कालु पाँडे हराएको खबर – Online Khabar


कालिका माईको नाकैमुनि भेटियो खोप्लाङ !

इतिहास र वीरतासँग गाँसिएको खोप्लाङ पुग्ने मनसुवा हो निकै पुरानो । एकीकरण र युद्धका नायकको आँगन टेक्ने रहर हो निकै अघिको । अझ काठमाडौँ उपत्यकालाई विशाल नेपालको संरचनामा गाभ्न आफ्ना रणकौशल कला देखाउने जोधाहा ज्यान जन्मेको दैलो घच्घचाउने इच्छा हो एकदमै पुरानो ।

जुर्‍यो है यो पटक खोप्लाङ पुग्ने अभिलाषा !

छेपेटार र कटहरेको माझैमा रहेछ खोप्लाङ । कालु पाँडे र खोप्लाङ अर्थात् खोप्लाङ र कालु पाँडे । पर्यायका शब्द हुन् गोर्खामा ।

हर्मी भन्ज्याङको एकाबिहानैलाई बिदा गर्‍यौं हामीले । कहिले हिँड्दै, कहिले गाडीले गुल्ट्याउँदै अनि कहिले गाडीलाई हामीले लोप्पा खुवाउँदै पुग्यौँ कटहरे । दिन उकालिसकेको थियो । चैतको चर्को घाम थाप्लामा छरिन्थ्यो मज्जाले । तालुमा मूल फुटेथे पसिनाका ।

पर–परका घना वनमा लालीगुराँस फक्रिएर सिद्घिएथ्यो । कोइलीका एकसुरे गानले वनमा तरङ्ग छुटाएको सुनिएथ्यो । दरौँदी खोलाका तीरमा पानी र ढुङ्गाको लुकामारी थियो मज्जाको ।

अघिल्लो रात पाङ्दुरे र तीजे गीत खुब घन्केका थिए । तिनका आवाज र लय अहिलेसम्म मेरा कानभरि बजिरहेथे घरीघरी । पाङ्दुरेमा युवती बनेका युवाका चालढालका रूपरङ्ग सम्झेर एक पटक फेरि हाँसे म ।

जे होस् गोर्खाली संस्कृति र कलाले चुर्लुम्मै पार्‍यो  !

‘यो तरबारले भोकका टाउका छिनाल्नुस् !’

युवराज नयाँघरे

दुई कोसा केरा हातमा थमाएथे बालकृष्ण थपलियाले मलाई । म कटहरे वरपरका थुम्का, बस्तीको जनजीवन र तरेलीमा लहलहाएको खेतीपातीलाई पिइरहेथे आँखाले, मनले र धुकधुकीले ।

बोक्राबोक्रा हरिया भए नि भित्र त पाकेका ! विज्ञानले के मात्र गर्न नजानेको ! यस्ता देख्ता काँचा, खाँदा पाकेका फलफूलले हाम्रा ज्यान कति कुहाइसकेको होला भित्रभित्र ! मनभरि प्रश्नका पानीफोका उठ्छन्–फुट्छन् ।

पानी र केराले उकासियो भुँडी ।

अनि बाटो तताइयो । अब त अलिक सजिलो बाटो । अघिल्लो दिनको हुरी र झरीले त्यति धेरै लछारपाटो लाएनछ यो भेगमा । जे–जति लीला गर्‍यो —अघिल्लै दिन गर्‍यो नि हावाहुरी र पानीले ।

खोप्लाङ पुग्दा दिन रनक्क रन्केको थियो ।

बाटोमाथि रातो तूल देखेर साथीहरू कराए—‘कालु पाँडे अमर रहून् ! गुमेको नेपाल फिर्ता ल्याउँछौँ !!’

मूलबाटो छोडेर ढुङ्गेनी उकालो उकालिएपछि हामीले आमा समूहको स्वागत पायौँ । फूल, माला र अबीरले छोपिहाले नि हामीलाई ! अर्कै लोकबाट आएजस्ता भयौँ हामी त । कति धेरै माया, कति धेरै हेरविचार । कति धेरै सोधखोज, कति धेरै चासोचर्चा ।

‘यो ठाउँको महत्व के हो र हामीलाई यत्तिको स्नेह ?’

