रोगको भन्दा भोकको चिन्ता – Online Khabar


११ जेठ, काठमाडौं । नेपाली चलचित्रमा ड्रेसम्यानका रुपमा काम गर्छन् जीवन पोखरेल, ४० । उनी चलचित्र क्षेत्रमा काम गर्न थालेको २० वर्ष पुगिसकेको छ । दिनभर चलचित्रमा काम गरेर दुई छोरी, श्रीमती र बुबा पाल्नुपर्ने जिम्मेवारी छ उनको । तर, कोरोना महामारी सुरु भएसँगै उनको आम्दानी बन्द भयो ।

१४ महिना भयो जीवनले चलचित्रमा काम नपाएको । गतवर्षको लकडाउनअघि चलचित्र ‘बिच्छेद’मा काम सुरु गरेका थिए । तर, कोरोना महामारीसंगै सो चलचित्रको काम रोकियो । देश लकडाउनमा गयो । त्यसपछि सुरु भयो जीवनका कठिन दिनहरु ।

गतवर्ष लकडाउनमा प्राविधिक संघ लगायतले प्राविधिकहरुलाई राहत वितरण गरेका थिए । सोही राहतबाट उनको ६ महिना बढी समय धानिएको थियो । अवस्था सामान्यतर्फ फर्किएपछि चलचित्रमा काम पनि आइरहेको थियो । अब त अवस्था ठीक होला कि भन्ने लागेको थियो । तर, कोरोना भाइरसको नयाँ लहरले पुनः चलचित्रका गतिविधि ठप्प हुन पुग्यो ।

गतवर्षदेखि हालसम्म कोठाभाडा पनि तिर्न नसकेको जीवन बताउँछन् । ‘कोठाभाडा नतिरेकै १४ महिना भयो । १ लाख ४० हजार कोठाभाडा दिनुपर्ने छ । तर, दिन सकिरहेको छैन’ उनी समस्या सुनाउँछन्, ‘त्यसमाथि दुई छाक टार्नको चिन्ता अर्कोतर्फ छ ।’

जीवन १६ वर्षदेखि एउटै घरमा कोठा भाडामा बसिरहेका छन् । सोही कारण घरबेटीले भाडाका लागि धेरै दबाव दिएका छैनन् । ‘यस्तो अवस्थामा बस्न दिनुहोला नि भन्ने आशैआशमा बसिरहेका छौं । कहिलेसम्म दिनुहुन्छ बस्ने हो’ उनी भन्छन् ‘बस्न दिनुभएन भने सामान छाडेर निस्किनुपर्ला ।’

गतवर्ष कोरोना महामारी सुरु भएपछि चलचित्रको काम बन्द हुँदा उनकी श्रीमतीले ठेलामा चटपटे पसल सुरु गरेकी थिइन् । त्यसबाट हुने आम्दानीले सामान्य घरखर्च चलाएको छ ।

जीवन आफैंले पनि विकल्प खोजिरहेका छन् । तर पाएसम्म चलचि क्षेत्रमा नै काम गर्ने मन छ । ‘यही क्षेत्रमा यतिका वर्ष बिताएँ । अरु काम गरुँ भने शून्यदेखि सुरु गर्नुपर्छ । सानो व्यवसाय गर्न पनि एक, डेढलाख जुटाउनुपर्छ । त्यो पैसा जुटाउनु भनेको हाम्रो लागि सपना जस्तै हो’ उनी भन्छन् ।

अहिले खाद्यान्न भने पसलबाट उधारोमा किनेर खाइरहेको जीवनले बताए । पसलले उधारो दिन छाडेपछि कहिलेदेखि भोकै बस्नुपर्ने हो टुंगो नभएको उनी बताउँछन् ।

‘निकै पीडा छ’ उनी भन्छन, ‘अब ज्यामी काम गर्नुपर्छ कि सोँचेको छु । त्यो नभए निषेधाज्ञा खुलेपछि कसैले पैसा दिए साग, आलु ल्याएर व्यापार गरौं कि भन्ने पनि लाग्न थालेको छ ।’

