कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार – Online Khabar


सन् २०१९ को नोभेम्बरदेखि चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना भाइरसको महामारी चैत महीनामा जंगलमा लागेको डढेलो झैं छोटो अवधिमै विश्वभरि नै फैलियो ।

तथापि हालसम्म कोरोनाभाइरसको उत्पत्ति कुन जनावर वा अरू नै कुनै स्रोतबाट मानिसमा सरेको हो ? अहिलेसम्म पनि वैज्ञानिकहरूले ठोकुवा गरेर भन्न सकेका छैनन् ।

गत वर्ष २०७७ चैत महीनामा छिटफुट रूपमा भित्रिएको कोरोनाले हाम्रो देशमा पनि महामारीको रूप लेला भन्ने आकलन गरी चार महिनासम्म नेपालमा लकडाउन गरियो । पहिलो पटक लकडाउन गर्दा कोरोनाभाइरसको संक्रमण आउन सक्ने सम्भावित स्रोतलाई बन्द नगरेर आफूआफूमै लकडाउन गर्नु दूरदृष्टि देखिएन । जसको परिणाम देशको भौतिक विकास, रोजगारी, व्यवसाय, आर्थिक विकासमा समस्या उत्पन्न भयो ।

कोरोनाभाइरस संक्रमितको केही परम्परागत उपचार विधि, जडीबुटीको सेवन, नेपालको भौगोलिक र वातावरणीय अवस्थाका आधारमा नेपालीलाई संक्रमण नहुने र भए पनि निको हुने भनिए पनि यसको वैज्ञानिक तवरबाट पुष्टि हुन बाँकी नै छ ।

कोरोना संक्रमण रोकथामका लागि अपनाइएका विविध उपायका बाबजुद पनि विगत एक महिनाको अवधिमा कोरोना संक्रमितहरूको संख्यामा भएको बढोत्तरीलाई विश्लेषण गर्दा यो समस्या सरकारको नियन्त्रण बाहिर जान थालेको आभास हुँदैछ । यही २०७८ वैशाख १६ गतेदेखि राजधानी लगायतका स्थलमा पुनः लकडाउन गरेर यसलाई रोकथाम तथा नियन्त्रण गर्न खोजिएको छ ।

भारतसँग अन्धभक्ति वा अन्धद्वेष राखेर होइन उनीहरूलाई कुनै क्षति वा असर नहुने ढंगले देश र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर ढिलोचाँडो सदाका लागि खुला सिमाना बन्द गर्नै पर्छ ।

भनिन्छ रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै उत्तम उपाय र बुद्धिमानी हो । अहिले विश्वमा हाम्रो छिमेकी मुलुक भारत कोरोना महामारीको सबैभन्दा ठूलो संकटबाट गुज्रिरहेको छ ।

रोजगारीका लागि नेपाल आउने कोरोना संक्रमित भारतीय नागरिक, भारत र विदेश गएकाहरू घर फर्कंदा संक्रमित भएर आउने र भारतबाट आउने यातायात मजदूर र व्यवसायी नै नेपालमा कोरोनाभाइरस संक्रमणका मुख्य सम्भाव्य स्रोत हुन् ।

रोजगारीका लागि यताका उता र उताका यता आउने जाने क्रम पहिलो पटकको लकडाउनमा पनि चल्यो र अहिले पनि चलिरहेकै छ । कतिपय मानवीय संवेदना र रोजीरोटीका सवाल छन् भने भारतमाथिको अत्यधिक निर्भरता हाम्रा लागि सधैं चुनौतीपूर्ण रह्यो र अहिले महामारीको समयमा झन् यो टड्कारो रूपमा खट्कियो ।

यो देशको राजनीतिक शासन, शासक, नेता र नेतृत्वले स्वदेशमै रोजगारी सृजना गरेर नेपालीहरू रोजगारीका लागि भारत र विदेश भासिन नपरेको भए ? नेपाल र भारतबीच खुला सीमा नाका नभएको भए ? दैनिक उपभोगका सामग्रीमा भारतमाथि निर्भर नभएको भए ? आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गरेर भारतबाट मगाउन नपरेको भए ? हामी धेरै नै सुरक्षित हुने रहेछौं ।

अब नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमणको प्रभावलाई न्यूनीकरण तथा निस्तेज पार्नका लागि आपतकालीन र दीर्घकालीन गरी दुई किसिमका योजना तथा कार्यनीतिहरू बनाएर लागू गर्नुको विकल्प नै छैन । कुनै पनि रोग तथा महामारीका समस्यासँग जुध्नका लागि अपनाइने सर्वव्यापी उपायहरूमध्ये रोकथाम, नियन्त्रण र उपचारका विधिलाई प्रभावकारी ढंगबाट लागू गर्नुपर्दछ ।

रोकथामका लागि मास्क लगाउने, साबुन तथा स्यानिटाइजरले हात धुने, सामाजिक दूरी कायम गर्ने, खुला सिमाना बन्द गर्ने, भ्याक्सिन लगाउने, प्रचारप्रसार, सचेतना फैलाउने कार्यलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्दछ ।

यस महामारीबाट बच्न अस्पताल, शय्या, औषधि, डाक्टर, उपकरण, एम्बुलेन्स, बजेटको तत्काल व्यवस्था गर्नुपर्दछ । उपचार पद्धतिलाई प्रभावकारी, चुस्त र दुरुस्त बनाउने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन, हौसला, उत्प्रेरणा प्रदान गर्नुको साथै उनीहरूलाई यथोचित सेवा, सुविधा उपलब्ध गर्नु जरूरी छ । यसका साथै निम्नलिखित उपायहरू अबलम्बन गर्नु नितान्त आवश्यक रहेको छ :

