भेन्टिलेटरबाट फर्किएको हाम्रो सौभाग्य


श्रीमतीजी र म दुवैलाई वैशाखको पहिलो हप्तादेखि नै कोरोनासँग मिल्दा-जुल्दा लक्षण देखिएका थिए । तर, पहिलो डोज खोप लगाएका हामीले मौसमी रुघा-खोकी र ज्वरो होला भनी पीसीआर टेष्टको हतार गरेनौं । केही दिनमा ठीक होला भन्दाभन्दै श्रीमतीलाई सास फेर्न असहज हुन थालेपछि वैशाख ९ गते पीसीआर टेष्ट गर्‍यौं ।

भोलिसम्म रिपोर्ट पर्खिने अवस्था नभएपछि हामी नयाँबानेश्वरको एभरेष्ट हस्पिटल पुग्यौं । १५ लिटर अक्सिजन लिंदा पनि अक्सिजन लेभल ८० भन्दा माथि नगएपछि डाक्टरले एन्टिजेन गर्ने सुझाव दिए । त्यही अनुसार गर्दा रिपोर्ट पोजेटिभ आयो ।

त्यसपछि त उनको अवस्था थप शिथिल बन्दै गयो । अक्सिजन लेभल पनि घट्न थालेपछि डाक्टरले जतिसक्दो छिटो आईसीयू बेड भएको अस्पताल लैजान भने । एकातिर श्रीमतीको शिथिल अवस्था अर्कोतर्फ अस्पतालहरूमा आईसीयू बेडको अभाव । यी कुराले म पनि शिथिल बन्न थालें ।

अत्यासको तीन घण्टा 

आईसीयू बेडका लागि आफूले गरेको प्रयास बेकाम बनेपछि चिनेजानेका व्यक्तिहरूलाई गुहार्न थालें । उहाँहरूले आ-आफ्नो ठाउँबाट प्रयास गर्नुभयो । वीर, टिचिङ, टेकु, सशस्त्र प्रहरीको बलम्बु अस्पताल लगायतको आईसीयू वार्डमा बेड खाली नभएको एक पछि अर्को सूचना पाउँदा मैले टेकेको जमीन भासिए जस्तो अनुभूति हुन्थ्यो । अनि चक्कर चल्ला जस्तो भएर ढलूँ-ढलूँ हुन्थ्यो ।

नर्सहरू आउँथे, घरी घोप्टो परेर सुत्न सल्लाह दिन्थे, घरी आफैंले घोप्टो पारेर थेरापी गर्थे । र पनि, अक्सिजन लेवल मेन्टेन भएन । केही घण्टाको प्रयासपछि डाक्टरहरूले जति सक्दो छिटो भेन्टिलेटरमै राख्नुपर्ने जानकारी दिए । भेन्टिलेटर भन्ने वित्तिकै मेरो होश-हवास् उड्यो

मलाई सरकारी अस्पताल, तिनमा पनि सकेसम्म टेकु वा सशस्त्र प्रहरी बलको बलम्बु अस्पताल पुर्‍याउन पाए श्रीमतीलाई बचाउन सकिन्छ भन्ने आत्मविश्वास थियो । तिनीहरू कोभिड केन्द्रित भएर उपचार गरिरहेको र त्यहाँ पुगेका जटिल बिरामी पनि निको भएर फर्किएका समाचारहरू मैले पढेको थिएँ ।

तर, दुई घण्टाको प्रयास काम नलागेपछि बेचैनी झन्-झन् बढ्थ्यो । १५ लिटरको अक्सिजनको सहारामा श्वास लिइरहेकी श्रीमतीलाई त्यो अवस्था सुनाउने हिम्मत मसँग थिएन । ‘प्रयास भइरहेको छ, नआत्तेऊ । तिमीलाई जसरी पनि स्वस्थ बनाएर फर्काउँछु’ भन्दै सान्त्वना दिनुको विकल्प थिएन ।

उनले फेवाताल जस्तो आँखा बनाउँदै ‘हजुर मेरो साथमा हुनुहुन्छ, म अलिकति पनि डराएकी छैन’ भन्दा मेरो मुटु फुट्न खोज्थ्यो । तर, उनलाई सुम्सुम्याउँदै आँसु खसाल्ने, उनको आत्मबल कमजोर बनाउने छुट मलाई थिएन । पसिनाले निथ्रुक्क उनको निधार घरीघरी पुछिदिंदै बेडको जोहोमा लाग्ने बाहेक अरू उपाय थिएन ।