****

चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकले ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । तर, तुलनात्मक रुपमा उनीहरुको पारिश्रमिक कम हुन्छ । त्यो पारिश्रमिक पनि एकै पटक पाउँदैनन् । त्यसैले धेरै चलचित्र प्राविधिकको बचत कमै हुन्छ । लामो समय चलचित्र निर्माण नहुँदा सबैभन्दा पहिले उनीहरु नै मारमा पर्छन् ।

कोरोना भाइरसको कारण गतवर्ष चलचित्र निर्माण ठप्प रह्यो । लकडाउनसँगै प्राविधिकहरु बेरोजगार बने । उनीहरुलाई कोठाभाडा र खाद्यान्नको चिन्ताले सतायो ।

सो समयमा नेपाल चलचित्र प्राविधिक संघले कलाकार एवं सहयोगीहरुको सहयोगमा राहत वितरण गर्‍यो । कोरोना महामारीको असर कम हुँदै गएपछि फाट्टफुट्ट चलचित्र निर्माण हुँदै थिए ।

अब त गाह्रो हुँदैन भन्नेमा आशावादी थिए प्राविधिकहरु । केही प्राविधिकले काम पाएका थिए, तर उनीहरुको खुशी लामो समय टिकेन । कोरोनाको दोस्रो लहरले चलचित्र क्षेत्र पुनः ठप्प बन्न पुग्यो । अहिले फेरि प्राविधिकहरु उही चिन्तामा पुगेका छन् ।

****

दिनेश लामा (गैंडा) (५६) लाई कोठाभाडा र खाद्यान्न कसरी जोहो गर्ने चिन्ताले रातदिन पिरोल्छ । उनले चलचित्र क्षेत्रमा ३० वर्ष बिताए । लाइटम्यान हुँदै चलचित्र क्षेत्रमा छिरेका उनले फाइटर हुँदै हाल कला निर्देशकका रुपमा काम गर्छन् ।

काम गर्छन् भन्नुभन्दा पनि गर्थे भन्नुपर्ने अवस्था आएको छ । किनकी उनले काम नपाएको दुई वर्ष भयो । ‘बीचमा एउटा विज्ञापनमा काम गरेको थिएँ । केही निर्देशकहरुसँग चलचित्रमा काम गर्ने कुरा पनि भएको थियो । अब त काम गर्न पाइन्छ कि भन्ने लागेको थियो । तर फेरि बन्द भयो’ उनले पीडा पोखे, ‘अब कसरी चल्ने हो निकै चिन्ता लाग्न थालेको छ ।’

उनी श्रीमती र छोरीका साथमा काठमाडौंमा बस्छन् । कोठाभाडा वार्षिक रुपमा बुझाउँदै आएका छन् । गतवर्ष जसोतसो गरेर २७ हजार कोठाभाडा बुझाएका थिए । यसवर्ष वैशाख १५ गते कोठाभाडा बुझाउनुपर्ने थियो । पैसा नभएर बुझाएका छैनन् । ग्यास सकिएको छ । दाउरामा खाना पकाउँदै आएका छन् । ‘खाद्यान्न पनि केही दिनलाई मात्र पुग्ने छ । त्यसपछि के गर्ने सोच्नै सकिरहेको छैन’ लामाले भने ।

एक जमाना उनलाई काम भ्याइनभ्याई थियो । समय मिलाउनै हम्मे हुन्थ्यो । तर कोरोना महामारीले त डामाडोल नै बनाएको लामा बताउँछन् ।

पहिले ब्यस्तताका दिनमा बचतमा ध्यान नदिँदा अहिले समस्या परेको उनी बताउँछन् । ‘त्यो बेला बचत गरेको भए सहज हुँदोरहेछ । उमेरमै विवाह गरेको भए पनि बचत हुन्थ्यो होला’ उनले भने, ‘कमाएको बेला साथीभाइलाई सहयोग गरेँ । दिनमै २÷४ हजार रुपैयाँसम्म खर्च गरिन्थ्यो । तर अहिले आफूलाई पर्दा कसैले सहयोग गर्दैनन् ।’

यसवर्ष कहीँबाट सहयोग पनि नआएको उनले सुनाए । कोरोनाको यो परिस्थितिमा रोगको भन्दा भोकको चिन्ता लाग्ने गरेको दिनेशले बताए ।