१. धेरैभन्दा धेरै अस्पताल निर्माण गर्न, शय्या थप्न, उपचार सामग्री, विरामीको उपचार, औषधि र एम्बुलेन्स खरीद गर्न, सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीको यथोचित सेवा, सुविधाको लागि अरू शीर्षकबाट बजेट रकमान्तर गरेर कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि यथेष्ट आपतकालीन बजेटको व्यवस्था गर्नुपर्ने ।

२. नेपालमा स्वास्थ्यकर्मीको कमी भएमा सेवा निवृत्त, विद्यार्थी, विदेशमा कार्यरत रहेका स्वास्थ्यकर्मीलाई नेपालमा झिकाई संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा परिचालन गर्नुपर्ने । देशलाई संकटबाट मुक्त गर्नु उनीहरूको पनि दायित्व, कर्तव्य र जिम्मेवारी महसूस गराउन सकेमा यो समस्याको हल साझा प्रयासबाट समाधान हुन्छ ।

३. कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक बजेट अपुग भएमा आपतकालीन कोष स्थापना गर्न आमजनतासँग आह्वान गर्ने । म र हामी सबैले आ–आफ्नो गच्छे अनुसार रकम उपलब्ध गराउन र आवश्यक परेमा तोकिएको ठाउँमा स्वयंसेवी भई खट्नलाई पनि तयार हुनुपर्छ ।

४. जनतालाई कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी जानकारीमूलक सूचनाहरू बारेमा सचेतना फैलाउने ।

५. रोजगारीका लागि भारततर्फ गएका नेपाली नागरिक स्वदेश फिर्ता हुुँदा, नेपालबाट भारतमा र भारतबाट नेपालमा विवाह भएका परिवार र आफन्तजनका हकमा छुट्टै व्यवस्था गरेर भारत लगायतका देशबाट आवतजावतमा आवश्यकता अनुसार सिमाना बन्द गर्नुपर्ने ।

६. कोरोनाका कारण बन्द भएका उद्योग, व्यवसाय र मजदूरलाई राहत प्याकेज उलब्ध गराई मजदूर र व्यवसायीलाई प्रोत्साहन गर्ने ।

७. कृषि व्यवसायीहरूलाई कृषिजन्य उत्पादनमा वृद्धि गर्न आवश्यक सेवा, सुविधा उपलब्ध गराई कृषि उत्पादनको उचित मूल्य उपलब्ध गराउने ग्यारेन्टी गर्ने ।

८. आर्थिक कारोबारलाई बढावा दिने कार्यक्रम सञ्चालन गरी देशको अर्थतन्त्रलाई नोक्सान हुन नदिने ।

९. हाल विश्व बजारमा माग भइरहेका सामग्री उत्पादन गर्ने उद्योग खोल्न उद्योगपतिलाई प्रोत्साहन गर्ने ।

१०. सभा, छलफल, अध्ययन, अध्यापन, परीक्षा आदि वास्तविक (भर्चुअल) तरिकाबाट सञ्चालन गरिंदै आइएको छ भने देशको पर्यटन व्यवसायलाई पनि वास्तविक (भर्चुअल) सफारी, पैदल यात्रा आदि गराउन व्यवसायीसँग छलफल गरी पर्यटन प्रबर्द्धन गर्ने ।

यसका साथै भविष्यमा भारत लगायतका देशमा रोजगारीका लागि नेपालीले भासिनुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने, देशमै दक्ष जनशक्ति उत्पादन गरी भारत वा विदेशको निर्भर हुन नहुने, नेपाल भारत खुला सिमाना बन्द गर्नुपर्ने, हामीलाई चाहिने दैनिक उपभोगका सामग्री आफ्नै देशमा उत्पादन गरेर स्वनिर्भर हुनुपर्ने आदि हुन् ।

देशमा हुने सम्पूर्ण राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अनधिकृत बसाइँसराइ, रोगव्याधि आदि नोक्सानीबाट बचाउनका लागि देशको सीमा व्यवस्थापन गर्नु नै आजको र भोलिको अपरिहार्य आवश्यकता हो ।

हामी सधैं परनिर्भर भइरह्यौं भने हरेक पटक भारतमा हुने समस्याबाट हामी पनि आक्रान्त हुनेछौं । देशको आर्थिक विकासको वाधक अत्यधिक व्यापार घाटा र नेपालबाट दुई गुणा बढी रेमिट्यान्स भारततर्फ जाने क्रमलाई रोक्नका लागि पनि यो कदम चाल्न जरूरी छ ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण उत्पन्न समस्यामध्ये चाहे भारतमा चेलीबेटी बेचबिखन वा चोरी निकासीको कुरा होस् हाम्रो लागि सधैं जटिल नै भएका छन् । नेपालमा कोरोना महामारीको स्रोत भारत हो भने मुहान नै बन्द गर्नु बुद्धिमानी ठहर्छ ।

भारतसँग अन्धभक्ति वा अन्धद्वेष राखेर होइन उनीहरूलाई कुनै क्षति वा असर नहुने ढंगले देश र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर ढिलोचाँडो सदाका लागि खुला सिमाना बन्द गर्नै पर्छ ।

हामीले यसको उचित व्यवस्थापन गर्ने हिम्मत, आँट र साहस जुटाउनै पर्छ, अन्यथा हामी र हाम्रा भावी सन्तति सधैं महामारी र संकटग्रस्त भएर पछुताएर नै बस्नुपर्ने हुन्छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0