यौन उत्पीडन विरुद्ध नेपाली महिलाको अनलाइन मोर्चा


काठमाडौं । २० वर्षीया ब्रिगेड श्रेष्ठलाई एक रात कसैको म्यासेन्जर कल आयो । हेर्दा पहिले नै अन्फ्रेन्ड गरिसकेको एक पुरूषकाे कल रहेछ । त्यसअघि पनि ती पुरूषले ब्रिगेडलाई अनावश्यक कल र टेक्स्ट म्यासेज गरिरहन्थे ।

आफूलाई ती म्यासेजबाट असहज महसुस हुने भन्दै उनले धेरैपटक कल नगर्न चेतावनी पनि दिइसकेकी थिइन् । तर सिलसिला रोकिएन । हद त तब भयो, जब ती पुरूषले ब्रिगेडलाई यौन सम्पर्कका लागि एकाएक प्रस्ताव राखे ।

‘हामीबीच कुनै म्युचुआलिटी थिएन । न त हामी त्यस्तो कुनै स्पेस नै शेयर गर्थ्यौं । तर त्याे व्यक्तिले मलाई अचानक सेक्सको लागि अप्रोच गर्‍यो,’ ब्रिगेड भन्छिन्, ‘तब मलाई एकदमै असहज र दुर्व्यवहारमा परेको महसुस भयो ।’

यो कुरा पहिलो र अन्तिमपटक थिएन । अनलाइन स्पेसमा यस्ता केही यौन दुर्व्यहारका घटनाहरु उनले त्यसअघि पनि सामना गरेकी थिइन् । तब यस्ता घटनाहरु कहिले र कुन हदसम्म सहने र कति जनाबाट सहने भन्ने प्रश्न उनको मनमा उठ्यो ।

आज म्यासेज पठायो, कल गर्‍यो, भोलि अश्लील तस्वीर पठाउला । अब त सहनुहुन्न भन्ने सोच उनको मनमा पलायाे ।

उनले अनलाइनमा फेसबुकजस्ता विभिन्न सामाजिक सञ्जालमा डिजिटल र फिजिकल दुवै स्पेसमा आफूले भोगेका यौनिक दुर्व्यवहार तथा उत्पीडनका कुराहरु लेख्न सुरु गरिन् ।

यसपछि समर्थन र अनुभव बाँड्नेहरूको संख्या बढ्न थाल्यो ।

उनले थाहा पाइन्, यस्तो घटना त उनले मात्र होइन, धेरैले विभिन्न तरिकाले भोगिरहेका रहेछन् ।

‘यतिका धेरै वर्षसम्म ती दुर्व्यवहार र अश्लील म्यासेजका कारण मानसिक तनाव र कुण्ठा बोकेर म बाँचिरहेको थिएँ, जसमा मेरो कुनै दोष नै थिएन ।

वास्तवमा यस्ताे तनाव त अब ती यौन पिपासुहरुले बोक्नुपर्छ भनेर म लगायत केही साथीहरु मिलेर अनलाइनबाटै त्यस्ता प्रिडेटर्स (यौन शिकारी) हरुलाई कन्फ्रन्ट तथा एक्सपोज गर्न ह्यासट्याग नेमिङ एण्ड सेमिङ (Naming and Shaming) को कन्क्रिट अभियान सुरु गर्‍यौं,’ ब्रिगेड सुनाउँछिन् ।

ब्रिगेडको पोस्ट र स्क्रिनशट्स आएपछि अन्य उत्पीडनमा परेका धेरै युवती तथा किशोरीहरुले पनि #NamingandShaming, #sheisme, #believeher जस्ता ट्याग राखेर आफ्नो कथाहरु शेयर गर्न थाले ।

यसबीच २४ वर्षीया नुमा सुब्बाले पनि यही अभियानमा मिसिएर किशोर अवस्थामा अध्ययनका लागि कलकत्तामा बस्दा भिनाजु साइनो पर्ने व्यक्तिबाट भएको यौन दुर्व्यवहारको अनुभव शेयर गरिन् ।

यति धेरै वर्षसम्म मनमा रहेको कुण्ठा र मानसिक आघातलाई बाहिर पोखेर आफ्नै परिवारभित्रका पीडकलाई पर्दाफास गर्ने हिम्मत र प्रेरणा ‘नेमिङ एण्ड सेमिङ’ अभियानबाटै उनलाई मिल्यो ।

