आईसीयूमा बचाउन सकिन्छ, भेन्टिलेटरमा गाह्रो – Online Khabar


१२ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर शुरू भएको झण्डै एक महीनासम्म देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या १०० भन्दा कम (८९) मात्र थियो ।

वैशाख लागेसँगै जसरी संक्रमण तीव्र गतिमा फैलियो, आईसीयू र भेल्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १३ जेठमा देशभरका अस्पतालमा १ हजार ६४५ संक्रमित आईसीयूमा उपचाररत छन्, जसमध्ये ४७५ भेल्टिलेटर सपोर्टमा छन् ।

दैनिक थपिने संक्रमितको संख्या केही कम भएसँगै अस्पतालहरूमा बेडको अभाव केही कम भएको छ । तर आईसीयू र भेन्टिलेटरको चाप उस्तै छ ।

अधिकांश बिरामी सास फेर्न गाह्रो भएपछि मात्रै अस्पताल आउँछन्, जतिबेला अक्सिजन स्याचुरेसन कम भइसकेको हुन्छ । ‘तत्काल आईसीयूमा राखेर उपचार गर्न नपाए बचाउन समस्या हुन्छ- डा. निरज बम, त्रिवि शिक्षण अस्पताल

मन्त्रालयको तथ्यांकले पनि त्यही भन्छ । काठमाडौं उपत्यकाका सशस्त्र प्रहरी (एपीएफ), वीरेन्द्र, नेपाल प्रहरी, वीर, त्रिवि शिक्षण, पाटन, निजामती कर्मचारी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आईसीयू युनिटका सबै बेड प्याक छन् । ह्याम्स, मेडिसिटी, ग्राण्डी, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज लगायतका निजी अस्पतालहरूको अवस्था पनि योभन्दा फरक छैन ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आईसीयूमा भर्ना हुने अधिकांश बिरामीमा सास फेर्न गाह्रो हुने, छाती भारी हुने, अक्सिजन स्याचुरेसन मेन्टेन नहुने समस्या देखिएको छ । यस्ता बिरामीलाई आईसीयूमा राखेर उपचार गराउँदा पनि सुधार आएन भने भेन्टिलेटरमा राखिन्छ । आईसीयूमा राखिएका बिरामी निको हुने सम्भावना धेरै हुन्छ भने भेन्टिलेटरमा कम । यद्यपि लामो समय भेन्टिलेटरमा राखिएका संक्रमितहरू निको भएका केसहरू पनि छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका डा. निरज बम समयमै उपचार पाए आईसीयूमा भर्ना भएका करीब ८० प्रतिशत कोरोना संक्रमित निको हुने बताउँछन् । स्वास्थ्यमा समस्या आउने बित्तिकै चिकित्सकलाई देखाएर औषधि सेवन गर्ने र थप समस्या आउँदा अस्पतालमा भर्ना भए कोरोनालाई जित्न सकिन्छ ।

तर अधिकांश संक्रमित गम्भीर अवस्थामा मात्र अस्पताल आइपुग्ने गरेकाले बचाउन समस्या भएको डा. बमले बताए । ‘अधिकांश बिरामी सास फेर्न गाह्रो भएपछि मात्रै अस्पताल आउँछन्, जतिबेला अक्सिजन स्याचुरेसन कम भइसकेको हुन्छ,’ उनले भने, ‘तत्काल आईसीयूमा राखेर उपचार गर्न नपाए बचाउन समस्या हुन्छ ।’

वैशाख दोस्रो साताबाट अस्पतालहरू गम्भीर बिरामीले भरिएका कारण आईसीयूमा भर्ना गर्नुपर्नेहरूलाई इमर्जेन्सीमै राखेर उपचार गर्नु परेको चिकित्सकहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. अनुप बास्तोला पनि आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरूलाई इमर्जेन्सीमा राखेर उपचार गर्नु परेको बताउँछन् । भन्छन्, ‘पहिलो वेभमा आईसीयूमा राखेका जस्ता बिरामीहरू अहिले वार्डमा छन् । आईसीयूमा निकै गम्भीर अवस्थाका बिरामीहरू मात्र छन् ।’

