राणाकालको वास्तुकला – Online Khabar


तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको सन् १८५०–५१ मा भएको एकवर्षे बेलायती यात्राले नेपाल र बेलायतको केवल राजनीतिक सम्बन्धलाई मात्रै सुधार गरेन, कला र वास्तुकलामा पनि ठूलो उथलपुथल ल्यायो ।

त्यतिबेलासम्म मौलिक नेपाली शैलीमा बनाउने गरिएका नेपाली राजदरबार एवं निजी घरहरु समेत युरोपबाट भित्रिएको नवशास्त्रीय वास्तुकलाबाट प्रभावित हुन थाले । जसका कारण त्यो एक शताब्दीको बीचमा एक सयभन्दा ठूला नवशास्त्रीय वास्तुकलामा आधारित भव्य दरबारहरु बने । जुन अहिले तारे होटलदेखि सरकारी कार्यालयको रूपमा समेत रुपान्तरण भएका छन् ।

युरोपबाट प्रभावित नवशास्त्रीय वास्तुकला भित्र्याउने श्रेय जंगबहादुर राणालाई दिइएपनि नेपालको मौलिक शैलीमा विदेशी शैलीको मिश्रण भने जंगबहादुर राणाको समयभन्दा पहिले नै नेपाल भित्रिसकेको थियो । विक्रमको १९ औं शताब्दीको अन्तिम दशकतिर लखनउमा नेपालको कूटनीतिक प्रतिनिधिको रुपमा गएका भीमसेन थापाले फर्किएपछि निर्माण गरेको बागदरबारमा मुगल शैली र नेपाली मौलिक शैलीको ‘फ्युजन’ गराएका थिए ।

‘राणाकालीन प्रमुख दरबारहरु’ का लेखक पुरुषोत्तमशमशेर जबराले भने यो भवन भीमसेनका पिता अमरसिंह थापाले निर्माण गरेको बताएका छन् ।

थापाथलीमा युरोपेली शैली, सुन्धारामा मुगल

विक्रमको १९औं शताब्दीको अन्तिमतिर जंगबहादुर (पहिला राणा प्रधानमन्त्री)का मावलीतर्फका हजुरबुबा बगाले खलकका नैनसिंह थापाले बसालेको ‘थापाथली’ झण्डै आधा दशकसम्म एउटा क्रूर एवं तानाशाही शासकको परेठस्थल बन्यो । यही दरबारबाट युरोपेली शैलीको रूपमा रहेको नवशास्त्रीय वास्तुकलाले नेपाल अवतरणको मौका पायो । जंगबहादुरले थापाथलीमा बनाएको गोल बैठकसँगै नेपालमा नवशास्त्रीय वास्तुकलाको शुरुवात भएको हो ।

एकाथरी थापा खलक थापाथलीमा बस्थे भने अर्काथरी थापाहरु टुँडिखेलको पश्चिमपट्टि हालको बागदरबार क्षेत्रमा १२० रोपनी क्षेत्रफलमा बसोबास गर्ने गर्थे । त्यही टुँडिखेलको पश्चिमतर्फ बस्ने भीमसेन थापाको खलकले नै नेपालमा मुगल वास्तुकलाको प्रवेश गराएका थिए भने थापाथलीमा बस्ने बगाले थापा खलकसँग सम्बन्ध रहेका जंगबहादुरले पश्चिमा वास्तुकलाको शैली भित्र्याएका थिए ।

वि.सं. १९०६–०७ सम्मको एकवर्षे युरोप भ्रमणबाट फर्किएपछि उनले आफ्नो कार्यकालभरिमा ४ वटा भव्य दरबारको निर्माण गरे । वि.सं. १९०९ सालमा बनेको गोल बैठक नै पाश्चात्य वास्तु शैलीको पहिलो प्रयोग थियो भने पछि थापाथली दरबार, सिंह महल, चारबुर्जा दरबार पनि जंगबहादुरकै पालामा निर्माण भयो । थापाथलीमा बनेको चारबुर्जा दरबार पञ्जाबका राजा रणजीत सिंहकी रानी चाँद कुँवरको लागि बनाइएको दरबार थियो ।

भद्रकालीबाट देखिने सिंहदरबारको मूल प्रवेशद्वार र नजिकै पुगेर हेर्दा देखिने द्वारको आकारमा आकाश जमिनको फरक देखिन्छ । जति नजिक बढ्दै गयो उति नै विशाल जस्तो देखिँदै जाने यो दरबारको शैली नै नवशास्त्रीय वास्तुकलाको उत्कृष्ट उदाहरण हो ।

