कार्यकर्ता होइन, अनुयायीमा रुचि – Online Khabar


२२ चैत, काठमाडौं । पारीवारिक पृष्ठभूमि नेपाली कांग्रेस भएका बैतडीको सूर्नया गाउँपालिका १ का पदमराम टेलरलाई कांग्रेसको आदर्श, सिद्धान्त र वीपीको समाजवाद मन प¥यो । उनले ४ कार्तिक २०७६ मा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट साधारण सदस्यता लिए ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारीस्वरुप पार्टीले चैत १० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने समयसीमा तय ग¥यो । पदमरामले क्रियाशील सदस्यताका लागि सूर्नया गाउँपालिका वडा नम्बर १ वडा सभापति धौल चन्दलाई आवेदन दिए । त्यहाँ उनलाई सदस्यता दिने प्रक्रिया अघि बढेन ।

‘त्यसपछि म पार्टीबाट जितेका सूर्नया गाउँपालिका अध्यक्ष तथा कांग्रेस जिल्ला समितिका सचिव समेत रहेका बीरबहादुर विष्टकहाँ पुगेँ’, पदमरामले भने, ‘त्यसपछि मैले गाउँपालिकाका पार्टी सभापति र जिल्ला समितिमा क्रियाशील सदस्यका लागि बोधार्थ दिएँ, तर पनि मलाई क्रियाशील सदस्यता दिइएन ।’

पदमरामको सदस्यताबारे जिज्ञासा राख्दा जिल्ला सभापति नरेन्द्र थापाले विवाद आएकाले सदस्यता दिन नसकिएको जवाफ दिए । पदमरामले थापाको भनाइ उद्धृत गर्दै भने, ‘विवाद आएकाले दिन सकिएन, एकपटक केन्द्रीय सभापति शेरबहादुर देउवाजीमार्फत् भन्न लगाउनुस् ।’

 

२०५८ सालमै वासुदेव मावि सूर्नयामा नेविसंघको अध्यक्ष भइसेको बताउँदै पदमरामले भने, ‘क्रियाशील पाउन तोकिएका सामाजिक कार्य, चुनाव प्रचार समितिको उपसंयोजक, सामाजिक कार्यमा अक्षयकोषलगायत काम मैले गर्दै आएको छु, त्यो पूरा गाउँलाई थाहा छ ।’

आफू अनुकूलको नदेखेपछि पार्टीभित्रैबाट क्रियाशील सदस्यता पाउनबाट बञ्चित गरिने यस्ता उदाहरण कांग्रेसमा धेरै छन् ।

संवैधानिक प्रावधान अनुसार भदौ महिनाभित्र जसरी पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नुपर्ने बाध्यता छ, नत्र पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्ने अवस्था छ ।

तर, टोल समितिदेखि केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरु गर्न पूर्वसर्तको रुपमा रहेको क्रियाशील सदस्यताको टुंगो लगाउन पार्टीलाई सकस छ । यति मात्र होइन, क्रियाशील सदस्यता विवादले १४ औं महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ ।

कांग्रेसले चैत १० सम्मका लागि नयाँ सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर केही जिल्ला र निर्वाचन क्षेत्रमा विवाद भएका कारण उक्त कार्यतालिका अनुसार काम सम्पन्न हुन सकेन ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको काम हेर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति छ । विवाद बाँकी रहेको भनेर समितिले थप समय मागेपछि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चैत मसान्तसम्मका लागि सदस्यता नवीकरण र वितरणको समय सीमा थप गरेको छ ।

क्रियाशील सदस्यले नेता निर्वाचित गर्नुपर्ने हो तर आफू निर्वाचित हुन क्रियाशील सदस्य वितरणलाई हतियार बनाउने परम्पराको विकास भयो, पार्टीमा यो विवाद स्थायीजस्तै बन्यो- एनपी साउँद, कांग्रेस केन्द्रीय सदस्य

१४ औ महाधिवेशनमा नेपाली कांग्रेसले क्रियाशील सदस्यको संख्या १० लाख पुर्याउने घोषणा गरेको छ । यो संख्या १३ औँ महाधिवेशन भन्दा दोब्बर हो । १३ औँ महाधिवेशनमा देशभर कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य थिए ।

