविरोध हुन्छ । अन्तरविरोधसँग डराएर भाग्दैनौं, भाग्न हुँदैन । बेठीक कुराहरू पार्टीलाई एकताबद्ध गरेर पराजित गर्न सकिन्छ । यो लडाइँमा हामी प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ ।

पार्टी विभाजन भएमा सिद्धिने डरले एकता भन्नुभएको त होइन नि ?

कहिलेकाहीं डराएर भाग्न सकिन्छ । कहिलेकाहीं भाग्नु कायरता हुन सक्छ । तर हाम्रो चाहना पार्टी एकता हो । यदि यसलाई डराएको रूपमा बुझियो, फरक विचार सुन्ने र पार्टीलाई सच्याएर जानुपर्छ भन्ने पवित्र चाहनालाई कमजोरी ठानियो भने त अवश्य पनि राजनीतिमा वा अन्य क्षेत्रमा धेरै विकल्प हुन सक्दछ ।

विकल्पमा जाँदा नयाँ पुस्ताले जोखिम मोल्नुपर्ने, उँचाइबाट संघर्ष गर्नुपर्ने र नेपाली राजनीतिमा भिन्न ढंगले नयाँ मूल्य र मान्यता स्थापित गर्नुपर्ने अपि्रय र चाहना विरुद्धको निष्कर्षमा पुग्नुपर्ने अवस्था पनि आउला ।

तर म यसप्रकारको कदमको वकालत गर्ने पक्षमा छैन । विकल्पमा जानुपर्ने हो भने जाउँला, केही छैन । व्यक्ति रोजाइलाई कसैले रोक्दैन, छेक्दैन । कसैबाट डराउनुपर्ने र बाँधिनुपर्ने अवस्था देख्दिनँ ।

अध्यक्ष ओलीतर्फ मात्रै नभएर तपाइँ आवद्ध समूहभित्रै पनि एकता अभियानलाई डरको उपजका रूपमा बुझ्ने खेमा पनि छन् नि ?

कतिपय व्यक्तिमा ठूलो समुद्रमा पौडी खेलेर प्रतिस्पर्धाको दौडमा आफूलाई श्रेष्ठ सावित गर्ने आँट नहुन सक्छ । त्यसका कारण सानो पोखरी खोज्नुपर्ने अवस्था होला । तर ठूलो समुद्रमा पौडी खेलेर प्रतिस्पर्धामा श्रेष्ठता स्थापित गर्न सक्छौं भन्ने हामीमा आँट छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिएन भने त्यो पनि स्वीकार्य हुन्छ । त्यसकारण हामी ठूलो पार्टी निर्माण गर्न चाहेका छौं, पार्टीलाई एकताबद्ध गर्न प्रतिबद्ध छौं ।

तर तपाईहरूकै दोहोरो भूमिकाले पनि अलमल सिर्जना भएको देखिन्छ । एकातिर एकता भन्ने अनि अर्कोतिर समानान्तर गतिविधि नरोक्ने !

समानान्तर कमिटी नयाँ पार्टी निर्माणका लागि बनाइएको होइन । पार्टीलाई एकताबद्ध गर्न, सरकार र पार्टी बीच देखा परेका अन्तरविरोधको सही समाधान खोज्नका निम्ति हो । पार्टी एकलौटी ढंगले चलाउन खोजिएकाले त्यसलाई सच्याउन दबाबको सन्देश र अभिव्यक्तिका रूपमा हो ।

समानान्तर गतिविधिलाई अध्यक्षले अन्यथा सोच्नु जरूरी छैन । माधव नेपाल र झलनाथ कमरेडहरूले नयाँ पार्टी निर्माण गर्न समानान्तर कमिटी बनाइएको अर्थमा पुष्ट्याइँका लागि न्वारानदेखिको बल प्रयोग गर्न जरूरी छैन ।

अहिले कस्तो देखिंदैछ भने अध्यक्ष कमरेड नजिकका केही अतिवादीहरूमा यिनीहरूले पार्टी छोडेमा हामीले मात्रै अवसर पाउँथ्यौं भन्ने सोच छ । अर्को समूहका केही अतिवादीहरूमा नयाँ पार्टी निर्माण गर्न सकियो भने मात्रै माथि जाने अवसर आउँथ्यो कि भन्ने विभाजनको चिन्तन छ । तर जनता र कार्यकर्ताको चाहना यसको विपरीत छ । विभाजनले न लोकतन्त्र जोगाउन सकिन्छ, न कम्युनिष्ट आन्दोलन नै जोगाउन सकिन्छ ।

सहमति भयो र एकता जोगियो भने पनि एमालेले गति लिन सक्दैन भन्ने तर्क गरिन्छ । फेरि पनि दुई समूहबीचको कलह त कायमै रहन्छ । यस्तो हुनुभन्दा फुटेकै राम्रो भन्ने मत पनि नेताहरूमा देखिन्छ नि ?

