हाडनाता करणीका घटना धेरै

सम्बन्धविच्छेदपछि पनि श्रीमान्‌बाट बलात्कृत, करणी गर्नेमा धेरैजसो पढेलेखेका नै

हाडनाता करणीका घटना धेरै

उनी आठ वर्षकी छँदा आमाले दोस्रो विवाह गरिन् । आमासँगै बसेकी उनी केही समयबाटै सौतेनी बाबुको यौन शोषणमा परिन् । आमालाई शंका त लागेको थियो तर प्रत्यक्ष नदेखेकाले सिधै आरोप लगाउन सकिनन् ।

करिब सात वर्षपछि गत फागुनमा उनले शारीरिक र मानसिक रूपमा अशक्त छोरीलाई श्रीमान्ले बलात्कार गरेको आफैंले देखिन् । त्यसपछि उनी उजुरी लिएर प्रहरीकहाँ गइन् ।

ललितपुरको कुपन्डोलबाट गत चैत १ मा ती किशोरीका ५९ वर्षीय सौतेनी बाबु पक्राउ परे । १५ वर्षीया अर्की किशोरीलाई एक वर्षदेखि करणी गरेको आरोपमा बुधबार उनका सौतेनी बुबा उदयपुरका एक जना ललितपुरबाट पक्राउ परे ।

छोरीलाई करणी गरेको भन्दै पत्नीले उजुरी गरेपछि आरोपमा गत असोजमा डोटीमा एक जना पक्राउ पक्राउ परे । प्रहरीले अनुसन्धान गर्दा घरमा अरू मानिस नभएको मौका छोपेर उनले छोरीमाथि पटक–पटक बलात्कार गर्ने गरेको खुल्यो । जिल्ला अदालत डोटीले चैत पहिलो साता उनलाई दोषी ठहर गर्दै २५ वर्षको कैद सजाय सुनायो । उनी अहिले कारागारमा छन् । झापाको भद्रपुरमा गत माघमा ससुराबाटै बुहारी बलात्कृत भइन् । ससुराको धम्कीकै कारण ५ दिनसम्म घटना बाहिर आएन । अन्ततः पीडित प्रहरीकहाँ गइन् । ५९ वर्षीय ती आरोपित अदालतको आदेशमा पुर्पक्षका क्रममा कारागारमा छन् ।

हाडनाताभित्रकै र संरक्षक भनिएकै व्यक्तिबाट यौनशोषण भएका यी केही प्रतिनिधिमूलक घटना हुन् । हाडनाताकै व्यक्तिबाट त्यसमा पनि घरभित्रै बालिका र किशोरी बलात्कृत भएका घटना सार्वजनिक हुने क्रम पछिल्लो समय बढ्दै गएको छ । बाबुले छोरी, छोराले आमा, ससुराले बुहारी, दाजु/भाइले दिदीबहिनी, मामाले भान्जीलाई समेत बलात्कार गरेका घटना २०७४ साउनयता मात्र प्रहरी कार्यालयमा एक हजार वटाभन्दा बढी दर्ता भएका छन् । गुपचुपै राखिएका यस्ता घटना पनि उल्लेख्य हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ५३, २०७५/७६ मा २ हजार २ सय ३०, २०७६/७७ मा २ हजार १ सय १४ र चालु आर्थिक वषका ८ महिनामा १ हजार ६ सय ५३ वटा बलात्कारका उजुरी परेका छन् । यसले दिनमा करणीका घटना करिब ७ वटा हुने गरेको देखिन्छ । यो अवधिमा हाडनाता करणीका उजुरी मात्रै १ हजार ५० वटाभन्दा बढी छन् । भिनाजुबाट साली बलात्कार भएका उजुरी १२ वटा छन् । २०७४ साउनपछि प्रहरी अनुसन्धान र त्यसपछि अदालतमा पुगेका करणीसम्बन्धी मुद्दाको अभिलेखअनुसार बाबु/झड्केलो बाबुबाट छोरीको करणी भएको घटना संख्या २ सय ९१ छ ।

यसलाई मुलुकी अपराध संहिताले हाडनाता करणीमा राखेको छ । सम्बन्ध विच्छेदपछि श्रीमान्बाट १ सय ८९, दाजु/भाइले करणी गरेको संख्या १ सय ७२, काका–मामा–ठूलोबुबाबाट १ सय ६३, हजुरबुबाले नातिनी ७८, देवर/जेठाजुले ७१ र ससुराले ५५, छोरा/भदाले ३१ वटा बलात्कारका घटना भएका छन् । हाडनाता करणीमा बाबु/सौतेनी बाबु पीडक रहेको हिस्सा २७.४० प्रतिशत (२ सय ९१ वटा) छ ।