१९ वर्षीया नेन्सी यादवलाई पनि दुई वर्षअघि होस्टलमा बस्दा उनलाई पढाउने शिक्षकले उनको शारीरिक संरचनामाथि टिप्पणी गर्दै धेरै म्यासेज पठाउने गर्थे । धेरै म्यासेज आएपछि डरले शिक्षकलाई नै सामाजिक सञ्जालबाट ब्लक गरिदिइन् ।

दुई वर्षको अवधिमा शिक्षकले आफूलाई मात्र होइन, धेरैलाई त्यस्तो गरेका रहेछन् भन्ने कुरा उनले थाहा पाइन् । तर त्यो पनि अनलाइन दुर्व्यवहार उत्पीडन हो र त्यसविरुद्ध बोल्नुपर्छ भन्ने कुरा उनलाई कहाँ थाहा थियो र !

नेमिङ एण्ड सेमिङको लहर चलेपछि उनले आफू पनि हिंसामा परेको रहेछु भनेर आफ्नो भोगाइ शेयर गरिन् ।

दीक्षाको अनुभव पनि त्यस्तै छ । नेमिङ एण्ड सेमिङको अभियान चलेपछि पेडोफिलिया ग्रसित व्यक्तिबाट भएको उत्पीडनको स्मरण उनलाई भयो र उनले पनि यो कुरा शेयर गरिन् ।

पछिल्लो केही हप्तायता लहरकै रुपमा चलिरहेको यो अनलाइन अभियान फगत अनलाइन ट्रेण्ड होइन । नेपाली ई-फेमिनिस्टहरुको अभियानको रुपमा कतिले यसलाई अर्थ्याएका छन् । तर यो एउटा उत्पीडनविरुद्धको क्रान्ति र प्लेटफर्म हो ।

धेरै किशोरी, महिला तथा पुरुषहरु नेमिङ एण्ड सेमिङ क्याम्पियनको हिस्सा बनेका छन् र कति जोडिने क्रममा पनि छन् ।

‘अनलाइन ह्यारेसमेन्टको चरित्र केही फरक हुन्छ, यसैले दुर्व्यवहार कसरी छुट्याउने भन्ने कुरा कतिपयलाई थाहा हुँदैन,’ ब्रिगेड भन्छिन्, ‘कसैलाई बलात्कार नै नभएसम्म, नछोएसम्म त्यो दुर्व्यवहार नै हुँदैन भन्ने बुझाइ छ । परिणाम नै कुर्नुपर्छ भन्ने खालको हाम्रो धारणा छ ।

उनी अगाडि भन्छिन्, ‘कसैको बोलीमै असहज महसुस हुन्छ भने त्यो पनि ह्यारेसमेन्ट हो । म्यासेज जस्तो कम्युनिकेसन प्लेटफर्ममै तपाईंलाई कसैले असहज महसुस गराउँछ भने त्यो कति निर्दयी हो त ? त्यो भोगिसकेकाहरुका लागि अनुभव कति पीडादायी हुन्छ । कुन्ठा कति धेरै हुन्छ ।’

कतिपय अवस्थामा एउटा यस्तो स्पेस बनाउन निकै महत्वपूर्ण हुन्छ, जहाँ मान्छेहरुले आएर आफ्नो कथा तथा अनुभव शेयर गर्न सकुन् । आफू भ्यालिडेट फिल गर्न सकुन् । आफ्ना अनुभूतिहरुले बिना प्रश्न मान्यता पाउन सकुन् ।

यसैले हामी एकअर्काको समर्थन र ऐक्यवद्धतामा आफूमाथि भएका दुर्व्यवहारका भोगाइ साझा गरौं र तिमीले भोगेको तितो अनुभव पनि उत्पीडन थियो है भनेर चेतना फैलाउन सकौं भनेर हामीले यो अभियान सुरु गरेका हौं । यो वास्तवमा आफ्नो पीडादायी अनुभूति र दुर्व्यवहारको कथा शेयर गर्ने एउटा प्लेटफर्म हो ।’

तर अनलाइनमा हुने दुर्व्यवहार तथा उत्पीडनका कुराहरुलाई ‘इनभ्यालिडेट’ अर्थात् अमान्यिकरण गर्ने हामीकहाँ परम्परा नै छ । पुख्ता प्रमाण नहुँदा आफैंमाथि ब्याकफायर आउला भन्ने डर हुन्छ । तर यसको अर्थ आफूमाथि दुर्व्यवहार नै भएको छैन भन्ने हुँदैन ।