बलम्बु अस्पतालमा बेड मिलाउन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीदेखि काठमाडौं महानगरपालिकाका डीएसपी धनपति सापकोटासम्म लाग्नुभएको थियो । अन्ततः बेड मिलेको खबर आयो ।

मैले तत्कालै सशस्त्र प्रहरी अस्पताल बलम्बुका निर्देशक एसपी डा. रूपक महर्जनलाई फोन गरें । उहाँले पनि व्यवस्थापन मिलाएर खबर गर्छु भन्नुभयो । नभन्दै, केही बेरमै उहाँले फोन गरेर बिरामी ल्याउन भन्नुभयो । अत्तालिएको मन शान्त बन्यो ।

हतार-हतार श्रीमतीलाई बलम्बु पुर्‍याएपछि डाक्टरहरूले एचडीयूमा राखेर उपचार शुरू गरे ।

एचडीयूबाट भेन्टिलेटरमा 

त्यहाँ बेडैपिच्छेका मनिटरमा कसैको अक्सिजन लेवल ९० माथि त कसैको ८०-८५ देखाइरहेको थियो । श्रीमतीजीलाई १५ लिटरमा अक्सिजन दिइएको थियो तर अक्सिजन लेवल ८०-८५ भन्दा माथि जान सकेन । त्यसपछि ‘हाईफ्लो अक्सिजन’ दिइयो ।

नर्सहरू आउँथे, घरी घोप्टो परेर सुत्न सल्लाह दिन्थे, घरी आफैंले घोप्टो पारेर थेरापी गर्थे । र पनि, अक्सिजन लेवल मेन्टेन भएन । केही घण्टाको प्रयासपछि डाक्टरहरूले जति सक्दो छिटो भेन्टिलेटरमै राख्नुपर्ने जानकारी दिए । भेन्टिलेटर भन्ने वित्तिकै मेरो होश-हवास् उड्यो । भेन्टिलेटरमा पुर्‍याएपछि फर्किने सम्भावना निकै कम हुन्छ भन्ने मैले सुनिरहेको थिएँ ।

श्रीमतीलाई आईसीयू वार्डमा छिराउँदा मन थामिनसक्नु भइरहेको थियो । उता डेरामा ८ वर्षको छोरालाई मामासँग छाडेको छु यता श्रीमतीलाई भेन्टिलेटरमा पठाउनु परेको छ । अत्यासको अवधि घट्नुको साटो बढ्दै गएको छ ।

केही घन्टापछि उघ्रिएको जूनेली रातमा अस्पतालकै चौरमा बसिरहँदा मनको छटपटी झन् बढ्यो । त्यो रात अनिंदै बित्यो । बिहान स्वयम्भूलाई तलतिर पारेर नैकापको डाँडाछेउ उदाएको रविलाई नमस्कार गर्दै श्रीमतीको स्वास्थ्यलाभको कामना गर्दा मन केही शान्त भयो ।

‘हजुरलाई थ्री डेको टाइम भयो…’

मेरो पनि रिपोर्ट पोजेटिभ नै आएपछि सँगै सुतेको छोरा र गाउँबाट आएको माहिलो सालोको चिन्ता पनि थपियो । तत्कालै मैले छोरालाई फोन गरें । उसले भन्यो, ‘बाबा के छ, खबर ? मामुलाई लिएर कहिले फर्किने ? छिटो फर्किनुहोस् । हजुरलाई थ्री डेको टाइम भयो… ।’

उसँग त्योभन्दा बढी कुरा गर्ने आँट आएन ।

हामी दुवै अस्पताल भर्ना भएको थाहा पाएसँगै आफन्तहरूको फोन आउन थाल्यो । कोही फोन उठाउने वित्तिकै रुन थाल्नुहुन्थ्यो । त्यसले मलाई थप कमजोर बनाउँथ्यो । शिथिल भावमा म भन्थें, ‘डाक्टरहरूका अनुसार, हामी दुवैको अवस्था स्थिर छ रे !’

