घर, अस्पताल हुँदै घाटसम्म – Online Khabar


भनिन्छ, जीवन यात्रा हो । मानिसको जीवनलाई त्यही यात्रा मानेर हेर्ने हो भने घरदेखि घाटसम्मको दूरीको यात्रा हो । यसरी हेर्दा जीवन कति छोटो जस्तो, आजै हिंडेर अर्थात् एकै दिन, एकैछिनमा पनि पुगिने जस्तो । जीवनको सरलरेखा छ । हामी पो कसरी हिंड्छौं ? सफलता–असफलता, जस–अपजस, सुख–दुःख, आँशु–हाँसो शायद यसैमा निर्भर होला ।

तर, के जन्मदेखि मृत्युसम्मको यात्रा यति सरल र सहज छ ? के जीवनलाई मानिसले यति सजिलो हिसाबले बिताइरहेका छन् त ? त्यस्तो लाग्दैन । यसमा व्यक्ति स्वयंले जीवन जटिल बनाइरहेको छ । मानिसले मानिसको जीवनमा जटिलता सिर्जना गरिदिएका छन् ।

पछिल्लो एक वर्षयता भने कोरोनाभाइरसले जीवनमा जटिलता थपिदिएको छ र वर्तमान र भविष्य अनिश्चित बनाएको छ । कोरोनापछि सर्वत्र संकट त आयो नै तर, कोरोनासँगै हर मानिसले आफ्नो जीवन र स्वास्थ्यलाई असीम प्यार र परीक्षण गर्ने अवसर पनि पाए ।

म पनि लकडाउनबीच आफ्नो जीवन, भविष्य र स्वास्थ्यबारे सोच्दै थिएँ । साँझपख मेरो छ्यामाको फोन आयो । सानो बुवालाई कोरोना भएको पाँच दिन भइसकेको रहेछ । ‘घरमै बसेका बेला बेहोश भएर ढल्नुभो । गाउँपालिकाको एम्बुलेन्स बोलाएका छौं । यहाँ कोरोना भएको भनेपछि छिमेकीहरू आउन, छुन, सहयोग गर्न पनि डराए । अहिले घरबाट तल मोटरबाटोमा तेरो दाइले एक्लै बल्लतल्ल झारेको छ, मोटो मान्छे भएकाले साह्रै गाह्रो भो तलसम्म बोकेरै पुर्‍याउन । धौलागिरि अस्पतालमा पुग्नु है बाबु ।’ यो सुनेपछि म रन्थनिएँ ।

मलाई लाग्यो अब उपचार कठिन हुनेछ । यसै साता केही प्रश्न र यस्ता फोन मलाई आएका थिए जसबाट म निकै झस्किएको थिएँ । धौलागिरि अस्पतालमा सांसद, जनप्रतिनिधि आएका रहेछन् । एक जना सर्वसाधारणले जिज्ञासा राख्दै मलाई सोधे– अस्पतालमा आज को मरेको रहेछ र ? नेताहरू सबै यतै गइरहेका छन् ? मैले अप्ठ्यारो मान्दै भनें, अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रम छ ।

अस्पताल जाने सडक छेउमै घर भएका एक व्यवसायीले भोलिपल्ट एकाबिहानै फोन गरेर सोध्नुभो, फलानो फलानो पार्टीका नेताहरू अस्पतालतिरै गइरहेका छन्, आज पनि कसैको मृत्यु भएको छ र ?

यी त केवल देख्नेले लेखेका शब्द हुन् । भोग्नेको भोगाइ अझ कति अप्रियकर र कहालीलाग्दो होला ? त्यो कहाँ शब्दमा पोखिन सक्ला र ?

यी बारम्बार दोहोरिरहेका एकै खाले प्रश्नले मन कता–कता विचलित भए जस्तो भो । यो प्रश्नको अन्तर्यमा गएर भाव, आशय विश्लेषण गर्दा सरकार, सांसद, जनप्रतिनिधि र नेताहरू जनताको जीवन बचाउन बेखबर रहने गरे पनि मृत्युमा श्रद्धा र समवेदना व्यक्त गर्न आइपुग्छन् भन्ने मनोविज्ञान जनतामा विकास भएको आभास भयो ।

म आत्तिएँ, धौलागिरि अस्पतालका मेसु डा.शैलेन्द्र बि पोखरेललाई एउटा सिरियस केस आउँदै गरेको र उपचारमा सहयोग गरिदिनुपर्ने बताएँ । राति ८ बजेतिर अस्पताल ल्याएर इमर्जेन्सीमा भर्ना गर्‍यौं । डा.शैलेन्द्र र डा.अभिषेक रेग्मीसहितको टोलीले उपचार थाल्यो ।

अचेत अवस्थामा रहेका उहाँको अक्सिजन लेभल ३०/३५ मात्रै थियो । चिकित्सक, नर्स लगायतको टीमले हामीलाई भन्नुभो, यस्तो हुने बेलासम्म पनि किन यसरी रोग लुकाएर बस्नुभएको ? अब बचाउन सक्ने सम्भावना धेरै कम छ । एकाएक हाम्रो अनुहारमा सन्नाटा छायो । हामी नाजवाफ भयौं ।

