आकस्मिक व्यवस्थापनमा अब्बल – Online Khabar


१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो ।

त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको संकेत दिने यी दुई तथ्यांकले जनस्वास्थ्य विज्ञहरूलाई झस्काइरहेको थियो ।

महासंकटको संकेत पाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई कोरोना संक्रमितको उपचार गराउन परिपत्र जारी गर्‍यो । त्यसमध्ये राष्ट्रिय ट्रमा सेन्टर पनि एक थियो । राज्यलाई संकट परेको देखिरहेका ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले कोरोनाका बिरामी उपचार गर्ने कि नगर्ने भनेर अस्पतालको टीमसँग छलफल गरे ।

अस्पतालका सबै स्वास्थ्यकर्मी कोरोना बिरामी उपचार गर्न सकारात्मक भए । तर त्यहाँ उपचार गराइरहेका चोटपटकका बिरामीलाई सार्ने ठाउँको समस्या थियो । किनकि, त्यहाँ अपरेशन गर्न ठिक्क परेका र ओपीडीमा समेत धेरै बिरामी थिए ।

ट्रमाका बिरामीलाई कहाँ सार्ने भनेर अन्योलमा रहिरहेको बेला स्वास्थ्य मन्त्रालयले वीरको नयाँ सर्जिकल भवनलाई कोभिड युनिफाइड अस्पताल बनाउने र ट्रमाका बिरामी वीरमा सार्ने निर्णय गर्‍यो । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जोरपाटीमा रहेको अर्थोपेडिक अस्पतालमा सारियो ।

मन्त्रालयको यो निर्णयपछि उत्साहित भएर डा.पौडेलले संक्रमितको उपचार गराउने प्रतिबद्धता जनाए । र, वैशाख २६ गते नै ट्रमाका बिरामी वीरमा सारेर त्यहाँ संक्रमितको उपचार शुरू भयो । पहिलो दिनमै १७७ बिरामी भर्ना भएकाले दर्जनौंलाई बेड अभावमा फर्काइएको पौडेल बताउँछन् ।

ट्रमा सेन्टरले संक्रमित भर्ना लिएपछि स्टकमा रहेको लिक्विड अक्सिजन सकियो । त्यो बेला देशभरका एक दर्जनभन्दा बढी अस्पतालले अक्सिजन अभावमा उपचार गर्न नसक्ने भनेर विज्ञप्ति जारी गरेका थिए ।

संक्रमितको चापको कारण ट्रमा सेन्टरलाई दैनिक ४५० थान अक्सिजन सिलिण्डर आवश्यक पथ्र्यो । अनेक दौडधूप गर्दा समेत अक्सिजन नपाएपछि ‘संक्रमितको उपचार गर्ने प्रतिबद्धता अपराधमा परिणत हुने हो कि’ भनेर डराएको निर्देशक पौडेल सम्झन्छन् ।

‘आज रातभरि खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मको लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो । अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिएमा १०५ जना बिरामी भगवान भरोसामा छन्’ सोही दिन उनले यो स्टाटस आफ्नो सामाजिक सञ्जालमा राखेका थिए ।

देशलाई संकट परेको बेलामा सहयोग गर्न अग्रसर भए पनि शुरुआतमै रुनु न हाँस्नु भएको पौडेल सुनाउँछन् । जिन्दगीभर पछुताउनुपर्ने अपराध पो हुने हो कि भनेर मनस्थिति खल्बलिएकाले सामाजिक सञ्जालमा सहयोग मागेको उनको भनाइ छ । ‘अक्सिजन सकिएर १०० भन्दा बढी बिरामी तल–माथि होलान् भन्ने डरले सुत्न सकेकै थिइनँ’ डा. पौडेल त्यतिबेलाको सकस सम्झन्छन् ।

बालाजुको शंकर अक्सिजन ग्याँस उद्योगबाट अक्सिजन आपूर्ति गरिरहेको ट्रमा सेन्टरलाई कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को कोटा प्रणालीले पिरोलेको थियो । सीसीएमसीको निर्देशन अनुरूप नै अक्सिजन उद्योगले थोरै मात्र सिलिण्डर उपलब्ध गराएको थियो । उद्योगले २९ गते ५० वटा सिलिण्डर ल्याइदिने जानकारी गराएको कारण अन्य ठाउँमा पनि अक्सिजन खोज्न डा. पौडेल आफ्नो टीमसहित दौडधूप गरिरहेका थिए ।

अस्पतालमा अक्सिजन सकिन थालेपछि डा. पौडेलले उद्योगलाई साँझतिर ‘खोइ त हाम्रो अक्सिजन’ भनेर सोधे । उद्योगले भन्यो, ‘प्रहरीले लग्यो !’ उद्योगबाट गैरजिम्मेवार जवाफ पाएपछि राति नै अन्य ठाउँमा अक्सिजन खोजेर समस्या सुल्झाए ।

भोलिपल्ट बिहानै लिक्विड अक्सिजन आएपछि अक्सिजनको समस्या पाँच दिनको लागि टर्‍यो । ‘अक्सिजन सकिएर अस्पतालमा बिरामी छट्पटाइरहेको बेला हाम्रो लागि लोड भएको अक्सिजन प्रहरीले लगेपछि गृह मन्त्रालयमा समेत गुनासो गर्नुपर्‍यो’, उनी भन्छन् ।

ट्रमा सेन्टरमा अहिले १२५ शय्यामा कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ८० बेडमा एचडीयू सञ्चालन छ भने ३५ वटा इमर्जेन्सी बेडमा ८ वटा भेन्टिलेटर छ । त्यसैगरी १० वटा छुट्टै आईसीयू बेड सञ्चालन रहेको डा. पौडेलको भनाइ छ ।