कतिपय बिरामीको आईसीयूमा बेड कुर्दाकुर्दै मृत्यु हुन्छ, कतिपयलाई सीधै भेन्टिलेटरमा पुर्‍याइन्छ र पनि बचाउन सकिँदैन । डा. बमका अनुसार आईसीयूमा पुग्ने बिरामीलाई नोजल क्यानुला, नन् रिब्रेथर (एनआरएम) मास्कबाट १५ लिटरसम्म हाइ फ्लो अक्सिजन दिन सके बचाउन सकिन्छ । अघि भने, ‘जब भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँछ, बचाउन सम्भावना न्यून हुन्छ ।’

डा. बमका अनुसार जब कोभिड संक्रमणले गम्भीर रूप लिन्छ, बिरामीमा निमोनिया देखिन्छ । त्यसक्रममा मुटुबाट फोक्सो र फोक्सोबाट मुटुमा जाने ठूला नसाहरूमा रगत जम्न पुग्दा संक्रमितहरूको बढी मृत्यु हुने गरेको उनले बताए । ‘इन्भेसिभ मेकानिकाल भेन्टिलेटर (जहाँ इन्डोट्रासिल वा ट्राकेओस्टोमी ट्युबको सहायताबाट मानिसको फोक्सोमा सकारात्मक अक्सिजन दिइन्छ) बाट आउने आउटकम दयनीय छ’ डा. बम भन्छन्, ‘यसमा राखिने बिरामीका रक्तनलीहरूमा रगत जम्ने गरेका कारण उनीहरूलाई बचाउने अवस्था न्यून हुन्छ ।’ नन इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएका बिरामी निको हुने सम्भावना केही बढी देखिएको डा. बम बताउँछन् ।

कोभिडका बिरामीको उपचार भनेकै ‘बेस्ट नर्सिङ केयर’ हो । जुनसुकै क्रिटिकल बिरामीलाई पनि नर्सिङ केयर महत्वपूर्ण हुन्छ । कोभिडका बिरामीलाई त झन् सबैभन्दा महत्वपूर्ण उपचार भनेकै नर्सिङ केयर हो ।

बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालको तथ्यांकअनुसार आईसीयू र भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाउनेभन्दा निको भएर घर फर्किनेको संख्या ठूलो छ । अस्पतालका कोरोना फोकल पर्सन डा. प्रवीण नेपालका अनुसार चैत, वैशाख र जेठमा गरी १०३ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा भर्ना भएका थिए । ‘उनीहरूमध्ये ४९ जना डिस्चार्ज भएका छन्, ३४ जनाको मृत्यु भयो’ डा. नेपाल भन्छन्, ‘२० जना उपचाररत छन् ।’

दोस्रो लहरमा तीव्र गतिमा संक्रमण बढ्दा अस्पतालहरूमा आईसीयू र भेन्टिलेटर बेड नपाउँदा धेरैले ज्यान गुमाउने परेको उनको विश्लेषण छ । आईसीयू र भेन्टिलेटर पाइहाले पनि ढिला गरी सिफ्ट गरिँदा मृत्युदर बढेको उनले बताए ।

रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा वैशाखमा आईसीयू तथा भेन्टिलेटरमा ८७ जना भर्ना भएका थिए । ३१ जना डिस्चार्ज भएका थिए भने ३४ जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. विष्णु गौतमले बताए । जेठ महीनामा आईसीयू र भेन्टिलेटरमा ४६ जना भर्ना भएका थिए, जसमध्ये ९ जना डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा वैशाख १४ गतेदेखि आईसीयू र भेन्टिलेटरमा राखेर संक्रमितको उपचार शुरू गरेको थियो । हालसम्म आईसीयू र भेन्टिलेटरमा गरी २८२ जना भर्ना भएकोमा १५० जना डिस्चार्ज भएका छन् । अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार यो अवधिमा ३२ जनाको मृत्यु भएको छ, जसमध्ये ८ जनाको कोभिड आइसोलेसनमा उपचार गर्न ल्याउँदा ल्याउँदै मृत्यु भएको थियो ।

पहिलो लहरमा के थियो ?

