कोभिड वार्डभित्र संक्रमित–डाक्टर संवाद – Online Khabar


१६ जेठ, काठमाडौं । ‘नमस्ते सर, हजुरलाई कस्तो छ ? आज निकै फ्रेस र खुशी देखिनु भा’छ नि’ राउण्ड गर्न एचडीयू वार्डमा छिर्नासाथ डा.रोशन झाले एक संक्रमितलाई सोधे ।

‘अब चाहिं बाँचिएला जस्तो छ, तर रिंगटा लागेर कमजोर बनाइरा’छ । अब फेरि गाह्रो त नबनाउला नि ?’ संक्रमितले आफ्नो हालखबर बताउँदै जिज्ञासा पनि राखे ।

डा. झाले अन्य रिपोर्टहरू ध्यानपूर्वक हेरे । पहिला दिइएको औषधि ठीक समयमा चलाइएको/नचलाइएको बारेमा नर्ससँग जानकारी लिए । अनि अक्सिजन स्याचुरेसन नाप्दै भने, ‘लुँडो खेल्दा भर्‍याङ चढ्दै चढ्दै माथि पुगेर जित्नै लाग्दा फेरि स्वाट्टै तल झरेर जिरोमा पुगिन्छ नि, हामी डाक्टरको जिन्दगी लुँडोको गोटी जस्तै भइरा’छ ।’

निको बनाइसकेपछि पनि बिरामीको लापरबाही र बुझाइको कमीले हुने दुर्घटनालाई संकेत गर्दै उनले थपे, ‘विस्तारै विस्तारै बिरामी ठीक पार्दै लैजान्छौं तर अन्तिममा कता के बिग्रन्छ र दुःखी हुनुपर्छ ।’

चिकित्सकको कुरामा सहमति जनाउँदै ती संक्रमितले थपे, ‘मेरो शरीरमै चिनी कारखाना खोल्नुपर्ला जस्तो छ, सुगरले सबै रेकर्ड ब्रेक गर्‍यो ।’

निराश माहोलमा केही क्षण हाँसो छायो ।

‘नअत्तालिनुस्, तपाईं खतरामुक्त हुनुभएको छ । केही दिनलाई रगत पातलो बनाउने औषधि थप्छु’ रिपोर्ट हेर्दै डा.झाले भने ।

कमजोरी बनाउने बाहेक अरू समस्या भए/नभएको सोधे । एचडीयू वार्डमा गम्भीर संक्रमित मात्र राख्ने भएकाले निको हुँदै गएका संक्रमितलाई त्यहाँ राख्दा साइकोलोजिकल असर पर्ने सुनाए । अनि ति संक्रमितलाई छिटै शान्त ठाउँमा सार्ने आश्वासन दिए ।

‘म त झण्डै मरिसकेको थिएँ, अब त बाँच्छु जस्तो लागेको छ’, बिरामीले सुनाए ।

बलम्बुस्थित एपीएफ अस्पतालको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा डाक्टर झा एकजना मेडिकल अफिसर र दुई जना नर्सको साथमा राउण्डमा छन् । उनी हरेक बेडमा गएर संक्रमितको रिपोर्ट र औषधि कार्ड हेर्छन् । संक्रमितको समस्या सुनेपछि औषधि घटाउने या बढाउने सुझाव दिंदै अर्को बेडमा पुग्छन् । उनको राउण्ड अलावा त्यहाँ नर्स र मेडिकल अफिसरको ड्युटी २४ घण्टा नै हुन्छ ।

*****

एचडीयू बेडको अर्का संक्रमित अचेतजस्तो भएकाले डा.झा कुरुवासँग समस्या सोधिरहेका छन् ।

‘यो खोकीको लागि हो, अर्को फोक्सोलाई खुकुलो पार्ने औषधि, यो पखालालाई हो । उहाँलाई पहिला भन्दा सुधार भएको छ, अब विस्तारै घटाउँदै लैजानुपर्छ’ डा. झा औषधिको बारेमा बुझाइरहेका छन् ।

चिकित्सकको आवाज सुनेपछि बेडमा लम्पसार परेका संक्रमित केही इशारा गर्छन् । तर अक्सिजन मास्कको कारण बोल्न सक्दैनन् । संक्रमणको कारण जीर्ण भएको शरीर सम्हाल्न तागत देखिंदैन । डा. झा उनको कान नजिकै गएर भन्छन्, ‘तपाईं त पहिलाभन्दा निकै ठीक भइसक्नुभएको छ । हौसला कायम राख्नुस्, तपाईंले कोरोनालाई जित्नै लागिसक्नुभयो ।’

