भारतमा २८ हजारभन्दा बढीमा ‘कालो ढुसी’को संक्रमण – Online Khabar


२५ जेठ, काठमाडौं । कोभिड–१९ को दोस्रो लहर विस्तारै कम हुँदै गइरहेको भारतमा ‘कालो ढुसी’ को संक्रमणमा उल्लेख्य वृद्धि भएको छ । म्युकर्माइकोसिस नामक यो रोगको मृत्युदर पनि उच्च छ । सोमबार भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारतमा ढुसीको संक्रमण भएका २८ हजारभन्दा धेरै बिरामी देखिएका छन् ।

‘भारतका २८ राज्यमा अहिलेसम्म म्युकर्माइकोसिसका २८ हजार २५२  संक्रमित देखिएका छन् । यीमध्ये ८६ प्रतिशत अर्थात् २४ हजार ३७० संक्रमितहरु यसअघि कोभिड–१९ बाट पनि संक्रमित भइसकेको पाइएको छ भने ६२.३ प्रतिशत अर्थात् १७ हजार ६०१ संक्रमित मधुमेहको समस्याबाट पीडित देखिएको छ,’ उनले भने । संघीय मन्त्रीहरुको बैठकमा हर्ष वर्धनले यस्तो बताएका हुन् ।

‘सबैभन्दा धेरै ६ हजार ३२९ संक्रमित महाराष्ट्रमा देखिएका छन् । गुजरातमा ५ हजार ४८६ र त्यसपछि मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान, हरियाणा, कर्नाटक, दिल्ली र आन्ध्रप्रदेशमा देखिएका छन्,’ उनले थपे ।

के हो ‘कालो ढुसी’ ?

कालो ढुसी अर्थात् म्युकर्माइकोसिस भएका बिरामीको नाकभन्दा माथिल्लो भाग कालो हुँदै जाने वा रङ हराउँदै जाने, धमिलो वा एउटै कुरालाई दुईवटा देखिने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने र खोकी लाग्दा रगत आउनेजस्ता समस्या देखिन्छन् । विशेषगरी मधुमेहको समस्या रहेका र त्यसमाथि कोरोना भाइरसको संक्रमण पनि देखिएका तथा कमजोर प्रतिरोधी क्षमता भएका मानिसलाई यो संक्रमणले आक्रमण गर्छ ।

आँखा वा नाकको वरिपरि दुखाइ हुने वा रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिने, रगतसहितको बान्ता हुने र मनोवैज्ञानिक स्थिति परिवर्तन भइरहने यो रोगका लक्षण हुन् ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार मुम्बईजस्ता भारतका प्रमुख शहरमा देखिएको वायु प्रदूषण र अत्याधिक धुलोले ढुसीलाई फस्टाउन सहयोग गरेको छ र यसको संक्रमणमा वृद्धि हुनु अहिले गम्भीर चिन्ताको विषय बनेको छ ।

‘हामी र प्रमुख ठूला अस्पतालमा पछिल्लो एक महिनामा अघिल्लो पाँच वर्षमा भन्दा धेरै म्युकर्माइकोसिसका संक्रमितहरु भेटिएका छन्,’ गुरुग्रामस्थित मेदान्त लिभर ट्रान्सप्लान्ट इन्स्टिच्युटका अध्यक्ष अरविन्दर सोइनले बताए ।

भारतमा म्युकर्माइकोसिसका संक्रमित यसअघि पनि नभएका भने होइनन् तर पछिल्लो समय बढेको संक्रमण भने कोरोना संक्रमण भएका र कोरोनाबाट निको भएका मानिसमा धेरै देखिएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स स्मार्ट सुपर स्पेसियालिटी हस्पिटलका डा. सुमित म्रिगका अनुसार कोरोनाको दोस्रो लहर आउनुभन्दा अघि सातामा एक वा दुईजना संक्रमित मात्र आउने गर्थे ।

‘यो संख्या अहिले नाटकीय रुपमा बढेको छ, अहिले दैनिक पाँचदेखि ६ जना संक्रमित आइरहेका छन्’, म्रिगले भने । ‘कोरोनाको दोस्रो लहरले स्वास्थ्य संरचनामा निकै ठूलो दबाब सिर्जना गरेको छ,’ उनले थपे ।

विशेषगरी कालो ढुसीको संक्रमणको उपचारको लागि प्रयोग हुने लिपोसोमल एम्फोटेरिसिन–बी औषधिको पनि अभाव देखिन थालेको छ । म्रिगका अनुसार अचानक भारतमा यो औषधिको अभाव देखिएको हो ।

‘यो संक्रमणमा मृत्युदर उच्च हुनुका साथै यो रोग २४ देखि ४८ घण्टाभित्र मानिसको नाक र साइनसदेखि आँखा र मस्तिष्कसम्म फैलिन्छ । समयमा नै उपचार सुरु गरिएन भने बिरामीको आँखाको ज्योति गुम्न सक्छ । यो संक्रमण एकपटक मस्तिष्कमा पुगेपछि यसको मृत्युदर पनि ८० प्रतिशतको हाराहारीमा पुग्छ,’ म्रिगले भने ।

यसको उपचार कसरी भइरहेको छ ?

