नयाँ भेरियन्टका कारण बढी छ जोखिम – Online Khabar


गत वर्ष धेरै देशहरुसँग जस्तै हामीसँग पनि महामारीविरुद्ध लड्ने अनुभव थिएन । अहिले हामीलाई पहिलाभन्दा धेरै कुरा थाहा छ । यसका बाबजुद हामीबाट केही भुल भए ।

विशेषगरि गएका दुईतीन महिनामा भाइरस केही होइन रहेछ भन्ने मानसिकता विकास भयो । त्यसैको परिणामस्वरुप अहिले संक्रमण बढी देखियो ।

दैनिक संक्रमण दर १० प्रतिशतभन्दा बढी देखिन थालेकाले जोखिम बढेको बुझ्न सकिन्छ । सीमा नाका तथा समुदायस्तरमा गरिएको एन्टिजेन टेष्टको नतिजाले समुदायमा भित्रभित्रै संक्रमण बढेको प्रष्ट हुन्छ । अस्पतालहरुमा बढेको संक्रमितको संख्याले पनि आउँदै गरेको जोखिम अनुमान गर्न सक्छौं ।

संक्रमण बढ्दै गर्दा धेरैलाई सीमा नाकाको चासो छ । तर अहिले सीमा नाकाको रणनीति पहिले भन्दा फरक छ । पहिलेजस्तै नाकामै रोक्ने या छिर्न नदिने भन्दा नाकामा हेल्थ डेस्क राखेका छौं, जहाँ स्वास्थ्यकर्मीहरुले जोखिम या लक्षणको अवस्था हेरेर नेपाल छिर्ने मानिसहरुको व्यवस्थापन गरिरहेका छन् । नजिक घर हुनेहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेर पठाउने गरिएको छ भने टाढा हुनेहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ ।

विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।

पहिलेको महामारीबाट हामीले सिक्यौं कि नाकामै रोकेर राख्दा वा आएजति सबैलाई क्वारेन्टिनमा राख्दा संक्रमण झन् फैलिने डर हुनेरहेछ । किनकी सबैलाई व्यवस्थापन गर्ने क्षमता हामीसँग छैन । त्यसैले औपचारिक नाकाबाट आएकालाई हेल्थ डेस्कको स्वास्थ्य जाँचका आधारमा व्यवस्थापन गरिरहेका छौं ।

अन्तर्राष्ट्रिय नाका पार गरेर नेपाल आउने सबैको एन्टिजेन टेष्ट गर्न पनि सम्भव छैन । किनकी सीमा नाका पास गरेर नेपाल आउनेहरुको अनुपातमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी छैनन् । सबैको टेष्ट गर्ने हो भने लामो लाइन लगाउनुपर्छ । गर्मीको समयमा धेरै बेरसम्म लाइन बसाउँदा अर्को समस्या पर्न सक्छ ।

सीमा नाकाको कुरा गर्दै गर्दा देशभित्र भएको संक्रमणबारे पनि बुझ्नुपर्छ । तुलनात्मक रुपमा पहिलेभन्दा बढ्दो छ र नयाँ भेरियन्ट पनि भेटिएको छ । र्‍याण्डम स्याम्पलिङ गर्दा पहिलेभन्दा नयाँ भेरियन्ट दुई तिहाई बढी मात्रामा देखिएको छ ।

संक्रामक रोगसम्बन्धी ऐनले रोकथाम तथा नियन्त्रणका लागि पालना गर्नुपर्ने मापदण्डहरु लागू गराउने भूमिका प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । उहाँहरुले जिल्लामा हुने भिडभाड, नारा जुलुसलगायतका गतिविधि कम गर्न भूमिका खेल्नुभयो भने कोरोना महामारीविरुद्ध लड्न सहज हुन्छ ।

त्यसैगरी स्थानीय तथा प्रदेश सरकारले केन्द्रले दिएको निर्देशन र गाइडलाइन अनुसार क्वारेन्टिन, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित गरिदिए महामारीसँँग लड्न सजिलो हुन्छ । विगतबाट सिकेको पाठलाई आत्मसाथ गर्दै महामारीविरुद्ध लड्न सबै तह र क्षेत्रबीच सहकार्य आवश्यक छ ।

गतवर्ष महामारीविरुद्ध लड्न लकडाउन गरिएको थियो, जसका कारण मानिसको आवगमन कम भएकाले संक्रमण विस्तारै फैलिन्थ्यो । अहिले त संक्रमण हामीभित्रै छ । विद्यालय, यातायातलगायतका भीडभाड हुने क्षेत्र चलिरहेको छ । त्यसमाथि दोस्रो लहरमा नयाँ भेरियन्टको संक्रमणले गर्दा जोखिम बढी छ ।