चलचित्र क्षेत्रबाट जीवन चलाउन गाह्रो हुँदा श्रीमतीले गुनासो गर्छिन्, ‘चलचित्र–चलचित्र भनेरै जिन्दगी गयो । खोइ के भयो ?’ तर, उनलाई यतिका वर्ष बिताएको चलचित्र क्षेत्रको असाध्यै माया लाग्छ ।

उनी अहिले आफू आशै आशमा बाँचेको बताउँछन् । ‘यो बन्द खुलेपछि कुनै चलचित्र साइन होला । चलचित्र साइन भएपछि त्यसबाट आएको पैसा ल्याएर कोठाभाडा तिरौंला । खाद्यान्न जोहो गरौंला, त्यही आशमा छु’ दिनेशले लामो सुस्केराका साथ सुनाए ।

****

नारायण चालिसे (५४) चलचित्र क्षेत्रमा लागेको झण्डै तीन दशक हुन लाग्यो । उनी प्रोडक्सन म्यानेजरका रुपमा काम गर्छन् । श्रीमती र दुई छोराका साथ काठमाडौंमा बस्दै आएका नारायण पनि अहिले आफूलाई कोठाभाडा र खाद्यान्नको चिन्ताले सताउने गरेको सुनाउँछन् ।

‘भाडा दुई महिनाको २२ हजार बुझाउनुपर्ने छ । सोमबार मात्रै एकजना साथीसँग पाँच सय रुपैयाँ मागेर खाद्यान्न किनेर ल्याएको छु’ उनले भने, ‘त्यसले दुई÷चार दिन टिक्ला, त्यसपछि के गर्ने निकै चिन्ता छ हजुर ।’

चलचित्र क्षेत्रबाट कमाएको केही रुपैयाँ बचत थियो । सो बचत गत वर्षको लकडाउनमा सकियो । सो समयमा प्राविधिक संघदेखि कलाकारको पनि सहयोग पाएका थिए ।

अवस्था सामान्यतर्फ फर्केपछि चलचित्र ‘आँधी तुफान २’मा काम पाएका थिए । छायांकन सुरु भएको थियो । दुई किस्ता गरी १० हजार रुपैयाँ पारिश्रमिक पनि पाएका थिए ।

तर अहिले काम गर्छु भन्दा पनि पाउने अवस्था नरहेको उनले बताए । यतिका वर्ष चलचित्र क्षेत्रमा बिताउँदा पनि अहिले जीवनयापन गर्न गाह्रो हुँदा चालिसेलाई विकल्प खोज्नुपर्ने सोचाइ पनि आउँछ ।

‘सानो चिया पसल गरेको भएपनि यति गाह्रो हुँदैनथ्यो होला । खाली अरुको सेवा गरेर हिँडे । आज आफ्नै बेहाल भयो भन्ने लाग्छ’ उनी भन्छन्, ‘तर बुढेसकाल लागिसक्यो ।

अहिलेसम्म जति समय खर्च गरेँ चलचित्र क्षेत्रमा गरेँ । छाडिहाल्न मन मान्दैन, अरु काम त्यति जानेको पनि छैन ।’ निषेधाज्ञा लम्बिँदै गयो भने अवस्था के हुने हो भन्ने चिन्ताले निदाउन पनि नसकेको उनले सुनाए ।

****

तीन दशकदेखि चलचित्रमा प्रोडक्सन म्यानेजरको रुपमा काम गर्दै आएका गणेश भण्डारी (५७) को पीडापनि कम छैन । गणेशको दुई छोरी, एक छोरा र श्रीमतीसहित ५ जनाको परिवार काठमाडौंमा बस्दै आएको छ । काम पाउँदा परिवार पाल्न गाह्रो थिएन । कोरोना महामारीले भने उनलाई धेरै गाह्रो बनायो ।

‘अहिले दुई महिनाको ३० हजार कोठाभाडा पुगिसकेको छ । अहिले त भात खान नपाउने अवस्था आउलाजस्तो छ’ उनले भने । कोरोना महामारी सामान्य भएसँगै उनलाई कामका प्रस्ताव आएका थिए । उनी संलग्न चलचित्र ‘कस्को माया कति ?’ वैशाख १७ देखि छायाँकन सुरु गर्ने तयारी थियो ।

