सम्झनामा ‘विजय भाइ’


म परिवारसँग अमेरिका बस्थें । मामा घर महोत्तरीको सदरमुकाम जलेश्वरमा थियो । अमेरिकाबाट नेपाल फर्केर आएपछि परिवारसँगै जलेश्वर गएको थिएँ ।

याद रहेसम्म त्यो नै मेरो मामा घरको पहिलो यात्रा थियो । त्यही बेला हो, मैले विजयलाई पहिलो चोटी देखेको । मलाई अहिले पनि राम्रै सम्झना छ- त्यहाँ एकदमै मीठो दही पाइन्थ्यो । बासमती चामलसँग दही एकदमै स्वादिलो हुन्थ्यो ।

तर उहीले जस्तो स्वादिलो अहिले पाइँदैन । विजय त्यही चामल र दही निकै धेरै खाने गर्थ्यो । धेरै खाने भएर उसको पेट र ज्यान पनि एकदमै ठूलो थियो । तर पनि एकदमै सुन्दर देखिन्थ्यो । कम बोल्ने अनि शान्त स्वाभाव ।

म त्यस्तै एघार वर्ष जतिको थिएँ । विजय आठ वर्षको हुँदो हो । ऊसँगको मेरो पहिलो भेट र सम्झना त्यही नै हो । मामाघरको त्यो भेटपछि ऊसँग मेरो त्यति साह्रो भेटघाट र सम्पर्क थिएन । बुबा प्राध्यापक हुनुहुन्थ्यो, त्रिभुवन विश्वविद्यालयमा ।

उहाँले पढ्नका लागि सबैलाई प्रोत्साहन गर्नुहुन्थ्यो । त्यतिखेरको माहोल सकेसम्म काठमाडौंमै आएर पढ्ने भन्ने किसिमको थियो । त्यसपछि बुबाले नै सन् १९९३ तिर विजयलाई पनि पढ्न काठमाडौं बोलाउनुभयो ।

तर म त्यतिबेला पढ्न अमेरिका गइसकेको थिएँ । विजय हाम्रै घरमा बसेर बढ्न थाल्यो । सन् १९९५ तिर म नेपाल फर्किएँ । त्यतिखेर पनि ऊ आफ्नी फुपूकोमा अर्थात् हाम्रै घरमा बसेर पढाई गरिरहेको थियो ।

ऊसँग कम्पनीको बारेमा कुनै कुराकानी वा चर्चा पनि भएको थिएन । त्यतिखेर ऊ १७-१८ वर्षको मात्रै थियो । त्यस्तोमा उसलाई यस्ता कुरामा धेरै चासो हुने बेला पनि भइसकेको थिएन । विजय त्यतिखेर आईकमको पढाई गरिरहेको थियो । 

मैले कम्पनीको सेवा सुरु गरें । हाम्रै घरमा भएकाले मैले उसलाई पनि कम्पनीमा जोडिएर काम गर्न भनें । मसँग अरु मान्छे पनि थिएनन् । कसैलाई काममा लगाउन तलब खुवाउने पैसा पनि मसँग थिएन ।

त्यसैले पनि मैले उसलाई आफूसँगै मिलेर काम गर्न जोड गरें । बरु म तलाई शेयर दिन्छु, तेरो पनि केही काम हुन्छ, भनेर मैले सम्झाएँ । मैले भनेको सहजै मान्थ्यो ।  उसले पनि काम गर्न रुची देखायो ।  जे काम अह्राउँथें, ऊ खुरुखुरु मान्थ्यो ।

कस्टमर सपोर्ट दिने र अफिसमा बसेर प्राविधिक काम हेरिदिने गर्थ्यो । विजयको पढाइ नै त्यही भएकाले बिक्रीमा संलग्न हुने, ग्राहककहाँ दौडिने, लेखा, हिसाब किताब राख्ने आदि काम सम्हाल्न थाल्यो । 

समयसँगै कम्पनीमा उतारचढावहरु धेरै आए । अनेक समस्याबाट पनि हामी गुज्रिनु पर्‍यो । दाइ हुनुहुन्छ भनेर विजय ढुक्कसाथ म माथि भर परेर बस्थ्यो । तर ऊ बढी सोंच्ने, पीर लिने गम्भीर स्वभावको मान्छे थियो । अलिक शंकालु पनि थियो ।

म जहिले पनि कुनै पनि पक्षमा राम्रो कुरा बढी देख्छु । तर उसले त्यस्तोमा आलोचनात्मक किसिमले पनि हेर्थ्यो । जसले गर्दा कम्पनीलाई सन्तुलित रुपमा निर्णय लिन र अगाडि बढाउन उसको महत्वपूर्ण सहयोग सह्यो । उसले सम्भावित जोखिमका कुराहरु औंल्याउँथ्यो ।

जुन मेरा लागि निकै मूल्यवान हुन्थे । किनभने मैले नदेखेका वा नसोचेका कुराहरु पनि उसले मलाई भन्थ्यो । आर्थिक रुपमा आइपर्नसक्ने सम्भावित जोखिम पनि उसले केलाइरहेको हुन्थ्यो । तर पनि अन्तिममा म जुन निर्णय लिन्थें, त्यसलाई उसले सहजै मान्थ्यो ।

विस्तारै आफू दीलिप दाइको छायाँमा परें कि भन्ने परेछ । बुबाले गरिरहेको काम आफूले समेत गर्दा छोरामा आफूले आफ्नै किसिमले निर्णय लिन नसकेको महसुस गरेजस्तो विजयलाई पनि भएछ । आजभन्दा १५/१६ वर्षअघिको कुरा होला ।