बिनी पोखरेलको यस्तै नमिठो अनुभव छ । १९ वर्षीया बिनीलाई पनि नजिकको चिनेकै व्यक्तिले केही वर्षअघि दुर्व्यवहार गरे । इन्स्टाग्राममा कुशल पोखरेल नामका एकजनाले उनलाई अश्लील एडल्ट मिम्स पठाउने गर्थे ।

उनले धेरैपटक आफूलाई असहज हुने भन्दै नपठाउन आग्रह गरेपछि ती व्यक्तिले उनलाई यौन आशयले भरिएका प्रस्तावहरु राखे । डरले आत्तिएर उनले ती सबै म्यासेज र मिम्सहरु डिलिट गरिन् । तर आज आफ्नो अनुभव शेयर गर्न ब्याकफायर आउला भन्ने डर उनलाई छ ।

बिनी भन्छिन्, ‘धेरैजना त बाहिर आउनै सक्दैनन् । ब्याकफायर आउने र भिक्टिम ब्लेमिङ (पीडितलाई दोष दिने) संस्कारले यतिसम्म गहिरो जरा गाडेको छ कि हाम्रो समाजमा प्रमाण देखाउँदासमेत मान्छेहरुले यो झुटो हो भन्छन् । फोटोशप हो भन्छन् । तैंले नै वातावरण बनाइदिस् र त्यसो गरे भन्छन् ।’

उनी थप्छिन्, ‘अनलाइन ह्यारेसमेन्टको मामलामा हामीले के बुझ्न आवश्यक छ भने डिजिटल स्पेस भनेको हाम्रो व्यक्तिगत स्पेस हो । यहाँ हामी जे शेयर गर्न चाहन्छौं त्यो नितान्त हाम्रो व्यक्तिगत रोजाइ र आफ्नो कुरा हो । हामी सुरक्षित छौं भनेर शेयर गर्छौं ।

अनलाइन स्पेसमा हामी खुलारुपमा यौनका कुरा गर्छौं भन्दैमा हाम्रो पर्सनल च्याट बक्समा आएर हामीलाई यौनको प्रस्ताव राख्ने सुविधा र छुट कसैलाई छैन । त्यो हाम्रो अभिव्यक्तिको कुरा हो । हामी खुला सोच राख्छौं भन्दैमा तिमीले नै मौका दिएर बाेलेकाे हुँ भन्न मिल्दैन ।’

डिजिटल स्पेसमा कस्ता गतिविधि दुर्व्यवहार हुन् भन्ने कुरा थाहा नहुँदा पनि अनलाइन ह्यारेसमेन्ट बढेको ब्रिगेडको ठम्याई छ ।

मैले कसैको अङ्ग छोएकै छैन भन्ने सोच पीडकमा हुन्छ । दोहोरो अर्थ लाग्ने म्यासेज पठाउनु, कसैलाई लगातार म्यासेज गरेर उनीहरुको ध्यान खिच्न खोज्नु, उसको आफूप्रतिको इच्छा र आफ्नो आशय प्रकट गर्ने सही तरिका नै यही हो भन्ने कतिपयलाई लाग्न सक्छ ।

तर यस्ताे धारणा गलत भएको सेमिङ एण्ड फेमिङका अभियन्ताहरु बताउँछन् । ह्यारेस हुन करणी नै हुनुपर्छ भन्ने बुझाइ गलत भएको उनीहरूकाे तर्क छ ।

वास्तवमा अनलाइनमा हुने यस्ता दुर्व्यवहारका कुराहरु त अझ प्रारम्भिक संकेतहरु हुन् । यो सम्भावित उत्पीडकको चरित्र र अनुहार हो भनेर बुझ्नुपर्छ ।

यी कुराहरुलाई सुरुमै विरोध गर्न सिक्नुपर्छ । यसाे गर्न सके भौतिक स्पेस अर्थात् रियल लाइफमा आएर त्यस्ता व्यक्तिहरुले गलत कदम उठाउन सक्दैनन् ।

अनलाइन ह्यारेसमेन्टको विषयमा व्यापक जनचेतना फैलाउनु पनि आजको समयमा ठूलो आवश्यकता भएको ब्रिगेड बताउँछिन् ।

No description available.