अहिले भारत सरकारले राज्य सरकारहरुलाई भेटिएका संक्रमितको आधारमा लिपोसोमल एम्फोटेरिसिन–बीको वितरण गर्दै आएको छ । पर्याप्त आपूर्ति हुन नसक्दा अहिले केही राज्यहरुमा यो औषधिको अभाव देखिएको छ । गत साता भारतले यो एम्फोटेरिसिन–बी इन्जेक्सनको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

भारतीय राष्ट्रिय कांग्रेसलगायतका विपक्षी पार्टीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले कालो ढुसीको संक्रमण नियन्त्रणको लागि आवश्यक कदम चाल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

‘एम्फोटेरिसिन बी औषधिको अभाव हटाउन के भइरहेको छ ? बिरामीले यो औषधि पाउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया के हो ?,’ गत साता सामाजिक सञ्जाल ट्वीटरमार्फत कांग्रेस आईका नेता राहुल गान्धीले प्रश्न गरेका थिए, ‘उपचार दिनुको सट्टा सरकार किन जनतालाई औपचारिकताको झमेलामा फसाइरहेको छ ?’

गत साता दिल्लीको उच्च अदालतले संघीय सरकारलाई लिपोसोमल एम्फोटेरिसिन बी औषधि वितरणको नीति बनाउन निर्देशन दिएको थियो ।

अदालतले औषधि दिनको लागि युवा तथा बचाउन सक्ने सम्भावना धेरै भएका मानिसहरुलाई प्राथमिकतामा राख्न सुझाव दिएको थियो ।

स्टेरोइडले बढाएको समस्या’

मेदान्त अस्पतालका डा. सोइनका अनुसार कोरोनाको दोस्रो लहरको क्रममा ढुसीको संक्रमण कोरोनाबाट संक्रमितमुक्त भएको तीनदेखि ६ साता भएका संक्रमितमा धेरै देखिएको छ । उनीहरुमध्ये पनि अनियन्त्रित मधुमेह भएका वा स्टेरोइडको प्रयोग गरेका मानिसको संख्या धेरै छ ।

‘स्टेरोइड धेरै कोरोनाका बिरामीहरुको लागि जीवनरक्षक औषधि बन्यो । धेरै संक्रमण मधुमेह नियन्त्रित अवस्थामा रहेको र स्टेरोइडको प्रयोगमा रोक लगाइएको भए रोक्न सकिन्थ्यो,’ सोइनले भने ।

तामिलनाडुका महामारी विशेषज्ञ डा. जयप्रकाश मुलियिलका अनुसार मधुमेहका बिरामीले लिने औषधिमा सन्तुलन नमिल्नु नै म्युकर्माइसोसिसको कारण बन्न पुगेको बताए । ‘संक्रमितलार्ई मधुमेहको समस्या छ र उसलाई वार्डमा भर्ना गरिएको छ । सामान्य अवस्थामा निरन्तर सुगरको मात्रा परीक्षण र बिरामीलाई असर नगर्ने किसिमको डोज औषधि मात्र दिनुपर्छ । तर, कोरोना महामारीको क्रममा यो मापदण्ड धेरै अस्पतालमा पूर्णरुपमा पालना भएन । म्युकर्माइकोसिसका संक्रमित बढ्नुको एक कारण यो पनि हो,’ मिलियिनले भने ।

‘जतिबेला सुगरको मात्रा नियन्त्रणभन्दा बाहिर जान्छ, त्यस्तो अवस्थामा स्टेरोइड लिएका बिरामीको अवस्था बिग्रन पुग्छ,’ उनले थपे ।

मधुमेहको समस्या भएका र कोरोनाबाट निको भएका मानिसहरु निकै सतर्क हुनु जरुरी देखिएको र उनीहरुले म्युकरमाइकोसिसको कुनै पनि लक्षण देखिएमा तत्काल डाक्टरलाई देखाउनुपर्ने विशेषज्ञहरुको भनाइ छ ।

‘हामीले कोरोना संक्रमितमा सुगरको मात्रालाई नियन्त्रणमा राख्न सक्यौं भने मलाई के विश्वास छ भने तपाईंले यो समस्या भोग्नुपर्दैन र हामी त्यो गर्न पनि सक्छौं,’ मुलियिनले भने ।

अलजजिराबाट



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0