धौलागिरि अस्पतालले कोरोना संक्रमितको उपचारका लागि हरसम्भव प्रयत्न गरिरहेको छ । तर, आईसीयूमा जम्मा तीन जना मात्रै राख्न सकिने अवस्था छ । तीन दर्जन बढीलाई अक्सिजनसहित उपचार गरिरहेको छ । हामीलाई बिरामीको क्रिटिकल अवस्थाले तत्काल आईसीयूमा राख्नुपर्ने बाध्यता थियो । त्यसका लागि बेड खाली नभएकाले डाक्टरहरूले तत्काल पोखरा, काठमाडौं लैजान सुझाव दिनुभयो ।

बुझ्यौं, सहज र सुलभ रूपमा आईसीयू पाउन कठिन र लैजानै पर्ने अवस्थामा पनि ट्युब राखेर मृत्यु पत्रमा हस्ताक्षर गरेर लैजानुपर्ने रहेछ । हामी हच्कियौं र मन भारी बनाउँदै अक्सिजनसहितको उपचारमै राख्यौं ।

आईसीयू पाउन त त्यहाँ उपचाररत कोही बिरामी मर्नुपर्ने थियो । अहो ! कसैको जीवनको याचनाको निम्ति कोही मरोस् र बेड खाली होस् भनेर प्रतीक्षा गर्नुपर्ने क्षण कति भयानक र पीडादायक थियो ? म अहिले पनि सम्झिंदा अवाक् हुन्छु ।

तीन दिनपछि आईसीयू कक्षमा उपचाररत एकजना बिरामीको मृत्यु भएछ । त्यसपछि मात्रै विशेष अनुरोधमा आईसीयूमा राखेर उपचार आरम्भ गरियो । त्यो दुई दिनको अवधिको क्षण यति सकस कि केवल भगवान भरोसामा विताउनु परेको थियो ।

आईसीयूमा उपचार शुरू भएको एक साता सेरोफेरोमा काकाको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । बोल्न, खान थाल्नुभो । हामी धेरै आशावादी भयौं । तर, अचानक अस्पतालमा उपचारका लागि लगेको १३ दिनमा देहान्त भयो । रेखदेखमा आइसोलेसनमै बसेका दाइले बुवालाई बचाउन सकिएन भनेर फोन गरेपछि म सबेरै अस्पताल पुगें ।

दाइ बाहिरिनुभो । दाइले मलाई हेर्नुभो, मैले उहाँलाई । हामी दुवै आफूलाई सम्हाल्दै रोएनौं, तर आँखाभरि दुवैको आँशु टिलपिल थियो । घरमा छ्यामा, आमा, दिदीबहिनी, भाउजू कसैलाई सीधै खबर सुनाउने हिम्मत आएन । अरू निकट आफन्तलाई भन्यौं ।

परिवारलाई मृत्यु भए पनि दुई थोपा आँशु र श्रद्धाको फूल चढाउन पाउने अवसर समेत रहेन । सानो बुवाको मृत्युमा यो बेला परिवार, आफन्त फोनबाट रुने र मृत्युपछि पनि अन्तिममा एक पटक मुहार हेर्ने धोको बाँकी रह्यो ।

मृत्यु पश्चात शव अन्त्येष्टिको क्षण साह्रै पीडादायक भयो । घाटमा चिता बनाउन शहर बस्ने केही गाउँले आएँ । नेपाली सैनिकको सहयोगमा शव अन्त्येष्टि गरियो । चिता छेउमा तीन नेपाली सैनिकले सलामी दिए, एक्लै चिता छेउ रहेका दाइले दागबत्ती दिएर श्रद्धाञ्जली व्यक्त गरे ।

सँगै आइसोलेसनमा नबसेका, कोरोना पोजेटिभ नभएका सन्तानले त दागबत्तीसमेत दिन पाएका छैनन् । यस पीडाको त झन् हिसाबकिताब नै छैन । नेपाली समाजमा ‘ज्युँदाको जन्ती, मर्दाको मलामी’ भन्ने कथन छ । तर अब यो कथन पनि कोरोनाले एकादेशको कथा बनाइदिएको छ ।

जब घाटबाट फर्किन थाल्यौं । अरू बेला किरिया पुत्रीका साथ दाजुभाइ, आफन्तको लस्कर हुन्थ्यो । एक्लै छोड्नुहुन्न भन्ने प्रचलन थियो । तर, किरिया बस्ने दाइ केवल एम्बुलेन्समा एक्लै घर जानुपर्ने विवशताले म फेरि उद्वेलित भएँ ।

गाउँपालिकाको एम्बुलेन्स आयो, चालकले पीपीई लगाए । दाइको पीसीआर रिपोर्ट आइपुगेको थिएन । एम्बुलेन्समा उनी एक्लै जाने कुरा भयो । अर्को उनकै निकट सहोदर भाइ अघि–अघि बाइकमा गए । चाहँदाचाहँदै पनि सँगै जान नपाइने या जान पनि कैयन् पटक गम्भीर भएर सोच्नुपर्ने कस्तो जमाना र धर्मसंकटमा हामी रहेछौं ?

गहिरो पीडाबोध भयो । यस्तो कठिन संकट र चुनौतीमा पनि अविचलित काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीको दृढता, समर्पण देखेर भने म नतमस्तक भएँ । सबै धन्यवादको पात्र छन् ।

यी त केवल देख्नेले लेखेका शब्दहरू हुन् । भोग्नेहरूको भोगाइ अझ कति अप्रियकर र कहालीलाग्दो होला ? त्यो कहाँ शब्दमा पोखिन सक्ला र ? कोरोना नभोग्दासम्म सामान्य ठान्ने भूल कदापि नगरौं । समयमै सचेत बनौं, सुरक्षित बनौं ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0