‘दलालको कब्जामा परेपछि व्यक्ति सेलिब्रेटी बन्छ, साहित्यकार बन्दैन !’ – Online Khabar


अघिल्लो साता राजन मुकारुङ (४६) ‘आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ’को अध्यक्ष भए । दुई दशकदेखि पहिचानको मुद्दा उठाउँदै आएका मुकारुङ आफूलाई ‘सृजनशील अराजक’ मान्छन् । ‘सृजनशील अराजकता’मा राजनसहित कवि हाङयुग अज्ञात र उपेन्द्र सुब्बा जोडिएका छन् ।

भर्खरैमात्र किराँत संस्कृति जोडिएको तमोर, अरुण र तमोरको त्रिवेणी नजिकैको ‘खुवालुङ’ (ढुंगो) जोगाउन पनि राजन लागिपरे । चर्को जनदबाबपछि सरकारले खुवालुङ नफुटाउने बरु पर्यटकीय सम्पदाका रुपमा विकास गर्ने बताइसकेको छ ।

मदन पुरस्कार प्राप्त ‘दमिनी भीर’ तथा ‘हेत्छाकुप्पा’ उपन्यासका लेखक मुकारुङका पाँच कवितासंग्रह र ‘पहिचान पुरस्कार विजेता’ निबन्धसङ्ग्रह ‘फेरिँदो सौन्दर्य’ प्रकाशित छन् । पछिल्ला वर्षमा उनी साहित्य सृजनासँगै सामाजिक अभियन्ताको भूमिकामा सक्रिय छन् ।

आफूलाई ‘सदाबहार आन्दोलनकारी’ दाबी गर्ने मुकारुङसँग नेपाली साहित्य र आन्दोलनहरूबारे गरिएको कुराकानी :

राजन मुकारुङ साहित्यकारबाट आन्दोलनकारी बनेको हो ?

म सुरुदेखि नै अभियन्ता हो । २०५६ सालदेखि सृजनशील अराजकता आन्दोलनले उठाएका मुद्दाहरूलाई अझ विस्तृत गर्ने काम गरिरहेको छु । यसबीचमा विभिन्न चरणमा सामाजिक, राजनीतिक संस्थामा जोडिएर काम गरें । २०६२ को आन्दोलनताका सत्तासँग जुध्न संस्था र ब्यानर चाहिएको थियो । त्यतिबेला किराँत लेखक संघ, आदिवासी स्रष्टा मञ्च आदि बनायौं । अहिले पनि हरेक आन्दोलनमा अग्रमोर्चामा छौं ।
सामाजिक न्यायका लागि मैदानमा जाँदा अभियन्ता भइने रहेछ, लेखेरमात्रै बस्दा स्रष्टा हुने रहेछ । आखिर समाजसँग निरपेक्ष हुने कुरा भएन ! यसैले म सदाबहार आन्दोलनकारी हुँ ।

‘सृजनशील अराजकता’ अहिले सिथिल भएको हो ?

कसरी सिथिल हुन्छ ! यसले कुन रूप ग्रहण गर्‍यो त्यो हेर्नुपर्छ । गतिविधिको कुरा गरिन्छ भने सधैं सृजनशील अराजकता भनेर उफ्रिँदैमा मुद्दा पुरा हुँदैन । उपेन्द्र सुब्बा सिनेमामार्फत आफ्नो कुरा भनिरहनुभएको छ । म कविता, उपन्याससहित हरेक आन्दोलनमा सरिक छु । हाङयुगजी पनि लेखिरहनुभएको छ । यसरी हामी तीनजना आ–आफ्नो स्थानबाट लेखिरहेका छौं, बोलिरहेका छौं ।

पछिल्ला वर्षहरूमा तपाईंका मौलिक सृजना निकै कम प्रकाशित छन् नि !

कुनै पनि कृति लेख्न त्यति सहज छैन । मेरो ‘हाट जाने अघिल्लो रात’ कवितासंग्रह २०७६ मा आएको हो । बितेका १० वर्षमा तीन कृति प्रकाशित भएका छन् । उपन्यासलाई नै आधार मानेर मेरो सृजना किन आएन भन्दै सृजनशीलतामाथि प्रश्न गर्न त भएन नि ! फेरि यति नै समयमा पुस्तक लेख्नुपर्छ, छाप्नुपर्छ भन्ने कहीँ लेखिएको पनि त छैन नि ।

आफूलाई टेको चाहिएकाले ‘आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ’को अध्यक्ष बन्नुभएको हो ?

