‘राजनीति अति भो, राजकाज चलाउने ढंग भएन’ – Online Khabar


८ वैशाख, काठमाडौं । झण्डै १५ वर्ष लामो बेलायत बसाइपछि पत्रकार रवीन्द्र मिश्र २०६५ सालको अन्त्यतिर स्थायी रूपमा नेपाल फर्किए । नेपाल र्फकंदा उनले कान्तिपुर दैनिकमा एक लेख लेख्दै भनेका थिए, ‘म फर्किएर कैयौं नेपालीले झैं हिलोमा कमल फुलाउन नसकुँला, आशाको तारा खसाउन नसकुँला । म त्यस्तो कुनै महान् लक्ष्य लिएर फर्किन लागेको पनि होइन । तर, कल्याणकारी काममा कसैको लागि पनि सहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झनेछु ।’

काठमाडौं र्फकेपछि उनी २०७३ सालसम्म बीबीसी नेपाली सेवाका प्रमुख थिए । त्यससँगै आफ्नो परोपकारी गतिविधिमा पनि संलग्न भए । बीबीसीबाट राजीनामा दिएपछि २०७४ सालको शुरूतिर उनले राजनीतिक यात्रा शुरू गरे । साझा पार्टी निर्माण गरी त्यसको संयोजक बने र उनी हाल विवेकशील साझा पार्टीको अध्यक्ष हुन् ।

राजनीतिक दल नै खोलेर उनी सक्रिय राजनीतिमा आएको चार वर्ष वितेको छ । यस अवधिमा उनको पार्टीले चारवटा निर्वाचनमा भाग समेत लिइसकेको छ । पार्टी निर्माणका चार वर्ष, हालै प्रकाशित उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’ लगायत प्रमुख राष्ट्रिय मुद्दाहरूमा उनको दृष्टिकोणलगायत विषयमा केन्द्रित रहेर मिश्रसँग अनलाइनखबरकर्मी कमलदेव भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

चार वर्ष भयो तपाईंले नयाँ दल गठन गरेको, चार वर्षको अनुभवमा भन्नुपर्दा पार्टी निर्माणको काम कति जटिल रहेछ ?

यो सहज हुन्छ भनेर शुरू गरेकै होइन । त्यसैले मानसिक रूपमा म र हामी कैयौं साथी तयार नै थियौं जटिल हुन्छ भनेर । तर एउटा चाहिं के देखिएको छ भने हामीप्रति सदिच्छा र शुभ-भाव राख्ने जमात चाहिं नेपाल भित्र र बाहिर बस्ने नेपालीमाझ प्रशस्त देखिएको छ ।

तर, हामी सँगसँगै अग्रपंक्तिमा आएर भिडौं, लडौं भन्ने जमात चाहिं अझै पनि कम छ । यो देश रूपान्तरण गर्ने हो भने हाम्रा एजेण्डाहरू चाहिन्छन्, हाम्रा गतिविधिहरू बढ्दै जानुपर्छ, हामीले सबैको विश्वास जित्दै जानुपर्छ, त्यो आफ्नो ठाउँमा छ । तर, त्यो सँगसँगै म अग्रपंक्तिमा नै आएर भिड्छु भन्ने नेपालीको संख्या बढ्नैपर्छ ।

बढेन भने अघि तपाईंले पनि भन्दै हुनुहुन्थ्यो, गाउँमा गयो भने स्थानीय सरकारका प्रमुखहरूको डोजर व्यवसाय छ । अब त्यो एकजना स्थानीय सरकार प्रमुखसँग दर्जनौं मान्छे जोडिएका हुन्छन् जसको जीवन त्यही प्रमुखका कारण चलेको हुन्छ ।

त्यसैगरी सहकारीमा, उपभोक्ता समितिमा त्यस्तै छ । भनेको त्यो सिंगो गाउँ र शहरलाई एक किसिमले कब्जा गरेर राखिएको छ । त्यो जडतालाई तोड्नका लागि जुन प्रकारको शक्ति अग्रपंक्तिमा हुनुपर्ने हो, त्यो हामीमा अझै अभाव भयो । तर त्यो बढ्यो भने जडतालाई ढाल्न सकिन्छ ।

यसबीचमा तपाईंको पार्टीमा आउने र जाने क्रम धेरै चल्यो, यसको समीक्षा गर्नुभएको छ ?