विवादका बाबजुद नेपाली कांग्रेसले यसपटकदेखि क्रियाशील सदस्यको डिजिटल ‘इन्ट्री’ को काम भने सुरु गरेको छ । हालसम्म ७० जिल्लाबाट सदस्यता इन्ट्री गर्ने काम जारी रहेको क्रियाशील सदस्यता छानविन समितिका सदस्य प्रदीप पौडेलले अनलाइनखबरलाई बताए ।

‘अझै ७ जिल्ला र ३० निर्वाचन क्षेत्रबाट इन्ट्री हुने काम भएको छैन’, पार्टीको केन्द्रीय सदस्य समेत रहेका समितिका सदस्य पौडेलले भने, ‘प्रदेश नम्बर २ का सात जिल्ला, बाँके, कैलाली, रुपन्देहीजस्ता ठूला जिल्लामा समायोजनको काम सकिए पनि विवाद बाँकी रहेकाले त्यसको असर क्रियाशील सदस्यता वितरण र नवीकरणमा पनि परेको छ ।’

सबै जिल्लाबाट इन्ट्रीको काम सकिएपछि छानविन समितिले आफ्नो काम सुरु गर्नेछ । त्यसो गर्दा चैत मसान्तसम्मको समय पनि अपुग हुने आशंका पौडेल व्यक्त गर्छन् ।

पार्टीले तोकेको निर्धारित समयभित्र सदस्यताको विवरण नपठाउने जिल्लाहरूमा सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, कैलाली, बाँके, रुकुम पूर्व र डोल्पा छन् । यी जिल्लाले सदस्यता विवरण नै पठाउन सकेका छैनन् ।

क्रियाशील सदस्यता विवाद किन पेचिलो ?

पार्टीभित्रको क्रियाशील सदस्यता विवाद नौलो विषय नभएको बताउँछन् कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद । यस अगाडि पनि क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुग्ने गरेको थियो । तर, यस पटक यो समस्या विभिन्न कारणले गर्दा थप जटिल बनेको छ । त्यसो किन हुन्छ त ?

नेता साउँद भन्छन्, ‘क्रियाशील सदस्यले नेता निर्वाचित गर्नुपर्ने हो तर आफू निर्वाचित हुन क्रियाशील सदस्य वितरणलाई हतियार बनाउने परम्पराको विकास भयो, पार्टीमा यो विवाद स्थायीजस्तै बन्यो ।’

अहिले नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद तीन थरिको छ । पहिलो, गत वर्ष पार्टीको विधान संशोधन गरेर एक वर्ष साधारण सदस्य भएको व्यक्तिलाई ‘अन्यथा’ नभएको खण्डमा आवेदन दिएमा स्वतः क्रियाशील सदस्यता दिने व्यवस्था गरियो । ‘त्यसमा पनि विभिन्न कारण बनाएर विवाद सिर्जना गरिएको छ’, नेता साउँदले भने ।

दोस्रो, अघिल्लो महाधिवेशनमा थपिएका क्रियाशील सदस्य त्यो महाधिवेसनमा नभएर अर्को महाधिवेशनमा भाग लिन पाउने भन्ने सहमति भएको थियो, त्यसको असर पनि यतिबेला परिरहेको नेता साउँद बताउँछन् ।

तेस्रो विवाद चाहिँ अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूलाई वितरण गर्नुपर्ने क्रियाशील सदस्यताको हो । अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूलाई कतिपय जिल्लामा क्रियाशील सदस्यता दिइसकिएको र कतिपय जिल्लामा दिन बाँकी रहेकाले पनि विवाद बाँकी छ ।

अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरूले ‘आफू नेताका रुपमा स्थापित हुन कांग्रेसका साधारण सदस्यलाई पनि आफ्नै ढोकाबाट क्रियाशील सदस्यका रुपमा प्रवेश गराउन खोज्नुले पनि विवाद भएको’ एक नेताले बताए ।

यसरी हेर्दा कांग्रेसमा झाँगिएको विवाद समाधानको लागि अझै केही समय लाग्ने पक्का छ । चैत मसान्तसम्मका लागि तोकिएको सदस्यता नवीकरण र क्रियाशील सदस्य वितरणको अवधि पनि कम हुने छ । यसले पार्टीको आसन्न महाधिवेशनलाई समेत प्रभावित गर्ने सम्भावना देखिन्छ ।