व्यक्ति राजन मुकारुङका लागि पाउनु र गुमाउनु पर्ने केही छैन । मलाई व्यक्तिले प्राप्त गर्ने सफलता वा विफलता उति ठूलो पटक्कै लाग्दैन । तर, जब सामुदायिक न्यायका सन्दर्भमा जब्बर उत्पीडन हुन्छ नि मबाट प्रतिरोध भइहाल्छ । तब मलाई टेको चाहिएको होइन । मात्र सबैजना एकीकृत भएर सत्तालाई दरिलो प्रहार गर्न सकिन्छ भन्ने बोधले यो संस्थामा आबद्ध भएको हुँ । नेतृत्व गरेको हुँ ।

तपाईंमाथि पार्टी फेरिरहने आरोप छ । अहिलेचाहिँ कतिऔं पार्टीमा आबद्ध हुनुहुन्छ ?

मेरो सवालमा पार्टी परिवर्तन गर्ने भन्ने कुरै छैन । नौ वर्ष माओवादीमा संगठित भएर बसेँ । पहिलो संविधान सभाको निर्वाचनबाट माओवादी शीर्ष दल बनेपछि हाम्रा मुद्दा छाड्दै गयो । यसपछि अशोक राईले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनुभयो । त्यहाँ सांस्कृतिक महासंघमा सह–संयोजक भएर एक वर्ष काम गरेँ । संघीयता, पहिचान, आदिवासीको सवाल उठाउँछन् भनेर अशोक राईको पार्टीलाई साथ दिएको थिएँ । अहिले पनि आफ्नो मुद्दा मिल्ने राजनीतिक पार्टीसँग त निरन्तर सहकार्य भइहाल्छ ।

भोट हाल्नुहुन्छ कि हुन्न ?

भोट त हाल्नेमात्र होइन हाल्न बाध्य पनि पार्छु । किनभने म निर्वाचनसँग भाग्दिनँ । निर्वाचन जनतालाई सुसूचित गर्ने अवसर हो । कतिपयले त ‘नो भोट्स’को अधिकार चाहिन्छ भन्छन् तर म यसलाई मान्दिनँ । व्यक्तिमा कुनै एक विचारधारालाई निर्धक्क छान्ने, चुन्ने अधिकार हुनुपर्छ ।

अहिले नागरिक आन्दालनले भन्दै आएजस्तो ‘लोकतन्त्रमाथि दलहरूबाटै खतरा छ’ भन्ने कुरालाई कसरी हेर्नुहुन्छ ?

दलहरूको दस्तावेज पढ्दा उनीहरू दोषी छैनन् । त्यो दस्तावेज अनुसार काम गर्न नसकेको पो हो । उनीहरूको नेतृत्व र तिनको स्वार्थले गर्दा सबैकुरा बिग्रिएको हो । आजका सबै राजनीतिक पार्टीले २०७२ को संविधानमा ‘समाजवादउन्मुख राष्ट्र’ भन्नेमा सहमति जनाएका छन् । हामीले दलका नेताहरूको लोकतन्त्र, संघीयता धराप पार्ने प्रवृत्तिहरूको विरोध गर्दै आएका हौं । उनीहरूको कर्तुतको विरोध गरेका हौं ।
तपाईं आफूलाई ‘बागी धार’ भन्नुहुन्छ तर सधैं मूलधारमै देखिनुहुन्छ नि ?

बुझाइ यहीँ त गलत छ । नेपालको साहित्य, संस्कृति, राजनीतिमा मूलधार बनेको चैं कहिले छ ? बनेकै छैन । केही प्रतिशत अभिजात वा शासक वर्गको हर्कतमात्र लागू भएको हो । यसलाई कसरी मूलधार भन्न मिल्छ ?