यसलाई हामीले समीक्षा गरेका छौं । तर, यसलाई स्वाभाविक प्रक्रियाको रूपमा पनि लिइदिनुपर्‍यो भन्ने हाम्रो आग्रह हो । यसको औचित्य दर्शाउन खोजेको हुँदै होइन तर कहीं पनि नभएको कुरा हाम्रोमा मात्र होस् भनेर हुँदैन ।

२०१७ सालमा नेपाली कांग्रेसका महामन्त्रीलगायत कैयौं नेताले पार्टी छोडे । केही समयको अवधिमा आधाभन्दा बढी नेपाली कांग्रेसका नेताहरूले पार्टी छोडेका रहेछन् । तर जो पार्टीमा बसे उनीहरूले पार्टी बनाए ।

तपाईंले भारतमा आम आद्मी पार्टी हेर्न सक्नुहुन्छ, या नेपालमा कम्युनिस्ट पार्टीहरूको उत्थान पतन हेर्नुस् ! अथवा अन्य देशको पार्टी निर्माण प्रक्रिया हेर्नुस्, आउने र जाने क्रम चलिरहने रहेछ ।

यद्यपि यसलाई म औचित्य दर्शाउन चाहन्न । एकथरी साथीहरू जानुभयो त्यसमा म एकदमै दुःखी छु र उहाँहरूलाई जोड्न म सधैं प्रयत्नशील नै रहनेछु ।

पार्टी बनेको चार वर्ष भयो तर देशका मुख्य एजेण्डाहरू धर्मनिरपेक्षता, समावेशी, संघीयतालगायत विषयमा पार्टीको धारणा स्पष्ट देखिंदैन नि किन ?

यसका दुईवटा पाटा रहेका छन् । पहिलो, समावेशीको विषयमा हामी एकदमै दृढ रूपमा प्रतिबद्ध छौं । र, हाम्रो केन्द्रीय समिति हेर्नुभयो भने पूर्ण रूपमा समावेशी छ । त्यसमा प्रश्न नै भएन ।

जहाँसम्म धर्मनिरपेक्षता र संघीयताको सवाल छ, त्यसमा तत्कालीन साझा पार्टी पनि प्रष्ट थियो । धर्मनिरपेक्षता र संघीयताको बारेमा समाजमा धेरै नै विवाद हुन लागेको र यो विषय पेचिलो बन्दै गएको हुनाले यसलाई जनमतसंग्रहबाट हल गरिनुपर्छ भन्ने स्पष्ट धारणा थियो ।

हामीले पार्टी एकता गर्‍यौं विवेकशील दलसँग । विवेकशील दलको धारणा अलिक फरक छ । यो स्थितिमा यो मामिला निक्र्योल हुने भनेको महाधिवेशनबाट हो । त्यसपछि पार्टीको धारणा बन्छ ।

तर योसँगै अर्काे पक्ष के हो भने यो देश ७० वर्षदेखि विकास नभएको देशमा राजतन्त्र भएर वा नभएर, गणतन्त्र भएर वा नभएर, संघीयता भएर वा नभएर हो ? जे विषयले देशको उन्नति, प्रगति, समृद्धि हुन्छ, देशको सान बढ्छ ती विषय चाहिं नेपाली समाज र नेपाली मनोविज्ञानका लागि राजनीतिक मुद्दा नै बनेनन् ।

जुन विषयले समाज रूपान्तरणमा एकदमै ठूलो भूमिका खेलेको हुँदैन ती विषय चाहिं प्रधान बने । हामीकहाँ राजनीतिक मुद्दा भन्दा सबैको दिमागमा संघीयता, धर्मनिरपेक्षता, राजतन्त्र, हिन्दू राष्ट्रलगायतका विषय नै आउँछन् । सुसंस्कृत देशमा पनि यी त छलफलकै विषय हुन् ।