पार्टीलाई विधान र विधिबाट चलाउनु पर्‍यो । पार्टीलाई संस्थागत रूपमा चलाउँदा नै एकताबद्ध रहने हो । नेकपा टिक्न नसक्नुको कारण पनि संस्थागत रूपमा चलाउन नसक्नु नै हो । पार्टीभित्र उत्पन्न हुने अन्तरविरोध पार्टीभित्रैबाट समाधान खोज्नुपर्ने होला नि त ! तर, त्योभन्दा बाहिर गएर दुई जना (अध्यक्ष कमरेड केपी ओली र पुष्पकमल दाहाल)को सहमतिमा पार्टी सञ्चालन गरिनेछ भन्ने जुन मान्यता हामीले स्थापित गर्न खोज्यौं र दुई नेतालाई पार्टीभन्दा माथि राखेर सञ्चालन गर्ने कोशिश गरियो, त्यहींबाट नेकपा चल्न सकेन ।

अर्कातिर पार्टीभित्र हुने अन्तरविरोध परम्परागत ढंगले समाधान गर्न सकेनौं भने नयाँ ढंगले सोच्न पनि जरूरी छ । आज पार्टीहरू पार्टी बन्न सकिरहेका छैनन् । पार्टीहरूभित्र व्यक्तिवाद, स्वेच्छाचारिता, अहंकारवाद छ । सामूहिकता एकप्रकारले समाप्त हुँदैछ ।

लोकतन्त्र आयो, संविधान बन्यो । सार्वभौमसत्ता जनतामा निहित रहनेछ भनेर लेख्यौं, तर फेरि पनि नयाँ-नयाँ सम्राटहरू जन्मायौं कि भन्ने अनुभूतिमा जनतामा देखिन थालेको छ ।

यो अवस्थामा जबसम्म व्यक्ति पार्टीको अधीनस्थ हुने, जुनसुकै पदमा गए पनि संविधानको मातहतमा रहने कुरालाई स्थापित गर्न सक्दैनौं, तबसम्म सुशासन र सभ्य समाज स्थापित हुन सक्दैन । पार्टीभित्र र बाहिर व्यक्तिको इमानदारी, योग्यता, क्षमताको आधारमा जिम्मेवारी दिने प्रणाली पनि स्थापित गर्न जरूरी छ ।

मुख्य प्रश्न त, समस्या हल गर्दै एकताबद्ध पार्टी जोगाउने वा केही नेताहरूको स्वार्थमा समाप्त पार्ने । पश्चिम बंगाल वा सोभियत संघ बनाउने कि नेेताहरूले सकुशल एउटा समृद्ध पार्टीका रूपमा भावी पुस्तालाई आन्दोलन हस्तान्तरण गर्ने भन्ने हो ।

एकताको प्रयत्न गर्दै धेरै छलफल गरिसक्नुभएको छ । एकताको आधार चाहिं के हुन सक्छ ?

हामीलाई खरानी बनाउने शक्तिहरू क्रियाशील छन्, उनीहरूको चाहना पूरा गर्नुपर्‍यो । होइन भने एकतामा उभिनुपर्छ ।

जेठ २ अगाडिको पार्टी र जनसंगठनका सबै संरचनालाई पूर्ववत् फर्काएर क्रियाशील बनाउने अनि कमरेड झलनाथ खनाल र माधव नेपाल माथि गरिएको कारबाहीलाई फिर्ता लिएर एकताको वातावरण बनाउने संभावना छ ।

अध्यक्षले ६ बुँदे प्रस्ताव पठाउनुभएको छ । त्यसले उहाँको स्थान के हो भन्ने प्रतिबिम्व गर्छ । जेठ ३ भन्ने ठाउँमा जेठ २ राखेर र मूलतः भन्ने ठाउँमा सम्पूर्ण पार्टी कमिटी र जनसंगठनहरूलाई जस्ताको तस्तै पूर्ववत् अवस्थामा फर्काउने कुरा गरियो र कारबाही फिर्ता गरियो भने त एकताको आधार बनेन र ?