‘हामी अधिकांश अवस्थामा परिचित मान्छेहरुलाई त फोन गर्नुअघि एकपटक अनुमति लिन्छौं । तर हामीकहाँ कसैले केही कुरा पोस्ट गरेकै भरमा, केही भनेकै भरमा उसलाई असहज महसुस हुने गरी उसको व्यक्तिगत स्पेसलाई इन्भेड गर्ने प्रयास गरिन्छ ।

सार्वजनिक रुपमै पोस्ट गरेको भए पनि कसैलाई इन्भेड गरेर कसैलाई असहज बनाउने अधिकार हुँदैन । कसैको पर्सनल स्पेस एकदमै सेन्सेटिभ कुरा हो । त्यो कहिल्यै इन्भेड गर्नुहुन्न, जबसम्म अनुमति दिइन्न । कलमा, टेक्स्टमा, पिक्चरमा हुने यस्ता किसिमका गतिविधि निकै संवेदनशिल कुरा हुन्,’ ब्रिगेड भन्छिन् ।

पारस्पारिकता र सहमति नभएपछि सबै कुरा रोक्नुपर्छ भन्ने सामान्य बुझाइ पनि मानिसहरुमा देखिन्न । अनलाइन हिंसा तथा दुर्व्यवहार बढ्नुको मुख्य कारण यो पनि रहेको देखिन्छ ।

‘ह्यारेसमेन्ट केलाई भन्ने, केलाई नभन्ने कुरामै मान्छेहरु स्पष्ट छैनन् । एक पोइन्टमा सबैले यस्तो गरेका हुन्छौं, तर बुझेपछि यो छोड्नुपर्छ ।’

डिजिटाइजेसनको युगमा यौन दुर्व्यवहार र उत्पीडन अझ जटिल बन्दै गइरहेको नुमाको बुझाइ छ ।

‘सबै कुरा डिजिटलाइज हुँदै गर्दा यी कुरा झनै जटिल बन्दै गइरहेको छ । कसैले मलाई मेरो सहमति बिना अश्लील तस्वीर तथा म्यासेज पठायो भने अप्ठ्यारो लागेर म डिलिट गर्छु । तर पछि मलाई त्यसबाट बाहिर आउन निकायले कुनै प्रमाण माग्दा मसँग केही पनि हुँदैन । तब म ममाथि हिंसाको आघात मात्र होइन, अमान्यीकरणको असर झन् भयावह हुन्छ,’ उनी भन्छिन् ।

तर यस्तो अवस्थामा नेमिङ एण्ड सेमिङ जस्तो साझा प्लेटफर्म र अभियानले पीडितहरुलाई आफ्नो मानसिक आघातबाट माथि उठ्न सहयोग पुर्‍याएको छ ।

‘हाम्रो प्लेटफर्ममा पीडितले आफ्नो अनुभव शेयर गरेर समर्थन पाउने मात्र होइन । पीडितलाई आफू अज्ञात रहोस् वा नाम खुलाओस् । उत्पीडकको नाम खुलाउन् वा नखुलाउन्, तर आफ्नो अनुभव साझा गरिसकेपछि उमाथि त्यो घटना भएको हो भनी हामी विश्वास गर्छौं ।’

ब्रिगेड भन्छिन्, ‘अहिलेको समयमा यो एकदमै आवश्यक छ । किनभने धेरैजनाले यही विश्वास र समर्थन नपाएर नै बाहिर आउन सक्नुहुन्न । मेरै केसमा मैले राख्दा पनि नकरात्मक कुराहरु आए । यसैले अहिलेको अवस्थामा यही स्पेस क्रिइट गर्नु पनि निकै ठूलो कुरा हो ।’

नेमिङ एण्ड सेमिङ अभियान सुरु भएपछि नै सामाजिक सञ्जाल एप रेडिटमार्फत नाम नखुलाएकी एकजना महिलाले वरिष्ठ पत्रकार तथा लेखक सरोजराज अधिकारीले आफूमाथि गरेको दुर्व्यवहारको बारेमा खुलासा गरिन् ।

त्यसको केही समयमा उक्त पोस्ट डिलिट पनि भयो । त्यसपछि पत्रकार अधिकारीले साइबर ब्यूरोमा त्यसबारे उजुरीसमेत गरेको देख्न पाइयो ।

No description available.

