नेपालमा यसकारण जरुरी छ लोकल फोरजी र लोकल फाइभजी


हामी सबैले थाहा पाएकै छौं, फोरजीमा कुरा स्पिड राम्रो हुन्छ । यसमा सैद्धान्तिक रुपमा अधिकतम १०० देखि ३०० एमबीपीएससम्मको स्पिडमा इन्टरनेट चलाउन सकिन्छ । यसको अर्थ हाम्रो घरमा भएको इन्टरनेटबाट दिन सकिने सेवा अब मोबाइल सेवाबाटै दिन सकिने भयो । यसमा हामीले नयाँ नयाँ व्यवसायको विषयमा पनि सोच्न सक्छौं, जहाँ हाई ब्याण्डविथको आवश्यकता पर्ने हुन्छ ।

यो प्रविधिमा हामीले गर्ने भ्वाइस कल पनि आईपी प्याकेटको माध्यमबाट हुन्छ । त्यसै अनुरुप अहिले नेपाल टेलिकमले भीओएलटीई ल्याएको छ । तर अहिले केही मोबाइलमा यो सेवा चलेन भन्ने कुरा पनि आइरहेको छ ।परम्परागत सर्किट स्विचिङ मात्र सपोर्ट गर्ने डिभाइसमा त्यस किसिमको समस्या रहन्छ । तर यो क्षणिक समस्या हो, यसले लामो समयसम्म दुःख दिँदैन ।

फोरजीमा गइसकेपछि धेरै नयाँ नयाँ फिचरहरु पनि आएका छन् । यसमा इफिसेन्सी पनि राम्रो हुन्छ । यसको अर्थ सबैले राम्रो सेवा पाउने सम्भावना बढ्छ । जहाँसम्म अब यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने प्रश्न छ । पहिले जस्तै यसमा भ्वाइस र इन्टरनेट चल्ने नै भयो । यस अतिरीक्त नयाँ सेवाहरु प्रयोग गर्न समेत यसले बाटो खोलिदिएको छ ।

अहिले महामारीको समयमा अत्याधिक प्रयोग भइरहेको भनेको शिक्षा अर्थात डिस्टेन्स लर्निङ हो । हामीले सबै घरमा अप्टिकल फाइबर-फिक्स ब्रोडब्याण्ड सेवा पुर्‍याउन सकेका छैनौं । त्यसको साटो हामीसँग मोबाइल कनेक्टिभिटी छ । यस्तोमा हामीलाई डिस्टेन्स लर्निङका गतिविधि अगाडि बढाउन फोरजी राम्रो विकल्प हुनसक्छ । यसमा त्यस्ता एप्लिकेसन राम्रोसँग चल्न सक्छन् । 

अहिले कोभिडको असर विभिन्न चरणमा देखिन थालेको छ । यस्तो अवस्थामा हामीले शिक्षालाई त्यसै प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकता छ । भ्वाइस र डेटा सेवा त थ्रीजीमा पनि छँदै थियो । हामीले फोरजीमा आधारित नयाँ नयाँ सेवा र एप्लिकेसन सोच्नुपर्ने हुन्छ । अर्को भनेको स्मार्ट ग्रिडको कुरा हो । 

अब क्रमशः हाम्रो घरमा भएका मिटरहरु पनि स्मार्ट हुँदै गइरहेका छन् । पुराना मिटरहरु स्मार्ट मिटरले प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यसको अर्थ के हो भने हाम्रो घर-भवनमा कुन समयमा कति बिजुली खपत भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि डेटा आवश्यक पर्ने हुन्छ ।

यस आधारमा बिजुलीको उत्पादन र वितरणलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ । त्यसबाट हाम्रो लागत घट्छ र प्रभावकारिता बढ्छ । डेटा र भ्वाइस सेवा दिएर बाँकी बचेको स्रोतसाधनलाई हामी स्मार्ट ईनर्जीको क्षेत्रमा प्रयोग गर्न सक्छौ् । यसको अर्को उपयोग भनेको सार्वजनिक सुरक्षाको क्षेत्रमा हो । हामीले सुरक्षाका लागि विभिन्न स्थानमा सीसीटिभी राखिरहेका हुन्छौं । ती क्यामेराहरुलाई केन्द्रीकृत रुपमा अनुगमन गर्न गर्न सकिने प्रणालीका लागि पनि फोरजी नेटवर्क प्रयोग गर्न सकिन्छ । 

