सन्निपात : लिम्बू जनजीवनका चोटिला कथा – Online Khabar


लिम्बू जनजीवनलाई उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले न्यायसंगत ढंगले नेपाली साहित्यमा प्रवेश गराएको मानिन्छ । अहिले लाटो पहाडभन्दा दुईगुणा बाठा कथाहरू जन्मिसकेछन् नेपाली साहित्यमा ।

सञ्जीव लिम्बूको ‘सन्निपात’ कथा संग्रहले यही पुष्टि गर्छ । सञ्जीवका कथाहरू विशेषतः युवावस्थामा आउने उतारचढावमै केन्द्रित छन् । लिम्बू संस्कृति, विकृतिको साथै सौन्दर्यको विषय पनि उनका कथामा समेटिएका छन् ।

जम्मा पाँच कथाहरू समेटिएको पुस्तकले १६० पृष्ठ ओगटेको छ । कथा संख्या कम भए पनि उपन्यास शैलीमा यी कथाहरू लेखिएका छन् । एउटै कथालाई झण्डै लघु–उपन्यास मान्न सकिन्छ ।

किराँत समुदायमा समस्या र अवसरको रूपमा रहेको ‘लाहुरे’ संस्कृतिले ल्याएको विचलनबारे ‘मृगतृष्णा’ शीर्षकमा कथा बुनिएको छ ।

अधिकांश युवा लाहुर जानका लागि पढाइ त्यागेर गल्लातिर भिड्छन् । जाने गइहाल्छन्, नजाने युवाको जीवन मूल्यहीन र अपमानमा बित्ने अवस्थाको चित्रण ‘मृगतृष्णा’ कथामा दुरुस्त गरिएको छ

अधिकांश युवा लाहुर जानका लागि पढाइ त्यागेर गल्लातिर भिड्छन् । जाने गइहाल्छन्, नजाने युवाको जीवन मूल्यहीन र अपमानमा बित्ने अवस्थाको चित्रण दुरुस्त गरिएको छ ।

‘सन्निपात’ संग्रहको शीर्ष–कथा हो । जसमा माओवादी पार्टीको शहर प्रवेशको चित्रण छ । साधारण मानिस पनि कसरी असाधारण अपराधको दोषी बन्न पुग्छन् भन्ने तथ्य यस कथाले बोलेको छ ।

कथामा भरखर टिनएज पूरा गरेका वीरजङ लिम्बू भलिबलको अब्बल खेलाडी हुन्छ । आर्मी पुलिसबीचको खेलमा विवाद परेर पुलिसको बेस्कन कुटाइ भेट्छ । जसको प्रतिशोध मोल्न विस्तारै माओवादको पर्चा बाँड्दै ऊ छापामार योद्धा बन्न पुग्छ ।

उनीहरूको जत्थाले चौकी ध्वस्त पारेर, बैंक लुटेको पैसा बोकेर भाग्ने क्रममा सेनाको हवाइ फायरमा परी घाइते हुन्छ, वीरजङ । उसलाई स्याहार्न नर्स वेदना खटिन्छिन् । एकान्तवास, जाडोको मौसममा विना लुगाको चिसो रात । यसै दुई शरीर एक हुन्छ र सम्भोग हुन जान्छ । पछि सेनासँगको मुठभेडमा वेदना बेपत्ता हुन्छे । वीरजङ ज्यान जोगाउन भागेर मलेशिया पुग्छ ।

पाँच वर्षपछि फर्कंदा काठमाडौंको टुँडिखेलमा जनयुद्ध शुरु भएको बाह्रौं वर्षगाँठ मनाउन विशाल जनसभा आयोजना भएको हुन्छ । सभालाई सर्वोच्च कामरेडले दुवै मुठी उचालेर सम्बोधन गर्छन् । वीरजङलाई युद्ध छाडेकोमा पश्चात्ताप हुन्छ । पार्टीले कायापलट लिएको एक किसिमले गर्व महसूस गर्दै टुँडिखेल परिक्रमा गर्छ ।

टाढाको मञ्चमा आसीन सर्वोच्च कमाण्डरलाई हेर्न घाँटी तन्काउँदै गर्दा ऊ भीडभित्रै अपहरणमा पर्छ । खोरमा पु¥याइन्छ । उमाथि लात बजारिन्छ । पार्टीको पैसा लिएर भागेको अनि वेदनालाई बर्बाद पारेको आरोप लगाइन्छ । आँखाको पट्टी खोल्दा वीरजङको अगाडि चार वर्षको छोरो लिएर वेदना ठिङ्ग उभिएकी हुन्छिन् । कथा यत्ति हो ।

तर यो कथा पढिरहँदा साँच्चै नै आफूलाई उही योद्धा ‘वीरजङ हुँ’ भन्ने खालको अनुभूत गराउँछ । कथामा उपकथा जोडेकाले पढ्नमा केही बोझिल लागे पनि कथाकारको शैली यति मीठो छ कि, एकै अक्षर नछुटाई पढ्न मनलाग्दो बनाउँछ ।