नवशास्त्रीय शैलीमा बनाइएका कलात्मक ‘प्रवेशद्वारहरू’

भद्रकालीबाट देखिने सिंहदरबारको मूल प्रवेशद्वार र नजिकै पुगेर हेर्दा देखिने द्वारको आकारमा आकाश जमिनको फरक देखिन्छ । जति नजिक बढ्दै गयो उति नै विशाल जस्तो देखिँदै जाने यो दरबारको शैली नै नवशास्त्रीय वास्तुकलाको उत्कृष्ट उदाहरण हो । राणा शासनकालमा दरबारका द्वारहरू नै किन यस्ता विशाल राखिन्थे त ? भन्ने प्रश्नमा वास्तुविद् प्रा. डा. सुदर्शनराज तिवारी नागरिकलाई आफूप्रति भय सिर्जना गराउनकै लागि भव्य दरबार र बाहिर नै विशाल देखिने द्वार बनाउने चलन देखिएको बताउँछन् । नवशास्त्रीय डिजाइनमा बनाइएका यहाँको मात्रै नभएर विदेशतिरका भवन एवं द्वारहरू यस्तै प्रकारको हुने पनि उनी बताउँछन् ।

धरहराको छेवैमा रहेको बागदरबारको गेट होस् या रानीपोखरीलाई छेउ पारेर जमलबाट दरबारमार्ग जाँदा बायाँतर्फ जीर्ण अवस्थामा रहेको तत्कालीन नारायणहिटी दरबारको गेट नै किन नहोस् । यी सबै नेपालको नवशास्त्रीय कलाका जिउँदाजाग्दा उदाहरणहरू हुन् । जुन अहिले जीर्ण एवं उपेक्षित अवस्थामा छन् ।

सिंहदरबारको पश्चिमी गेट आफैंमा नवशास्त्रीय वास्तुकलायुक्त रहेको छ । यसमा दुईतिर फलामको ढोका र त्यसको बीचमा रहेको दुईवटा पूर्णकलश पश्चिमा र नेवारी वास्तु शैलीको मिश्रणयुक्त शैली हो । यसबाहेक उक्त द्वारमा दुवैपट्टि हिन्दु देवताको मूर्ति राखेर पश्चिमा शैली र नेपाली शैलीको सम्मिलन गराउने प्रयास गरिएको छ ।

राणाकालीन मुख्य दरबारहरू

नेपाली नवशास्त्रीय वास्तुकलाहरूमा लण्डन र पेरिसको प्रचुर प्रभाव परेको कुरामा कुनै सन्देह छैन । फ्रान्सको भर्सायल क्यास्टल र इङ्लिस बकिंघम प्यालेस नै धेरै राणाकालीन नवशास्त्रीय वास्तुकलाका आदर्श नमुनाहरू हुन् । सिंहदरबार होस् या अरू दरबार । यसमा यिनै दुई दरबारको प्रभाव परेको क्याथरीना मारिया र लुसिया वेइलरद्वारा लिखित पुस्तक द नियोक्लासिकल रेसिडेन्स अफ नेवार्स इन नेपालमा उल्लेख गरिएको छ ।

यी भवनहरूको आन्तरिक कला प्यालेडियन शैलीसँग मिल्दाजुल्दा छन् । साथै, यो शैली अन्तर्गत घरभित्र समेत दैनिक जीवनशैलीलाई झल्काउने युरोपेली चित्रकलालाई भित्तामा झुण्ड्याउने गरिन्छ । भिक्टोरियन डेकोर तथा युरोपबाट नै ल्याइएका फर्निचर सामग्रीहरूले कोठाहरू सजाउनु, घरहरूमा सेता रंग लगाउनु, एवं बाहिर देखिने शैलीमा युरोपेली प्रभाव स्पष्ट देखिनु नै नवशास्त्रीय शैलीका विशेषता हुन् ।

आनन्द निकेतनमा दुईवटा पंखा आकारको महिला आकृतिलाई ग्रीकको विजयी शैलीमा चित्रण गरेर बनाइएको थियो । यसको निर्माणको क्रममा तयार पारिएको शैलीले पेरिसको लुभ्रेमा रहेको निका सामोथ्रेसलाई संकेत गरेको छ । निका सामोथ्रेसले पेरिसको ऐतिहासिक किंवदन्तीलाई समेट्ने गर्छ ।