तर, सुसंस्कृत देशमा यी विषय प्रधान राजनीतिक मुद्दा बनेर आउँदैनन् । त्यहाँ कर प्रणाली ठीक छ कि छैन, सामाजिक सुरक्षा छ कि छैन, क्लिन इनर्जी छ कि छैन, वातावरण, जलवायु परिवर्तनका विषय, सार्वजनिक शिक्षाको गुणस्तर, सार्वजनिक स्वास्थ्य, आप्रवासी नीति, वैदेशिक नीतिलगायत विषय राजनीतिक मुद्दा बन्छन् ।

तर जब तेस्रो विश्वमा आउनुहुन्छ, जहाँ शिक्षाको स्तर कम छ, जनचेतनाको स्तर कम छ, त्यहाँ तपसिलका विषय चाहिं प्रधान बन्छन् । रूपान्तरणकारी विषय चाहिं तपसिलका विषय बन्छन् । हामी त्यो विडम्बनाबाट गुज्रिरहेका छौं ।

नेपालमा हरेक राजनीतिक दलले एक-एक वटा वैचारिक धार समातेका छन्, तपाईंको पार्टी वैचारिक रूपमा कहाँ छ ?

हाम्रो वैचारिक धार एकदमै स्पष्ट छ । हामीले लोककल्याणकारी लोकतन्त्र भनेका छौं । त्यो हाम्रो दर्शन पनि हो, विचार पनि, हाम्रो वैचारिक धार पनि हो । यसले कांग्रेसको लोकतन्त्रको धारलाई पनि च्याप्प पक्रिन्छ किनभने लोकतन्त्र विनाको कल्याणकारी राज्यको हामीले परिकल्पना गरेको होइन ।

त्यसैगरी कम्युनिष्टले भन्ने गरेको समाजवादी धारलाई पनि यसले च्याप्पै पक्रन्छ । यद्यपि हामीले नेपालका कम्युनिष्टले अभ्यास गरेजस्तो दलालीपूर्ण समाजवादको परिकल्पना पनि गरेका छैनौं र कट्टर समाजवादीले सोचेजस्तो शास्त्रीय समाजवाद पनि सोचेका छैनौं जहाँ नागरिकको स्वतन्त्रतामा सिलिङ कायम गर्ने प्रयास हुन्छ ।

त्यसैगरी जनता समाजवादी पार्टी -जसपा) ले पहिचानको विषयलाई जल्दोबल्दो मुद्दाको रूपमा लिएको छ । हामी भन्छौं पहिचानको विषयलाई कल्याणकारी लोकतन्त्रभित्र समाविष्ट नगर्ने हो भने त्यसले फेरि समाजमा विखण्डन ल्याउँछ ।

तर, हामी पहिचानको मुद्दालाई जातीय मुद्दाको रूपमा बुझ्दैनौं । पहिचान भनेको मिथिला, कला संस्कृतिको प्रवर्द्धन हो । त्यसैगरी विभिन्न जातजाति, भाषा भाषीहरूको संस्कार, संस्कृति, सशक्तीकरण, राज्य संरचनामा उनीहरूको प्रतिनिधित्व नै वास्तवमा पहिचान हो ।

पहिचान भनेको बाहुन र क्षेत्री, नेवार र तामाङ होइन ! त्यो पहिचानको एउटा अंश मात्रै हो । तर त्यसलाई प्रधान बनाएर जसले पहिचानलाई समष्टिगत रूपमा समृद्ध बनाइदिन्छ र सिंगो समाजको लागि सहायकसिद्ध बन्छ त्यो चाहिं तपसिलको विषय बन्यो । त्यसकारण जसपाको पहिचानको मुख्य मुद्दा, कम्युनिष्टहरूको समाजवादी सोचको अवधारणा र कांग्रेसको लोकतान्त्रिक धार, यी सबैको समष्टिगत स्वरुप कल्याणकारी लोकतन्त्र हो ।

तपाईंहरू पार्टी निर्माणको प्रक्रियामा हुनुहुन्छ, तपाईंहरूको पार्टीमा जसले पनि पार्टी सदस्यता लिन सक्ने हो कि केही मापदण्ड छन् ?