‘असारदेखि निर्वाचन प्रक्रिया सुरु गरिहाल्नुपर्छ’, नेता साउँदले भने, ‘सबै कार्यतालिका वैशाख–जेठ दुई महिनामा सम्पन्न नगरी सुख छैन । अब महाधिवेशन सार्ने सुविधा हामीसँग छैन ।’

विश्लेषक तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहाल विगतमा पनि क्रियाशील सदस्यको विवाद उत्पन्न हुने गरेको सम्झन्छन् । तर यो पटक विवादको विषय महाधिवेशनलाई नै असर गर्ने गरी गम्भीर रुपमा आएको उनी बताउँछन् । दाहालले अनलाइनखबरसँग भने, ‘बिभिन्न कारणले यो पटक विवाद अलिक गम्भीर भएको देखिन्छ र समाधान गन पनि कठिन भइरहेको छ ।’

नेता दाहाल पनि क्रियाशील सदस्यतामा तीन थरि विवाद देख्छन् । पहिलो, १३ औँ महाधिवेशनपछि प्रत्येक वर्ष नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने थियो । त्यसो हुन सकेन ।

‘समयमा यी कुनै पनि काम भएनन् । गत वर्षबाट केन्द्रीय महाधिवेशनको चर्चा सुरु भएपछि मात्रै पार्टी थोरै तात्यो’, नेता दाहालले भने, ‘यदि प्रत्येक वर्ष सदस्यता अद्यावधिक गरिएको भए एकैपटक समस्या आउने थिएन ।’

दोस्रो, विगत पाँच वर्षमा नेपाली कांग्रेसमा विभिन्न दलहरू मिसिएका छन् । विजयकुमार गच्छदारको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको सुनिलबहादुर थापा समूह नेपाली कांग्रेसमा मिसिएको छ ।

दुवैलाई निश्चित क्रियाशील सदस्यता दिने सहमति भएको छ । उनीहरू दुवै पक्ष सकेसम्म बढी क्रियाशील सदस्यता लिने कोसिसमा छन्, किनकी यो केन्द्रीय तहमा आफ्नो प्रभाव जमाउने बाटो हो ।

तेस्रो, देश संघीय संरचनामा गइसकेको भए पनि कांग्रेसले पार्टीलाई संघीय संरचनामा ढालीसकेको छैन । त्यहाँ समायोजनको काम नसकिदा पनि क्रियाशील सदस्यताको काम अगाडि बढ्न नसकेको हो ।

महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यको विवाद चर्केपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशन गर्ने विकल्प अगाडि सारेको छ । तर त्यसमा सभापति शेरबहादुर देउवा र अन्य नेताहरू सहमत छैनन् ।

नेता होमनाथ दाहाल भने विवाद समाधान नै भएन भने १३ औं महाधिवेशनको क्रियाशील सदस्यको आधारमा नै १४ औं महाधिवेशन गर्ने दिशामा जानसक्ने सम्भावना देख्छन् ।

कस्तो छ कांग्रेसको सदस्यता प्रणाली ?

नेपाली कांग्रेसको विधान अनुसार १८ वर्ष उमेर पूरा भएको, प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको र अन्य राजनीतिक दलको सदस्य नभएको वा सदस्यता परित्याग गरेको व्यक्तिले कांग्रेसको साधारण सदस्यता लिनसक्ने छ ।

कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि ‘अन्यथा नभएको खण्डमा’ क्रियाशील सदस्यताको लागि पार्टीको वडा कार्यसमितिको कार्यालयमार्फत आवेदन दिन सक्नेछ । पार्टीको विधान अनुसार नेपाली कांग्रेसको क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ ।

२०१२ सालमै आठ लाख क्रियाशील सदस्य

कांग्रेसमा दुई खालको सदस्यता प्रणाली विसं २०१२ सालबाट नै सुरु भएको हो । कांग्रेस नेता होमनाथ दाहालका अनुसार त्यतिबेला नै पार्टीका क्रियाशील सदस्यको संख्या आठ लाख थियो ।