मिटुजस्ता अनलाइन क्याम्पियनले अन्तराष्ट्रिय जगतका धेरै ठूला तथा प्रतिष्ठित व्यक्ति, राजनीतिज्ञ तथा सिने क्षेत्रमा व्यक्तित्वहरुको कुकृत्यलाई पर्दाफास गर्‍यो । यसबीच बेलाबखत चल्ने यस्ता अभियानलाई लिएर पनि कतिपयले त्यसप्रति जवाफदेहिता र प्रभावकारिताको प्रश्नहरु उठाउँछन् ।

यसलाई लिएर अभियानकर्ता ब्रिगेड सबै मुभमेन्टले सधै जवाफदेहिता नखोज्ने बताउँछिन् ।

‘सधै अभियान परिणामुखी र प्रभावकारी नहुन सक्छन् । कतिपय ठाउँमा एउटा यस्तो स्पेस बनाउन निकै महत्वपूर्ण हुन्छ, जहाँ मान्छेहरुले आएर आफ्नो कथा तथा अनुभव शेयर गर्न सकुन् । आफ्नो वर्षौंदेखिको तनावलाई कुनै माध्यमबाट अभिव्यक्त गर्न सकुन् । नेमिङ एण्ड सेमिङ यस्तै प्लेटफर्म हो,’ ब्रिगेडले सुनाइन् ।

उनी अगाडि भन्छिन्, ‘उहाँहरुलाई जुन स्तरसम्म जान मन लाग्छ, त्यहाँसम्म जान पाउनु उहाँहरुको अधिकारको कुरा हो । कसैलाई शेयर मात्र गर्न छ, त्यो पनि ठीक छ । कसैलाई हाेइन म अदालतकै ढोकासम्म ल्याउँछु भन्ने छ भने त्यो पनि गर्न सक्नुहुन्छ ।’

नेमिङ एण्ड सेमिङ पीडितहरुलाई तनावबाट बाहिर निकाल्ने एउटा प्लेटफर्मको रुपमा मात्र सुरु भएको हो । याे अभियानका अभियन्ताले पीडितलाई प्रहरीमा रिपोर्ट गर्ने प्रक्रियाहरुमा सहजीकरण गरिदिन सक्छ । आर्थिक समस्या छ भने सम्भावित समाधानहरुको खोजीमा सहयोग गरिदिन सक्छ ।

‘केही नभए पनि हामी सुनिदिन सक्छौं, तपाईं एक्लै हुनुहुन्न, हामी पनि छौं भनेर भन्न त सक्छाैं नि,’ उनले भनिन् ।

ब्रिगेडको एउटा पोस्टदेखि एकाएक सुरु भएको नेमिङ एण्ड सेमिङ विस्तारै बढ्ने क्रममा छ । प्लेटफर्ममा सहभागी हुनेहरुको संख्या बढ्दै जाँदा यसलाई थप व्यवस्थित बनाउन यी अभियन्ताहरुले सोसल मिडिया फेसबुक पेज बनाएका छन् भने गुगल फर्म बनाउने तयारीमा छन् जसमा नाम नखुलाई अज्ञात नै रहेर पनि पीडितले आफ्नो कथा बताउन सक्छन् ।

समाजलाई आफ्नो वास्तविक अनुहार देखाउने पाटो सजिलो नभएको अभियन्ताहरुको अनुभव छ । विभिन्न किसिमका नीतिगत अवरोधहरुले मीटु तथा नेमिङ एण्ड सेमिङ जस्ता मुभमेन्टहरुलाई अल्झाउने उनीहरुकाे तर्क छ ।

‘हाम्रो जस्तो अभियानमा नीतिगत कमजाेरीले धेरै अवरोध ल्याउने गरेको छ,’ ब्रिगेड भन्छिन्, ‘जस्तै स्क्रिनशट्स पोस्ट गरिरहँदा प्रिडेटरको परिचय खुलाउँदा गोपनीयता अधिकारको हनन र मानहानीका घटना बनिदिन्छन् ।

त्यही कानुनी फाइदा प्रयोग गरेर प्रिडेटर्सहरु उम्किरहेका हुन्छन् ।

‘अर्काेतर्फ दुर्व्यवहार गर्ने एक/दुईजनालाई अदालतमा लिएर आउँला । तर हजारौंलाई कसरी सक्ने । सबैका लागि केस फाइल गर्नसक्ने समय, उर्जा र बजेट पनि हुँदैन,’ ब्रिगेड भन्छिन् ।

‘एकजनालाई कन्फ्रन्ट गर्न त वर्षौं लाग्छ । हजरौं छन् यस्ता मान्छेहरु । कहिलेसम्म अदालतमा लडिरहने । यसको लागि छोटो र सजिलो प्रणाली निर्माण हुनुपर्छ,’ उनले भनिन् ।

साथै घर, परिवारका आफन्त, नातागोता तथा ‘ठालु’ व्यक्तिहरु नै पीडक भएको खण्डमा पीडित नै पछाडि हट्ने प्रवृत्तिले पनि अभियानहरुलाई कलंकित पार्ने नुमा बताउँछिन् ।

