अनलाइन कक्षाको काम छैन – Online Khabar


अहिले नेपालसहित विश्वका अधिकांश देश कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो चरणको चपेटामा परेर आक्रान्त छन् । संक्रमणबाट बच्न प्रायः लकडाउन अवलम्बन गरिएको छ । कोरोना संक्रमण नफैलियोस् भनेर नेपालका विभिन्न ठाउँ लकडाउन गरिँदा देशभरका विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन ठप्प छ ।

विद्यार्थी एकातिर कोरोना संक्रमणको त्रासमा छन् भने अर्कोतिर आफ्नो पढाइ छुटेको तनावमा । परीक्षा पनि बीचैमा रोकिएका छन् । गत साल पनि वार्षिक परीक्षा सुरु हुनै लाग्दा एकाएक देश लकडाउन भएको थियो । पछि एसईई र कक्षा १२ को परीक्षा लिने वैकल्पिक उपाय अवलम्बन गरियो । अन्य कक्षाको मूल्याङ्कन विद्यालयहरूले आफ्नो सहजतामा गरेका थिए ।

विश्वविद्यालयका परीक्षा भएनन् । केही विश्वविद्यालयले लिएका अनलाइन परीक्षाहरूबारे गुनासो सुनियो । लामो लकडाउनमा विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्ने होडबाजी गरे पनि विद्यार्थीको सहभागिता एकदमै न्यून रह्यो । यसको मुख्य कारण सबै ठाउँमा विद्युत् र इन्टरनेट सुविधा नहुनु थियो ।

कोभिड–१९ को दोस्रो लहरमा गत सालकै गल्ती दोहोर्‍याउँदै अनलाइन कक्षा सञ्चालन गर्ने कुरा अघि सारिएको छ । के बुझ्नु पर्‍यो भने नेपालको अधिकांश ठाउँमा बिजुली बत्ती र नेट सुविधा छैन । फेरि सबैसँग कम्प्युटर वा ल्यापटप हुने कुरो भएन ।

विश्वविद्यालयहरूमा पढ्ने अधिकांश गाउँका छन् । ती विद्यार्थी अहिले लकडाउनमा आ–आफ्ना गाउँघर फर्केका छन्, ज्यानको सुरक्षाको लागि । गाउँघरमा अनलाइन कक्षाको लागि पूर्वाधार नै छैन । अनलाइन कक्षा शहरी क्षेत्रमा बसोबास गर्ने निश्चित वर्गका विद्यार्थीका लागि मात्र उपयोगी देखिन्छ । शहरमा डेरा गरी बस्ने विद्यार्थीसँग ल्यापटप, इन्टरनेट र वाइफाइ सुविधा छ भन्ने पनि होइन । कम्प्युटर असाक्षरता अर्काे समस्या छ ।

हाम्रा नीतिनिर्माताहरू शहरमा बसेर हुम्ला, बाजुरा, ताप्लेजुङ, डोल्पा आदि ठाउँहरूलाई पनि शहरकै आँखाले हेर्छन् । यो नै हाम्रो सन्तुलित विकासको मूल बाधक हो ।

कलेजमा एक–दुई पिरियड पार्टटाइम पढाउने शिक्षकले वर्षभरिको पारिश्रमिकले एउटा ल्यापटप किन्न सक्ने अवस्था छैन । अनि जीविकोपार्जन नि ? यी अवस्थाहरूको अध्ययन नगरी हामी अनलाइन कक्षा चलाउने भन्छौं, शिक्षकले पढाएन भन्छौं । वास्तविकता बुझ्ने प्रयास कहिल्यै गरिंदैन । यो नै शिक्षक र शिक्षा क्षेत्रको दुरवस्था हो ।

हाम्रो विद्यालय तहमा कोही स्थायी, कोही अस्थायी, कोही करार, कोही राहत त कोही निजी स्रोतका शिक्षक छन् । निजी स्रोतका शिक्षकको वर्षभरिको तलब हाल्दा पनि एउटा ल्यापटप नआउने अवस्था छ । अर्कोतिर हाम्रा शिक्षकहरू प्रविधिमा निपुण छैनन् । सिक्नुपर्ने कुरा आफ्नो ठाउँमा छ, तर ग्रामीण क्षेत्रमा त्यो सिक्ने अवसर पनि छैन ।

कलेज तहमा पनि यही अवस्था छ । कलेजमा एक–दुई पिरियड पार्टटाइम पढाउने शिक्षकले वर्षभरिको पारिश्रमिकले एउटा ल्यापटप किन्न सक्ने अवस्था छैन । अनि जीविकोपार्जन नि ?
यी अवस्थाहरूको अध्ययन नगरी हामी अनलाइन कक्षा चलाउने भन्छौं, शिक्षकले पढाएन भन्छौं । वास्तविकता बुझ्ने प्रयास कहिल्यै गरिंदैन । यो नै शिक्षक र शिक्षा क्षेत्रको दुरवस्था हो ।
गत साल म आफैंले बीबीएस दोस्रो वर्षका ६०–६० जनाको तीन सेक्सनलाई एउटैमा राखेर अनलाइन कक्षा लिँदा ४०–४५ जनाभन्दा बढी सहभागी हुन सकेनन् । सहभागीमध्ये पनि अधिकांशको गुनासो हुन्थ्यो– सर मेरो डाटा सकिन लाग्यो, सर मेरो चार्ज छैन, सर मेरोमा नेटवर्क नै राम्ररी टिप्दैन, सर मैले त केही पनि सुनिनँ… ।

कलेज तहको यस्तो अवस्था थियो भने ग्रामीण क्षेत्रका विद्यालय तहमा झन् कस्तो होला ? यसकारण नेपाली परिवेशमा अनलाइन कक्षाको काम छैन ।

के हुनुपर्थ्यो  ?