उनले भने, ‘त्यतिवेला नेपालको जम्मा जनसंख्या ८५ लाखको हाराहारीमा थियो तर कांग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाखको हाराहारीमा थियो । यो संख्या तत्कालीन पार्टी सभापति सुवर्ण शमशेरले आफ्नो भाषणमा नै उल्लेख गरेका छन् ।’

उनका अनुसार क्रियाशील सदस्यको विवाद त्यतिबेलादेखि नै सुरु भएको हो । त्यसबेला पहिला जिल्ला–जिल्ला बीच कसले बढी सदस्यता वितरण गर्ने भन्ने विवाद हुन्थ्यो ।

त्यसभन्दा अगाडि साधारण सदस्यको मात्र प्रावधान थियो । तर, त्यसलगत्तै पञ्चायती व्यवस्था सुरु भयो । पञ्चायती व्यवस्थामा सदस्यताको विषय त्यतिकै हरायो । नेपाली कांग्रेसको आन्तरिक राजनीति नजिकबाट थाहा पाउने पत्रकार तारानाथ दाहाल भन्छन्, ‘मासमा जो पनि कांग्रेस बनाउने, समाजका प्रतिनिधिको रूपमा काम गर्ने र पूर्णकालीन काम गर्न सक्नेलाई क्रियाशीलमा ल्याउने प्रावधान सुरु भयो । २०४८ सालमा पहिलोपटक क्रियाशील सदस्यको फर्म छापिएको थियो ।’

दाहालका अनुसार आफूलाई मत दिने, अन्य पार्टीका कार्यकर्ता तान्ने र उनीहरूलाई साधारण सदस्यता दिने चलन सुरु भयो । तलदेखि माथिसम्म नेतृत्व विकासका लागि क्रियाशील सदस्यताको प्रावधान सुरु भयो ।

‘क्रियाशील सदस्यताको प्रावधानले पार्टीमा एउटा तह सिर्जना गर्यो । त्यसबाटै गाउँ समिति बन्ने, त्यहीँबाट निर्वाचन क्षेत्र समिति बन्ने, त्यसबाट जिल्ला समिति बन्ने र त्यसैबाट केन्द्रीय समिति बन्ने भएपछि नेतृत्व विकासको सुरुवात क्रियाशील सदस्यबाट भयो’, दाहालले भने, ‘आफू नेतृत्वमा जानका लागि क्रियाशील सदस्यको प्रावधानलाई आफ्नो अनुकूलतामा ढाल्ने प्रयास पनि सुरु भयो । कतिजना क्रियाशील बनाएपछि आफू सुरक्षित हुने भन्ने भएपछि आफूलाई अनुकूल हुने र आफूलाई सुरक्षित बनाउनेतिर ध्यान मोडियो ।’

उनका अनुसार वास्तविक कार्यकर्तालाई भन्दा पनि आफ्ना अनुयायीहरूलाई ल्याएर नेतृत्वमा जाने प्रवृत्ति पार्टीमा देखियो, त्यसैले तलदेखि माथिसम्म ‘फेक’ मानिसहरूको नेतृत्व बलियो हुँदै गयो । पार्टीमा गुटको राजनीतिक तल्लो तहमा पुग्दा यो विषय झनै जटिल बनेको तारानाथ दाहाल देख्छन् ।

नेता होमनाथ दाहालका अनुसार यसपटक केन्द्रीय सभापतिमा आकाँक्षीहरूको संख्या बढ्दै गएकाले पनि तल्लो तहसम्म क्रियाशील सदस्यको विवाद जटिल बनेको छ । ‘क्रियाशील सदस्यमार्फत आफू अनुकूलका महाधिवेशन प्रतिनिधि ल्याएर निर्वाचन जित्ने रणनीति देखियो,’ दाहालले भने ।

नेताहरूका अनुसार आफू अनुकूल वातावरण बनाउन एउटा गुटले अर्काे गुटका व्यक्तिलाई निस्कासन गर्ने, सदस्यता नदिने प्रवृत्ति देखिन थालेको छ । आफू बलियो बन्नलाई पुरानालाई सकेसम्म पाखा लगाउने र आफू अनुकूलकालाई सदस्यता दिने प्रवृत्ति पछिल्लो समय पार्टीकै समस्याको रुपमा देखिएको छ । जसको प्रतिनिधि उदाहरण हुन् बैतडीका पदमराम टेलर ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0