उनको अनुहार उज्यालिन्छ । दुई हात जोडेर डा.झातिर हेर्दा अनायाशै आँशु खस्छ । नजिकैको खाली बेड देखाउँदै डा.झा भन्छन्, ‘यो बेडको विरामीको अवस्था तपाईंको भन्दा निकै नाजुक थियो तर उहाँले आत्मबल कायम राख्नुभो, खाना खान नाइँनास्ति गर्नु भएन र छिटै निको भएर जानुभयो ।’

चिकित्सकको कुरा सुनेर उनको मुहार उज्यालिन्छ । नर्स र मेडिकल अफिसरले ती संक्रमितको कुरुवालाई औषधिको ‘रुटिन’ बताउँछन् ।

अर्को बेडमा रहेका संक्रमित तुलनात्मक रूपमा अरू भन्दा फूर्तिला देखिन्छन् । अस्पतालको बसाइ १५ दिन कटेकाले पनि उनी डिस्चार्ज हुन चाहन्छन् । उनको चाहना बुझेपछि डा. झा एकपटक ‘सिटी स्क्यान’ गरेर पीसीआर गर्न सुझाव दिन्छन् । र, औषधिको मात्रा घटाइदिन्छन् ।

‘कतिपय मानिसलाई संक्रमण निको भएर घर गएपछि पनि गाह्रो पारेको छ, त्यसैले ‘सिटी स्क्यान’ गरेर ढुक्क भएर घर जानु है’ डा. झा भन्छन्, ‘एकदिन घर जान ढिलो भएर के फरक पर्छ र ?’

‘यहाँबाट सीधै आर्यघाट जाने अवस्थामा पुगेको मान्छेलाई केको हतार ?’ बोल्दा बोल्दै ती संक्रमितको मुहारमा रुञ्चे हाँसो देखिन्छ । डा.झा उनको ढाडमा सुम्सुम्याउँदै भन्छन्, ‘अब सकारात्मक मात्रै सोच्नुस्, डराउनुपर्ने कुनै लक्षण छैन ।’

त्यसपछि अर्को बेडका संक्रमितलाई नमस्ते गर्दै झा सोध्छन्, ‘कस्तो महसूस भइरहेको छ हजुरलाई ?’

३५ वर्षका जस्ता देखिने ती संक्रमित रुन थाल्छन् । आँशु टिलपिलाउँछ । गला अवरुद्ध भएकाले बोली बुझिन्न ।

‘यसरी अत्तालिएर त झन् गाह्रो हुन्छ, हेर्नुस् अरू बेडमा सबै फाइटर छन्’ झाको कुरा सुनेपछि कामेको आवाजमा ती संक्रमित बोल्छन्, ‘एक दिन एम्बुलेन्स आउन ढिलो भएर पूरै फोक्सो ‘कोल्याप्स’ भयो, झण्डै घरमै मरिनँ ।’

होम आइसोलेसन बस्दाको खतरा उनको अवस्थाले दर्शाइरहेको थियो । अस्पताल भर्ना भएको १७ दिन भइसक्दा पनि उनी तङ्ग्रिन सकिरहेका थिएनन् । डा.झाका अनुसार उनलाई आईसीयू आवश्यक परे पनि खाली नभएकाले एचडीयूमा नै राखिएको हो ।

‘होम आइसोलेसनमा बस्नेहरू धेरैलाई गाह्रो भइरहेको छ, किनकि, अधिकांश संक्रमितहरू फोक्सो कोल्याप्स भइसकेपछि मात्रै अस्पताल आइपुग्छन्’, डा.झाले भने ।

संक्रमितका कुरुवाका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी पाँच दिन घर बसे । छैटौं दिन सास फेर्न गाह्रो भएर एम्बुलेन्स खोज्दा आएन ।

भोलिपल्ट उनको अवस्था नाजुक भइसकेको थियो । ‘धन्न समयमै अस्पताल आइपुगेर सास फेरिरहेका छन् । १७ दिन अस्पताल बसेपछि बल्ल यतिको सुधार भएको छ’, ती कुरुवाले सुनाए ।

२०५ जना संक्रमितको एक जना कुरुवा भएकाले एचडीयू वार्डमा भीडभाड बाक्लै छ । कतिपय संक्रमित निको हुने तरखरमा छन् भने कतिपय सिकिस्त भएकाले अचेत देखिन्छन् । बोल्न र शरीर नियन्त्रण गर्न नसक्ने संक्रमितलाई कुरुवाले थम्थमाइरहेका छन् ।