नेपालको कानूनले दिएको अधिकारलाई पार्टीले कुण्ठित गर्न हुँदैन । नेपालको कानूनले कसले राजनीतिक दलको सदस्यता लिन सक्छ भन्ने तोकेको छ त्यसलाई हामी पालना गर्छौं ।

अब त्यो पालना गरिसकेपछि त्यहाँ आउने विकृतिलाई नियन्त्रण गर्ने चाहिं पार्टीको विधि र पद्धति अनुसार हो । उदाहरणको लागि हामी के भन्दैछौं भने नेपालको राजनीति सुधार गर्नका लागि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्छ ।

भर्खरै मात्र म र हाम्रो पार्टीका संयोजक मिलन पाण्डे निर्वाचन आयोगमा गएर प्रमुख निर्वाचन आयुक्तलाई भेट्यौं । उहाँलाई भेटेर हामीले विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गर्‍यौं । किनभने सर्वाेच्च अदालतले विदेशमा बसेकालाई निर्वाचनमा भाग लिने अधिकार दिन निर्देशनात्मक आदेश दिइसकेको छ ।

विदेशमा ५०-६० लाख नेपाली रहेका छन् । ती नेपालीलाई बाहिर राखेर नेपालको रूपान्तरण हुन सक्दैन । त्यसैगरी निर्वाचन खर्चलाई कसरी मितव्ययी बनाउन सकिन्छ, सोच्नै पर्‍यो भनेका छौं ।

गएको निर्वाचनमा दलहरूले ल्याएको भोटको आधारमा राज्यले दलहरूलाई निर्वाचन खर्च दिने हो कि, जुन अभ्यास कैयौं देशमा छ । त्यसैगरी उम्मेदवारहरूलाई अस्वीकार गर्न पाउने अधिकार हुनुपर्‍यो, किनभने तिमीहरू सबै भ्रष्ट छौ, कसैलाई पनि भोट दिंदैनौं भन्ने अधिकार जनतामा हुनुपर्‍यो ।

त्यसैगरी ‘राइट टु रिकल’ वा प्रत्याहृवानको अधिकार पनि हुनुपर्छ । तपाईंले चुनेर त पठाउनुहुन्छ, दुई वर्षपछि भ्रष्ट निस्कियो र कुनै राम्रो काम गरेन भने उसलाई के डर हुनुपर्‍यो भने मेरा मतदाताले मलाई फिर्ता बोलाउन सक्छन् ।

यी सबै विषय हाम्रा पार्टीका मुद्दाहरू हुन् । यो विधि र पद्धतिमा हामीले बाँध्न सक्यौं भने मात्रै खराब मान्छेले पनि खराब गरिहाल्ने ठाउँ रहँदैन । यद्यपि पूर्ण रूपमा स्वच्छता खोज्न सकिंदैन, त्यसलाई एकदमै न्यूनीकरण गर्ने हो ।

२०४७ सालपछि नेपालका राजनीतिक दलहरूलाई हेर्ने हो भने उनीहरूको आन्तरिक द्वन्द्व नै मुलुकको अस्थिरताको कारण बनेको देखिन्छ, तपाईंको पार्टीमा यो विषय हल गर्ने कुनै सोच छ ?

यो पार्टीभित्रको मात्र होइन, नेपाली समाजको चरित्र हो । तपाईंले कुनै संघसंस्था हेर्नुभयो भने नेपालमा संगठनभित्र द्वन्द्व धेरै ठाउँमा देखिन्छ । त्यसलाई न्यूनीकरण गर्ने एउटै मात्र उपाय त्यसलाई विधिमा ल्याएर बाँध्ने र त्यो विधिको पालना गराउने हो ।

व्यक्तिगत धारणा र चाहना फरक हुनसक्छ, महत्वाकांक्षा भयानक हुनसक्छ तर ती सबैलाई नियन्त्रण गर्ने पार्टीको विधि र पद्धति भयो भने त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसलाई पूरै निमिट्यान्न पार्न त नसकिएला ।

हामी सिक्दै पनि छौं, तर हाम्रो पार्टीभित्र अहिलेको प्रयास के हो भने हामीले राम्रा अभ्यास पनि अध्ययन गरिरहेका छौं । पुरानो पार्टीहरूमा नराम्रो केले गर्‍यो र यत्रो त्याग गर्दागर्दै पनि केले बिगार्‍यो हेरिरहेका छौं । ती सबै अनुभवले हाम्रो पार्टीभित्र त्यो अवस्था नआओस् भनेर हामी अभ्यास गरिरहेका छौं । पार्टी अझ संस्थागत भएपछि यी विषय बलियो भएर जान्छन् ।

यसबीचमा चारवटा निर्वाचनमा भाग लिइसक्नुभयो तर तपाईंहरूले खासै सफलता पाउनुभएन, कारण के होला ?