वरिष्ठ अधिवक्ता मीरा ढुंगाना महिलालाई घरभित्र र बाहिर मानिसका रूपमा नस्विकार्दा करणीसम्बन्धी अपराधले सीमा नाघेको बताउँछिन् । ‘महिलालाई मानवका रूपमा हेरिएन, भोगविलास र मनोरन्जनको साधन मात्रै ठानियो, सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकअधिकार महिलाले प्रयोग गर्न पाएनन्, अझ हाडनाता भित्रैकाले भोगविलासको साधनका रूपमा हेरे,’ उनले भनिन् । घरभित्र हुने यस्ता अपराध बाहिर आउने सम्भावना न्यून रहेको र अपराध भित्रभित्रै लुक्दा पीडित न्यायबाट टाढै हुने गरेको उनले बताइन् । ‘हाडनाताभित्रैबाट हुने बलात्कारको ग्राफले महिला घरभित्रै सुरक्षित छैनन् भन्ने देखाउँछ । जब घरभित्रै सुरक्षित र सम्मानपूर्वक बाँच्न पाइँदैन, रगतको नाता भएकैबाट पाशविक व्यवहार हुन्छ भने महिलाले कहाँ गएर सम्मान र सुरक्षित रूपमा बाँच्ने ?’ ढुंगानाले कान्तिपुरसँग भनिन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले हाडनाता र जबर्जस्ती करणीको कसुरमा कठोर सजायको व्यवस्था गरे पनि यस्ता अपराध घटेको पाइँदैन । अरू करणीमा हुनेभन्दा हाडनाता करणीबापतको सजाय थप हुन्छ । रातिभन्दा दिउँसो घटना बढी हुने गरेको पनि प्रहरी अनुसन्धानबाट देखिन्छ । बलात्कारका घटना सबैभन्दा बढी सार्वजनिक स्थल र जंगल/झाडीमा हुने गरेको पनि अनुसन्धानले देखाएको छ ।

मनोविद् गोपाल ढकाल बलात्कार र हाडनाता करणीमा लागूपदार्थ र मादक पदार्थ प्रयोगकर्ता, मानसिक रोगी र सानामा दुर्व्यवहारमा परेका पुरुष बढी संलग्न हुने गरेको बताउँछन् । कतिपयले प्रतिशोधमा यस्ता घटना गराउँछन् । ‘मादक पदार्थ/लागूपदार्थ सेवनबाट मानिसमा आवेग, उत्तेजना निम्तिन्छ, उत्तेजना र आवेगले विवेक गुम्छ, विवेक गुम्नेबित्तिकै नैतिकता र संयमता पनि हराउँछ,’ उनले भने, ‘अर्को कारण मानसिक रोगले पनि यो अपराधलाई बढावा दिन्छ । कतिपय मानिसमा यौनको लत धेरै हुन्छ, जति यौन सम्पर्क गर्दा पनि सन्तुष्ट हुँदैनन् र मौका पाउनेबित्तिकै अपराध गर्ने सोच बनाइहाल्छ ।’ उनका अनुसार यस्ता मानिसमा ‘साइको सेक्सुअल डिसअर्डर’ पनि हुन्छ । ‘बढी उमेरका पुरुषले कम उमेरका किशोरी/बालिका, बढी उमेरका महिलाले किशोर/बालक र आफूभन्दा कम उमेरका अन्य पुरुषसँग आशक्ति देखाउँछन्,’ उनले भने ।

ढकालका अनुसार करणी हुनुको अर्को कारण मेनिया अर्थात् उन्माद हो । मेनिया भएका पुरुषमा यौनचाहना र उन्माद बढेर आउने, सोचमा उत्तेजना र स्वभाव अस्वाभाविक देखिने, नैतिकता, हाडनाता सम्बन्ध, अपराधलाई केही पनि होइन भन्ने मैमत्ता मनोवृत्ति हुने उनले बताए । गतिविधि शंकास्पद हुन थाल्नेबित्तिकै पीडित पक्षले कानुनी उपचार खोज्नुपर्ने उनी बताउँछन् ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर उजुरी परेपछिका करणीका घटनामा अनुसन्धान र कारबाही गर्न कुनै कसर बाँकी नराखिए पनि परिवारभित्र दबिएर रहेका अपराधमा सिधै हस्तक्षेप गर्न प्रहरीलाई कठिनाइ हुने गरेको बताउँछन् । ‘उजुरी परेपछि र संवेदनशीलता हेरेर प्रहरीले आफैं उजुरीकर्ता बनेर करणीसँग सम्बन्धित अपराधको अनुसन्धान र नियन्त्रणमा काम गरिरहेको छ, एकाधबाहेक अधिकांश मुद्दामा पीडितको पक्षमा फैसला भएका छन्,’ उनले भने, ‘परिवारका सदस्य सचेत हुने र अपराध भए कानुनी उपचारका लागि बाहिर निस्कने गर्नुपर्छ, परिवारको इज्जत/प्रतिष्ठा जोगाउने नाममा कसुर गर्नेलाई कहींकतैबाट उन्मुक्ति दिन कसैले सघाउनुभएन ।’