बेड नम्बर १५९ मा क्लान्त शरीर र अशान्त मन सुस्ताइरहेको बेला मोबाइल बज्यो । आईसीयूबाट डाक्टरको फोन रहेछ । ‘तपाईं तारा घिमिरेको श्रीमान् होइन ?’ भन्ने प्रश्नले मलाई करेन्ट लागे जस्तो भयो । सम्हालिंदै भनें, ‘हो ।’

डाक्टरले ‘श्रीमतीजीको अवस्था स्थिर रहेको र सकेसम्म बचाउने प्रयास जारी रहेको’ बताउनुभयो । ‘स्थिर रहेको’ भन्ने भनाइलाई आशाको त्यान्द्रो बनाउँदै त्यो रात पनि अनिंदो नै कटाएँ ।

जूनेली रात छतमै विताएँ

आफूलाई नास्तिक ठान्नें म श्रीमतीलाई भेन्टिलेटरमा राखेदेखि ईश्वरवादी भइसकेको थिएँ । राति एक पटक भगवानको आराधना गरेर मात्रै सुत्ने र बिहानै झुल्केघामको उपासना गर्ने दैनिकी नै बन्यो । मेरो बेड रहेको भवन र आईसीयू वार्ड करीब ५० मिटर फरकमा थिए ।

म बसेको भवनको छतबाट आईसीयू वार्ड रहेको भवन प्रष्ट देखिन्थ्यो । श्रीमतीलाई भेन्टिलेटरमा राखेको दोस्ा्रो दिन र रात पनि म बेडमा कम र छतमा बढी बसें ।

अस्पतालले निःशुल्क खाजा र खानाको व्यवस्था गरेको थियो । तेस्रो तलाबाट झरेर खान लिएर फर्किंदा शरीर फतक्क हुन्थ्यो । खाना लिएर त आउँथे, तर रुच्दैनथ्यो ।

धन्यवाद डा. सौरभ !

असामान्य परिस्थिति भएकाले आईसीयूमा बिरामीलाई भेट्ने अवस्था थिएन । डाक्टरले टेलिफोनबाट दिएको अपडेटमै चित्त बुझाउनुपर्थ्यो ।

तेस्रो दिन आईसीयूबाट आएको फोनमा भनियो, ‘म डाक्टर सौरभ बोलेको । आजबाट तारा म्यामको उपचारमा म र मेरो टीम संलग्न रहनेछ । हामी उहाँलाई स्वस्थ बनाएर घर फर्काउने प्रयासमा निरन्तर लाग्नेछौं ।’

मलाई भगवान बोलेजस्तो भान भयो । केहीबेर भावुक भएँ ।

डा. सौरभले मलाई ढाडस दिंदै पुनः भन्नुभयो, ‘हामी डाक्टरको मात्र प्रयासले पूर्ण सफलता नमिल्न सक्छ । बिरामीको आत्मबल र बिरामीका आफन्तले दिएको उत्प्रेरणा सफलताका अवयव हुन् ।’

उहाँको पहिलो व्यवहारबाटै म पूर्णरूपमा प्रभावित भएँ । डाक्टरको काउन्सिलिङ मात्रले पनि धेरै राहत हुने रहेछ । चर्चित कलाकार मनोज गजुरेललाई बचाउने डाक्टरको टीमले मेरी श्रीमतीलाई अवश्य बचाउँछ भन्ने आत्मबल ममा बढ्यो । तीन दिनपछि रुचिले खाना खाएँ । राति पनि डा. सौरभको आवाज कानमा गुञ्जिरहेको अनुभूति भयो । तेस्रो रात केही घण्टा निदाएँ ।

एक झल्को नदेखेको डा. सौरभ र उनको टीमप्रति म पूरा विश्वस्त भइसकेको थिएँ । नभन्दै, डा. सौरभको हरेक फोनमा सुखद समाचार आउन थाल्यो । पाँचौं दिन उहाँले भन्नुभयो, ‘तारा म्यामलाई भेन्टिलेटर चाहिन्न, अब निकाल्ने ।’

यस्तो बेला, यस्ता डाक्टरलाई कुन शब्दले धन्यवाद दिने ! म अवाक् बनें । अत्यधिक खुशीले पनि मानिसलाई अबोला बनाउँदो रहेछ ।

