आमा हुन साँच्चै असजिलो छ ! – Online Khabar


२८ जेठ, काठमाडौं । उमेरले शारदा गुरुङ ७६ वर्ष पुगिन् । यो उमेरका महिलालाई जसले भेट्दा पनि आमा भनेर सम्बोधन गर्छन् । यद्यपि शारदाको हकमा भने वास्तविक जीवनमै ‘आमा’ सम्बोधन गर्ने सन्तानहरूको संख्या हजारभन्दा बढी छ ।

अर्थात्, उनलाई आमाकै रूपमा सम्मान गर्ने, उनको नजिक आइरहने सन्तानहरू सयौं छन् । ती सन्तान विश्वको जुन ठाउँमा बसेका भए पनि शारदालाई नै आमा मान्दै आएका छन् ।

४० वर्षसम्म एसओएस बालग्राममा रहेर बालबालिकाको स्याहारसुसारमा खटिएकी शारदाका सन्तानहरू विश्वभरि छरिएका छन् । दशौं वर्षसम्म आफ्नै हातले स्याहारसुसार गरी पढाएर हुर्काएका टुहुरा बालबालिकाको सफलता नै उनले जीवनको सफलता मानेकी छिन् ।

२०२८ सालमा एसओएस बालग्राम भक्तपुरमा आबद्ध भएर सेवा गर्न थालेकी उनले ४० वर्षभन्दा बढी यही संस्थामा काम गरिन् । सेवाकालभरि संस्थामा आश्रति सयौं अभिभावकविहीन बालबालिकाको स्याहारसुसार गर्दै ‘आमा’को भूमिकामा रहिन् ।

संस्थामा काम गर्ने अरू पनि थिए तर बालबालिकासँग २४सै घण्टा सँगै हुनाले शारदा नै सबैको आमा बनिन् । उनीहरूका सुख बुझिन्, भावना बुझिन् र समस्या सुल्झाइन् । आज ती सन्तानहरू संसारभरि छरिएको सुनाउँदै उनी भन्छिन्, ‘मेरा सन्तानहरू संसारको जुन देशमा बसे पनि राम्रो काम गरेर बसेका छन् । यही कुराले मलाई सन्तोष मिल्छ ।’

शारदाकै प्रत्यक्ष रेखदेखमा हुर्किएकामध्ये डाक्टर राम रोक्का हङ्गेरीमा कार्यरत छन् । डा. जनक पाठक वातावरणविज्ञ भएर काठमाडौंमै छन् भने डा.राजन तामाङ बंगलादेशमा कार्यरत छन्।

प्रहरी उपरीक्षक सुवास भण्डारी, इन्जिनियर असिम अधिकारी, इन्जिनियर श्याम रोक्का, स्टाफ-नर्स शुभेच्छा श्रेष्ठ, काष्ठ उद्यमी गोपाल आचार्य, व्यवसायी छोरी मिनु भट्टराई आज पनि शारदासँग उत्तिकै नजिक छन् ।

उनीहरू टाढा भए पनि भिडियो कल गर्ने गरेको शारदा सुनाउँछिन् । यसैले त आफ्ना सन्तानको सफलतामा रमाउन सिक्नुपर्ने कुरा शारदा बारम्बार दोहोर्‍याउँछिन्।

‘मैले के पाएँ भनेर कहिल्यै पनि सोच्न हुँदैन’ उनी जहिले भनिरहेकी हुन्छिन्, ‘आफूले के दिएँ त्यो पो ठूलो कुरा हो ।’

टेलिफोन तथा भिडियोमा छोराछोरीसँग कुरा हुँदा ‘ठूलो मान्छे बन्ने दौडमा असल हुन नबिर्सनु’ भन्ने सन्देश दिन्छिन् । जहाँ बसे पनि मातृभूमि र आमाको गौरव सम्झेर कर्तव्यपथमा खटिन सुझाव दिन्छिन् ।

सेवा नै जीवनको सार

चार दशकसम्म एओएस बालग्राम भक्तपुरमा सेवा गरेपछि शारदाको स्वास्थ्यमा समस्या आयो । यसपछि उनले अवकाश लिइन् । तर बालग्राम छाडिनन् । एकपटक हृदयघात भइसकेकी शारदा आफ्नो ‘सेवा-शक्ति’ ले नै नयाँ जीवन पाएको बताउँछिन्

‘सेवा’लाई नै जीवनको धर्म मान्ने शारदा गुरुङको जन्म कप्तान रणबहादुर गुरुङ र मनमायाको कोखबाट सिन्धुपाल्चोकको मुगाथलीमा भयो । सिन्धुपाल्चोककै सरोफेरोमा उनको बाल्यकाल बित्यो।

बुबा सेनाको अवकाशप्राप्त कप्तान भएका कारण उनले त्यतिबेला नै एसएलसीसम्म अध्ययन गर्न पाइन् । काठमाडौं सिफलमा बसेर उनले एसएसलीसम्म पढिन् । एसएलसीमा असफल भएर घरमै बस्दै गर्दा उनलाई केही सार्थक काम गरेर देखाउने हुटहुटी बढ्यो।

पाँच दशकअघिका दिन सम्झिँदै शारदा सुनाउँछिन्, ‘छोरीमान्छेले पनि केही गरेर देखाउन सक्छन् भन्ने काम गर्न मन थियो । यसैले बालग्राममा आबद्ध भएँ ।’

