सगरमाथाको काखमा कञ्चन गोक्यो ताल – Online Khabar


१७ जेठ, काठमाडौं । कर्णाली प्रदेशका प्रथम सगरमाथा आरोही प्रेम दोर्चे लामा पेसाले पर्यटन व्यवसायी हुन् । यतिबेला कोराना महामारीका कारण पर्यटन क्षेत्र ठप्पजस्तै छ । यो अवस्थामा उनी गएको वैशाखमा ९ जना रसियन पर्यटकसहित सगरमाथा क्षेत्र घुमेर आए ।

‘सगरमाथा क्षेत्रमा त म लगभग ७० पटक गइसकें । तर यो पटकको यात्रा निकै यादगार भयो,’ उनले भने ।

पहिलो चरणको कोरोनाको लहर केही कम भएपछि देशभर पर्यटन क्षेत्र चलायमान हुँदै थियो । अन्तर्राष्ट्रिय उडान केही सहज बनाएपछि विदेशी पर्यटक आउने तथा जानकारी लिने क्रम सुरु भएको थियो ।

विगतमा यो मौसममा सगरमाथा क्षेत्रको पदयात्रा गर्दा बाटोभरी पर्यटक भेटिन्थे । तर योपटक सुनसान थियो । बाटोमा मानिस भेटिए पनि टाढा टाढा जानुपर्ने स्थिति थियो ।’

‘त्यो अवस्थामा मलाई पनि एक रसियन गुप्रले सगरमाथा क्षेत्रको गोक्यो ताल जाने प्रस्ताव गर्यो,’ उनले भने, ‘हामी गोक्यो ताल पदयात्रातर्फ गयौं ।’ उनी रसियन ग्रुपसँग बैशाख १० गते काठमाडौंबाट प्रस्थान गरेर दुई हप्ता सगरमाथा क्षेत्रमा बिताएर फर्किए ।

विगतमा यो मौसममा सगरमाथा क्षेत्रको पदयात्रा गर्दा बाटोभरी पर्यटक भेटिन्थे । तर योपटक सुनसान थियो । ‘बाटोमा मानिस भेटिए पनि भौतिक दुरी कायम गर्नुपर्ने स्थिति थियो,’ उनले भने ।

यात्राका क्रममा उनको ग्रुप काठमाडौंबाट गएर लुक्ला हुँदै फाक्दीङमा बास बस्यो । फाक्दीङबाट अर्को दिन नाम्चे पुगेर बास बस्यो । यसपटक नाम्चे सुनसान भएको उनले सुनाए ।

नाम्चे बजारदेखि सगरमाथा आधार शिवर र गोक्यो ताल जाने बाटो फरक छ । ‘हामी गोक्यो तालतर्फ लाग्यौं । नाम्चेदेखि पदयात्रा गरेर दोलेमा बास बस्यौं,’ उनले भने, ‘दोलेदेखि हामी गोक्यो ताल पुग्यौं ।’

यसपटकको यात्रामा मौसम पनि सफा नभएको उनले सुनाए । बिहान केही समय मौसम अलिक सफा भए पनि मध्यदिनदेखि भने ढपक्क हुने गरेको उनले सुनाए ।

‘मौसम सफा नभैदिँदा पदयात्राको जति आनन्दानुभूति हुने हो त्यति भएन,’ उनले भने, ‘अझ हिमाली क्षेत्रमा त झन् मौसस सफा भएन, हिमालहरू हेर्नै पाइएन । त्यसो भयो भने निकै बोर हुने गर्दछ ।’

सायद ग्लोबल वार्मिङले होला अहिले हिमालमा पहिलेजस्तो हिउँ पनि देख्न पाइँदैन । मौसमको पनि भर हुँदैन ।

‘विगतमा मैले यात्रा गर्दा बाटोमा देखिने खोलाहरुमा पानीको बहाव पनि निकै धेरै थियो, अहिले त्यो पनि निकै कम छ । यही अवस्था रहृयो भने हिमालको अवस्था कस्तो होला ?’

सगरमाथा क्षेत्रमा दुई साता बिताएपछि आफूहरु हेलिकप्टरमार्फत फर्किएको उनले सुनाए ।

गोक्यो तालको विशेषता

गोक्यो ताल छेउमा हिउँमा रमाउँदै ।

समुद्री सतहबाट ५ हजार उचाइमा छ गोक्यो ताल । यस क्षेत्रमा ६ वटा मुख्य ताल छन् । यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानी भएका तालहरू हुन् । यी तालमध्ये थोनाक ताल सबैभन्दा ठूलो छ । सन् २००७ देखि गोक्यो ताल क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ ।