सबैतिर तारयुक्त नेटवर्क हुँदैन । त्यस्तो ठाउँमा क्यामेराहरु सेटअप गरेर त्यहाँको भिडिओ फोरजीमार्फत ल्याएर केन्द्रीकृत सर्भरमा जोड्न सकिन्छ । यसलाई उपयोग गर्न सकिने अर्को क्षेत्र भनेको यातायात हो । हाम्रो बसपार्कमा बसहरु कतिखेर आइपुग्छन् भन्ने कुरा प्रायलाई थाहा हुँदैन ।

स्मार्ट ट्रान्सपोर्टेसनको न्युनतम सुविधाको कुरा गर्ने हो भने पनि बस स्टेसनमा कुन बस कतिखेर आइपुग्छ भन्ने कुरा चाँडो रुपमा हामीले सेवाग्राहीमा पुर्‍याउनुपर्ने हुन्छ । काठमाडौं जस्ता ठाउँमा यस किसिमको सेवा  अत्यावश्यक छ । काठमाडौंको जस्तो जनघनत्व भएका संसारका सबैजसो सहरहरुमा यस किसिमको सेवा  छ । 

स्मार्ट सिटीका कुराहरु राजनीतिक पार्टीका घोषणापत्रहरुमा व्यक्त गरेको देखिन्छ । त्यसमा योजना बनाएर बजेट पनि छुट्याइएको पाइन्छ । तर काम भने भइरहेको हुँदैन । यस किसिमको सन्दर्भमा फोरजी नेटवर्क प्रयोग गरेर यस किसिमका सेवा विस्तार गर्न सकिने संभावना छ । 

विकसित देशहरुमा लोकल फोरजी भन्ने हुन्छ । तर हाम्रो जस्तो देशमा यो अलिक असान्दर्भिक हुनसक्छ । ठूला फ्याक्ट्रीभित्र धेरै उपकरण हुन्छन् । ती उपकरणहरुलाई डिस्टेन्स मनिटरिङ गर्ने, नियन्त्रण गर्ने अथवा अटोमेसन गर्ने कुराहरु हुन्छन् । अहिले आएर त्यस्तो सेवालाई लोकल फाइभजी पनि भनिन्छ ।

फ्याक्ट्रीबाहेक शपिङ मल, ठूला ठूलाअस्पताल जस्ता ठाउँहरुमा  पनि यसलाई प्रयोग गर्न सकिन्छ । यस किसिमको प्रविधि नेपालमा पनि प्रयोगमा ल्याउन सकिने संभावना छ । जापानकै उदाहरण दिने हो भने पनि अहिले यहाँ लोकल फाइभजीका लागि स्पेक्ट्रम नै छुट्याइसकेको अवस्था छ ।

सब सिक्स गिगाहर्ज,  २८०० मेगाहर्ज र ६ मा पनि त्यसका लागि फ्रिक्वेन्सी छुट्याइएको छ ।  त्यसको प्रयोग र लाइसेन्सिङ आआफ्नै प्याटर्नमा हुन्छ । तुलनात्मक रुपमा यो निकै सस्तो पनि हुन्छ र डिप्लोयमेन्ट गर्न पनि सजिलो हुन्छ । हाम्रोमा त्यतिधेरै अभ्यास नभए पनि अन्य देशहरुमा स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने ईकाई हुन्छन् ।

त्यस्ता संस्थाले यस किसिमको लाइसेन्स लिन्छन् । कुनै स्थानमा कृषि वा पशु पंक्षीको मनिटरिङ गरेर उत्पादन बढाउनका लागि नेटवर्क आवश्यक छ भने त्यस्तो कार्यमा यसलाई प्रयोग गर्न सकिन्छ । फलफुल, चिया खेती, आदि जस्ता व्यावसायिक कृषिको क्षेत्रमा माटो मनिटरिङ, वातावरण मनिटरिङ वा किरा फट्याङ्ग्रा मनिटरिङमा यो उपयोग हुनसक्छ । 