कन्ट्याक्ट ट्रेसिङका लागि हामीले प्रदेश हुँदै ७५३ वटै पालिकालाई जिम्मा दिएका छौं । पालिका मातहतमा रहका हेल्थ पोस्ट, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, अस्पताललगायतलाई विश्व स्वास्थ्य संगठनले दिएको फण्डबाट जनशक्ति व्यवस्थापन भएको छ । हामीले पनि जनशक्तिहरु खटाएका छौं । कन्ट्याक्ट ट्रेसिङ गर्ने जनशक्तिलाई तालिम, निर्देशिका र एन्टिजेन किट उपलब्ध गराएका छौं ।

पछिल्लो उदाहरण हेर्ने हो भने पोखराको इन्जिनियरिङ क्याम्पसमा ४० जना भन्दा बढी संक्रमित भए । त्यहाँ कन्ट्याक्ट ट्रेसिङ गरेर ४ सय जनाभन्दा बढीको स्वाब लिइयो र ७० जनामा संक्रमण देखिएको थियो । भक्तपुरको वीरेन्द्र सैनिक स्कुलमा भएको आउटब्रेकमा भक्तपुरको कन्ट्याक्ट ट्रेसिङको टिमले लिड गर्‍यो । यूके भेरियन्ट देखिएका एक मानिस न्यूरोडको सहकारीमा काम गर्दा रहेछन् । यहाँ पनि पालिकाको सक्रियतामा कन्ट्याक्ट ट्रेसिङ गरियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले कन्ट्याक्ट ट्रेसिङका लागि नीतिहरु बनाउने र अनुगमन गर्ने गर्छ । स्थानीय तहले सकेन वा थप सहयोग गर्नुपर्ने भयो भने हामी आफैं मैदानमा पनि जान्छ । तर सकेसम्म स्थानीय तहलाई प्रोत्साहन दिने नीति छ, किनकी उनीहरु नै प्रभावकारी हुन्छन् ।

यतिभन्दा भन्दै पनि कन्ट्याक्ट ट्रेसिङका लागि अरु धेरै पक्षको सहयोग आवश्यक हुन्छ । हरेक घर परिवारले सहयोग गरेन भने कन्ट्याक्ट ट्रेसिङ सम्भव हुन्न । कतिपय ठाउँमा स्वाब लिन जाँदा ‘मलाई लक्षण छैन वा मलाई केही भएकै छैन’ भनेर स्वाब नदिएका पनि छन् । यो प्रवृत्ति समाजकै लागि घातक हुन्छ । समयमै संक्रमण पत्ता लगाएर आइसोलेटेड गर्न सकिएन भने जोखिम झन् बढ्छ ।

क्वारेन्टिन, कन्ट्रयाक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतका काममा हामी पर्फेक्ट छौं वा केही गल्ती नै भएको छैन भन्दिन । गर्दागर्दै कमी कमजोरीहरु भएका छन् । तर त्यसलाई सुधार्न लागिरहेका छौं । यसका साथै अरु चुनौतीहरु पनि छन् । सबै क्षेत्रले कोरोना महामारीको गम्भीरता नबुझ्नु हाम्रा लागि ठूलो चुनौती बनेको छ । महामारी नियन्त्रणका लागि लडिरहेका स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयको अभाव अर्को चुनौती हो ।

ईडीसीडीका पनि आफ्नै सीमाहरु छन् । हामीसँग पहिलेदेखि नै सानो टिम छ । त्यसमाथि कोरोनामा केन्द्रित हुँदा ओलौ, कालाजारलगायत सर्ने तथा अन्य नसर्ने रोगहरुविरुद्ध नियमित रुपमा गर्नुपर्ने कामलाई प्रभावित हुन पनि दिनुभएको छैन । यस्ता समस्या सल्टाउँदै हामी महामारीविरुद्ध लडिरहेका छौं । हामीले सबै गरिसक्यौं र गर्न बाँकी केही छैन भनेर चुप लागेर बस्ने पक्षमा छैनौं । हामी त महामारीविरुद्ध लडिरहेका छौं । अन्य पक्षले पनि लडाईं अझै बाँकी छ भन्ने यथार्थ बुझिदिए संक्रमणलाई कम गर्न सकिन्छ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलसँग अनलाइनखबरका सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0