मैले ठूला आँखा भएकी सुमना पाण्डेलाई खराखरी सोधेँ । तिनी सबैलाई पानी बाँडेर उत्कण्ठा चिस्याइरहेकी थिइन् ।

‘यो वीर कालु पाँडे जन्मेको ठाउँ हो । तपाईंहरू गोर्खाका कुनाकाप्चा डुलिरहनुभएको हामीले सुनेका थियौँ । वीरैवीरको यो जिल्लामा अरू थप एक वीरलाई अझ चिन्नुस् भनेर डाकेका हौँ हामीले, तपाईंहरूलाई ।’

‘लौ, राम्रो गर्नु भो !’

मैले अरू पानी घुट्क्याएर तिनीप्रति कृतज्ञता जनाएँ ।

मास्तिर थुम्को थियो वनैवनको । सडकपूर्व  कुलकुलाइरहेथ्यो दरौँदी । अझ खोलापारि थियो छोप्राक । निकै घर थिए त्यहाँ । थेप्चो डाँडामा टक्र्याकटुक्रुक घरले बेग्लै खालको शोभा दिए ।

‘द्रव्य शाहलाई लम्जुङबाट ल्याएर त्यै गाउँमा छोपेर लुकाएका थिए रे गणेश पाण्डे र गङ्गाराम रानाले । छोपेको भन्ने शब्द मगर शब्द हो । पछि त्यो गाउँको नामै भो छोप्राक !’

औल्याएर देखाइन् एउटी अलिक बाठीटाठी महिलाले ।

इतिहासका गाथैगाथाले भरिएका बस्ती हेरिरहेछु म । संस्कृति, कला र वीरोचित श्रृङ्खलाले अँगालिएका थुप्रै कुरा गमी–गमी सुनिरहेछु म । हरेक घर, हरेक बस्ती र हरेक जातिका पछाडि एकीकरण वरपरका प्रभावशाली कथाले अँगालो हालेको भेटिन्छ ।

जति सुने नि मनै नथाक्ने !

मैले कालु पाँडेको स्मारकस्थलमा आँखा डुलाएँ । तारबेरा गरिएको छ । रूखपात रोपिएको र बीचमा छ गोलो ढुङ्गेनी गारो । अझ मध्य भागमा शिलान्यास गरिएको छ सालिक राख्ने अग्रासन ।

दुईजना सेतै कपाल फुलेका वृद्घहरूलाई घेरेका छन् सबैले  । मैले अलिक पातला ज्यानका सीताराम पाण्डेयलाई सोधेँ—‘कालु पाँडेलाई कसरी सम्झिनु हुन्छ तपाईंहरू ?’

तिनी शान्त तर खिन्न भएर बोलिरहे—‘यो नेपाल बनाउने मान्छे हुन् सरदार कालु पाँडे । पृथ्वीनारायण शाहका तिनी त दाहिने हात । गोर्खा वरपरका मसिना राज्य जित्दै विशाल  राज्य बनाउन प्रेरणा, प्रोत्साहन दिने भव्य मान्छे हुन् यिनी । आजभोलि यिनी हराइरहेका छन् । हेर्नुस्, सबै मिलेर कालु पाँडेलाई हराउन खोजिदैँछ । यो वीरता हराएर, हराउने कुरा हो त ?’

सीतारामले निधारको पसिना पुछे ।

‘देशका थुम्का जोड्ने कालु पाँडे हराएका छन् धेरैका मनबाट । तैबिसेक जोगाएका छौं हामीले । काजी हराउँदै गएको खबर राजधानीसम्म लगेर सुनाइदिनु होला । खोप्लाङबाट कालु हराए भने अन्तबाट अरू धेरै वीर हराउँछन् भोलिका दिनमा !’