फोरजी तथा फाइभजीलाई हामी पर्यटनको क्षेत्रमा पनि प्रयोग गर्न सक्छौं । एआर/भीआर मार्फत घरमा बसेरै भर्चुअल रुपमा घुमफिरको अनुभव लिन सक्छौं ।  कोभिड व्यवस्थापन तथा अहिले अस्पतालहरुमा भएको बिरामीको चापको व्यवस्थापनमा इन्जिनियरिङ प्रयोग भइरहेको छैन ।

एउटा अध्ययन अनुसार स्वस्थ मानिस अस्पताल गएर फर्किँदा कुनै न कुनै प्रकारको संक्रमण भएर घर फर्किने संभावना १० प्रतशत भन्दा बढी छ । प्रविधिको प्रयोगले मात्र यसलाई न्यूनिकरण गर्न सकिन्छ ।  सम्बन्धित सरोकारवालाबीचबाट यसमा अध्ययन गरेर आवश्यक सेवा तथा एप्लिकेसन चाँडै विस्तार गर्न सकिन्छ ।

यो कार्यमा स्टार्टअप र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने युवाहरुलाई लगाउन सकिन्छ । यसमा पनि फोरजी नेटवर्क उपयोग गर्न सकिन्छ । हामीलाई मोबाइल सेवामा जानुपर्ने बाध्यता छ । अरु देशको कुरा गर्ने हो फिक्स लाइन टेलिफोन ८० प्रतिशत भन्दा बढी देशमा पुर्‍याउँदै गर्दा हाम्रो देशमा एकदमै कम छ ।

अहिले त झन्  एक दुई प्रतिशतमा झरिसकेको अवस्था छ । यसको अर्थ हामीसँग फिक्स लाइन पर्याप्त छैन र पुर्‍याउन पनि सक्दैनौं । अहिले मोबाइलले हामीलाई एक प्रकारको सुविधा दिएको छ । ग्रामीण दूर्गम क्षेत्रका घर घरमा पनि यो सुविधा पुगेको छ ।  हाम्रो जस्तो भूगोल भएको देशमा राम्रो कनेक्टिभिटी सम्भव हुने भनेको फोरजी-फाइभजी जस्ता प्रविधिले नै हो । 

यद्यपी सर्भर राखिएको ठाउँमा फिक्स लाइन सेवा नै आवश्यक पर्छ । तर उपभोक्तातिर हेर्ने हो भने मोबाइल सेट, मोबाइल एप्लिकेसन र मोबाइल नेटवर्क नै हो । नयाँ सेवाको कुरा गर्दा त्यसका लागि केही आधारभूत पूर्वशर्तको कुरा आउँछ । त्यसमा पहिलो कुरा कनेक्टिभिटी स्टेबल अर्थात भरपर्दो हुनुपर्छ ।

अर्को भनेको बिग डेटा र क्लाउड सर्भिसको कुरा आउँछ । अहिले त झन् एज क्लाउड भन्ने गरिन्छ । यो भनेको सेवा प्रदान गर्ने सर्भर प्रयोगकर्ताको नजिकै राखिएको हुनुपर्छ । यसले नेटवर्कको लेटेन्सी वा डिले कम हुने भएपछि सेवा फास्ट हुन्छ । साथसाथै डेटालाई क्रश डेटा र क्रशः सिटीमा पठाउनुपरेन भने नेटवर्क सञ्चालन लागत पनि सस्तो पर्छ । देश बाहिर जाने खर्च जोगिन्छ ।  

हाम्रो जस्तो देशमा पूर्वाधारमा सरकारले लगानी नगरेको अवस्था छ । पूर्वाधार भनेको कनेक्टिभिटी मात्र नभएर प्लेटफर्म पूर्वाधार कुरा पनि हुन्छ । डिजिटल नेपाल फ्रेमवर्कले तयार पारेका ८० वटा अग्रसरतालाई प्राप्त गर्न सकिन्छ । फोरजी वा फाइभजीको कनेक्टिभिटी, त्यसपछि लोकल क्लाउडको कुरा आउँछ ।