आफूले निर्णय लिन सक्ने स्वतन्त्र वातावरण नरहेको जस्तो सोच पलाएपछि ऊ आफ्नो छुट्टै व्यवसाय गर्छु भन्नेमा पनि पुगेको थियो । त्यसपछि उसले दुई तीन वटा अरु काम पनि सुरु गर्‍यो । तर त्यसबाट खासै उपलब्धी हात नलागेपछि ऊ फेरी वर्ल्डलिङ्कमै ध्यान दिन थाल्यो ।

किशोर अवस्थामा सुरु गरेको कामलाई लिएर परिपक्व भइसकेपछि आउने परिवर्तित सोचाईंको रुपमा मैले त्यसलाई सामान्य रुपमा नै लिएको थिएँ । सुरुको चार पाँच वर्ष हामीले कम्पनीबाट डिभिडेन्ड लिने गरेका थियौं । तर त्यसपछि डिभिडेन्ड लिने अवस्था बन्न सकेन ।

हामी पारिश्रमिक मात्र लिएर काम गर्न थाल्यौं । विजय अलि बढी नै सौखिन स्वभावको थियो र उसलाई खर्च पनि बढी नै आवश्यक पर्ने गर्थ्यो । त्यसले गर्दा उसलाई नियमित पारिश्रमिक पर्याप्त नहुने भयो ।

अनि उसले जहिले पनि आफूलाई खर्च नपुगेको गुनासो गरिरहन्थो । यसरी आर्थिक दबाबमा उसले धेरै वर्ष गुजार्यो । जति तिम्रो आम्दानी छ, त्यसै अनुसार खर्च गर भनेर मैले उसलाई सम्झाउथेँ । म पनि त त्यही आम्दानीमा बाँचिरहेको छु भन्थेँ ।

उसले वर्ल्डलिङ्कमा रहेको आफ्नो शेयर धेरैपटक बिक्री गर्न पनि खोजेको थियो । उसलाई धैर्यता राख्न भनेर धेरै सम्झाउँथेँ । अहिले सस्तोमा बिक्री गर्दा भोलि गएर तिमी पछुताउँछौं भनेर भन्थें । ऊ मेरो सहोदर आफ्नै भाइ जस्तै थियो ।

त्यसैले मैले उसलाई संरक्षण दिनु मेरो कर्तव्य पनि हुन्थ्यो । जब सीडीसीको लगानी कम्पनीमा आयो, त्यसपछि भने विजय ढुक्क थियो । त्यसबाट कम्पनीको मूल्य पनि बढ्यो । अनि आर्थिक हिसाबले उसले महसुस गर्ने असुरक्षा पनि हट्यो ।

कुनै पनि संकट वा अप्ठ्यारो परेको बेलामा कस्सिएर काम गर्ने उसको प्रयास हुन्थ्यो । ऊ मेरो लागि निकै विश्वासिलो मान्छे थियो । पछिल्ला वर्षहरुमा आइस्पान (इन्टरनेट सेवाप्रदायक संघ नेपाल) र अन्य हाम्रा पब्लिक रिलेसनको क्षेत्रमा विजय निकै सक्रिय थियो ।

विभिन्न आईएसपीबीच मतभेद हुँदा समझदारी कायम गर्न निकै लागिपर्थ्यो । अबको दिनमा वर्ल्डलिङ्कसँगै आइस्पानलाई समेत त्यो अभाव महसुस हुनेछ । हाम्रा कुनै पनि ठूला परियोजनामा त्यसको वित्तीय असर के हुन्छ, निकै केलाउने गर्थ्यो ।

त्यस किसिमको उसको सक्रियताको अभाव हामीलाई जहिले पनि खट्किनेछ । आजको दिनमा वर्ल्डलिङ्कको नाममा धेरै ठाउँमा जग्गा छ, त्यो उसैको जोडका कारण सम्भव भएको हो । पछिल्लो समयमा नेटटिभीमा पनि उसले नेतृत्वदायी भूमिका निभाएको थियो ।

म दाइ भएको नाताले आफूभन्दा कान्छो भाइले छोडेर जाँदा त्यसको दुःख मलाई सधैं महसुस हुनेछ । हामीले उसका लागि गर्न सक्ने सबै गरेनौं कि, वा अरु पनि केही गर्न सकिन्थ्यो कि भन्ने कुराले मलाई जहिल्यै सताउनेछ ।

वर्ल्डलिङ्कमा मपछिको लामो समय विताएको व्यक्ति विजय नै हो । कम्पनीको चिन्ता मभन्दा बढी उसमा थियो । कम्पनीमा उसको तहको लगाव र माया अरुमा हुन गाह्रो छ । स्टाफहरुसँग व्यक्तिगत तहको सम्बन्ध बनाएर राख्थ्यो । सबैसँग कुरा गर्थ्यो ।

त्यसैले स्टाफहरुबीच पनि ऊ मभन्दा बढी प्रिय थियो । कम्पनीका भित्रभित्रका कुराहरु बुझेर उसले मलाई सुनाउँथ्यो । त्यस किसिमको उसको जुन लगाव थियो, त्यो हाम्रो लागि निकै महत्वपूर्ण थियो । जसलाई हामीले गुमाएका छौं ।

(वर्ल्डलिङ्कका निर्देशिक विजय जलानको स्मृतिमा कम्पनीका अध्यक्ष दीलीप अग्रवालको अबिचुरी । जलानको यहि वैशाख ३० गते निधन भएको थियो । लेखक अग्रवाल जलानका फुपूका छोरा हुन् ।)

The post सम्झनामा ‘विजय भाइ’ appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0