तर यस्ता प्रकारका स्क्रिनशट्सहरु गर्दै यौन पिपाशुहरुलाई कन्फ्रन्ट तथा एक्सपोज गर्दै जान थालेपछि आफ्ना सर्कलका कतिपय साथीहरुले पनि अन्य साथीहरुसँग माफी मागेका जस्ता सकरात्मक कुराहरुले अभियान अगाडि बढाउने थप उर्जा मिलेको अभियन्ताहरुको अनुभव छ ।

कतिपयले अभियानलाई ‘सिउडो फेमिनिजम’ भनेर कुप्रचार गर्न खोजिरहे पनि उत्पीडन तथा यौन दुर्व्यवहार लैङ्गिकतासँग निरपेक्षित कुरा हो । यो महिला पुरुष, तेस्रो लिङ्गी जो कोहीमाथि पनि हुनसक्छ ।

May be a Twitter screenshot of text that says 'Sauray Bashyal @BashyalSau... 14h Retweets are not endorsements तर अहिले सम्म केही नबोलेकाहरुले दाइले हालेको मुद्दावाला tweet तुरुन्तै retweet गरेर आफनो loyality दखाउदै we are with you भनेको चाहिँ हामीले पनि बुझेका छौ| t'

यदि केटीले नै पनि न्युड फोटो पठाउँदा आफूलाई असहज महसुस हुन्छ र आफ्नो व्यक्तिगत स्पेस ‘भायोलेट’ भएको जस्तो लाग्छ भने त्यो अवश्य पनि ह्यारेसमेन्ट हो ।

धरै महिलामाथि हिंसा भएको छ र धेरै महिला बाहिर आए भन्दैमा यो कतै महिला केन्द्रित होइन । पुरुषबाट पुरुषलाई पनि हुने गरेको छ । यो महिला केन्द्रित अभियान होइन । यो हामी सबैको साझा अभियान हो,’ दीक्षाले भनिन् ।

No description available.

‘भोलि कसैको बलात्कार भइसकेपछि उसको लागि न्याय माग्नु र आज यहाँ बसेर अत्ति भयो, अब म सहदिँन भनेर डिजिटल माध्यमबाट त्यसको विरोध गर्नु पनि त्यो र्‍यालीमा सहभागी हुनुजत्तिकै हो ।

कोही बलात्कृत भइसकेपछि मैन बत्ति लिएर जानुमात्र ठूलो कुरा होइन । तर कोही आफ्नो कथा लिएर कोही बाहिर आउँदैछ भने तिम्रो कुरा म सुनिरहेको छु है, तिमीमाथि मलाई विश्वास छ है, भन्नु पनि त्यही र्‍यालीमा जानुसरह हो ।

त्यति गर्न सक्दैनौं भने ती कुराहरुलाई ‘इन्भ्यालिडेट’ पनि नगरौं । कसैको दुःख र उत्पीडनको कथामाथि आफू निर्णायक नबनिदियौं । सम्भावना र सरोकार अनेक हुन्छन् । सरोकार र सम्भावनाका बारेमा बोल्ने आ-आफ्नै ठाउँ हुन्छन् ।

तर पीडितको वरिपरी र उसको वातावरणमा आएर ती कुरा पस्कने होइन । त्यसले उसको पीडा र अनुभवलाई अमान्य बनाइदिन्छ,’ ब्रिगेड भन्छिन् ।

No description available.

उनी अगाडि भन्छिन्, ‘केही गर्न सक्छौं भने उनीहरुको कुरा सुनिदिउँ । उत्पीडनका प्रारम्भिक संकेतहरुलाई पहिचान गरौं सम्बोधन गरौं ।’

एउटाले हिम्मत र कथा सुनेर अर्को प्रेरित हुँदै, जोडिँदै अगाडि बढेको यस अभियानले अहिले एउटा चेन निर्माण गरिरहेको छ, जसले धेरै पीडितहरुलाई एकअर्काको मनोवैज्ञानिक साथ र समर्थन प्रदान गरिरहेको छ ।

यति मात्र होइन दुर्व्यवहारलाई नबुझेर गर्ने र सहने दुवै पक्षलाई उत्पीडनका विभिन्न अनुहारसँग मानिसहरुलाई अभियानले साक्षात्कार पनि गराइरहेको छ ।

The post यौन उत्पीडन विरुद्ध नेपाली महिलाको अनलाइन मोर्चा appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0