‘भुमरी’ शीर्षकको कथामा नाता पर्ने दुई किशोर–किशोरी बीचको शारीरिक सम्बन्ध, प्रेम र नाताको रहस्यलाई उद्घाटन गरिएको छ । उनीहरू आपसमा प्रेमी–प्रेमिका मानेर सम्बन्ध अगाडि बढाइरहेका हुन्छन् । भित्तामा झुण्ड्याइएको फोटोद्वारा दुवैको पिता एकै हो भन्ने रहस्य खुल्छ । एकदिन स्कुटरमा सवार दुवै जना दुर्घटनामा पर्छन् । केटीको मृत्यु हुन्छ, केटा अपाङ्ग । कहीं हिंड्डुल गर्न नसक्ने केटा बसेकै ठाउँमा फनफनी घुमेर जीवन बिताउँछ, भुमरी जस्तो ।

प्रगति राई

‘छुट्टीमा बिझेको काँडा पाकेछ ।’ यो वाक्य छुट्टी मनाउन नेपाल आएको एक युवकले गरेको गल्तीको प्रतीकात्मक चित्रण हो । केटो पल्टन गएको ६ महीनापछि एक गर्भिणीलाई युवती समाजले घरमा जिम्मा लगाउन ल्याउँछन् । मान्छे जब आफ्नै अहंले समस्याको खाल्डोमा फस्छ, तब ऊ जीवन बुझ्न अनेक दर्शनको सहारा लिन्छ भन्ने उदाहरण यो कथाले दिन्छ । पात्र आफू समस्यामा फसेपछि छुटकारा पाउने कुनै बाटो छ कि भनेर गौतम बुद्ध, ओशो, रजनीश, विवेकानन्द, फ्रायड, गुरु रिम्पोछे, दलाइ लामादेखि मुन्धुमका ठेलीसम्म अध्ययन गर्छ ।

अवैधानिक सहवासलाई पनि बडो इज्जतिलो शैलीमा प्रस्तुत गर्न सक्नुले कथाकारको शिल्पकारिता बेजोडको लाग्छ । शैलीका हिसाबले यो संग्रहलाई कथा भन्दा पनि उपन्यासको ढाँचामा छ भन्न सकिन्छ । किनकि, शीर्षक र परिवेश फरक भए पनि सबै कथाको एउटै आशय छ– अवैधानिक रूपले गरिएको यौन सम्पर्कले जटिल समस्या ल्याउँछ । मुख्य कथामा उपकथा जोडेर लेखिएकाले पाठकलाई कथा पढ्दा बोझिल लाग्छ ।

लेखकीय सिद्धान्त ‘यथार्थ चित्रण’ र ‘यथार्थ चित्रणसँगै यथार्थको परिवर्तनकारी लेखन’ मध्ये स्रष्टा सञ्जीवको लेखन ‘यथार्थ चित्रण’को पाटोबाट लेखिएको मान्नुपर्छ । किनकि, ती सबै समाजमा घटित घटनाहरू नै उनले लेखेका हुन् । जाने÷बुझेको कुरा पनि कतै उच्चारण नहुँदा कहिलेकाहीं सही र गलतको  द्विविधामा परिन्छ । सम्झौतामा भएको यौन संसर्ग पनि कति सुरक्षित हुनसक्ला ? पाएको अवसरलाई अन्धाधुन्द ग्रहण गर्ने कि भविष्यको परिणाममाथि पनि गहिरो विचार गर्ने ? त्यस्तो द्विविधाबाट यी कथाहरूले पाठकलाई मुक्त गरिदिन्छ ।

आफ्नो विचारलाई स्रष्टाले ‘यथार्थ चित्रण’को अर्को पाटो समातेको भए अझ यो किताब गुणकारी हुनेथियो भन्ने लाग्छ । त्यो हो, लाहुर जान चाहने युवाहरूले लाहुर मात्र सपना नबनाएर वैकल्पिक बाटोको लागि पनि उत्तिकै आफूलाई तम्तयार राख्नुपर्ने बाटो देखाइदिएको भए अझै राम्रो हुन्थ्यो होला । लाहुर लागेका युवाको अहं र नलागेका युवाको लाचारी मात्र देखाउनाले किताबमा वजन कम भएको महसूस हुन्छ ।

लेखकको सारा तागत वितृष्णामा चलिरहेको जिन्दगी र असुरक्षित यौन सम्पर्कले ल्याएको समस्या उजागर गर्नमा खर्च भएको छ । यतिका लामा कथाहरूमा कहीं कतै जीवन भेटिएको अथवा आफ्नो भाग्य आफैंले रचना गरिएको कथा पनि भइदिए ज्यादै राम्रो हुनेथियो ।

कथाकार सञ्जीव लिम्बूको अबको लेखनमा यी कुराहरू समेटिउन् भन्ने आशा राख्न सकिन्छ । युवाकालमा गरिने प्रेम शायद प्रेमावस्थाको मूल्यमध्ये सबै भन्दा सामान्य तहको प्रेम होला । किनकि, जीवजगतमा सबैले युवावस्थामा प्रेम गरेकै हुन्छन् । तर स्रष्टा हुनु भनेको आविष्कारक÷रचनाकार पनि हुनु भएकाले असम्भव अवस्थामा प्रेमलाई सम्भव बनाएर देखाउनु उसको कर्तव्य हुन जान्छ ।

‘सेन्स अफ ह्युमर’ले भरिपूर्ण त छँदैछ, यो शैलीमा अझ गहन विषय लेखिन आवश्यक छ ।

 लेखक : सञ्जीव लिम्बू

विधा : कथा सङ्ग्रह

मूल्य : २२५ रुपैयाँ



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0