मैले पाँच रोपनी क्षेत्रफलमा फैलिएको कालु पाँडेको घरबारी सरासरी चहारेँ । घाँसपात र रूखबिरूवाले यो आँफैमा सुन्दर लाग्दथ्यो । अझ इतिहास गर्तमा रहेको थाहा पाएपछि झन् गौरब लहलहायो मनभरि ।

पृथ्वीनारायण शाहले अत्यन्तै विश्वास गरेका कालु पाँडेलाई सेनापति बनाएको इतिहास पढ्न पाइन्छ । कीर्तिपुरको युद्धमा शहादत पाएका पाँडेको दुरदर्शिता र युद्धकौशलको भावना  पृथ्वीले राम्रो मनन नगरेको तर्क पनि इतिहासविद्हरूको छ । पटक–पटक कीर्तिपुरमा हार्नुपरेको कारण त्यो हो भन्नेहरू नि मनग्गे छन् ।

एकीकरणमा सर्वथा अग्रणी रहँदै आएको छ उनको नाम ।

वरपर पलाँसका थुप्रै बोट थिए । हलुका पहेँला फूलले वातावरण हार्दिक र प्रिय भइरहेथ्यो । पाँडेहरूको बाह्र पुस्ते परिवार रहेछ खोप्लाङमा । पृथ्वीनारायण शाहको पुस्तासँगै कालु पाँडे जोडिएर आएपछि खोप्लाङमा रहेका चारपाँच घरका पाँडेहरू बाह्र पुस्ते वंश यात्रारत भएको ठान्दारहेछन् ।

अगाडिपट्ठि ठूलो भवनको जग देखिन्थ्यो । त्यसैलाई देखाएर अर्का शम्भुराजले भने—‘यो कालु पाँडेको दरबार हो । चाँपैचाँपका काठले यो दरबार बनेथ्यो । विक्रम संवत १८१२ मा यसलाई बनाइएको प्रमाण भेटिन्छ । २००६ सालमा हाम्रै बन्धुले आफ्नो अंशमा पारी यो दरबार भत्काई लगे । त्यस बेलादेखि कालु पाँडेमाथि न्याय हुन छोड्यो !’

खोप्लाङमा कालु पाँडेको सम्झना गर्ने तयारी धेरै अघिदेखि नै रहेछ । तर सबैले एकै स्वरले भनेथे—‘नेपाल जोड्ने कालुलाई कालले त निल्यो, हरेक पुस्ताले बिर्सिरहेछ क्रमशः ।’

मैले आफ्नो नाममै पुर्खाको परिचय गाँसेका शम्भुराज काजी कालु पाँडेलाई सोधेँ—‘राजाहरूले तपाईंहरू प्रति कस्तो व्यवहार गरे नि ?’

‘ती त्यति इच्छुक देखिएनन्; हाम्रा पुर्खाको स्मरण, सम्मान र आदरका लागि !’

तर सीतारामले केही अघि भनेका कुरा अलिक भिन्न थिए । तिनले भनेका कुरा म सम्झिरहेको छु ।

‘यो दरबारमा मैले नि घर बनाएँ । तर किन–किन मेरो मन एक खालले डराइरह्यो । मैले सन्तोष मान्न सकिनँ, पुरानो दरबारमा नयाँ घर बनाएपछि । अनि राजा वीरेन्द्रलाई काजी कालु पाँडे माथि न्याय हुन सक्छ कि भनी बिन्ती चढाएँ । राजाले भनेछन् संस्कृति मन्त्रालयलाई । अनि चर्चेको जग्गाको मुआब्जा दिइयो ७५ हजार । तर यो ऐतिहासिक थलो तारले घेरियो मात्र, हृदयले छेकियो !’

हामी सुनिरहेथ्यौँ उनका अरूस्वादिला कुरा ।

‘इतिहास त जित्नेका पक्षमा हुन्थ्यो भन्ने सुनेका हामीले । कालु पाँडेले सारा नेपालीलाई जिताए पनि उनी हारे । उनको कुनै सालिक कतै छ ? कतै उनको मूर्ति यो देशमा कहीँ देख्नुभा’छ तपाईंहरूले ?’