सम्भव भएसम्म हरेक सहरमा सरकारी निजी साझेदारीमा भए पनि हामीले लोकल क्लाउड बनाउन अत्यन्तै आवश्यक छ । त्यसमा हुने कम्प्युटिङ प्लेटफर्मको कुरा पनि आउँछ ।  अहिले विभिन्न किसिमका प्लेटफर्मको सम्भावना हुनसक्छ । उदाहरणको लागि भर्चुअलाइजेसन गर्न सकिने ओपन स्ट्याट प्लेटफर्म हुनुक्छ ।  लिनक्समा आधारित अपरेटिङ सिस्टम हुनसक्छन् ।

सेक्युरिटीका विभिन्न सिस्टमको कुरा पनि आउँछ । उदाहरणको लागि नेपाल टेलिकम, एनसेल वा वर्ल्डलिङ्क जसले पनि होस्ट गर्न सक्छ ।  त्यस्तो पूर्वाधार कसरी प्रतिस्पर्धी संघसंस्थाले पनि प्रयोग गर्ने अथवा एउटा संस्थाले बनाएको पूर्वाधारबाट अर्को प्रतिस्पर्धी संस्थाका प्रयोगकर्ताले सेवा पाउने नीति आवश्यक छ ।

त्यसो भएको खण्डमा बिराटनगरमा रहेको एनसेलको ग्राहकले त्यहाँ रहेको टेलिकमको पूर्वाधार प्रयोग गर्न पाउँछ, त्यहीँको सेवा लिन पाउँछ । यसले गर्दा सञ्चालन खर्च घट्छ र सेवाको मूल्य पनि सस्तो हुन्छ । डेटाको प्रयोगका लागि सहरभित्रै कारोबार हुने हो भने किन महंगो लिने भन्ने प्रश्न पनि आउँछ ।

पहिलेको ट्रङ्क कल सेवा जस्तै अन्तर्राष्ट्रिय सेवामा एक्सेस गर्नुपर्‍यो भने महंगो लिने र स्थानीय सेवा उपयोग गर्दा सस्तोमा दिने उपाय पनि हुनसक्छ । यस्ता विषयमा नियामकले पनि सोच्न आवश्यक छ । डिजिटल नेपालको फ्रेमवर्कले एउटा भिजन दिएको छ । त्यो हेर्दाखेरी नेपालको भिजन अन्य विकसित र विकासशिल देशहरुको भिजनकै समान देखिन्छ ।

त्यसमा कुनै पनि प्रकारको कमी महसुस हुँदैन । तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र भने अन्य देशको तुलनामा हाम्रोमा अस्पष्ट छ । उदाहरणका लागि यातायात क्षेत्रलाई स्मार्ट बनाउने हो भने कहाँबाट सुरु गरेर कहाँसम्म जाने त्यसको रोडम्याप चाहिन्छ । कसैले कागजमा लेखेर ल्याएको वा राजनीतिक एजेन्डाको रुपमा आएको रोडम्यापको काम छैन ।

त्यसैले कार्यान्वयन गर्न सकिने रोडम्याप चाहिन्छ । त्यस बारेमा हामी जति पनि बोल्न सक्छौं । तर त्यसले अन्ततः निस्किने नतिजा भनेको शून्य हो । त्यसैले माथि भनिए जस्तो फोरजीका लागि डेटा सेन्टर, क्लाउड कम्प्युटिङ प्लेटफर्म यति विस्तार गर्दै छौं र शेयर गर्नका लागि यस्तो नीति ल्याउँदै छौं भन्ने किसिमको स्पष्ट रोडम्याप आवश्यक हुन्छ ।