यस ताललाई हिन्दू तथा बौद्ध दुवैले पवित्रस्थल मान्छन् । प्रत्येक वर्ष जनैपूणिर्माको दिन यहाँ मेला लाग्ने गर्दछ । यहाँ नुहाए र पूजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । तालको दक्षिणपट्टी हिन्दूका आराध्यदेव शिव तथा विष्णुको मन्दिर छ । यहाँ हजारौं श्रद्धालु आउने गर्छन् ।

सगरमाथा बेसक्याम्प पछि गोक्यो ताल बाहृय पर्यटकको रोजाइमा परेको स्थान हो । ४ हजार ७९० मिटरको उचाइमा रहेको गोक्यो गाउँ पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

‘पर्यटन क्षेत्र पुरानै लयमा फर्काउने प्रयासमा छौं’

नेपालमा कोभिडको पहिलो लहर केही मत्थर भएलगतै पर्यटकको थोरै भए पनि चहलपहल भएको क्षेत्र हो सगरमाथा राष्ट्रिय निकुन्ज र अन्नपूर्ण पदमार्ग ।

विशेष गरी सगरमाथा क्षेत्रमा बढी चहलपहल भएको थियो । त्यसको कारण थियो सगरमाथा आरोही । नेपालमा कोभिडको पहिलो लहरपछि सगरमाथामा आरोहण पुनः सुरु हुँदा पर्यटन व्यवसायी निकै उत्साहित भएका थिए ।

नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य ङावा ङिमा शेर्पा

लगत्तै कोभिडको दोस्रो लहरले केही अत्यास थपिदियो । पर्यटन व्यवसायीलाई अत्यास बढाए पनि पर्यटन बोर्डले तत्काल मात्र नभएर दीर्घकालीन योजनाका विषयमा विज्ञहरूसँग छलफल गरी कार्यनीति बनाइरहेको नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य ङावा ङिमा शेर्पा बताउँछन् ।

‘अहिले सगरमाथा क्षेत्र मात्र नभएर देशकै पर्यटन क्षेत्र कसरी पुरानै अवस्थामा फर्काउने भन्ने विषयमा छलफल तथा योजना बनाइरहेका छौं,’ उनले भने ।

उनले भने, ‘सगरमाथा क्षेत्रमा अहिलेको चालु पदयात्रा मार्गको पूर्वाधार ठिक छ । त्यसलाई अझै व्यवस्थित गर्न सके उत्तम हुने छ । गोक्यो, सगरमाथा मात्र नभएर सगरमाथा क्षेत्रका अन्य पदयात्राको पनि विकास गर्दै लगियो भने एक पटक आएका पर्यटक फेरि पनि आउने सम्भावना हुन्छ । यसैका लागि हामी छलफलमा छौं ।’

छोलात्सेको ग्लेशर ।

अहिले सगरमाथा प्रवेश गर्ने एक मात्र माध्यम काठमाडौंदेखि लुक्लासम्म हवाई मार्ग हो । काठमाडौंदेखि जिरी हुँदै सुर्के र अर्को काठमाडौंदेखि सल्लेरी, खरी खोला हुँदै सुर्केसम्म जिपमा जान सकिन्छ । त्यसपछि लुक्ला हँुदै सगरमाथा जान सकिन्छ ।

यदि सगरमाथा क्षेत्रमा पर्यटक बढाउने हो भने सडक सञ्जाल नै विस्तार गर्नुपर्ने शेर्पाको मत छ । ‘सडक सन्जालले जोड्न सकियो भने सगरमाथा क्षेत्र सिजनमा मात्र होइन बाह्रै महिना चहलपहल हुनुका साथै पर्यटकहरू पनि वृद्धि हुनेछन् । सडकले छुन सकियो भने महँगो गन्तव्यलाई सर्वसुलभ बनाउन सकिन्छ,’ उनले भने ।

हाल सगरमाथा क्षेत्रमा रहेका संरचनालाई भौतिक दुरी कायम गरेर पनि सन्चालन गर्न सकिने उनी बताउँछन् । उनले भने, ‘अब विगतमा जस्तो पर्यटक एउटै ग्रुपमा धेरै आउलान् जस्तो मलाई लाग्दैन । थोरै थोरै सख्यामा गुप्र बनाएर आउँछन् होला । सानो सख्यामा आउँदा अहिलेको संरचनाले नै सामाजिक दुरी कायम गरेर सेवा दिन सकिन्छ ।’

तस्वीरहरु : प्रेम दोर्चे लामा

गोक्यो रिबाट देखिएको विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरू ।
गोक्योबाट देखिएको छोटु हिमाल ।
गोक्यो क्षेत्रमा रहेको ताल
गोक्यो तालमा देखिएको हिमशृङखलाको छाया ।
गोक्यो तालमा रमाउँदै पर्यटक ।

गोक्यो रिमा तस्विर खिचाउँदै प्रेम दोर्चे लामा ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0