सीतारामले शान्त भएर आक्रोशित तर्क गरेथे ।

कुरैकुराका अनेक बखान थिए त्यहाँ । सभ्यतामा वीरता, कूट्नीति, रणनीति र सैन्यकलाका अरू थुप्रै प्रसङ्ग आइरहेका थिए यतिखेर  । इतिहासका अरू थुप्रै परिवारले यो धर्तीमा आफूलाई उभ्याएका थिए । ती रौँ ठाडो पार्ने ढाल–तरबारका कथाभित्र यी खोप्लाङे पाँडेहरू मच्ची–मच्ची आफूलाई पूरा–कथा सुनाइरहेछन्…सुनाइरहेछन् ।

केराका कोसाले ठाउँ छोडिसकेथे ।

हाम्रो जत्थालाई सेल, अचार र तर्कारी टपरीमा राखीे खुवाए खोप्लाङे आमाहरूले । सर्लक्क–सर्लक्क सेलरोटी देखेका विक्रम तिमिल्सिनाले खुसुक्क भने—‘यति सप्रेका रोटी त मैले पहिलो पालि देखेँ !’

मधुसुदनले सही थापे—‘कालु लर्तरा सेल खान्थे त ?’

एकछिन मच्चियो हाँसो । थपीथपी सेलरोटी खान पाइयो । कानका जर्नी हल्लाउने, दाँतका जरा खल्बलिने चिसो पानी भरपेट खाइयो । आँखाले कालिका मन्दिर बोकेको थुम्कालाई पटकपटक चढ्ने र उक्लने गरे ।

मनमा वीरता र इतिहासका कथाकुथुङ्ग्री मात्र छन् । युद्ध र तोप लगाएका सिपाहीका दगुरादगुर छन् । मैले छातीमा एक पटक कालु पाँडेको नाम आफ्नै मौनताले उच्चारण गरेँ । जो एकीकरणमा जुट्ने जुझारू बलशाली अनुहारको कथा इतिहासका झिनाझपटीमा तल पारिए, माथि पारिए !

‘त्यो अगाडि देखिएको डाँडोमा कालिका मन्दिर छ । गोर्खा दरबार छ त्यहीँ नै । यहीँबाट धाउँथे कालु पाँडे दरबारसम्म !’

शम्भुले सबैलाई औल्याएँ ।

‘सरदार कालु यी सारा गाउँ चहारी जनताका सबै कुरा राजालाई सुनाउँथे । सिङ्गो दिन लाग्ने बाटो उनी केही घन्टामै पुग्थे रे । कालुबारे थुप्रै कथा छन् छोप्राकमा । छेपेटारमा थुप्रै किम्बदन्ती कहिन्छ अहिले नि काजीबारे । दरौँदीमा माझीले काजीलाई कल्पेर गीतै कथेथे !’

मेरा छेउमा थिए टुबल सापकोटा । तिनले बखाने पाँडेको पगरी । खास्सा लाग्छ म आँफैलाई नि पुराना सिपाहीहरूले लगाएका बलिया पगरी । अझ पृथ्वीकालीन सेनाहरूको हतियार, पोशाक र ठाँटले इतिहासको दर्बिलो रूप देखाउँछ ।

‘मैले कालु पाँडेको झैँ टोपी लाएर विद्यार्थी कालमा नाटक खेलेको थिएँ । अभिनयमा पुरस्कार नपाए पनि टोपी  अर्थात् पोशाकमा पुरस्कृत भएँ । थाहा छ मित्र, टोपी बनाउन मलाई एक महिना लागेथ्यो !’

