सुत्केरीको समय कसरी अनुमान गर्ने ? – Online Khabar


गर्भको सुखद अन्त सुरक्षित सुत्करी भए पछि हुन्छ । गर्भवतीको पहिलो गर्भ परिक्षणमा नै स्वास्थ्यकर्मी वा चिकित्सकले सुत्केरी समयको अनुमानित मिति लेख्ने हुन्छ । यसले त्यही मितिमा नै प्रसव हुन्छ भन्ने चाहि होईन तर त्यस मितिको १–२ हप्ता अगाडि पनि हुन सक्छ र १ हप्ता भन्दा बढि पर्खदा गर्भको बच्चामा खतरा बढ्ने भएकाले यो अनुमानित मिति (ईडिडि) लाई महत्वपुर्ण मानिन्छ । यो मिति अन्तिम पटक महिनावारी भएको मितिमा ९ महिना र १ हप्ता जोडेर निकाल्न सकिन्छ । जस्तै कसैको महिनावारी बैसाख १ देखि ५ गते भयो तर जेष्ठमा भएन र गर्भवती भए, प्रसवको अनुमानित मिति माघ ८ गते हुन्छ ।

सुत्केरी योजना कसरी बनाउने ?

-गर्भावस्थामा नै सुत्केरी हुनका लागि अनुमान गरिएको मितिको वारेमा स्वास्थ्यकर्मीलाई सोध्नुपर्छ र अनुमानित समय भन्दा प्रसव तथा सुत्केरीका लागि तयार हुनुपर्छ । यस्तो योजना बनाउदा  श्रीमान तथा परिवारका अन्य सदस्यहरुलाई पनि साथमा राख्दा राम्रो हुन्छ ।

-प्रसुतीका लागि केही रकम जोगाएर राख्नुपर्छ । जुनसुकै बेला पनि यस्को आवश्यक्ता पर्न सक्छ ।

डा. बालकृष्ण शाह

-आवश्यक परेको अवस्थामा तथा व्यथा शुरु भए पछि तुरुन्तै यातायातको साधन चाहिने हुन्छ । यसका लागि एम्बुलेन्स वा यातायातका अन्य साधनको सम्पर्क नं घरमा सबैले देख्ने स्थानमा लेखेर राख्नुपर्छ ।

-सुत्केरी गराउन कुन संस्थामा जाने सो को योजना तथा सल्लाह गर्नुपर्छ । त्यस संस्थामा भएका दक्ष प्रसुतीकर्मीको सम्पर्क नं समेत राख्नु राम्रो हुन्छ । यस अवस्थामा आफुसंग बस्ने कुरुवा साथिसंग पनि समय लिनु पर्छ । “आमा सुरक्षा कार्यक्रम” रहेको अस्पतालमा सबै प्रकारका प्रसुति सेवा निःशुल्क हुनुका साथै यातायात खर्च वापत केहि रकमको व्यवस्था गरिएको हुन्छ ।

-सुत्केरी गराउँदा कहिलेकाही रगतको आवश्यक पर्न सक्छ । यसका लागि आफ्नो रगतको समुह मिल्ने र आवश्यक परेमा जुनसुकै समयमा पनि अस्पताल आएर रगत दिनसक्ने कम्तिमा ३ जना व्यक्तिसँग सम्पर्कमा रहनुपर्छ ।

-प्रसव कहिलेकाही समय अगावै पनि शुरु हुन सक्छ तसर्थ स्वास्थ्य संस्थामा चाहिने आफ्नो र शिशुका कपडाहरु तथा जाँच गरेका सम्पुर्ण कागजातहरु एउटा झोलामा अगाडी नै तयार पारेर राख्नुपर्छ ।

गर्भवस्थामा कस्तो खाना खानु पर्छ ?

– यो अवस्थामा गर्भवती र गर्भको बच्चाका लागि पोषिलो र झोलिलो खाना साबिकको भन्दा बढि खानुपर्छ । स्वास्थ्यकर्मीसँग पौष्टिक खानाको वारेमा जानकारी लिनुपर्छ । विभिन्न किसिमका खानेकुरामा विभिन्न किसिमका पोषक तत्वहरु पाईन्छ । बच्चाको जन्मतौल, गर्भको बच्चाको विकास गर्भवतीको पोषणमा भर पर्ने भएकाले यस अवस्थामा गर्भवती महिलाहरुले साबिक भन्दा १ पटक थप खाना खानुपर्छ । हरेक दिन विभिन्न प्रकारका ४ वटै समुहका खानेकुरा (अन्न, पशुपन्छि जन्य समुहको जस्तै मासु अण्डा दुध, फलफुल तथा तरकारी र गेडागुडी) खानुपर्छ । आयोडिनयुक्त नुन मात्र प्रयोग गर्नुपर्छ ।

– यस अवस्थामा अत्याधिक चिया, कफी तथा चकलेटहरुको खानाले गर्भको बच्चाको लागि हानीकारक हुनसक्छ ।  यस अवस्थामा धुम्रपान, मध्यपान गर्नु हुदैन साथै धुम्रपान गर्नेका नजिकमा पनि बस्नु हुदैन । यसले  गर्भको बच्चामा नकारात्मक असर गर्नसक्छ ।

गर्भावस्थामा देखा पर्न सक्ने सामान्य असरहरु र त्यसको घरमा नै कसरी व्यवस्थापन गर्ने ?

वाकवाक लाग्नु – गर्भावस्थामा वाकवाक लाग्ने हुन सक्छ । यस अवस्थामा तारेको, चिल्लो खाना नखानुहोस । सकेसम्म बिहान उठ्नासाथ सुख्खा चिउरा, काजु, भुजा र सुख्खा रोटी आदि जस्ता केही खानुहोस । खानासँगै पानी नखानुहोस ।

 कब्जियतः  प्रशस्त मात्रामा झोलिलो खानेकुरा,पानी तथा सागसब्जी र फलफुल खानुहोस । नियमित दिशापिशाब गर्ने बानी बसाल्नुहोस । हल्का शारीरीक व्यायाम गर्नुहोस ।

खुट्टा सुन्नीने तथा बाउँडिनेः धेरैबेर उभिएर नबस्नुहोस । बस्दा खुट्टा माथि राखेर बस्नुहोस, खुट्टा झुण्डियाएर नराख्नुहोस् । राती सुत्दा खुट्टामुनी सीरानी राखेर सुत्नुहोस । नियमित दुध तथा दुधजन्य पदार्थ,फलफुलसेवन गर्नुहोस ।

छाती पोल्नेः पानी प्रशस्त पिउनुहोस । अत्याधिक तेल र मसलेदार खाना एवं चिया कफिको प्रयोग न्युन गर्नुहोस । राती सुत्दा टाउको केही माथि राखि सुत्नुहोस ।

 पिसाब छिनछिनमा हुने : गर्भावस्थामा गर्भले गर्दा पाठेघर ठुलो हुदै गएको र हर्मोनहरुको कारणले पनि पिसाब चाडो चाडो हुन्छ । तर यस अवस्थामा पिसाबको संक्रमण (यु.टि.आई.) हुने सक्भावना पनि बढि हुने भएकाले पानी प्रसस्त खानुपर्छ र पिसाब सम्बन्धि समस्या भएमा वा छिनछिनमा हुने तथा पोल्ने भएमा पिसाबको परिक्षण (युरिन आर.ई. तथा कल्चर) गर्नु पर्छ ।

डा. शाहको पुस्तक ‘आमा ः स्वास्थ्य पुस्तिका’बाट



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0