गण्डकीमा सत्ताको खेल : कोरोना माहामारीमाथि नै मजाक !


१५ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नयाँ सरकार बन्ने छिनोफानो हुने भनिएको दिन बुधबार गण्डकी प्रदेशसभामा एकपछि अर्को नायकीय घटना देखियो ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी -जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल सकेर बुधबार मतदान गर्ने भनिएको थियो । सुरुमा सत्तापक्ष मतदानलाई पर धकेल्न खोजेको देखिन्थ्यो । तर मतदान गर्ने समयमा आइपुग्दा अविश्वासको प्रस्ताव ल्याउनेहरु मतदानमा जान तयार भएनन् ।

तीन दलको मागअनुसार बोलाइएको विशेष अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको सत्तारुढ नेकपा एमालेले मंगलबार नै प्रदेशसभा सदस्यहरुको स्वाब संकलन गरिएको थियो ।

बुधबार बिहानै तीन जनामा संक्रमण देखिएको पुष्टि भयो । तर संक्रमित भएपनि मतदान गर्न पाउने भनिएका कारण अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरु ढुक्क देखिन्थे । दिउँसो १ बजेपछि प्रदेशसभा बैठक सुरु भयो, अविश्वासको प्रस्तावमाथि छलफल भयो ।

सत्तारुढ एमालेका सांसदहरु बोलिरहेका थिए । मतदानलाई केही समय टार्न सबै सांसदलाई बोल्ने समय दिने जुक्ति लगाएको एमालले बुधबार भने बोल्ने सूचीबाट नाम हटायो । इन्द्रधारा विष्ट र महेन्द्र थकालीले बोल्ने सूचीबाट नाम हटाउन चाहेको सभामुखले उल्लेख गरे ।

१८ जना सांसदले बोल्ने कार्यसूची हुँदा जतिसक्दो चाँडो मतदानमा जाने सत्तारुढ दल एमालेको चाहानाले विपक्षीलाई शंका उत्पन्न गरायो । बैठकमा आउन ढिला हुने जानकारी गराएका जनमोर्चाका सांसद शाहीको खोजी भयो । उनको त फोन नै अफ भइसकेछ ।

माओवादीका सांसद दीपक कोइराला बैठक चलिरहेकै बेला बाहिर निस्किए । उनको खोजीमा फोन घुमाए, तर पत्ता लागेन । यसको सूचना प्रदेश सभा सचिव हरिराज पोखरेल हुँदै सभामुख अधिकारीसम्म पुग्यो । माओवादी केन्द्रबाट सभामुख बनेका अधिकारीले छलफल चलिरहेकै बेला २० मिनेट संसद बैठक स्थगित गरिदिए ।

लगतै केही सांसद शाहीको कोठासम्म पुगे । कांग्रेस संसदीय दलका उपनेता मेषलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जनता समाजवादी पार्टीकी सांसद धनमाया पोखरेल लामा, शाहीलाई खोज्न उनको डेरामा पुगेका थिए । पोखरा जिरो किलोमिटर नजिकै रहेको डेरा पुग्दा घरबेटीले शाही मंगलबारबाटै कोठामा नआएको जानकारी गराए ।

शाही कोरोना संक्रमण भएर आईसीयूमा भर्ना भएको सूचना र अर्को सूचना नभएसम्सका लागि प्रदेशसभा बैठक स्थगित गरेको सूचना झण्डै एउटै समयमा आयो ।

नेगेटिभ, आईसीयू, पोजेटिभ

संसदमा अश्विासको प्रस्ताव दर्ता भएकै दिन एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले स्वाब परीक्षण गर्न ध्यानाकर्षण गराएका थिए । मंगलबार त्यही माग राखेर एमालेले संसद अवरुद्ध नै गर्‍यो ।

सत्ता जोगाउने खेल खेल्ने समय ध्याउन्नमा आफ्नै दायित्वभित्र पर्ने सत्तारुढ पार्टीले नै संसद अवरोध गरेपछि मंगलबारै स्वाब परीक्षण गर्ने र बुधबार रिपोर्ट आएपछि बैठक चलाउने दलबीच सहमति भयो । र, मंगलबार दिउँसै सबै जनाको स्वाब लिएर क्षेत्रीय प्रयोगशाला पठाइयो ।

बुधबार बिहान सबै सांसदको रिपोर्ट आइसकेको थियो । राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङलाई पोजेटिभ र अरुको नेगेटिभ भएको प्रदेशसभा सचिवालयमा पुगिसकेको थियो । तर सम्पर्कबिहीन भएका जनमोर्चाका सांसद खिमबिक्रम शाही कोभिड देखिएर आईसीयूमा भर्ना भएको खबर धेरैका लागि सरप्राइज बन्यो ।

धेरैले सत्ताको खेलसँग जोडे । त्यसपछि अस्पतालले शाहीको तस्वीर र कोरोना पोजेटिभ भएको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट पोखरा न्युरोडको निजी ल्याब लाइफ केयर डाइग्नोस्टिकको छ ।