कसैको नाकमा नोजल प्रोङ लगाइएको छ भने कसैले अक्सिजन मास्क लगाएका छन् । केहीलाई रिजर्भर ब्याग भएको अक्सिजन मास्क दिइएको छ । आशा र निराशाको मिश्रित माहोलमा डा.झा संक्रमितको मनोबल बढाउँदै काउन्सिलिङलाई निरन्तरता दिइरहेका छन् ।

त्यही वार्डको अर्को बेडमा रहेका संक्रमितले डा.झालाई नमस्कार गर्दै सुनाए ‘म त ठीक भइसकें नि डा.सा’ब ।’

‘ल धेरै राम्रो, यही अवस्था स्थिर रह्यो भने तपाईंलाई छिट्टै नै घर पठाउन सकिन्छ’ डा. झाले सोधे, ‘कमजोर महसूस हुने बाहेक अरू के समस्या छ ?’

‘केही छैन, हिजो अस्ति असहज थियो अब सबै ठीक हुँदै गइरहेको छ’ उनले खुशी सुनाए ।

‘शुरूमा ल्याउँदा त हजुरलाई यो अवस्थामा देख्न सकिन्छ कि सकिन्न भनेर डर लागेको थियो तर तपाईंको आत्मबलले धेरै राम्रो भयो । अबको चार दिनमा म तपाईंलाई ठीक

बनाएर घर पठाउने टार्गेट राख्छु’ डा. झाले सम्झाए, ‘खानामा अलिक जोड गर्नू ।’

अर्को बेडका संक्रमित करीब ५० वर्षका जस्ता देखिन्थे । मांसपेशी बाउडिएर दुख्ने र खाना नरुच्ने समस्याले सताएको गुनासो गर्दै भने, ‘हजुर नआउँदा म अत्तालिन्छु ।’

कोरोनाले केही दिन सताउने भएकाले नआत्तिन आग्रह गर्दै अन्य बेडका संक्रमितलाई देखाउँदै झाले भने, ‘हेर्नुस् त उहाँ घर जाने, उहाँ पनि घर जाने । हजुर पनि अबको दुई–तीन दिनमा घर जान सक्नुहुन्छ । नअत्तालिकन बस्नुस् है !’

ती संक्रमितको बेड नजिकै करीब ७० वर्षीया वृद्ध थिइन् । लम्पसार परिरहेकी उनको नजिक गएर डा. झाले सोधे, ‘हजुरलाई गाह्रो भइरा’छ हो, आमा खै बस्न सक्नुहुन्छ कि हुन्न कोशिश गर्नुस् त !’

उनी सीधा बस्न सकिनन् । कुरुवा छोरीले समस्या सुनाइन्, ‘बाथको बिरामी हो, हातगोडा कट्कटी खाएको छ भन्नुहुन्छ ।’

अचेत जस्तै भएर डा. झालाई हेरिरहेकी ति वृद्धाको कान नजिकै गएर उनले भने, ‘अब औषधि पनि सकिन लाग्यो र तपाईं घर जाने दिन पनि आउन लाग्यो । नआत्तिनुहोला है, आमा ।’

उनले स्वीकृति जनाएको भावमा मुन्टो हल्लाइन् ।

निकै कमजोर देखिएका अर्का बेडका संक्रमितले कामेको स्वरमा भने, ‘डा.साब मलाई निद्रा लाग्दै लाग्दैन, कसरी सुत्ने हो घोप्टो परेर कि उत्तानो परेर ?’

‘तपाईंलाई जसरी सुत्दा सहज महसूस हुन्छ त्यसैगरी सुत्नुस्’ डा. झाको कुरा सुनेपछि ती संक्रमितले थपे, ‘चार पाँच दिन भो सुत्नै सकेको छैन, अनेक चिजहरूले एट्याक गरेजस्तो हुन्छ ।’

संक्रमितका कुरुवाले थपे, ‘हो, डा. साब उहाँ रातभरि बर्बराइरहनुहुन्छ ।’

सिकिस्त संक्रमितहरू धेरैको मानसिक अवस्था नाजुक भएको डा.झाले भेटेका छन् । उनका अनुसार ती संक्रमितको पनि मानसिक अवस्था ठीक भएको छैन । कतिपय संक्रमितले चिकित्सकलाई नचिन्ने र कतिपयले हात समातेपछि नछोड्ने गरेको झा सुनाउँछन् ।

संक्रमितलाई हातले सुम्सुम्याउँदै डा. झाले सोधे, ‘रगत त आ’को छैन नि !’