ता कि साना उद्यमीहरुले लिजमा सेवा लिन सक्छन् र आफ्नो आईडिया टेस्ट गर्न सक्छन् । उनीहरुको व्यवसाय बढ्दै गइसकेपछि त्यसै अनुसारको शुल्क लगाउँछौं भन्ने किसिमको लचकता हुनुपर्छ । यस किसिमका प्रवर्द्धनात्मक नीतिहरु आवश्यक हुन्छन् । यस्ता पर्वर्द्धनात्मक नीतिहरु कार्यान्वयनमा लैजान विकसित देशहरुमा सरकारले अनुसन्धानका लागि रिसर्च फण्ड छुट्याएको हुन्छ । 

त्यसमा रहेर शैक्षिक क्षेत्र, उद्योग, साना उद्यमी तथा स्टार्टअप र सरकारी निकायलेले संयुक्त रुपमा काम गरेर डिजिटल नेपालको फ्रेमवर्कले पहिचान गरेका मूख्य क्षेत्रहरुमा काम गर्छन् । यसरी निकालिएको निचोडबाट सेवाको प्लेटफर्म तयार पार्न सकिन्छ र त्यो नै प्रभावकारी हुन्छ । युरोप, अमेरिका, जापान, कोरिया, चीन जस्ता मुलुकहरुमा यसरी नै काम हुन्छ ।

जापानमा पनि नेपालमा जस्तै विभिन्न सेवाप्रदायकहरु छन् । अहिले जापानमा राक्तेन मोबाइल सेवाप्रदायक यहाँको चौथो ठूलो सेवाप्रदायकको रुपमा उदाएको छ । त्यसले फाइभजी नेटवर्क सेवा सार्वजनिक गर्दैछ । उसले एकदमै आकर्षक प्याकेज ल्याएको छ । अन्य ठूला सेवाप्रदायकका ग्राहकलाई आफूतिर आकर्षित गर्न यस्ता प्याकेजहरु ल्याउने गरिन्छ ।

त्यसका लागि भारतको जियोलाई पनि हामीले उदाहरणको रुपमा लिन सक्छौं । नेपाल टेलिकमको हकमा ग्राहक अरुबाट आफूतिर ल्याउनुपर्ने आवश्यकता नभए पनि आफ्ना ग्राहकलाई सन्तुष्ट राख्नका लागि त्यस्ता प्याकेजहरु अपडेट गर्दै लैजानुपर्ने देखिन्छ । बैंक तथा वित्तीय क्षेत्र, ईकमर्स क्षेत्रले दूरसञ्चार सेवालाई राम्रो प्रयोग गर्ने दिशा तिर लागिरहेका छन् ।

यसै गरी अन्य सेवाहरुलाई पनि लैजान सकिन्छ । हुन त सरकारले हालै मात्र नागरिक एप ल्याएको छ । तर त्यसका लागि आवश्यक पूर्वधार अझै पर्याप्त देखिँदैन । त्यसका लागि ओपन सर्भिस प्लेटफर्म आवश्यक हुन्छ । त्यसको अर्थ एपीआई खुला गरिदिनुपर्छ । त्यसो भएको खण्डमा खुल्ला रुपमा सोच्न सकिन्छ र नवप्रवर्तन गर्न सहज हुन्छ ।

नेपालमा कनेक्टिभिटीका साथै सूचना तथा सञ्चार प्रविधि-आईसीटीलाई प्रवर्द्धन गर्ने कार्यमा ग्रामीण दूरसञ्चार विकास कोष-आरटीडीएफलाई उपयोग गर्न सकिन्छ । आईसीटी भन्ने वित्तिकै इनोभेसन जोडिन्छ । इनोभेसन प्रवर्द्धन गर्न युवाहरुलाई त्यसमा कसरी संलग्न गराउने भन्ने प्रश्न आउँछ । त्यस दिशामा हामीले आरटीडीएफ परिचालन गर्न सक्छौं । 

नेपाल टेलिकम जस्ता दूरसञ्चार कम्पनीहरुले सरकारी सेवा होस्ट गरेर र कनेक्टिभिटी दिएर पनि आम्दानी गर्न सक्छन् । उदाहरणको लागि अहिलेको महामारीको समयमा अफिसको फिक्स लाइन उपयोग गर्न सकिँदैन । यसको विकल्पमा जापानका सेवाप्रदायकले क्लाउडमा आधारित फिक्स नेटवर्क सेवा दिन थालेका छन् ।