मूलधार बन्न त सबैको साझा संस्कृतिलाई समेट्न सक्नुपर्छ । हिजोदेखि आजसम्मको सबै सत्ताको चरित्र प्रतिगामी छ भने त्यसलाई मुलधार मानिदिने कुरा आउँदैन । हाम्रो काम ‘साझा चरित्र’को मूलधार बनाउने हो । भूगोलले सानो भएपनि यो देश जाति, संस्कृति, धार्मिक दृष्टीमा अत्यन्त सम्पन्न राष्ट्र हो । यी सबैुकरा समेटेर अगाडि नबढ्दासम्म मूलधार हुँदैन । अहिलेसम्म त एकधार मात्रै छ ।

‘सौन्दर्यशास्त्र’मा निकै जोड दिनुहुन्छ । तपाईले खोज्नुभएको सौन्दर्यशास्त्र के हो ?

अहिलेसम्म नेपालमा हिन्दू धर्म आधारित मूल्य र मान्यतालाई स्थापित गरियो । त्यही सौन्दर्य मुलुकको हरेक संरचनामा लागू गरिएको छ । तर यहाँ त सीमान्तकृत, अल्पसंख्यक, उत्पीडित मानिसको आफ्नै सभ्यता छ । संस्कृति छ । उनीहरूको आफ्नै जीवनदृष्टी छ । त्यो दृष्टि नेपाली साहित्य, राजनीति, संस्कृतिमा आजसम्म सम्बोधन हुन सकेको छैन ।

हामीले के भन्दै आएका छौं भने, जीवनलाई आदिवासीको तर्फबाट पनि हेरिनुपर्छ । किनभने उनीहरू प्रकृतिसँग बढी अभ्यस्त छन् । उदाहरणका लागि मेरो बाजेले हलो बनाउन जान्दथे । बाजेबाट बाउमा त्यो कला सर्‍यो । बाउबाट त्यो सीप सरेर म हलो जोत्छु । हामी रामायणमा फलानाले पुष्पक विमान उडाएका थिए भन्ने कुरा पत्याउँदैनौं नि ! आफूले सिकेको हलो जोत्ने काममा हामीलाई बढी विश्वास छ । तर यहाँ कसैले देख्दै–नदेखेको पुष्पक विमानको सौन्दर्य पढाइन्छ । तब न सौन्दर्यको मानक भत्काउनुपर्ने आवश्यकता छ ।

नेपाली साहित्यको सौन्दर्यशास्त्रचाहिँ कस्तो छ ?

साझा सौन्दर्य छैन भनेर त हामी निरन्तर साहित्यिक आन्दोलनमा छौं । आदिवासी, जनजातिको सबैकुरा साहित्यमा आएको छैन ।

पछिल्लो दुई दशकमा नेपाली समाजमा मिडिया क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका छ । तर मिडियाले पनि भाष्य परिवर्तन गर्न सकेन । यसले गर्दा आम जनताको सौन्दर्य स्थापित भएन । आदिवासी जनजाति, उत्पीडितले यो देशको लोकतन्त्रमा ठूलो सहयोग गर्‍यो । तर उनीहरूको आवाज स्थापित भएन । यही अभाव पूर्तिका लागि हामी लागिरहेका छौं ।

आजको समकालीन साहित्य तरंगहीन बनेको हो ?

साहित्यको सबै विधामा ‘फेन्टासी’ व्याप्त छ । त्यही फेन्टासीलाई समातेर बजारले केही मान्छेलाई ‘सेलिब्रेटी’ बनाएको छ । नेपाली साहित्य यही सेलिब्रेटीमा घुमेको छ । लेख्न सबैले लेखेका छन् तर दलाल पूँजीवादी बजारले बिक्ने मान्छे र बिक्ने कुरा फैलाएको छ । ‘दलाल’हरूको कब्जामा परेपछि व्यक्ति सेलिब्रेटी बन्छ, साहित्यकार बन्दैन ।

तपाई पनि त सेलिब्रेटी नै हो नि !

म कसरी सेलिब्रेटी ? ठूला वा लोकप्रिय ठानिएकै मिडियाले पनि आज दश वर्षपछि मात्र मेरो दोस्रो अन्तरवार्ता लिँदैछन् । सेलिब्रेटी हुन्थेँ भने त महिनैपिच्छे कुनै न कुनै रुपमा बोलाइन्थेँ, बोल्थेँ होला । र खास कुरा त के हो भने म त दलाल पूँजीवादीहरूसँग लडिरहेको मान्छे हुँ । त्यही दलाल पूँजीवादले मलाई सेलिब्रेटी कसरी बनाउँछ ? असम्भव ।

आन्दोलन र साहित्य तपाईंका लागि एकै हो ?