‘अस्ति खकारबाट आइरा’थ्यो, एउटा औषधि दिएपछि कम भयो । त्यो औषधि अझै दिनुपर्छ ?’

कुरुवाको जवाफ नसकिंदै ती संक्रमित रुन थाले । उनलाई सम्हाल्दै डा.झाले सम्झाए, ‘डरले गर्दा झन् कमजोर भइन्छ, हिम्मत हार्नुहुन्न ।’

डा. झाका अनुसार गम्भीर संक्रमितहरूलाई पानी जति खाए पनि तिर्खा लागिरहने हुन्छ । डायरियाले सताउने गर्दा उनीहरू झन् अत्तालिन्छन् । अनिद्रा र मानसिक तनावको कारण संक्रमितको स्वास्थ्य सुधार गर्न चिकित्सकलाई हम्मेहम्मे पर्छ ।

‘हिजो राति एकदम गाह्रो भो, धन्न सिस्टरहरू समयमै आए । डा. साब मेरो बाबालाई बचाइदिनुस्’ संक्रमितको कुरुवाले हात जोडेर आग्रह गरे ।

चिन्ता नलिन आग्रह गर्दै डा. झाले संक्रमित ठीक हुने आश्वासन दिए । मान्छेको शरीरको प्रकृति अनुसार रोगले गलाउने र औषधिले काम गर्ने मात्रा फरक पर्ने डा. झाको सुझाव थियो ।

एउटै औषधिले कसैलाई छिटो ठीक पार्छ कसैलाई ढिलो भनेर बुझाए । आत्मबलको कारण पनि मानिसहरू छिटो ठीक हुने भन्दै डा. झाले संक्रमितका छोरालाई सम्झाए, ‘अत्तालिनुहुन्न, खाना र निद्रामा जोड दिनुपर्छ । बरु उहाँलाई मालिस गर्दिनुभयो भने निद्रा लाग्न सक्छ ।’

अर्को बेडका संक्रमित तुलनात्मक रूपमा ठीक देखिन्थे । उनको समस्या सुनिसकेर रिपोर्ट हेर्दै झाले भने, ‘अब अक्सिजन नदिंदा पनि हुने भएछ, यहाँ डिस्टर्ब हुन्छ । निद्रा पुग्दैन । सिरियस बिरामीले गर्दा आफू पनि बिरामी भइन्छ ।’

करीब ४० वर्षको जस्ती देखिने महिलाले खुशी हुँदै सोधिन्, ‘अब खानेकुरा के के बार्नुपर्छ डाक्टर सा’ब ।’

‘पैला जे जे खानुहुन्थ्यो सबै खान मिल्छ, तपाईं चाहनुहुन्छ भने अब घरमै आराम गर्न पनि सक्नुहुन्छ ।’

यसरी संक्रमितसँग कुराकानी गर्दै डाक्टर झाले राउण्ड सक्दा साँझको सात बजिसकेको थियो । बिहान ११ बजे राउण्ड छिरेका उनलाई तिर्खा, भोक र शौचले सताएको सहजै बुझ्न सकिन्थ्यो ।

****

बिहान ३ बजे उठ्ने डा.झा ओछ्यानमा पुग्दा रातको ११ बज्छ । बिहान ९ बजेसम्म कोभिड बिरामीको ओपीडीमा व्यस्त रहने उनी दैनिक ८ देखि ९ घण्टा राउण्डमा हुन्छन् ।

परिवारका सदस्यहरू श्रीमती, आमा, काका संक्रमित हुँदा समेत खटिएका उनी ‘ड्युटी गर्छु भन्दा पनि सकेजति गर्छु’ भनेर खटिएको बताउँछन् । ‘संक्रमितको अवस्था देख्दा भोक प्यास नै बिर्सन्छु । एकदिन राउण्ड गइन् भने बिरामीलाई केही भयो कि भन्ने लाग्छ’ उनी सुनाउँछन् ।

बिरामी भएर गलेको अवस्थामा पनि संक्रमितको सेवामा खटिन नछाडेको उनलाई एकदिन सबै ठीक हुनेछ भन्ने विश्वास छ । ज्वरो आएर थकित भएको बेलामा समेत बिदामा नबसेका उनी राम्रो दिनको पर्खाइमा रहेको सुनाउँछन् । ‘जबसम्म सक्छु तबसम्म गर्छु । एक न एक दिन त सकिएला नि कोभिड । त्यतिबेला १५ दिन बिदा लिएर रिल्याक्स गर्छु’ उनी निष्फिक्री सुनाउँछन् ।