‘तर, फेरि बन्द भएर बर्बादै भयो । केही दिनअघि प्राविधिक संघबाट साढे १२ किलो चामल ल्याइदिनुभएको थियो, त्यही खाइएको छ । त्यो सकिएपछि कसरी चल्ने केही सोच्नै सकेको छैन’ उनले सुनाए । उच्च रक्तचापका बिरामी गणेशको औषधी खरिदमै मासिक ७ सय रुपैयाँ खर्च हुन्छ । काम नपाए औषधी किन्न पनि कठिन हुने उनी बताउँछन् ।

चलचित्र क्षेत्रमा काम गरेको तीन दशक अवधिमा यस्तो कठिन अवस्था कहिल्यै नभोगेको गणेश बताउँछन् ।

प्राविधिकहरुको लागि संघले सकेको सहयोग गर्छ
पुष्कर लामा, अध्यक्ष, नेपाल चलचित्र प्राविधिक संघ

चलचित्रको पर्दा पछाडि काम गर्ने प्राविधिक करिब १५ सय जना छन् । कोरोना महामारीका कारण अधिकांश प्राविधिक गत वर्षदेखि नै बेरोजगार हुनुहुन्छ । २०७६ सालको सुरुदेखि नै चलचित्र निर्माण कम भएको थियो र यसको अन्त्यदेखि त ठप्प नै भयो । यसको पहिलो असर चलचित्र प्राविधिमा पर्छ । अधिकांश प्राविधिक काठमाडौंमा कोठा भाडामा बस्ने भएकाले उहाँहरुलाई कोठाभाडा र खानाकै पिरलो छ ।

अधिकांश प्राविधिक दिनभर चलचित्रको सेटमा काम गरेर दैनिकी चलाउँदै आउनुभएको थियो । केही सीमित प्राविधिकबाहेक अन्यको बचत गर्न सक्ने अवस्था पनि रहँदैन । निरन्तर काम भयो भने दैनिकी चलाउन मात्र पुग्ने हो ।

गतवर्ष संघले अधिकांश प्राविधिकलाई राहत वितरण गरेको थियो । सहयोगी दाताहरु पनि प्रशस्त आउनुभएको थियो । त्यसबाट प्राविधिकलाई केही समय भए पनि छाक टार्न सहज भएको थियो ।

अवस्था सामान्य बनेपपछि सीमित चलचित्रको छायांकन सुरु भएको थियो । अब काम पाइएला भन्नेमा प्राविधिकहरु आशावादी हुनुहुन्थ्यो । कोरोनाको दोस्रो लहरले चलचित्र प्राविधिक फेरि ठूलो समस्यामा पर्नुभएको छ । उहाँहरुलाई कोठाभाडा र दुई छाक टार्ने नै पिरलो छ । उहाँहरुका समस्या कसरी न्यूनीकरण गर्ने भनेर हामी लागिपरेका छौं ।

केही दिन पहिले कलाकार तथा क्याप्टेन विजय लामा र लामा नोर्बु पासाङले ५० प्राविधिक परिवारलाई खाद्यान्न सहयोग गर्नुभयो । सयौं जना समस्यामा रहेको हुनाले एकैपटक राहत वितरण गर्न पनि गाह्रो छ । फेरि केही प्राविधिकका लागि राहत वितरणको तयारी गर्दैछौं ।

चलचित्र प्राविधिक संघ प्राविधिकहरुको अभिभावक हो । दैनिक छाक टार्न समस्या भयो भने संघलाई सम्पर्क गर्नुहोला । संघले आफ्ना सदस्यलाई भोकै मर्न दिनेछैन । चलचित्रसहयोग गर्न चाहनेहरुलाई पनि सहयोग गर्न आह्वान गरेका छौं ।

कोरोनाको यो विषम परिस्थितिमा सरकार संवेदनशील भएर दैनिकी चलाउन समस्या परेकाहरुलाई सहयोग गरे सहज हुन्थ्यो । तर सत्ताकै खेलमा लागिरहेको सरकारबाट के अपेक्षा गर्नु ?



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0