अगाडिको त के कुरा, २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएयता जति सरकार आए, शिक्षा क्षेत्र कसैको प्राथमिकतामा परेन, अहिलेसम्म पनि परेको देखिन्न ।

विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी भइदिएको भए, एउटै तहमा पढाउने सबै शिक्षकको समान तलब भइदिएको भए, सबै गाउँबस्तीमा बिजुली पुर्‍याइदिएको भए, सबैतिर इन्टरनेट सेवा विस्तार गरिदिएको भए र सबैको गरीबी घटाउने कार्यक्रम ल्याइदिएको भए, सबै शिक्षकलाई प्रविधिमैत्री बनाउने व्यवस्था गरिदिएको भए अहिले अनलाइन कक्षा चलाउन सहज हुन्थ्यो । यस्ता पूर्वाधारमा ध्यानै नदिएर एकतर्फी रूपमा शिक्षकलाई मात्र दोष दिनु पानीमाथिको ओभानो बन्न खोज्नु हो ।

शिक्षा क्षेत्र उपेक्षित हुनु विडम्बना हो । शिक्षाको गुणस्तरको लागि यसमा प्रभाव पार्ने यस्ता तत्वहरूको खोजीनिती गरेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।

शिक्षा नै देश विकासको मेरुदण्ड भएकोले यसमा सबैको चासो र चिन्ता हुन आवश्यक छ । सरकारले शिक्षामा लगानी बढाउनु पर्‍यो ।

अब के गर्ने ?

हरेक क्षेत्रको जनशक्ति तयार पार्ने क्षेत्र भएकोले लगानी बढी हुन आवश्यक छ । समाजमा शिक्षण पेशा सम्मानित हुन आवश्यक छ । यसका लागि शिक्षकहरूको तलब अलि बढी हुन आवश्यक छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको पहिलो रोजाइ शिक्षण पेशा हुने वातावरण बनाउन आवश्यक छ ।

दुई–चार महीना कक्षा नभएर आकाश खस्दैन । अनलाइन विना हाम्रो शिक्षा क्षेत्र बर्बादै हुने पनि हैन । त्यसैले महामारी साम्य नभएसम्मका लागि यो अनलाइनको नाटक बन्द गरौं । विद्यार्थीलाई मानसिक रूपमा पनि अस्वस्थ पारेर कोभिडसँग लड्ने क्षमतामा ह्रास नल्याऔं ।

त्यसैगरी अनलाइन कक्षालाई प्रभावकारी बनाउने हो भने सरकारले बिजुली बत्ती नभएको ठाउँमा सोलार जडान गरिदिने, विद्यार्थी र शिक्षकलाई इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराउने, कम्प्युटर वा ल्यापटप नभएका शिक्षकलाई त्यो सुविधा दिन आवश्यक छ । डिजिटल साक्षरता नभएका शिक्षकहरूलाई तालिमको व्यवस्था पनि गर्न आवश्यक छ । सरकारसँग पैसाको होइन, इच्छाशक्ति र प्राथमिकताको अभाव छ ।

यति गरिंदैन भने अनलाइन कक्षा अधिकांश विद्यार्थीका लागि आकाशको फल हुनेछ । यो अवस्थामा एकमात्र विकल्प दूरशिक्षा नै हो । विभिन्न ठाउँका एफएम रेडियोहरूलाई हरेक विषयका तालिका बनाएर नियमित कक्षा झैं रेडियो शिक्षा सञ्चालन गर्नु बाहेक यो अनलाइन कक्षाको औचित्य छैन ।

कोरोना संक्रमणको त्रासमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा र परीक्षाको भूतले दिनदिनै तर्साइ थप मानसिक तनावमा पार्नुभन्दा जो जहाँ छन् सुरक्षित बस भनेर सूचना गर्नु ठीक हुन्छ । दुई–चार महीना कक्षा नभएर आकाश खस्दैन । अनलाइन विना हाम्रो शिक्षा क्षेत्र बर्बादै हुने पनि हैन । त्यसैले महामारी साम्य नभएसम्मका लागि यो अनलाइनको नाटक बन्द गरौं । विद्यार्थीलाई मानसिक रूपमा पनि अस्वस्थ पारेर कोभिडसँग लड्ने क्षमतामा ह्रास नल्याऔं ।

(साउद त्रिविमा अंग्रेजी शिक्षाबारे विद्यावारिधिका शोधार्थी हुन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0