यसमा दुईवटा पक्ष छन् । एउटा चाहिं मान्छेको स्वभावले नै ऊ सहजताको घेराबाट बाहिर निस्कँदैन । सहजताको घेरा भनेको के हो भने एउटा गाउँमा स्थानीय सरकारका प्रतिनिधिहरूको डोजर व्यवसाय पनि छ, सहकारी पनि छ, अरू संघसंस्था र व्यवसायमा संलग्नता पनि छ ।

त्यसले के गरिदिएको छ भने गिट्टी फुटाउनेदेखि लिएर, बालुवा बोक्ने, ट्रक व्यवसायी, बाटो खन्ने ठेकेदार सबैलाई जोडेको छ । अब उनीहरूले सहजताको जुन घेरा बनाएका छन्, त्यहाँबाट बाहिर निस्केर हाम्रो जस्तो पार्टीलाई समर्थन गर्दा उनीहरूको स्वार्थपूर्ति हुन्छ ? हुँदैन । त्यसो हुनाले त्यो जटिलता हटाउन आवश्यक छ ।

सँगसँगै हाम्रो चुनौती के हो भने अब त्यो जटिलता तोड्न आवश्यक छ । तर, मान्छे आत्तिन्छन्, गर्न सकिंदैन कि भन्ने सोच राख्छन् । हामीलाई यिनीहरूले चार वर्षमा केही पनि गर्न सकेनन्, खोइ प्रमुख मुद्दामा सडकमा देखिंदैनन् भन्ने आवाज सुनिन्छ ।

तर चार वर्षमा हामीले चारवटा चुनाव लड्यौं, पार्टी एकीकरण गर्‍यौं, पार्टी बिगार्‍यौं, पार्टी जोड्यौं । म काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडें । थोरै भोटले मात्र हारें । हाम्रो पार्टी देशको पाँचौं पार्टी बन्यो ।

तर यो उपलब्धिको बीचमा समाजमा जडता छ, हामीले त्यसलाई तोड्नका लागि जुन किसिमले शक्ति आर्जन गरिसक्नुपर्ने हो, त्यो प्राप्त भइसकेको छैन । तर बुझ्नुपर्ने कुरा के हो भने हाम्रा मतदाता अब जन्मिंदै छन् । किन जन्मिंदै छन् भने नेपालको जनसांख्यिक वर्गीकरण हेर्दा नेपालको आधा जनसंख्या २५ वर्ष मुनिको छ ।

आजका १५/१६ वर्षका किशोरकिशोरी हाम्रा मतदाता हुन् । ती मतदाताले उनीहरूका बाबुआमाले कांग्रेस र कम्युनिष्टलाई भोट हालेका रहेछन् भने पनि अब उनीहरू भोट हाल्न जाँदैनन् । मैले जहिले पनि तीन वटा ‘डी’ को कुरा गर्ने गरेको छु ।

पहिलो, डेमोग्राफी (डी) एकदमै महत्वपूर्ण छ विशेषगरी हाम्रो पार्टीको लागि । दोस्रो, डायस्पोरा (डी) जो नेपाल बाहिर बस्छ । ती नेपाली नेपालमा रहँदा विभिन्न पार्टीमा सहभागी भए पनि विदेशमा गएपछि विकास भनेको यस्तो रहेछ भन्ने वास्तविक रूपमा देखेका छन् । ती नेपाली नेपालको परिवर्तनको वाहक बन्न सक्छन् । तेस्रो चाहिं डिचेनमेन्ट (डी) अर्थात् असन्तुष्टि र निराशा छ ।