बिरामीलाई उपचार गर्दा सधैं भावनात्मक सम्बन्ध, सामाजिक पृष्ठभूमि अनुसार व्यवहार र मेडिकल इस्युमा जोड दिने झाको ‘फर्मूला’ छ । यी तीन कुराले बिरामी र चिकित्सकको सम्बन्धमा विश्वास बढ्ने उनको भनाइ छ । बिरामीलाई चिकित्सकप्रति विश्वास भएको खण्डमा बिरामीको मानसिकता सकारात्मक हुने र चाँडो निको हुने उनी बताउँछन् ।

उनका अनुसार चिकित्सकको व्यवहारले नै बिरामीको मानसिकता र शरीरको फिजियोलोजी राम्रो हुन्छ । बिरामीको सोचाइ र त्यहाँको वातावरण सकारात्मक भएन भने एन्टिबायोटिक्सले काम नगर्ने उनको टिप्पणी छ । ‘हामीले मेडिकल इस्यू मात्रै हेर्यौं भने बिरामी कहिल्यै पनि निको हुँदैन र चिकित्सक पनि सफल हुँदैनन्’ डा. झा भन्छन् ।

कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई परिवारमा संक्रमण सर्ने डर व्यापक हुन्छ । सोही कारण झाले आमालाई गाउँ पठाएका छन् । आमाले छोराको खटाइ हेर्न नसक्ने भएकाले आमालाई गाउँ पठाएको उनी सुनाउँछन् । ‘अरूको जिन्दगी बचाउन दौड्दा कतै आफैं कोल्याप्स हुने होइन भन्ने सोच पनि हुन्छ तर यो युद्ध हो, अन्तिम अवस्थासम्म लड्नुको विकल्प छैन् भनेर काममा खटिन्छु’ उनी भन्छन् ।

एपीएफ अस्पतालको आईसीयू इञ्चार्ज डा.सौरभ श्रेष्ठको खटाइ कोभिड महामारी यता उस्तै छ । अत्यन्त सिकिस्त बिरामी मात्र आउने भएकाले त्यहाँ अन्य वार्डमा भन्दा धेरै मृत्यु देख्नुपर्छ । बिरामीको छट्पटाहट र अन्तिम श्वासको साक्षी आईसीयूका स्वास्थ्यकर्मी हुने गर्छन् ।

हरेक दिन विक्षिप्त दृश्यको सामना गर्नुपर्ने भएकाले जो–कोही स्वास्थ्यकर्मीले आईसीयूमा ड्युटी गर्न नसक्ने उनको भनाइ छ । ‘आईसीयू ड्युटी जोकोहीले धान्न सक्दैन’, डा. श्रेष्ठ भन्छन् ।

एपीएफ अस्पतालका रेजिडेन्ट चिकित्सक डा.रेनिश भट्टराई एक हप्ता लगातार २४ घण्टा ड्युटीमा खटिन्छन् । ड्युटी भएको एक हप्ता दैनिक ४ घण्टा पनि नसुतिकन काममा खटिएका उनी स्रोत–साधनको अभावबीच उत्कृष्ट सेवा दिएको बताउँछन् । ‘पीपीई लगाएर ७ घण्टा बस्नुपर्छ, तिर्खा लागेर मुख सुक्छ, ड्युटीमा हुँदा पिसाब आउँछ भनेर बिहानदेखि नै पानी खाँदैनौं’ डा. भट्टराई भन्छन् ।

आईसीयू वार्डमा नै खटिएकी नर्स सरोज थापा जतिसुकै दौडधूप गर्दा पनि बिरामीले खोजेको जस्तो केयर गर्न सकेनौं कि भन्ने प्रश्न मनमा आउने सुनाउँछिन् । उनलाई बिरामी बचाउन नसक्दा हेल्पलेस महसूस हुन्छ । तर बिरामी निको भएर घर जाँदा खुशी हुने सुनाउँछिन् ।

‘अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन सक्दैनौं, एकदमै नराम्रो लाग्छ । कहिलेकाहीं त सबै कुरा छोडेर कतै टाढा गएर डाँको छोडेर रुन पाए हुन्थ्यो जस्तो हुन्छ, किनकि क्षणभरमै हाम्रो प्रयास भताभुंग हुन्छ’, उनी सुनाउँछिन् ।

हेर्नुहोस् थप तस्वीरहरु

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0