लाइफ केयरका डा. अमर नागिलाका अनुसार यो स्वाब मंगलबार फेवा सिटी अस्पतालबाट स्वाब आएको थियो । भन्छन्, ‘स्वाब लिँदा कसरी लिइयो, कसको लिइयो भन्ने हामीलाई थाहा भएन तर स्वाब चाहिँ पोजेटिभ आएको सबै प्रमाण हामीसँग छ ।’

तर प्रदेशसभामा स्वाब दिएर निस्किएका शाहीले तुरुन्त फेवामा गएर किन स्वाब दिए ? आफैं ल्याबमा किन गएनन् ? भन्ने धेरैलाई शंका लागेको छ । विपक्षी दलहरुले यसलाई सत्ताको खेल माान्छन् ।

‘कोरोना परीक्षण माग गर्नु, सरकारीमा स्वाब दिएर फेरि अर्को निजीमा स्वाब दिनु र नेगेटिभ आइसकेपछि पोजेटिभ देखियो भनेर आइसियुमा राखिनुले सबै कुराले पनि प्रस्ट पार्छ,’ माओवादी सांसद कोइरालाले भने, ‘संसद छल्न खोजिरहेको एमालेले बुधबार चाहिँ किन बोल्न सांसदको नाम काटेर मतदानमा जान चाहन्थ्यो ? उत्तर स्पष्ट छ नि ।’

जनमोर्चाकै नेता तथा सांसदले पनि यसलाई सेटिङ भनेका छन् । सांसद पियारीले सत्ता टिकाउन गरिएको प्रपञ्च हुन सक्ने बताउँछिन् । ‘उहाँलाई केही नभइदिओस् भन्ने हाम्रो कामना हो तर यो सत्ता टिकाउने खेल हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘बिरामी नै भए पनि सम्पर्कबिहीन कोही हुँदैन । संसदमा आउँछु भनेर जानकारी गराएर गायब हुँदैन ।’

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पनि यसलाई शंकाको विषय मान्छन् । ‘पहिले नेगेटिभ रिपोर्ट आयो भन्ने अनि एक्कासी २ जे पोजेटिभ देखियो भनेर चरकको आइसियुमा पुग्ने,’ बरालले भने, ‘कहाँ के षडयन्त्र भयो भनेर खोज्दैछौं ।’

उनका अनुसार शाहीलाई भेट्न उनी अस्पताल पुगेका थिए, तर डाक्टरले गम्भीर अवस्था छ भनेर फर्कादिए ।

सत्तारुढ दललाई सभामुखको झड्का

अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन पर धकेल्न चाहेको सत्तारुढ एमालेले बुधबार भने छिटो संसद सक्न चाहन्थ्यो ।

अविश्वासको प्रस्तावको पक्षमा मत हाल्ने एक जना सदस्य मात्र अनुपस्थित भए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार बच्थ्यो । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी जनमोर्चा र जसपाको गरी टुपुक्क बहुमत ३१ मत छ । शाहीको अनुपस्थितिले अविश्वासको प्रस्ताव फेल हुन्थ्यो । त्यसैले बुधबार नै मतदान गराउन चाहेको थियो ।

तर सभामुख नेत्रनाथ अधिकारीले तगारो लगाइदिए । २० मिनेट बैठक स्थगित गरेका सभामुखले जनमोर्चाकी सांसद पियारीको निवेदनका आधारमा अनिश्चित कालका लागि संसद स्थगित गरिदिए । संसद स्थगित गरे लगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भनिएको थियो । सत्तारुढ दलले केही मिनेट ढिला गरेपछि कार्यव्यवस्था बैठक बोलाएका सभामुख अधिकारी गायब भइदिए । बैठक नबस्ने भन्दै सभामुख प्रदेशसभाबाट बाहिरिएपछि सबभन्दा ठूलो दल एमाले रुट बनेको छ ।

एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले सभामुख अधिकारीले सभामुखको कदमलाई संसदीय मर्यादा विपरीत भएको बताए । ‘जनमोर्चाका सांसदको अपहरण भएको हो भने खोजी गर्नुपर्‍यो, कारबाही गर्नुपर्‍यो । त्यो राज्यको काम हो,’ अधिकारीले भने, ‘राजनीतिक आग्रहले संसद स्थगित गर्ने गर्नु संसदीय मर्यादा बिपरीत छ ।’

खिमबिक्रमलाई भेट्न मुख्यमन्त्री अस्पतालमा

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावमा मतदान हुने बेला सम्पर्कबिहीन भएका जनमोर्चाका सांसद खिमविक्रमलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चरक अस्पताल पुगेका छन् । मुख्यमन्त्री गुरुङसँगै आर्थिक मामिलामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, एमाले सांसद इन्ऽधारा विष्ट अस्पताल पुगेका थिए ।

शाही भेट्न नपाए पनि डाक्टरबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0