तपाईंहरूले पुस्तौंदेखिका कांग्रेस र कम्युनिष्टलाई सोध्नुभयो भने पनि उनीहरू दिक्क भएर बसेका छन् । हाम्रो शक्ति अलिकति बढ्ने बित्तिकै र जनतालाई हामीले केही कुरामा विश्वास दिलाउने बित्तिकै त्यो निराशा हामीप्रतिको आशामा परिणत हुन्छ । त्यसैले यो ‘थ्री डी’ डेमोग्राफी, डायस्पोरा र डिचेनमेन्ट, तिनै कारणले हाम्रो समय आउँछ, आउँछ । तर, त्यो बिन्दुमा पुर्‍याउन हामीलाई फलामको चिउरा चपाएसरह भएको छ ।

तपाईंहरूले उठाएको एउटा महत्वपूर्ण विषय सुशासन देखिन्छ, यो विषय जनताकहाँ पुर्‍याउन कति सहज भएको छ ?

हामीसँग एकजना एकदमै इमानदार पूर्व वरिष्ठ प्रशासक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, नेपालीलाई सुशासन र नियम कानून मन पर्दैन । जुन पनि नेपालीको स्थिति के हो भने भ्रष्टाचार अरूले नगरोस्, मैले चाहिं खुसुखुसु गर्न पाऊँ । त्यो भावना नभइदिएको भए नेपाल भ्रष्टाचारको सूचीमा तल पर्दै पर्दैनथ्यो ।

अनि यो देश अरूले बनाइदेओस् र म चाहिं त्यो बनेको देशमा खुशीसाथ बस्न पाऊँ भन्ने भावना पनि देखिन्छ । कर अरूले तिरोस्, मैले चाहिं तिर्नु नपरोस्, छल्न पाउ“m भन्ने देखिन्छ । सुशासन अरूले दिउन्, मैले चाहिं दिनु नपरोस् । यो आम चरित्र देखिन्छ । त्यसैले यो सुशासनको भावना उत्प्रेरित गर्न र सुशासन भएन भने यो देशको नागरिक सम्पन्न भए पनि ऊ शान्त, सुखी र खुशी हुन सक्दैन भन्ने बुझाउन हामीलाई कठिन भइरहेको छ ।

तपाईंहरूको अर्थ, सार्वजनिक शिक्षा, स्वास्थ्य नीति चाहिं के हो ?

नेपालमा अर्थतन्त्रलाई उद्वेलित गर्ने प्रशस्त आधार छन् जुन हामीले प्रयोग नै गरेका छैनौं । उदाहरणको लागि हामी देशलाई सुन्दर पर्यटकीय देश भन्छौं तर नेपालमा पर्यटन व्यवसायबाट हुने प्रत्यक्ष आम्दानी २ प्रतिशत मात्रै हो । जबकि थाइल्याण्डमा १० प्रतिशत हुन्छ, कम्बोडियामा झण्डै २५ प्रतिशत हुन्छ ।

भनेको यति धेरै सुन्दर देश भइकन, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू भइकन पनि हामीले त्यसको फाइदा उठाउन सकेका छैनौं । यहाँ न एड्भेन्चर पर्यटन छ, न सांस्कृतिक पर्यटन विकास भएको छ, न मनोरन्जन पर्यटनको विकास छ ।

नेपालमा जस्तो खालको हावापानी छ र नेपालको भौगोलिक अवस्थामा ठूला ठूला उद्योगधन्दा हाम्रो लागि अलिक कठिन हुन्छ, किनभने हामी भूपरिवेष्टित मुलुक हौं, हामीसँग समुद्रसँगको पहुँच छैन । तर, नेपाललाई संसारकै आईटीको केन्द्र बनाउन सकिन्छ । संसारका ठूला-ठूला कम्पनीलाई कर छुट दिएर र सुविधा दिएर नेपाल आएर कम्पनी स्थापना गर भन्न सकिन्छ ।

अहिले खाडी मुलुकमा विश्वका विख्यात विश्वविद्यालयले आफ्नो विश्वविद्यालय ग्राम बनाएका छन् । नेपाल त यति सुन्दर छ, यस्तो वातावरण छ, संसारमा प्रतिष्ठित विश्वविद्यालयलाई नेपालमा आएर बनाऊ, के के छुट चाहिन्छ आऊ भन्न सकिन्छ ।