१० माघ २०७६ मा पहिलो संक्रमित भेटिएको नेपालमा पहिलो लहरको पिक संक्रमित संख्याको आधारमा ५ कात्तिक २०७७ लाई मानिन्छ । उक्त दिन २० हजार ११८ नमूना परीक्षण गर्दा ५ हजार ७४३ मा संक्रमण पुष्टि भएको थियो ।

संक्रमणदर भने कात्तिक १० गते उच्च रह्यो । उक्त दिन संक्रमण दर २९.३८ प्रतिशत देखियो । ५ हजार ६ नमूना परीक्षण गर्दा १ हजार ४७१ मा संक्रमण देखियो ।

पहिलो लहरमा एकैदिन सबैभन्दा धेरै अर्थात् ३० संक्रमितको मृत्यु कात्तिक १९ मा भएको थियो । उक्त दिन आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ४५७ थियो ।पहिलो लहरमा संक्रमण उच्च विन्दुमा पुग्दा आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या अहिलेभन्दा कम थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ५ कात्तिक ५ मा ३५६ र कात्तिक १० मा ३४९ आईसीयू र भेन्टिलेटरमा थिए ।

पहिलो लहरको तुलनामा दोस्रो लहरमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको सख्ंया करीब पाँच गुणा बढी देखिएको छ । पहिलो लहरमा कात्तिक १९ गते आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संख्या ४५७ थियो । तर दोस्रो लहरको जेठ ८ गते यो संख्या वृद्धि भएर २ हजार २५५ पुग्यो, जुन पहिलो लहरको तुलनामा करीब पाँच गुणा बढी हो ।

दोस्रो लहर शुरू भएयता सबैभन्दा बढी संक्रमित संख्या वैशाख २८ गते देखिएका छन् । उक्त दिन २१ हजार ३१६ नमूना परीक्षण गर्दा ९ हजार ४८३ मा संक्रमण पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत रह्यो । उक्त दिन आईसीयूमा १ हजार ८४ र भेन्टिलेटरमा २९० संक्रमित थिए भने २२५ जनाको मृत्यु भएको थियो ।

दोस्रो लहरमा सबैभन्दा बढी वैशाख ५ गते २४६ जनाको मृत्यु भएको छ । उक्त दिन २१ हजार ८४७ नमूना परीक्षण गर्दा ८ हजार १७३ संक्रमित थपिएका थिए । प्रतिशतको हिसाबमा संक्रमण दर ३७.४१ प्रतिशत हो । उक्त दिन आईसीयू र भेन्टिलेटरमा १ हजार ३७४ जना संक्रमित थिए । जसमध्ये आईसीयूमा १ हजार ८४ र भेन्टिलेटरमा २९० थिए ।

‘बेस्ट नर्सिङ केयर’ नै कोभिडको ‘बेस्ट’ उपचार

डा. राजन पाण्डे

प्रमुख फिजिसियन कन्सल्टेन्ट, भेरी अस्पताल, बाँके

कोरोना महामारीको पिकमा बेड नपाएर धेरै बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आयो । संक्रमण पिकमा पुग्दा अस्पतालका बेडहरू भरिभराउ भए । आईसीयू र भेन्टिलेटरमा बेड पाउने कुरा त धेरै टाढा रह्यो । जनरल बेड समेत भरिभराउ भए । इमर्जेन्सीमा समेत ठाउँ भएन । बिरामीलाई अस्पताल परिसरमा पाल टाँगेरै उपचार गराउनुपर्ने अवस्था आयो ।

यस्तो अवस्थामा धेरै संक्रमितले ज्यान गुमाउन बाध्य भए । कसैले उपचार पाउँदा पाउँदै ज्यान गुमाए भने कसैले बेड पाउने पालो कुर्दाकुर्दै ज्यान गुमाउनु पर्‍यो । संक्रमितको अत्यधिक चापका कारण अस्पतालहरूमा अक्सिजनको अभाव हुन पुग्यो । अक्सिजन अभावले पनि धेरैले मृत्युवरण गर्नु पर्‍यो ।

तर केही दिनयता यो अवस्था कम भएको छ । अस्पताल आउने कोभिडका बिरामीले बेडका लागि पालो कुर्नुपर्ने अवस्था छैन । उनीहरूलाई आवश्यकता अनुसार आईसीयूमा राख्न सकिने अवस्था छ ।

तर क्रिटिकल अवस्थामा रहेका संक्रमितले समयमा नै आईसीयू, भेन्टिलेटर बेड पाउन सकेको भए यसरी ज्यान गुमाउनुपर्ने अवस्था आउने थिएन होला । समयमै अक्सिजन सपोर्टसहित नर्सिङ सेवा पाउन सकेको भए धेरैलाई बचाउन सकिन्थ्यो जस्तो लाग्छ ।