त्यस्तै, शीतल निवासको निर्माण गर्दा युरोपेली शैलीलाई यहाँको चलनचल्तीमा रहेको शैलीसँग मिश्रण गरेर निर्माण गरिएको पाइन्छ । शीतल निवासको अघिल्लो भागमा पूरै नवशास्त्रीय शैली र युरोपेली कलाको प्रभाव देखिए पनि यसको अघिल्लो भागमा तयार पारिएका डिजाइनहरूमा कीर्तिमुख भैरवहरूको डिजाइन मिसाएर यसमा नेपाली शैलीको पनि मिश्रण गरिएको छ ।

वीर शमशेरको पालामा बनेका नवशास्त्रीय दरबारहरू

नियोक्लासिकल शैलीकै नयाँ संरचना वि.सं. १९४२ देखि १९५७ सम्म शासनमा रहेका वीर शमशेरको पालामा पनि थुप्रै राणाकालीन दरबारहरुको निर्माण भए, जुन नवशास्त्रीय वास्तुकलामा आधारित थिए । पुरुषोत्तमशमशेर जबराका अनुसार वीर शमशेरको पालामा नारायणहिटीको राजदरबार (जसमा हनुमानढोका दरबार क्षेत्रमा १५ औं शताब्दीदेखि बस्दै आएका राजाहरूलाई विस्थापित गरिएको थियो), सेतो दरबार, टंगाल दरबार, जाउलाखेल दरबार, महाराजगञ्जस्थित पानीपोखरी दरबार, हाँडीगाउँस्थित भाटभटेनी दरबार, कान्तिपथस्थित चारबुर्जा दरबार, सन् १८९० मा बनेको लाल दरबार (यसको केही भाग अहिलेको याक एण्ड यति होटलमा पर्छ), फोहोरा दरबार, हात्तीसार दरबार र वीरगञ्जको मुडुली दरबार बनेको थियो । उनकै पालामा ब्रिटिस कोलेनियल आर्किटेक्चरलाई बढी प्रचार गर्ने काम भएको पाइन्छ ।

जसमध्ये फोहोरा दरबार वास्तुकलाविद् जोगलाल स्थापितले तयार पारेका थिए । यसमा अनेकौं फोहरा चौडा पोखरीले घेरिएको थियो भने पोखरीको बीचमा लहरै फोहरा थिए । वीर शमशेरले नै तयार पारेको चारबुर्जा दरबार वि.सं. १९६२ मा आगलागी भएको थियो । यो दरबारको पुनः निर्माण वीर शमशेरकी कान्छी बडामहारानी तोपकुमारीदेवीले गराएकी हुन् । यसमा अहिले निर्वाचन आयोगको केन्द्रीय कार्यालय रहेको छ ।

त्यस्तै, वीर शमशेरले बनाएको सेतो दरबारको संरचना अहिले फोटोमा मात्रै सीमित भएको छ । कलकत्ताको वेल्भेडियर प्यालेसको अनुकरण गरेर तयार परिएको यो दरबार वीर शमशेरले प्रतिरोपनी ६० रुपैयाँको दरमा खरिद गरेका थिए । यो एउटा विशाल भवन थियो जसको दुईपट्टि कलात्मक आकृतिले ढाकिएको थियो । वीर शमशेरले काठमाडौं बाहिरको निवासको रूपमा यो दरबार बनाएका थिए । नारायणहिटी जस्तै सेतो दरबार पनि आंशिक रूपमा कलकत्ताको राज भवनको शैलीबाट प्रभावित भएर बनाइएका थिए ।

सेतो दरबारको प्रवेशद्वारदेखि भवनसम्म औपनिवेशिक शैलीबाट प्रभावित भएको खालका छन् । एउटा ठूलो बैठक कक्ष, त्यसमा भिक्टोरियन क्रूरताको प्रतीक चिह्नहरू राखिनुले पनि नवशास्त्रीय कलाको पूरा प्रभाव परेको देख्न सकिन्छ ।

सन् १९३३ मा जब सेतो दरबारको मध्यभाग आगोले ध्वस्त भयो, तब पनि यसलाई राणा प्रधानमन्त्रीहरूले सुरक्षित राखेका थिए । पछि केही ठाउँ पुनर्निर्माण पनि भए । पूर्वी र पश्चिमी मोहोडा आगोबाट जोगिएका थिए । पछि त्यो पनि ध्वस्त भयो ।