अध्यक्षले पठाएको एउटा प्रस्ताव हो, अन्तिम निर्णय होइन । प्रस्तावकै रूपमा भन्नुभएको छ । त्यसमाथि पनि छलफल गरौं । हाम्रो समूहको तर्फबाट पनि कमरेड माधव नेपालले ६ बुँदे प्रस्ताव राख्नुभएको छ । त्यसमा त्यही भनिएको छ- जेठ २ गतेको संरचनामा सबै र्फकने । एकता गर्न प्रतिकूल हुने सबै कुरा फिर्ता लिने र पार्टीलाई नवौं महाधिवेशनबाट पारित विधान अनुसार संस्थागत निर्णयका आधारमा सञ्चालन गर्दा एकता संभव छ ।

तर नेताहरूको तुष मेटिन सजिलो होला त ? पहिले केपी ओलीलाई साधारण सदस्य नरहने गरी कारबाही भयो अनि अहिले माधव नेपालहरूलाई ?

ती सबै कुराहरू गरिसकियो । एउटा समयमा केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरियो, त्यो एउटा अतिवादको अभिव्यक्ति थियो । विल्कुल बेठीक थियो । आज फेरि झलनाथ खनाल, माधव नेपाल, भीम रावल लगायत कमरेडहरूलाई निष्काशन गरिएको छ । यो पनि एउटा अतिवाद हो । एकले अर्कोलाई प्रतिशोध साध्ने काम पूरा भइसक्यो । शायद, उहाँहरूको मन शान्त भइसकेको होला । एकअर्कोलाई प्रतिशोध साध्ने चक्र पूरा भयो ।

अब यी सबै चिजहरू बिर्सेर अगाडि बढ्नुपर्छ । अध्यक्ष कमरेडले बिर्सनुपर्छ, कमरेड झलनाथ खनाल र माधव नेपालले पनि बिर्सनुपर्छ । विगत बिर्सिएर नयाँ ढंगले आमनागरिक, देश र कम्युनिष्ट आन्दोलनको हितका निम्ति नयाँ ढंगले अगाडि बढ्नुपर्छ । विगतको समीक्षा पछि गरौंला । भावी पुस्ताका निम्ति पनि अहिले पुराना कुराहरू बिर्सनुपर्छ ।

अन्त्यमा, एकअर्कालाई निषेधकै अवस्थामा पुगेको पार्टी एकताबद्ध रहनेमा कति आशावादी हुनुहुन्छ ?

आशावादी छु । पार्टी अध्यक्षसँग पटकपटक भएको कुराकानी, कमरेड माधव नेपाल र झलनाथ खनालसँग भएको कुराकानीमा र इमानदार, असल र कुनै व्यक्तिगत स्वार्थ नभएका माथिदेखि तलसम्मका कार्यकर्ताको कुरा सुन्दा पार्टी एकताको संभावना अहिले पनि छ ।

एकता बाहेक हामीसँग विकल्प छैन । नत्र हामी खरानी हुन तयार हुनुपर्छ ।

हामीलाई खरानी बनाउने शक्तिहरू क्रियाशील छन्, उनीहरूको चाहना पूरा गर्नुपर्‍यो । होइन भने एकतामा उभिनुपर्छ ।

टंक कार्कीको शब्द सापटी लिऔं- नेकपा एमालेको चिहानमा ढाड सेकाउन चाहनेहरू अथवा एमालेको अवशानमा उत्सव मनाउन चाहनेहरूलाई अवसर दिने कि आमजनता र कार्यकर्ताको चाहना अनुसार नेताहरू जिम्मेवारी हुने भन्ने हो ।

तर फेरि पनि पार्टीलाई विधिविधान, सिद्धान्त र विचारबाटै सञ्चालन गर्न जरूरी छ । नेता कार्यकर्तामा आधारित, कार्यकर्ता जनतामा आधारित हुनुपर्छ । तर नेता आधारित कार्यकर्ता, कार्यकर्ता आधारित जनता निर्माण भयो भने त्यो उल्टो हुन्छ । देश, कम्युनिष्ट आन्दोलनको चाहना र सपनाहरू बर्बाद हुन्छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0