तपाईं लेखक हुनुहुन्छ भने समाजसँग निरपेक्ष रहनै सक्नुहुन्न । समाजमा भएका सबैखाले विसंगतिविरूद्ध लड््ने मानिस पो साहित्यकार हो त । कोठामा बसेर बडो भावुक भएर लेखिरहने तर सडकमा न्यायका लागि नजानेको सृजना के काम ? उखु किसानका बारे कोठामा बसेर रुँदै कविता लेख्ने तर उनीहरूको पक्षमा एकचोटी पनि बाहिर नआउनेको लेखनबाट आन्दोलन सम्भव छैन ।

यो मुलुककमा त्यस्ता यथास्थितिवादी लेखक/स्रष्टा धेरै छन् । जब प्रतिगमन हुन्छ तब उनीहरु कोठमा ट्वाँ परेर बस्छन् । अनि परिवर्तनपछि आउने नेतृत्वलाई फूलमाला लगाउन फेरि उनीहरु नै अगाडि सर्छन् । यो द्वैध चरित्रको विरुद्धमा हामी फेरि पनि आन्दोलनमा नै छौं ।

खुवालुङ जोगाउन ठूलो कसरत गर्नुभयो । खुवालुङ जोगिन्छ त ?

अब खुवालुङ कसैले भत्काउन सक्दैन । मुख्यमन्त्री यही मंगलबार नै त्यहाँ जानुभयो । अब कसले फोर्छ ! सवाल यतिमात्रै हो अब त्यसलाई सांस्कृतिक सम्पदाको रूपमा राज्यले स्थापित गर्नुपर्छ । अनि प्रधानमन्त्री केपी ओलीले माफी माग्नुपर्छ किनभने उनले किँराती जनताको आस्थामा चोट पुर्‍याएर बोलेका छन् ।

नेवा तथा खस जातिको सम्पदा बचाउन भने कम भूमिकामा देखिनुहुन्छ नि ?

सांस्कृतिक उपनिवेश जहाँजहाँ हुन्छ त्यहाँ हामी पुग्छौं । यति हो, कुन समय कहाँनिर भूमिका निर्वाह गर्नुपर्छ त्यसले हाम्रो गतिलाई प्रभाव पार्छ । खुवालुङ क्षेत्रमा रातारात गएर आन्दोलन किन गरियो भने राज्यको कार्यकारी प्रमुखले नै त्यसलाई फुटाउँछु भनेका थिए ।

यसर्थ नेपालका सबै जाति, भाषा र संस्कृतिको रक्षार्थ हामी लड्नेछौं ।

बृहत् नागरिक आन्दोलनप्रति बीचमा तपाईंको दुरी देखियो । अहिले नागरिक आन्दोलनसँग सम्बन्धविच्छेद भएको हो ?

हाम्रो विमति नागरिक आन्दोलनको ‘मेकानिजम’सँग मात्रै हो । सुरुमै हामीले नागरिक आन्दोलनको नारामा ‘अग्रगमनको लागि आन्दोलन’ लेखौं भनेका थियौं । तर, बृहत् नागरिक आन्दोलनको जसले नेतृत्व गरे उनीहरूले अग्रगमन भन्ने शब्दमा रूची देखाएनन् ।

उहाँहरूलाई एक, दुई, तीन संसद पुनःस्थापना चाहिएको थियो । संसद फिर्ता भए सबैकुरा ठीक हुन्छ भन्ने हिसाबले आन्दोलन गरिरहनुभएको थियो । तर हामीले संसद पुनःस्थापना भएर मात्र केही ठीक हुँदैन भनेका थियौं । यो देशमा सयौं वर्षदेखि प्रतिगमन जारी छ । ती सबैविरूद्ध क्रमशः लड्दै जानुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसैले म फरक देखिएको भए पनि बृहत् नागरिक आन्दोलनमा म उपस्थित थिएँ, छु । स्रष्टा आन्दोलनमा पनि सक्रिय थिएँ । अहिले त आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको आन्दोलनमा छँदै छु ।

-तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0