चन्द्र शमशेरको पालामा बनेका दरबारहरू

अहिलेको मुख्य प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबारको मुख्य भवन चन्द्र शमशेरको पालामा बनेको हो । जुन त्यतिबेला पनि सरकारी कामकाजको कार्यालयको लागि नै बनाइएको थियो । राणा शासकहरूले बनाएका सबै दरबारहरूमध्ये कुनै पनि दरबार सिंहदरबार जस्तो भव्य थिएन । पचास हेक्टर जमिनमा खडा भएको यो दरबारमा १७ सयभन्दा धेरै कोठा, सातवटा चोक (आँगन), एउटा थिएटर हल, एउटा अंग्रेजी स्वागत कक्ष (बेलायती बैठक) र विशाल ग्यालरी हलसहित यो दरबार त्यतिबेला दक्षिण एसियाकै सबैभन्दा ठूलो दरबारको रूपमा रहेको थियो । वि. सं. १९६२ मा सिंहदरबारलाई एसियाकै ठूलो र सुविधा सम्पन्न महल घोषणा गरिएको थियो ?

सिंहदरबारको आन्तरिक सजावट इटालियन क्यारेर मार्बल (संगमरमर), युरोपियन फर्निचर, युरोपियन बत्ती, भेनिस मिरर र स्कटल्यान्डबाट आयात गरिएको एक लिफ्ट राखिएको थियो । २०३० सालमा भएको आगलागीमा यो धेरै संरचना परिवर्तन भयो ।

केशर महल

चन्द्र शमशेरले केशर महलको नामाकरण गरेका हुन् । जंगबहादुर राणाका भतिजा जीत शमशेरले वीर शमशेरको आदेशमा सो महलको निर्माण गरेका हुन् । चन्द्र शमशेरले उक्त भवन किनेर आफ्नो छोरा केशरलाई उपहार दिएका थिए । कतै सिंहको मुकुट, कतै गोलाकार आकृति, महिला आकृति आदिले यो दरबारको बाहिरीभाग सजाइएको थियो । पछि भूकम्पका कारण यसमा केही परिवर्तन गरियो ।

यो महलको मध्यभागको सबैभन्दा माथि तीनवटा आँखा आकारको संरचना बनाइएको छ । ग्रील्ड विन्डोजको बिचमा राखिएको कलश खजाना राखिएको फूलदानीलाई सम्झाउन राखिएको हो । बिमहरूमा रहेको कलात्मकता, भित्री भागमा युरोपियन शैलीको कलात्मक सामग्री राख्नु आदि यसको महत्वपूर्ण कला शैलीभित्र पर्छन् ।

फिल्ड मार्सल केशर शमशेरले नै गार्डेन अफ ड्रिम्सको निर्माण गरे । यो पनि नियोक्लासिकल गार्डेनको रूपमा रहेको छ । उनी बेलायत भ्रमणमा रहँदा त्यहाँका राजा एडवार्ड सातौंको बगैंचा (एड्वार्डियन गार्डेन) बाट प्रभावित भई इ.सं. १९२० मा यो बगैंचाको निर्माण गरेका थिए ।

फर्केपछि चन्द्र शमशेरलाई बेलायती राजाको जस्तै बगैंचा बनाइ दिन अनुरोध गर्दा उनले मानेनन् । पछि उनैसँग तिहारमा जुवा खेली जितेको एक लाख रुपैयाँबाट यो बगैंचा बनाएका थिए ।

बबरमहल

बबरमहल लण्डनको बकिङ्घम दरबारको स्वरूपमा वि. सं. १९७० सालमा चन्द्र शमशेरले आफ्नो छोरा बबरशमशेर राणाको लागि बनाइदिएका थिए । सात हेक्टर जमिनमा रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव पाइन्छ ।

बहादुर भवन

चारबुर्जा दरबार वीर शमशेरद्वारा एक निजी निवासको रूपमा १८० रोपनीको जमिनमा बनाइएको थियो । यसको निर्माण सम्पन्न हुने बित्तिकै वीर शमशेरले यो दरबार आफ्नो साहिला छोरा रुद्र शमशेरको नाममा हस्तान्तरण गरेका थिए । जो १९५९ मा वीर शमशेरको मृत्युपछि यो दरबारमा बस्न थाले । वि.सं. १९६२ मा चारबुर्जा दरबारमा आगलागी भयो र यो दरबार पूर्ण क्षतिग्रस्त भयो ।

त्यसपछि पुरानै जगमा वास्तुविद् जोगलाल स्थापितको डिजाइनमा यो दरबारको पुनर्निर्माण सोही सालदेखि शुरु भयो । नयाँ निर्माणको बेलामा चारवटा बुर्जाहरु निर्माण गरिए र यो दरबारको नाम चारबुर्जा दरबार रहन गयो । वि. सं. १९९० सालमा सी क्लासका राणाहरु निष्कासन गरिँदा रुद्र शमशेर पाल्पा धपाइएपछि यो दरबार जुद्ध शमशेरले आफ्नो बनाएका थिए । पछि उनले यो दरबार आफ्ना महिला छोरा बहादुर शमशेरलाई दिए । त्यसपछि यो दरबारको नाम नै बहादुर भवन रहन गयो ।