संक्रमितको चापले सीमित संख्यामा रहेका नर्सिङहरूले पनि उच्च प्राथमिकताका साथ बिरामीलाई सेवा दिनसक्ने अवस्था रहेन । सीमित संख्यामा रहेका नर्सिङहरू समेत संक्रमितको सेवामा खटिंदाखटिंदै आफैं संक्रमित हुन पुगे । जसले अस्पतालमा नर्सिङ जनशक्ति कम हुँदै गयो । यसले उपचार प्रणालीमै असर पार्‍यो ।

कोभिडका बिरामीको उपचार भनेकै ‘बेस्ट नर्सिङ केयर’ हो । जुनसुकै क्रिटिकल बिरामीलाई पनि नर्सिङ केयर महत्वपूर्ण हुन्छ । कोभिडका बिरामीलाई त झन् सबैभन्दा महत्वपूर्ण उपचार भनेकै नर्सिङ केयर हो ।

कोरोनाको स्पेशल उपचार नभएको अहिलेको अवस्थामा नर्सिङ केयर नै प्रभावकारी देखिएको छ । आईसीयू र भेन्टिलेटरमा रहेका बिरामीलाई प्रभावकारी नर्सिङ मनिटर हुनसके ५० प्रतिशतभन्दा बढी बिरामी निको भएर घर फर्किएका छन् ।

आवश्यकता अनुसार अक्सिजन थेरापी, सुगरको मनिटरिङ, राम्रो नर्सिङ केयर भए धेरै बिरामी निको हुने गरेको अनुभव छ ।

प्लाज्मा थेरापीको पनि केही भूमिका देखिएन । रेम्डिसिभिर भनियो, यसको पनि खासै प्रभावकारिता देखिएन । समयमै राम्रो नर्सिङ केयर पाउन सकेका कोभिडका बिरामी सञ्चो भएका छन् ।

संक्रमितलाई नेजलप्रोनबाट अक्सिजन दिनुपर्ने हो कि, मास्कबाट दिनुपर्ने हो ? सिप्यापबाट दिनुपर्ने हो कि ? ती आवश्यकताको पहिचान सबै नर्सिङ केयर मार्फत नै हुने हो । संक्रमितलाई अक्सिजन थेरापी, अक्सिजन कम भएकालाई समयमै डेक्सोना इन्जेक्सन, रगत पातलो गराउने हेपाडिन इन्जेक्सन, खाना खान नसक्ने बिरामीलाई स्लाइन, सुगरको मनिटेरिङ लगायतका नियमित केयरिङ नर्सिङ मार्फत हुनसके आईसीयू र भेन्टिलेटरमा राखिएका धेरै संक्रमित निको हुनसक्छन् ।

अक्सिजन थेरापी, डेक्सामिथासोन, हेपाडिन, सुगरको मनिटेरिङ र राम्रो नर्सिङ केयर नै बेस्ट उपचार हो । यसले राम्रो आउटकम पनि दिएको छ ।

क्रिटिकल अवस्थाको संक्रमितलाई कडा एन्टिबाइटिक, कडा भनिने हाइ डोज स्टेरोइड औषधि दिनु आवश्यक छैन । हाम्रो अनुभवले पनि त्यही भन्छ ।

बिरामीलाई राम्रो नर्सिङ केयर दियौं भने त्यसबाट पनि धेरै बिरामी राम्रो भएका छन् । सबैलाई भेन्टिलेटर नै चाहिन्छ भन्ने छैन । बिरामीको अक्सिजन लेभलबारे चनाखो भएर मास्क, सिप्याप, हाइफ्लो अक्सिजनबाट पनि धेरै बिरामीलाई बचाएका छौं ।

अस्पतालमा बेड अभाव, अक्सिजनको सहज आपूर्ति हुन नसक्दा कोरोनाको दोस्रो लहरमा धेरै जनाले ज्यान गुमाएका छन् । यसबाट सरकारले पाठ सिक्नु जरूरी छ ।

भोलि कोरोनाको तेस्रो लहर नआउला भन्न सकिंदैन । त्यसैले अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर लगायतका बेडहरू थप्नु र अक्सिजनको सहज व्यवस्था मिलाउनु आवश्यक छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0