चुरे मधेशका लागि पानी जम्मा गर्ने ट्याङ्की – Online Khabar


चुरेलाई नेपालको पहाडहरूमध्ये सबैभन्दा कान्छो पहाड भनिन्छ । तराई सकिएर उठेको पहिलो तथा महाभारतबाट ओर्लिंदा अन्तिम पहाडका रूपमा चुरे छ ।

पश्चिममा पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै पूर्वमा भारतको ब्रहृमपुत्र नदीसम्म फैलिएको चुरे पर्वत शृंखला हो । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा झण्डै ८०० किमी अर्थात् नेपालको कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।

चुरेमा पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भेटिन्छ । महाभारतबाट बग्ने नदीहरू चुरे क्षेत्र हुँदै तराईतर्फ बग्ने गर्छन् । चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो ।

तराईको भूमिगत जलस्रोतको तहलाई रिचार्ज र निरन्तरता दिन, कृषि उत्पादनमा सहयोग पुर्‍याउन र भावर तथा तराई भूभागलाई बाढीबाट बचाउन चुरेले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले त चुरे, भावर क्षेत्रलाई मधेशका लागि पानी जम्मा गर्ने ट्याङ्कीको रूपमा लिइन्छ ।

प्राकृतिक सन्तुलन विना गरिएको विकास पछि गएर विनाशमा परिणत हुन्छ । अहिले सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा व्यापार घाटा क्षतिपूर्ति गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा विदेशमा निर्यात गर्ने निर्णयले अब नेपालको प्राकृतिक स्रोतसाधन र चुरेको विनाश निश्चित छ ।

चुरे वन विनाश र दोहनले वातावरणमा प्रतिकूल प्रभाव पार्नुका साथै अन्नको भण्डार रहेको तराई-मधेश मरुभूमिमा परिणत हुनेछ । यसले दीर्घकालीन रूपमा विकास र वातावरणमा नकारात्मक असर पार्नेछ । चुरेबाट ढुंगा, गिट्टी र बालुवा निकालेर बेच्न थाल्ने हो भने त्यसले निम्त्याउने विनाश अकल्पनीय हुनेछ ।

यसपछि तराई मधेशमा हुने पानीको प्राकृतिक रिचार्ज पूरै बन्द हुन्छ । चुरेमा ढुंगा भएनन् भने पानी अडिंदैन, पानीको प्राकृतिक रिचार्ज प्रणाली नै नष्ट हुँदा तराई-मधेश पूरै मरुभूमि बन्छन् । बालुवा बगेर सीधै उब्जाउ खेतहरू भरिन्छन् ।

चुरे उत्खननले पानीका स-साना मुहान सुक्ने, वन मासिने, उत्खनन, प्रशोधन र स्थानान्तरणका क्रममा धूलोले वरपरको वायुमण्डल प्रदूषित हुनेछ ।

चुरे विनाशले निम्त्याउने खतरा

(१) देशको अन्नभण्डार मधेश मरुभूमि बन्छ,
(२) जमीनमुनि पानीको स्रोत सुक्छ, र मानिसको जीवन प्रभावित हुन्छ,
(३) जैविक विविधताको विनाश हुन्छ,
(४) हजारौं वन्य जीव-जन्तुको विनाश हुन्छ,
(५) वन्यजन्तुको प्राकृतिक ‘चेन’ लाई समाप्त गर्छ,
(६) आधुनिक नेपाल निर्माण गर्ने प्रमुख प्राकृतिक स्रोतसाधन कौडीको मूल्यमा विदेशीको हातमा जान्छ,
(७) मानव जीवनमा ठूलो वातावरणीय प्रभाव पार्छ,
(८) पुस्ता दर पुस्ता पाउने काठ, दाउरा, जडीबुटी लगायतका वनजन्य उत्पादनबाट भावी पुस्ता वञ्चित हुन्छ,
(९) वर्षेनि नदी कटान र डुवानले अरबौंको धन र जनको क्षति हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा- सरकारले अध्यादेश मार्फत व्यापार घाटा क्षतिपूर्तिको नाममा ढुङ्गा, गिट्टी, बालुवा विदेश निर्यात गर्ने राष्ट्रघाती कार्यक्रम फिर्ता लिनुपर्छ ।

सरकारी कानून र मापदण्ड विपरीत ढुङ्गा, गिट्टी, बालुवाको अवैधरूपमा भइरहेको उत्खनन र दोहनलाई रोक्नुपर्दछ ।

विकास निर्माणको नाममा चुरे विनाश गरेर अस्पताल, विश्वविद्यालय, खेलकुद मैदान, विमानस्थल र सुरक्षा क्याम्प लगायतका ठूल्ठूला संरचनाहरू बनाउनुहुँदैन । यसको लागि ऐलानी, पर्ती तथा निजी जमीनलाई अधिग्रहण गरी काम गर्न सकिन्छ ।

आयआर्जनको लागि चुरे क्षेत्रमा जडीबुटी, फल-फूल, विभिन्न प्रजातिका बाँस एवं डाले घाँसहरू लगाउनुका साथै खाली ठाउँमा व्यापक रूपमा वृक्षरोपण गर्नुपर्छ ।

चुरे क्षेत्रभरि हजारौं संख्यामा ठूला-साना पोखरीहरू निर्माण गरी व्यावसायिक रूपमा मत्स्यपालन, माहुरी पालनका साथै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

चुरे संरक्षण, सम्वर्द्धन र व्यवस्थापनको लागि राष्ट्रपति चुरे गुरुयोजना तत्काल संसदबाट पारित गरी कार्यान्वयन गर्नुपर्दछ ।

(सन्ध्या मिस नेपाल इन्टरनेशनल हुन्)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0