ढकालका अनुसार आर्थिक पक्ष बलियो नभएर अरूप्रति आश्रित कतिपय महिला तथा किशोरी करणीको सिकार हुने गरेका छन् । ‘यस्ता अपराधलाई निरुत्साहित गर्न यौनशिक्षालाई प्रभावकारी पार्न, महिलाको आर्थिक स्तर बढाउन आयआर्जनमूलक काममा इंगेज गराउन र पीडितलाई संरक्षण र पुनःस्थापनाका लागि सहज वातावरण तयार गर्न सरकारले पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

समाजशास्त्री गणेश गुरुङ परिवारभित्रैका पुरुषले हाडनाता सम्बन्ध भएका महिलामाथि गरेका करणीका घटनाले समाज नै कलंकित हुने बाटोमा जाने खतरा बढाएको बताए । बाहिर यौनकुण्ठा पोख्न नपाएको आवेग, उत्तेजना र अविवेकी हर्कत परिवारभित्र देखिँदा यस्ता जघन्य अपराध बढ्दै गएको हुन सक्ने उनको भनाइ छ । किन यस्तो अपराध भइरहेको छ भनेर सूक्ष्म अध्ययन गर्न आवश्यक देखिएको उनले बताए । ‘जहाँ समाज हुन्छ, अपराध पनि स्वाभाविक रूपमा त्यहीं हुने हो, तर त्यो नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन भन्ने महत्त्वपूर्ण हो,’ गुरुङले भने । उनले परिवार र समाजमा अस्वाभाविक रूपमा हुर्कंदै गएको यौनतृष्णा मेटाउने वैकल्पिक उपायबारे सरकारी तहबाटै यौनशिक्षा दिनुपर्नेमा जोड दिए ।

अधिवक्ता ढुंगाना जति नै कठोर कानुन आए पनि महिला भोगविलासका वस्तु हुन् भन्ने मानसिकता परिवर्तन नभएसम्म यस्ता अपराध निर्मूल र नियन्त्रणमा नआउने बताउँछिन् । ‘सरकारले यस्ता अपराध रोकथाम र नियन्त्रण गर्न विशेष रणनीति ल्याउनुपर्‍यो । त्यसलाई अन्य सरकारी, गैरसरकारीलगायत सबै क्षेत्रले पनि अपनत्व लिएर अपराधविरुद्ध अघि बढ्नुपर्छ,’ उनले भनिन् । समाजशास्त्री गुरुङ बलात्कार र हाडनाता करणीलगायत अपराधविरुद्ध परिवारभित्रैबाट खुला बहस गर्न आवश्यक भएको बताउँछन् । ‘अब अपराध सहेर बस्न हुँदैहुदैन,’ उनले भने ।

२०७४/७५ को तुलनामा २०७५/७६ मा करणीका घटना ५३.४७ प्रतिशतले वृद्धि भएको छ । २०७५/७६ भन्दा २०७६/७७ मा ३.८५ प्रतिशतले कमी आएको छ तर चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांक हेर्दा वर्षको अन्तिमसम्ममा यस्ता घटनाको संख्या २ हजार ४ सय ८० पुग्ने अनुमान छ ।

