युके भेरियन्टको संक्रमण फैलियो, डबल म्युटेसन पनि पुष्टि – Online Khabar


१ वैशाख, काठमाडौं । ठूला शहरहरुमा कोरोना भाइरस (कोभिड–१९) को यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिएको पाइएको छ । साथै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेसन’ पनि पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार नयाँ भेरियन्टबारे जनवरी १ देखि निगरानी गर्न थालिएको थियो । सुरुको पहिलो साता ४ प्रतिशत पीसीआर पोजेटिभमा एस जिन नेगेटिभ थियो । मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत देखिएको छ ।

अध्ययनकै क्रममा महाशाखाले एस जिन नेगेटिभ भएका १० वटा र एस जिन पोजेटिभ आएका ५ वटा नमुना जिन सिक्वेन्सिङका लागि हङकङस्थित प्रयोगशालामा पठाएको थियो ।

ईडीसीडीका अनुसार यूके भेरियन्टबाट संक्रमित हुनेमा बालबालिका र किशोर तथा युवा बढी छन् । काठमाडौं उपत्यका र पोखराको तथ्यांकले पनि यही भन्छ ।

एस जिन नेगेटिभ भएका १० मध्ये ९ वटा नमुनामा यूके भेरियन्ट (बी.१.१‍.७) पुष्टि भएको छ । २१ देखि ५९ वर्ष उमेर समूहका उनीहरुमध्ये ४ जना काठमाडौंका थिए भने २/२ जना भक्तपुर र पोखरा तथा एक जना नुवाकोटका हुन् ।

महाशाखा प्रमुख पौडेलकाअनुसार दार्चुलाका एक व्यक्तिको नमुनाको भने जिन सिक्वेन्सिङ हुन सकेन ।

यस्तै हङकङ पठाइएका एस जिन पोजेटिभ आएका ५ वटा नमुनामध्ये एकमा डबल म्युटेसन भेटिएको छ । ‘भारतमा पत्ता लागेको र अहिलेसम्म भेरियन्ट अफ कन्सर्न भनेर घोषणा नभएको डबल म्युटेसन भेटिएको छ । त्यो ललितपुरको नमुना थियो’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्रिफिङमा ईडीसीडी निर्देशक पौडेलले भने, ‘यसले बताउँछ कि हाम्रोमा नयाँ भेलियन्ट फैलिएको छ र अहिले संक्रमण बृद्धि हुँदै जानुमा यूके भेरियन्ट मुख्य जिम्मेवार छ ।’

ईडीसीडीका अनुसार यूके भेरियन्टबाट संक्रमित हुनेमा बालबालिका र किशोर तथा युवा बढी छन् । काठमाडौं उपत्यका र पोखराको तथ्यांकले पनि यही भन्छ ।

काठमाडौं उपत्यकामा र्‍याण्डम स्याम्पलिङ विधिबाट ७६ वटा नमुना संकलन गरिएको थियो ।

त्यसमा ४८ जनामा एस जिन नेगेटिभ भेटिएको छ । उनीहरुमध्ये करिव २० प्रतिशत २० वर्षमुनिका छन् । चार वर्ष मुनिका २ जना, ५–९ वर्षका एक जना, १०–१४ वर्षका ३ जना र १६–१९ वर्षका चार जनामा एस जिन नेगेटिभ भेटिएको छ ।

यस्तै पोखराबाट लिइएको १७६ नमुनामध्ये १०५ मा एस जिन नेगेटिभ भेटिएको छ । उनीहरुमध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समूहका थिए । उनले अघि भने, ‘यसले कुन समूहमा नयाँ भेरियन्ट फलिएको छ भन्ने देखाउँछ ।’



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0