पुराना दरबारमाथि कूटनीतिक नियोग र निजी होटल

केही समयअघि पाल्पाको रानीघाटस्थित रानी महललाई हनिमुन होटलको रूपमा विकास गर्ने प्रस्तावले धेरै चर्चा पायो । खड्ग शमशेरले निर्माण गरेको सो ऐतिहासिक भवनलाई होटलको रुपमा प्रयोग गर्ने प्रस्तावलाई धेरैले विरोध पनि गरे । तर यसभन्दा अघि नै नवशास्त्रीय शैलीमा बनेका धेरै भवनहरु होटल या कूटनीतिक नियोगको नाममा गइसकेको छ । बाँकी रहेका अधिकांश भने उपेक्षित रुपमा सरकारी अड्डाको रूपमा विकास भएको छ ।

लाल दरबारजस्ता केही पुराना राणा दरबारहरू आज होटलमा परिणत भइसकेका छन् । लाल दरबारकै पनि केही भाग अहिलेको याक एण्ड यति होटलको क्षेत्रभित्र पर्छ । पूर्व नियोक्लासिकल दरबार अग्नि भवन (१८९४) पहिले नै १९६४ देखि उच्च श्रेणीको होटल शंकरको रूपमा परिणत भएको हो । यात्रुहरूलाई आधुनिक सुविधा प्रदान गर्न भित्री भागमा पुनः डिजाइन गरिएको छ ।

त्यस्तै, पुरुषोत्तमशमशेर जबराका अनुसार कतिपय दरबारको संरचनामाथि अहिले कूटनीतिक नियोग पनि रहेका छन् । वास्तुकलाविद् जोगलाल स्थापितद्वारा डिजाइन गरिएको फोहोरा दरबारमा अहिले अमेरिकन दरबारको क्लब छ । त्यस्तै, हात्तीसारमा वीर शमशेरले बनाएको हात्तीसार दरबार चिनियाँ राजदूतावासको एउटा शाखाको रुपमा रहेको छ ।

राणाकालीन शक्तिसंघर्षको ‘एउटा कारक’

नवशास्त्रीय वास्तुकला अनुसार निर्माण भएका दरबारहरु तत्कालीन शक्तिसंघर्षको एउटा कारक पनि थिए । दरबारहरु भव्य खालका थिए । त्यसैले त्यो हत्याउन पनि ठूलै संघर्ष चल्ने गर्दथ्यो । १९४२ सालमा भएको रणोद्दीप सिंहको हत्या होस् या धोकलसिंह बस्नेतद्वारा निर्मित हिटी दरबारमाथि वीर शमशेरले अधिपत्य जमाउने घटना नै किन नहोस् । यस्तै भव्य भवन प्राप्तिका लागि धेरैले अनाहकमा रगत बगाएको घटना पनि सुन्न सकिन्छ । २००७ सालको प्रजातन्त्र प्राप्तिपछि चन्द्र शमशेरका साहिला छोरा सिंह शमशेरले भोगचलन गर्दै आएको सिंह महल जंगबहादुरका सन्ततिहरुले मागदाबी गर्न आएपछि चतुर किसिमले नौ लाख रुपैयाँमा नेपाल राष्ट्र बैंकलाई बेचेका थिए ।

राणा शासनकालभरि मात्रै काठमाडौं उपत्यका र त्यसबाहिर गरी कुल १५५ वटा नवशास्त्रीय वास्तुकला शैलीमा भवनहरू बने । त्यसमध्ये काठमाडौं उपत्यकामा रहेका झण्डै ४ दर्जन राणाकालीन भवनहरू भत्किइसकेका छन् । झण्डै एक दर्जन दरबारहरु अहिले तारे होटलको रूपमा छन् भने बाँकी सरकारी अड्डाको रूपमा उपभोग भएको छ । यसको मुख्य उदाहरणको रूपमा हाल राष्ट्रपति भवन रहेको शीतल निवास र पुल्चोक इन्जिनियरिङ कलेज रहेको आनन्द निकेतनसम्मलाई लिन सकिन्छ । राष्ट्रपति कार्यालय रहेको शीतल निवास चन्द्र शमशेरद्वारा निर्माण गरिएको हो ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0