शारदाको घरमा दाजुभाइ थिएनन् । तीन दिदीबहिनीमध्ये उनी माहिली थिइन् । दिदी र बहिनीले विवाह गरे तर बालग्राममा सबैको आमा भइसकेकी शारदालाई विवाह-बन्धनप्रति कहिल्यै चासो भएन । अहिले उनी आफ्ना दिदी-बहिनीका छोराछोरीसँग नभई आफैंले हुर्काएका छोराछोरीसँग बस्छिन् । आफ्नो र अर्काको छोराछोरी भन्ने कुरा उनको मनले सोच्नसम्म मान्दैन ।

चार दशकसम्म एसओएस बालग्राम भक्तपुरमा सेवा गरेपछि शारदाको स्वास्थ्यमा समस्या आयो । यसपछि उनले अवकाश लिइन् । तर बालग्राम छाडिनन् । एकपटक हृदयघात भइसकेकी शारदा आफ्नो ‘सेवा-शक्ति’ले नै नयाँ जीवन पाएको बताउँछिन् ।

अवकाश लिएको केही वर्षपछिसम्म एसओएस भक्तपुरमा नै बसिन् । स्वास्थ्य समस्याले गर्दा उनलाई विस्तारै रेखदेखको खाँचो पर्‍यो । यसपछि आफैंले हुर्काएका छोरा सुरज अर्यालसँग अहिले ललितपुरमा बस्दै आएकी छिन् ।

यता एसओएस बालग्राममा हुर्किएका सुरजले पनि आमाकै बाटो अनुसरण गरेका छन् । अर्यालले ‘हाम्रो शोभा गृह’ नामक संस्था खोलेर वृद्धवृद्धाको सेवा गरिरहेका छन् । उनी जहिले पनि आमाकै प्रेरणाले मानव सेवाको भावना जागृत भएको बताउँछन् ।
‘आमाको कर्म नै हाम्रा लागि सबैभन्दा ठूलो प्रेरणा हो’ सुरज सुनाउँछन्, ‘मानव जाति भएर जन्मेपछि अरूकै सेवामा जीवन बिताउनुपर्छ भन्ने कुरा उहाँबाट सिकेका हौं ।’

सुरजका अनुसार आमा शारदाको स्वास्थ्य अहिले सामान्य छ । छोराछोरीहरूसँग फोनमा कुरा गर्ने तथा पूजापाठ गरेर उनको समय बित्छ । ‘जुनसुकै अवस्थामा पनि आमा सकारात्मक चिन्तन राख्नुहुन्छ,’ उनी भन्छन्, ‘यही पवित्र चिन्तनले गर्दा उहाँको स्मरणशक्ति यो उमेरमा पनि बलियो छ ।’

आमा हुन साँच्चै असजिलो छ

मुखले आमा भने पनि ‘आमा’ भएर बाँच्न ठूलो साहस चाहिने शारदा बताउँछिन् । उनका अनुसार सच्चा आमा हुन त्याग आवश्यक छ । यसैले सन्तान जन्माएर मात्र कोही पनि आमा बन्न नसक्ने कुरा उनी बताइरहन्छिन् ।

आजको युगमा एकल परिवारको संस्कार बढेकाले आमा र सन्तानबीच पनि दूरी बढ्दै गएको उनको बुझाइ छ । अनि कतिले सम्पत्तिको लोभमा आमा-बुबालाई सडकमै छाडेको पनि उनले देखेकी छिन् ।

‘मलाई अझै पनि सेवा गरौं जस्तो लागिरहन्छ, तर आफैं नसक्ने हुँदा मनको इच्छा मनमै बाँधेर राखेकी छु’, असहायहरूलाई केही गर्न नसक्दाको पीडा उनको मनमा छ ।

आफूले रेखदेख गरेका ‘छोराछोरीसँग’ शारदा गुरुङ ।

देश विदेशमा विभिन्न पेशा व्यवसाय गर्दै आएका उनले हुर्काएका छोराछोरीलाई उनी मानव सेवा गर्न उत्प्ररेणा दिइरहन्छिन् । आफूले हुर्काएका छोराछोरीलाई यसरी सम्झाउँछिन्- ‘मलाई मात्र आमा सम्झेर सहयोग गरिरहनुपर्दैन । असहाय र दुःखमा परेका सबै आमाबुबालाई तिमीहरूले सकेको मद्दत गर ।’

फरासिलो स्वभावकी शारदालाई यो उमेरमा पनि बाल्यकालको याद आइरहन्छ । आफू एसओएस नआउँदा उनी घरकी छोरी थिइन् । छोरीकै दायित्व निर्वाह गरेर बसेकी थिइन् । आमाबुबाको साथ भएकाले उनको काँधमा जिम्मेवारी पनि थिएन ।

तर एसओएस आएपछि आमाको महत्त्व थाहा भएको शारदा बताउँछिन् । त्यहाँ उनले जीउज्यान सबै दिएर असहाय बालबालिकाको आमा बन्ने कर्म गरिन् । सयौं बालबालिकाको ममताबीच आफूलाई भुलाइदिइन् ।

यद्यपि अझै मनमा केही खट्किएको भन्दै उनले कुराको पोयो खोल्दै भनिन्, ‘आमा भएर बाँच्नु त साँच्चिकै गाह्रो हुन्छ !’

(सबै तस्वीरहरू : सुरज अर्यालबाट प्राप्त)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0