बढो गर्वले टोपी कथा सुनाएँ मैले ।

कालु पाँडेको आँगनमा कविता भट्ट्याइरहेछन् कविहरू । युवतीहरू मुक्तकका पकवान पस्किरहेछन् । अधबैँसे उमेरका आमाहरू ‘बचत गर्ने बानी बसालौँ’ आशयका सुनाइरहेछन् गीतहरू ।

कुनै समय यिनै पाखापखेरामा अनेक कर्खा गुन्जिन्थे होलान् ।  कुनै समय यिनै गरागरामा विजयका तुमूलध्वनि घन्किन्थे होलान् । तर अहिले जीवनका अँध्यारा सपनाका बिलौना गाइँदैछन् । जोडिएको देशका खण्डित–खण्डित सपनाका कथा भनिँदैछ यतिखेर ।

‘यो प्रसिद्घ ठाँउको अरू आधिकारिक कागजात कहाँ पाइएला ?’

मेरो खसखस ।

‘के गर्नु, बुद्घि बिग्रियो हाम्रो । धेरैअघि योगी नरहरि आएर हाम्रोमा बास बसे । उनले नेपाल एकीकरण गर्दाको इतिहास लिपिबद्घ गर्दैछु भने । अनि हाम्रो घरमा रहेका कालु पाँडे बारेका सबै कागजात पोको पारी गए !’

‘पछि सोधखोज क्यै गर्नु भएन त ?’

‘नामै त जोगी । घरपरिवार, साखासन्तान कोही नभएकालाई दिनु नै हाम्रो गल्ती भो । के गर्नु, ती अमूल्य कागजात त्यसरी गुमे नि हामीबाट !’

चुकचुकाए सीताराम ।

गोर्खाका उत्तरी भेग चहारेर हामी यहाँ आइपुगेथ्यौँ । दुई दिन भइसकेथ्यो घर छोडेको । जागिर र अरू तानाबानाले डाकेकाडाकेकै थिए हामीलाई । अब चाँडै नलम्की धरै थिएन हामीले ।

धेरैजसो त जब्बरिएर बसेकालाई उठाउनै थालिसके । भन्थे पनि—‘ज्यान त गरूँगै भएछ, कालु पाँडे जत्तिकै बलशाली !’

हाँसोले घरीघरी खोप्लाङ घन्किन्थ्यो । वीरता र शूरताका कथा घरीघरी सुनाइए यहाँ । पराक्रम र शौर्यकथा पटकपटक भनिए यहाँ । जोधाहा र सुरवीर चरित्र अनेक खेप सुन्यौँ हामीले । इतिहासका प्रेरक श्रृङ्खलाले मन भरियो टम्माटम्मी ।

‘यो अग्लो ढुङ्गोमा सालिक कहिले बस्छ कालु पाँडेको ?’ मैले सोधेँ ।

‘हामीले नै राख्न नदिएको काजीको सालिक !’पाँडेकै सन्तति बोले ।

‘किन नि ? अन्याय भएन र यसो गर्नु ?’ मैले औडाहा पोखेँ ।

‘हेर्नुस् अपुरो सालिक राख्न हामीले नदिएको । कालु पाँडेको परिचय भनेकै कम्मरमा खुकुरी हो । पुरातत्व विभागले अर्धकदको मूर्ति ल्यायो यहाँ राख्न । खुकुरी बिनाको पाँडेको सालिक के काम ? अनि हामीले विरोध गर्‍यौं । अहिले नि छन्द न बन्दको सालिक होला गोर्खा बजारको कुनै छिँडीमा !’

शम्भुराजले नालीबेली कहे ।

मैले एकपटक फेरि रित्तो स्मारकस्थल हेरेँ । वरपरका कोटैकोट बोकेर बसेका थुम्का हेरेँ । नजिकै बगिरहेको दरौँदी निहालेँ । जताततै वीरकथाले आफूलाई ठाउँ दिएको अनुभूत भयो ।

आस्था पाण्डेले भनेको सम्झिएँ मैले—‘देशका थुम्का जोड्ने कालु पाँडे हराएका छन् धेरैका मनबाट । तैबिसेक जोगाएका छौं हामीले । काजी हराउँदै गएको खबर राजधानीसम्म लगेर सुनाइदिनु होला । खोप्लाङबाट कालु हराए भने अन्तबाट अरू धेरै वीर हराउँछन् भोलिका दिनमा !’

गहिरो ज्ञान लिएर हिँडे म खोप्लाङबाट ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0