गाउँमा देखेको गरिबीले यसरी पुर्‍यायो फोर्ब्सको सूचीमा


काठमाडौं । फोर्ब्सले हालै सार्वजनिक गरेकाे ३० वर्षमुनिका एसियाका ३० प्रभावशाली युवाहरुको सूचीमा नेपालका प्रकाश काेइराला पर्न सफल भएका छन् । २९ वर्षीय कोइराला फिनलिट नेपालका संस्थापक हुन् ।

उनी ‘फाइनान्स एण्ड भेन्चर क्यापिटलः इन्फ्ल्युन्सिङ हाउ मनी फ्लोज इन एसियाज इकोनोमी’ विधाअन्तर्गत उक्त सूचीमा परेका हुन् ।

१७ वर्षको कलिलो उमेरमा उनले भोगेको एक घटनाले आज उनलाई यो सफलतासम्म डोर्याएको छ । १२ वर्षअघि दसैं मनाउन आफ्नो पुरानो गाउँ पुग्दा उनले जे देखे, त्यहीँबाट उनले नयाँ अठोट लिए ।

‘मेरो पढाइ काठमाडौंमा थियो,’ कोइराला भन्छन, ‘तर, दसै सधैं गाउँमै (दोलखा, पावटी) मनाउँथ्याैं ।’

उनी त्यतिबेलाकाे घटना सम्झदै भन्छन, ‘गाउँमा नजिककै सानो भाइ थियो । राम्रो आर्थिक अवस्था नहुँदा उसको घरमा सँधैजसो झगडा हुने, छोरा छोरीलाई कुट्ने यस्तै घटना हुन्थे । त्यो दिन पनि त्यस्तै घटना भयो । याे घटना र त्यो भाइले आर्थिक अवस्थाका कारण सानो उमेरमा झेल्नुपरेको दु:खले मलाई धेरै नै छोयो ।’

त्यतिबेला यदि वित्तय शिक्षा हुने हो र राष्ट्रको वित्तीय प्रणालीमा समावेशिता ल्याउन र वित्तीय साक्षरतालाई बढाउन कार्यक्रम गर्नसक्ने भएको भए यस्ता समस्या आउँदैन थियो कि भन्ने उनको मनमा लागेको थियो ।

उनी भन्छन, ‘म पण्डितको घरमा हुर्किएको मान्छे । हजुरबुवाले अरुलाई सिकाएको, पढाएको देखेको थिएँ । हाम्राे परिवार शिक्षित छ भने अरु परिवारलाई पनि शिक्षित बनाउन सक्छ भन्ने लाग्याे ।’

उनको याे सोचाइ तत्कालै कार्यान्वयनमा आउन सम्भव थिएन । कारण उनको अध्ययन थियो । तर, पनि उनले त्यो घटनालाई भने कहिलै बिर्सिएनन् । जसले गर्दा उनले त्यसको केही वर्षपछि वित्तीय शिक्षामा स्वस्फुर्त रुपमा काम गर्न थाले । उनको ध्येय पिछडिएका बच्चाहरुलाई आर्थिक रुपमा सबल बनाउनु नै थियो ।

‘विश्व डिजिटल करेन्सीतर्फ मोडिएको छ । हाम्रो र हामीभन्दा पछाडिको पुस्ता आर्थिक रुपमा पिछडिएको अवस्थामा विश्व बजारमा हाम्रो अस्तित्व रहँदैन । त्यसैले पनि वित्तीय प्रणालीमा समावेशिता ल्याउन तथा वित्तीय साक्षरतामा काम गर्नुपर्ने आवश्यकता थियो ।’

कोइरालाले सन् २०१७ मा फिनलिट नेपाल नामक कम्पनीको सुरुवात गरे । जसबाट उनले पहिलो पटक बझाङको चैनपुरबाट वित्तीय साक्षरतामा काम सुरु गरे । सुरुवाती चरण उनले आफै लगानी र स्वयमसेवकको रुपमा काम गराउन थाले ।

हाल कम्पनीमा ५ जना कर्मचारी र स्वयमसेवक गरी २० जना कार्यरत छन् ।

विस्तारै उनी बैंकसँग जोडिन थाले । बैंक तथा विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा उनले गाउँ-गाउँमा वित्तीय साक्षरतामा काम गर्न थाले । यही क्रममा उनले अमेरिकाको हार्डफोर्ड विश्वविद्यालयमा वित्तीय साक्षरतासँग सम्बन्धित नीतिगत अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे ।

त्यतिमात्रै नभएर उनले क्यानडाको एक विश्वविद्यालयमा पनि माइक्रोफाइनान्ससँग सम्बन्धित विषयमा केही समय अध्ययनका लागि छात्रवृत्ति पाए । विश्वका उत्कृष्ट विश्वविद्यालयमा वित्तीय साक्षरतासँग सम्बन्धित अध्ययनले पनि उनलाई अझ यो क्षेत्रमा काम गर्न हौसला मिल्दै गयो ।

उनले गाउँ-गाउँमा गएर वित्तीय साक्षरतामा मात्रै काम गरेनन् । उनको योगदान नीति निर्माणमा पनि रह्यो । ‘मैले गाउँमा साक्षरता विस्तारसँग त्यहीअनुसारको निर्माणमा राष्ट्र बैंकको परामर्शदाताको रुपमा पनि काम गरे ।’

वित्तीय साक्षरताको विषयमा बजार र मागअनुसारको नीति निर्माण हुन सकेको छ । अब डिजिटल वित्तीय साक्षरतातर्फ योजना रहेको उनी सुनाउँछन् ।

भन्छन, ‘कोरोनका कारण अब डिजिटल रुपमा काम गर्नुपर्ने अवस्था आएको छ । त्यसैले पनि डिजिटल फाइनान्ससियल साक्षरता र त्यसका लागि आवश्यक कन्टेन्ट निर्माणमा हामी काम गरिरहेका छौं । वित्तीय साक्षरता कति भएको छ कती बाँकी छ भनी अध्ययन गर्ने काम पनि भइरहेको छ ।’

उनीसँगै खेलाडी गाैरिका सिंह पनि एसियाका ३० प्रभावशाली युवाहरुको सूचीमा शीर्ष ३० मा पर्न सफल भएकी छन् ।

The post गाउँमा देखेको गरिबीले यसरी पुर्‍यायो फोर्ब्सको सूचीमा appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0