बेड पाइहालिन्छ कि ! – Online Khabar


२६ वैशाख, काठमाडौं । वैशाख महिना । महाराजगञ्ज वरपर ज्याकारान्डाको फूल ढपक्कै फूलेको छ ।

लकडाउन गरिएकाले भौतिक वातावरण निकै शान्त छ । कोलाहल र धुलोधुँवा प्राय कम छ । तर यहीबेला महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल परिसर भने निकै अशान्त छ, व्यग्र छ ।

बढ्दो कोरोना संक्रमणका कारण यहाँको कोरोना वार्ड र आईसीयू भरिएको छ । यो अवस्था भएको साता दिन भइसक्यो । तैपनि देशैभरिबाट आएका बिरामी उपचार पाउने आशले अस्पतालको आँगनमा कुरिबसेका छन् ।

कोरोना संक्रमित बिरामीको लागि टिचिङले गणेशमानसिंह भवन र मंगलादेवी बर्थिङ सेन्टर गरी दुई भवन उपयोग गरेको छ । अहिले दुवै भवनका कोठा संक्रमित बिरामीले भरिएका छन् । नयाँ बिरामी भर्ना लिन असहज भएपछि बिरामीलाई आँगनमै राखेर उपचार थालिएको छ ।

अस्पताल वार्डको आँगनमा रहेको बगैँचा वरपर फूलको सुन्दरतालाई नै ओझेल पार्ने गरी संक्रमितका आफन्तहरू निकै उदास मुद्रामा बसिरहेका देखिन्थे । एकखालको मौनता थियो । कोही कसैसँग बोलेको देखिँदैनथ्यो ।

आइतबार दिउँसो डेढ दर्जन संक्रमित कोरोना वार्डको आँगनमा अक्सिजन मास्क लगाएर सुतिरहेका थिए । उनीहरूमध्ये केहीलाई सिलिण्डरबाट त केहीलाई अस्पतालमै फिट गरिएको पाइप–लाइनबाट अक्सिजन दिइएको छ ।

यता अस्पतालको आँगनमा रहेको बगैँचा वरपर फूलको सुन्दरतालाई नै ओझेल पार्ने गरी संक्रमितका आफन्त उदास मुद्रामा बसिरहेका छन् । त्यहाँ एक खालको मौनता छ । कोही कसैसँग बोलेका छैनन् । ‘बोलेर पनि के हुने हो र’, संक्रमित आफन्त लिएर टिचिङ आइपुगेकी भावना राउतले भनिन्, ‘जति ठाउँमा हारगुहार गरेपनि, जसलाई फोन गरेपनि बेड छैन भन्छन् !’

सबैतिरबाट बेड छैन भन्ने जवाफ आउने थाहा पाएकाले कसैलाई फोन नगरेको उनी बताउँछिन् । भन्छिन्, ‘यहाँ ल्यायो भने अक्सिजन त पाइन्छ भनेर आएको । अब भोलिदेखि त यही पनि नपाइएला जस्तो छ ।’

आँगनमा राखिएका अधिकांश कोरोना संक्रमित युवा उमेरका छन् । मुखमा अक्सिजन मास्क लगाएका उनीहरू पनि केही नबोली वार्डमा आफ्नो पालो आउने प्रतीक्षामा मौन छन् ।

सुत्ने ठाउँको अभाव भएकाले उनीहरू कार्टुन बाक्सा ओछ्याएर त्यहीमाथि बसेर अक्सिजन लिइरहेका छन् ।

बिरामीमैत्री छैन अस्पतालको परिसर

टिचिङ अस्पतालको कोरोना वार्ड अगाडि रहेको खुला स्थान बिरामीलाई असहज हुने खालको छ । ठूला–ठूला खाल्डा तथा रोडाले ह्वीलचियर गुडाउन नमिल्ने अवस्था छ । सिलिण्डर राखेर गुडाउने स्ट्याण्ड नहुँदा असक्त र महिलालाई आफ्ना बिरामी यताउता लैजान हम्मेहम्मे परिरहेको देखिन्छ ।

अस्पतालको आँगनमा निजी सवारी साधन जथाभावी पार्किङ गरिएकाले नयाँ बिरामी बस्ने ठाउँसमेत अभाव छ । शौचालय, फोहोर फाल्ने ठाउँ तथा हात धुने ठाउँ नहुँदा बिरामीलाई झनै सकस छ ।

‘थप बिरामी आए भने कहाँ राख्ने होला !’, कोरोना वार्डको आँगन अस्तव्यस्त भएकोमा अर्का एक बिरामीका आफन्त गुनासो गरिरहेका छन् ।

अहिले टिचिङको कोरोना वार्ड अगाडि बिरामीहरू आफैंले ल्याएको म्याटमा सुतेर अक्सिजन लिइरहेका छन् । बेड र ह्वीलचियरको अभावले संक्रमितलाई एक्स–रे जाँच गर्न लैजानसमेत पालो कुर्नुपर्छ ।

एकजनाको पालो सकिएपछि अक्सिजन मास्क फेरेर ह्वीलचियरमा राखेर एक्स–रे गर्न लगिन्छ । अस्पतालका कर्मचारी कोरोना उपचारस्थलमै व्यस्त भएकाले आँगनमा रहेका बिरामीलाई यताउता लैजाने काम कुरुवाले नै गरिरहेका छन् ।

यता बिरामीका आफन्त ओसारपसार गर्ने निहुँमा बसेका ट्याक्सीले टिचिङ अस्पताल परिसर भरिएको छ । यी ट्याक्सीले कोरोना संक्रमितलाई बोक्न मान्दैनन्, तर उनीहरूका आफन्त, सरसामान बोकिरहेका छन् । यद्यपि, ट्याक्सीले आफूखुसी भाडा असुल्ने गरेको बिरामीका आफन्तको गुनासो छ । यसमा नियमन र अनुगमन गर्ने कोही नभएको बिरामीका आफन्तको गुनासो छ ।

‘महाराजगञ्जबाट कोटेश्वर गएको एक हजारदेखि १४ सयसम्म लिन्छन्’, अस्पताल परिसरमा भेटिएका कोरोना संक्रमित बिरामीका आफन्तले अनलाइनखबरलाई भने, ‘अप्ठेरोमा परेकालाई सघाउने को भेटिन्छ र, जताततै लुट्न बसेकाहरु भेटिन्छन् ।’

प्रहरीले निषेधाज्ञाको बेला ट्याक्सी सञ्चालनमा रोक लगाएपनि बिरामी बोकेको परिचयपत्र तथा सरसामान देखेपछि छाड्ने गरेको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0