नेपालमा अझै पनि जलविद्युत्को महत्व छ र यो ‘क्लिन इनर्जी’ लाई विश्वले नै महत्व दिएको छ । त्यो इनर्जीलाई प्रवर्द्धन गर्न हामीलाई किन यति कठिन भएको ? त्यसकारण नेपालको अर्थतन्त्रलाई उद्वेलित बनाउने अनेकौं धारा छन् ।

हामी राष्ट्रिय गौरवका आयोजना २५ वटा बनाइरहेका छौं तर हामी ‘फोकस’ हुन आवश्यक छ । दुई-चार वटा छानेर त्यसलाई छिटो सक्नुपर्छ । अर्थतन्त्रलाई उद्वेलित गरेर रोजगारी सिर्जना नगरेसम्म हाम्रो देशको आयस्तर बढ्दैन ।

त्यसको लागि सुशासन चाहिन्छ । यसमा मैले बारम्बार भन्ने गरेको के हो भने सार्वजनिक शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउने कुरामा सम्झौता हुनै सक्दैन । किनभने त्यसमा हामीले सम्झौता गर्‍यौं भने कहिल्यै पनि देशको विकास हुँदैन । सुशासनका विषय भन्दा हामीले बारम्बार भनेका छौं २०४६ सालपछि उच्च राजनीतिकर्मी र प्रशासकहरूको हामी सम्पत्ति छानबिन गर्छौं र भ्रष्टहरूलाई जेलमा हाल्छौं ।

यस्ता विषयलाई मुद्दा बनाएर हामीले जनतालाई बुझाउन सकिरहेको अवस्था होइन, त्यो बुझाउनको लागि जति जनशक्ति चाहिन्छ, कैयौं नेपाली जसरी आउनुपर्छ, त्यो आइसकेको अवस्था छैन । तपाईंको कार्यक्रमबाट म के आहृवान गर्न चाहन्छु भने जो नेपाली अझै पनि आफ्नै परिवारका लागि संघर्ष गर्नुपर्ने अवस्थामा हुनुहुन्छ, उहाँहरूले संघर्ष पनि गर्नुपर्छ र राजनीतिक वातावरणको लागि पनि काम गर्नुपर्छ । दुवै सन्तुलित रूपमा गर्नुपर्छ ।

त्यसैगरी जो नेपाली एउटा बिन्दुमा पुगिसक्नुभयो र अहिलेसम्मको आयले आफ्नो सन्तानको भविष्य सुनिश्चित हुन्छ भन्ने छ भने आउनुस्, मिलेर काम गरौं, किनभने नत्र तपाईंकै छोराछोरीले दुःख पाउँछन् । बुढेसकालमा तपाईंले दुःख पाउनुहुन्छ । तपाईंहरू आएर सक्रिय हुनुपर्छ र अग्रपंक्तिमा उभिएर भिड्नुपर्छ भन्ने मेरो आग्रह हो ।

तपाईंको भर्खरै प्रकाशित पुस्तक ‘राजनीतिसँगै राजकाज’ को मुख्य विषयवस्तु के हो ?

भर्खरै सार्वजनिक भएको पुस्तकको शीर्षक राजनीतिसँगै राजकाज र उपशीर्षकचाहिँ कल्याणकारी राज्यको प्रस्तावना हो । यो शीर्षक राख्नुको तात्पर्य चाहिं के हो भने नेपालमा राजनीति चाहिं अति बढी र विकृत भयो । तर राजकाज अर्थात् ‘स्टेट क्राफ्ट’ जसले देशमा सुशासन स्थापित गर्छ, देशको रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ, राजनीतिलाई सुसंस्कृत बनाउँछ, देशलाई समृद्ध बनाउँछ, त्यसमा चाहिँ हामी निरन्तर चुक्यौं ।

त्यसैले राजनीतिसँगै राजकाज गर्न जानेनौं भने हरेक नेता राजनीतिकर्मी मात्र हुन्छ, ऊ राजनेता हुन सक्दैन । त्यसैले पुस्तकमा राजकाजको महत्वमाथि जोड दिन खोजिएको हो ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0