रेम्डिसिभिरको चक्कर

नयाँ जीवन पाएकी श्रीमतीलाई अँगालो मारेर बेस्सरी रुन मन लागेको थियो, तर आफैं सम्हालिएँ । मलाई देख्ने वित्तिकै उनी रुन थालिन्, म पनि रोएँ

भेन्टिलेटरमा राखेकै रातबाट रेम्डिसिभिर लगायत औषधि शुरू गरिएको रहेछ । भोलिपल्ट बिहानै आईसीयूबाट नर्सले फोन गरेर तत्कालै ६ डोज रेम्डिसिभिर औषधि मगाउनु भन्दै अस्पतालको लेटरप्याटमा डाक्टरको हस्ताक्षर भएको पत्र मेरो भाइबरमा पठाउनुभयो ।

कोरोनाको दोस्रो लहर बढेसँगै भारतले निर्यातमा रोक लगाएकोले बजारमा रेम्डिसिभिरको अभाव चर्केको रहेछ । धेरै प्रयास गर्दा पनि रेम्डिसिभिर नपाउँदा श्रीमतीको उपचार रोकिने चिन्ताले छटपटी हुन थाल्थ्यो ।

अनेक प्रयासपछि ६ डोज औषधिको व्यवस्था भयो । पुनः ५ डोज चलाउनुपर्ने अर्को पत्र भाइबरमा आएपछि मेरो मथिङ्गल हल्लियो । अब कसरी, कहाँ पाउने रेम्डिसिभिर ?

त्यहीबीच डा. सौरभले राम्रो सुधार आएको भन्दै सम्भव भएसम्म तीन डोज जति व्यवस्था गर्दा हुने बताउनुभयो । दोस्रो पटक भने माननीय अजयक्रान्तिको प्रयासबाट सहजै उपलब्ध भयो रेम्डिसिभिर ।

पाँच दिनपछि आईसीयूमा भेट

बेलुका ६ बजेतिर डा. सौरभ आफैंले फोन गरेर मलाई आईसीयूमा बोलाउनुभयो । नयाँ जीवन पाएकी श्रीमतीलाई अँगालो मारेर बेस्सरी रुन मन लागेको थियो, तर आफैं सम्हालिएँ । मलाई देख्ने वित्तिकै उनी रुन थालिन्, म पनि रोएँ ।

सीसी क्यामेराबाट हामीलाई नियालिरहेका डा. सौरभले केही बेरपछि मलाई खाना खुवाउने अनुमति दिनुभयो । मैले तारालाई केही चम्चा खाना खुवाएँ ।

तीन दिन आईसीयूमा राखेपछि डा. सौरभले साधारण बेडमा सार्ने बताउँदै भन्नुभयो, ‘हामी पनि निरन्तर सम्पर्कमा हुन्छौं । अब तपाईंले जति धेरै खुशी बनाउन सक्नुहुन्छ उति छिटो उहाँलाई अस्पतालबाट घर लैजान सक्नुहुन्छ ।’

तारालाई बेड नम्बर १०८ मा सारेपछि म पनि १५९ बाट १०७ मा शिफ्ट भएँ । १४ दिनमा हामी डिस्चार्ज भएपछि पनि डा. सौरभले फोन गरेर हामीलाई हौसला, प्रेरणा दिनुभयो ।

डा. झाको ‘नमस्ते हजुर’

मूलतः डाक्टर-नर्सहरूको व्यवहार र अस्पतालको चुस्त व्यवस्थापनका कारण एपीएफ अस्पताल कोभिड पोजेटिभहरूको आड-भरोसाको केन्द्र बनेको रहेछ ।

हामीले सौरभको टीमका सिनियर-जुनियर डाक्टर, नर्स, पारामेडिक्स सबैलाई हृदयको भित्री तहबाटै स्वास्थ्यकर्मीको रूपमा पायौं । डा. झाको ‘नमस्ते हजुर’ पनि हामी दुवैका लागि जीवनभर अविस्मरणीय रहने भयो । उहाँ ‘नमस्ते हजुर’ भन्दै टीमसहित वार्डमा आउँदा बिरामीहरूको अक्सिजन लेबल स्वतः बढ्थ्यो भन्दा धेरै हुँदैन ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0