आनीबानीबारे जानकार रहेकाबाट करणीका घटना बढी हुने गरेको प्रहरी प्रवक्ता कुँवर बताउँछन् । बलात्कारको सबैभन्दा डरलाग्दो पक्ष प्रेमसम्बन्ध र त्यसपछिको शारीरिक सम्बन्ध देखिएको छ । ‘प्रेमसम्बन्धमा रहेको सामीप्यपछि यौनसम्बन्ध हुने र सम्बन्धमा क्रमशः मतभेद र विवाद हुँदा प्रहरीमा जबर्जस्ती करणीको उजुरीमा आउने गरेको पनि देखिन्छ, पीडित र पीडकका साविती बयानबाट पनि त्यसको पुष्टि हुन्छ,’ एसएसपी कुँवरले भने, ‘जबर्जस्ती करणीका केसमा असफल प्रेमसम्बन्ध प्रमुख कारणका रूपमा देखिन्छ ।’ प्रेससम्बन्धसँगै विवाहअघि नै यौनसम्पर्क गर्न झूटा प्रलोभन र आश्वासन दिने अनि स्वार्थ पूरा गरेपछि सम्पर्कविहीन हुने कारणले पनि करणीका उजुरी पर्ने गरेका छन् ।

२०७४ साउनदेखि २०७७ फागुन मसान्तसम्मको अभिलेखअनुसार करणीका ७ हजार ४ सय ८० वटा घटनामा ५९.७८ प्रतिशत (२४३२) घटना सार्वजनिक स्थलमा घटेको पाइएको छ । ३५.२१ प्रतिशत (२६३४) घटना बसोबास गरेकै घरकोठा र ३.१४ प्रतिशत (२३५) वटा होटल/रेस्टुराँ/लजमा भएको देखिएको छ । २९ वटा घटना सवारीसाधनभित्र र १ सय १० घटनाको स्थान पहिचान नभएको देखिएको छ ।

डरधम्की देखाएर ३ हजार ९ सय १५ वटा करणीका अपराध भएका छन् । खासगरी सगोल/नातागोता र एकाघरका व्यक्तिले कम उमेरका र हाडनाताका महिला, बालिका/किशोरीसँग यौनसम्पर्क गर्दा डर र धम्की दिने गरेको पाइएको छ । निर्दोष, अज्ञानता र ललाइफकाई अनुचित प्रभावमा पारेर करणी गरेको उजुरी प्रहरीमा दर्ता भएका छन् । २०७४ यता यो संख्या ३ हजार ३ सय ४४ पुगेको छ । यसबाहेक मादक पदार्थ सेवन गरी ८२, झारफुक बहानामा १०, औषधि सेवन गराएर १७, अन्य एक सय १२ वटा करणी भएका छन् ।

साढे ३ वर्षको तथ्यांक केलाउँदा १० वर्षमुनि उमेरका बालिका १ हजार ३१, ११ देखि १८ वर्ष उमेरका ३ हजार ८ सय ५१, १९ देखि २५ वर्षका १ हजार २ सय ८०, २६ देखि ५९ वर्ष उमेरका १ हजार ३ सय ४४ र ६० वर्षमाथिका ४९ तथा उमेर नखुलेका २ जनामाथि करणी भएको छ । यी अपराधमा संलग्नमध्ये ६ हजार ६ सय ६७ जना पक्राउ परेका छन्, यो संख्या ७८ प्रतिशत हो । अझै १ हजार ८ सय २५ फरार छन् । फरारमध्ये १ सय ६ बालक, २ महिला र १ हजार ७ सय १७ पुरुष छन् ।

कानुनले के भन्छ ?

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा १० वर्षमुनिका, बालिका, पूर्ण अशक्त/अपांगता र सत्तरी वर्षमुनिका महिलामाथि करणी भए जन्मकैदको सजाय हुने व्यवस्था छ । १० देखि १४ वर्षसम्मकालाई करणी भए १२ देखि १४, १६ देखि १८ वर्षसम्मका भए १० देखि १२ वर्षसम्म, १८ वर्षमाथिकालाई करणी गरे ७ देखि १० वर्ष सम्म र पतिले पत्नीलाई सहमतिबेगर करणी गरे गरे ५ वर्षसम्म कैद हुन सक्छ । मुलुकी अपराध संहिताको दफा २२० मा हाडनातामा करणी गर्न नहुने उल्लेख छ । हाडनाता (दफा २२०) र पशु करणी (दफा २२७) बाहेकमा पीडितलाई पीडकबाट मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था दफा २२८ मा छ ।

आमा–छोराबीच वा बाबु–छोरीबीच करणी भए जन्मकैद, सौतेनी आमा–छोरा, बाबु–छोरी, सहोदर दिदी–भाइ/दाजु–बहिनी, एकै हाँगाको ससुरा–बुहारी, हजुरबा–नातिनी/पनातिनी, एकै हाँगाका जेठाजु–बुहारी, देवर–भाउजूबीच करणी भए ४ वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0