पौडेलका अनुसार अहिले अस्पतालमा एचडीयू बेड खाली भएतापनि अक्सिजन र भेन्टिलेटरको भने समस्या उस्तै छ । ‘हामीले कोभिडको उपचार शुरू गर्दा अक्सिजन र एचडीयू बेडको अभावमा केही संक्रमितको मृत्यु भए जस्तै अहिले पनि भेन्टिलेटरको अभावमा संक्रमितहरू मरिरहेका छन्’, डा. पौडेल सुनाउँछन् ।

अस्पतालको सबै बेडमा अक्सिजन पोर्ट र अक्सिजन लिक्विड ट्यांक पहिले नै भएको कारण भयावह अवस्थामा संक्रमितको उपचार शुरू गर्न हिम्मत आएको डा. पौडेलको कथन छ । अक्सिजन पुर्‍याउन नसकेर संक्रमितको मृत्यु भएको भए करियर सकिने थाहा हुँदाहुँदै जोखिम लिएको बताउने उनी भन्छन्, ‘देशलाई संकट परेको बेला किन चुप बस्नु भनेर हिम्मत गरेका थियौं ।’

विज्ञहरूले जुनसुकै बेला दोस्रो लहर आउन सक्ने र त्यसले ठूलो क्षति निम्त्याउने चेतावनी दिइरहँदा ट्रमा सेन्टरले स्वास्थ्य र सरसफाइकर्मीलाई कोरोना संक्रमितको उपचार विधि र व्यवस्थापनको तालिम दिइरहेको थियो । महामारीको बेला चोटपटकको अस्पताल भनेर हात बाँधेर बस्दा ठूलो क्षति हुने बुझेका पौडेलले केही पूर्वतयारी भने गरेका थिए ।

महामारी भयावह हुँदा सबैले सक्ने योगदान दिनुपर्छ भनेर अस्पतालको टीम मानसिक रूपमा तयार भएर बसेको उनी बताउँछन् । ‘नेपालमा इमर्जेन्सी प्रिपियरनेसको खासै अभ्यास भएको देखिन्न तर हामीले गरेर देखायौं’ डा. पौडेल भन्छन् ।

कोरोना संक्रमितको उपचार आफैंमा तनावपूर्ण हुन्छ । त्यसमाथि दिनहुँ मृत्यु र संक्रमितको चीत्कार सुनेर स्वास्थ्यकर्मीहरू विक्षिप्त बनेका छन् । स्वास्थ्यकर्मीको तनाव परिवारसम्म नपुगोस् भनेर होटल आइसोलेसनको व्यवस्था गरेको डा. पौडेल बताउँछन् । उनका अनुसार त्यहाँ उपचाररत संक्रमितको लागि अस्पतालले खाना र खाजाको व्यवस्था गरेको छ । स्रोतसाधनले भ्याएसम्म स्वास्थ्यकर्मीलाई सुविधा र संक्रमितलाई सेवा दिइरहेको उनको दाबी छ । ‘चाहँदा चाहँदै पनि थप सुविधा दिन सकिरहेका छैनौं’ डा. पौडेल समस्या सुनाउँछन् ।

छोटो समयमा कोरोना संक्रमितको उपचार शुरू गरे पनि आकस्मिक रूपमा ट्रमा सेन्टर पुगेका संक्रमितलाई नफर्काएको डा. पौडेल बताउँछन् । उनका अनुसार आईसीयू खाली नभएको अवस्थामा समेत इमर्जेन्सीमा राखेर सेवा दिइएको छ ।किनकि, अन्य अस्पतालमा समेत आईसीयू खाली हुने सम्भावना नै छैन । ‘चोटपटकको उपचार गर्ने अस्पतालमा १८ वटा आईसीयू हुनु ठूलो कुरा हो, यस्तो बेला तत्कालै आईसीयू सेटअप गर्ने अवस्था छैन’ उनी भन्छन् ।

अस्पतालमा कोरोना संक्रमितको भर्ना गरेको पहिलो दिन नै १७६ संक्रमित भर्ना भएपछि ट्रमा सेन्टरमा त्रास फैलिएको थियो । त्यतिबेला अक्सिजन अभावको दौडधूप थियो, स्वास्थ्यकर्मीले संक्रमितको चाप धान्न सक्ने अवस्था थिएन । सोही कारण एचडीयू वार्डमा संक्रमितको कुरुवालाई नै राख्नुपरेको थियो । ‘शुरुआतको एक साता हामीले एकदम तनावमा काम गर्‍यौं, केही दिनयता सकस कम हुँदै गएको छ’, उनी भन्छन् ।

महामारीले सबै अस्पताललाई इमर्जेन्सी प्रिपियरनेस गर्नुपर्ने पाठ सिकाएको उनले बुझेका छन् । सरकारी स्वास्थ्य संस्था बलियो नबनाए संकटमा राज्य असफल हुने यथार्थ सबैले बुझ्नुपर्ने उनको टिप्पणी छ ।

संकटको समयमा सरकारी स्वास्थ्य संस्थाले गरेको योगदानले आफूलाई खुशी बनाएको उनी बताउँछन् । शिक्षण अस्पताल, पाटन, एपीएफ अस्पतालले ठूलो संख्याका सिकिस्त संक्रमित धानेको बताउँदै उनी भन्छन्, ‘महामारीमा सरकारी संस्थाले दिएको योगदान अतुलनीय छ ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुने क्रममा ८८ वर्षकी वृद्धा ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0