अहिले काठमाडौंको फिक्स लाइन ०१ बाट सुरु हुन्छ । बिराटनगरमा ०२ को लाइन छ । क्लाउडमा गइसकेपछि ती नम्बरहरु पनि जहाँ गए पनि प्रयोग गर्न सकिने भएको छ । यस किसिमको प्लेटफर्मको विषयमा पनि हामीले सोच्न सक्छौं । यो भनेको फिक्स पनि मोबाइल हुने र मोबाइल पनि फिक्स जस्तो हुने लचकता प्राप्त हुने अवस्था हो । मोबाइल फिक्स जस्तो किन भयो भन्दा फिक्स लाइनमा जुन स्तरको गुणस्तर हुन्छ, त्यो मोबाइलबाटै सम्भव भयो ।

फिक्स लाइनलाई क्लाउडमा आधारित सेवा बनाउने आइडिया केही वर्ष अघि नै आइसकेको विषय हो । अहिले कोभिड आइसकेपछि चाँडो चाँडो कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता महसुस गरिएको मात्र हो । हामीले अन्तर्राष्ट्रिय तथा द्वीपक्षिय सहकार्यबाट यस किसिमका जानकारीहरु लिन सक्छौं । हाम्रो नेपालमा सेवाप्रदायकहरुको रिसर्च विङ छैन ।

संसारमा कुन किसिमको इनोभेसनले दूरसञ्चारलाई अगाडि बढाउँदै छ र कोसँग कस्तो किसिमको ज्ञान छ अनि कसरी  सहकार्य गर्न सकिन्छ भन्ने कुरा त्यस्तो विङमार्फत अगाडि बढाउन सकिन्छ ।  यस किसिमका अवसरको बारेमा हामीले सोच्नुपर्ने हुन्छ । अन्यथा हामी स्थानीय बजारमा टिकिरहन त सक्छौं तर विस्तार हुन सक्दैनौं ।

उत्तम किसिमको सेवा दिन र सेवा प्राप्त गर्ने समयलाई घटाउन हामीले विभिन्न माध्यमबाट सहकार्य गर्न सक्छौं । आईटीयू, थ्रीजीपीपी, जीएसएमए जस्ता संस्थाहरुमा संलग्न हुँदा ज्ञान बाँड्न सकिन्छ । अहिले त भर्चुअलाइज्ड प्लेटफर्मको कुरा आइरहेको छ । यसबाट भर्चुअल मसिन बनाउन सकिने हुन्छ र त्यसलाई सफ्टवेयरले नै रिकन्फिगर गर्न सकिन्छ । 

यसको अर्थ कुनै पनि नयाँ सेवालाई इन्स्टल गर्नुपर्‍यो, अपग्रेड गर्नुपर्‍यो, डिप्लोइ गर्नुपर्‍यो वा मनिटर गर्नुपर्‍यो  भने पहिले जस्तो उपकरणलाई नै प्रतिस्थापन गर्नुपर्ने आवश्यकता हुँदैन ।  त्यसैले हामीले भविष्यमूखी पूर्वाधार कस्तो हुनुपर्छ, कहाँबाट, कहिले देखि कसरी प्रयोगमा ल्याउने भन्ने ज्ञान हुन आवश्यक छ ।  हामी यस्ता ज्ञानको क्षेत्रमा पछि रह्यौं भने सधैं पछि पर्छौं । अहिले फोरजीको डिप्लोयमेन्टमा पनि हामी १०/१२ वर्ष पछि परेका छौं भने फाइभजीमा पनि पछि पर्न सक्छौं ।

(नेसनल इन्स्टिच्युट अफ कम्युनिकेसन एन्ड टेक्नोलोजी जापानका रिसर्च म्यानेजर डा वेद काफ्लेले शनिबार टेकपाना द्धारा आयोजित दूरसञ्चार नीतिगत बहसका क्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0