कार्यक्रम प्रसारणका ७० वर्ष – Online Khabar


सञ्चार स्वप्नद्रष्टा, लेखक आर्थर सी क्लार्क भन्छन्, ‘सूचना र ज्ञान फैलाउने अनि राष्ट्रिय सहमति सिर्जना गर्ने काममा रेडियोको तुलना अरु माध्यमसँग हुन सक्दैन । म कुनै देशको प्रमुख हुन्थें भने निश्चय नै रेडियोलाई प्राथमिकता दिन्थें ।’

रेडियोको महत्व बुझ्न आर्थरको एउटै भनाइ काफी छ । विश्वका जुनसुकै मुलुकका आमसञ्चारका माध्यममध्ये रेडियो प्रसारण सेवा एक सशक्त र प्रभावकारी माध्यमका रुपमा लिने गरिन्छ । नेपालमा पनि सी क्लार्कले अनुभूत गरे जस्तै विद्युतीय आम सञ्चारको क्षेत्रमा सूचना र ज्ञान फैलाउने कार्यमा रेडियो नेपालले स्थापना कालदेखि नै महत्वपूर्ण योगदान दिंदै आएको छ । प्रस्तुत लेखमा रेडियो नेपालको मुलतः कार्यक्रम निर्माण र प्रसारणलाई पछाडि फर्केर हेर्ने जमर्को गरिएको छ ।

२०४६ साल अघिका कार्यक्रम

अतिततर्फ फर्किंदा, रेडियो नेपालको शैसव कालका कार्यक्रममा त्यसबेला खासगरी तारणीप्रसाद कोइरालासँगै श्यामदास वैष्णव, गोपालराज पन्त, फलेन्द्र विक्रम राणा, पूर्ण लामा, जनकलाल शर्मा, प्रभा बस्नेत, शान्ता बस्नेत, यज्ञबहादुर कार्की, रश्मी राणा आदि कार्यक्रम प्रसारणका हर्ताकर्ता देखिन्छन् ।

रेडियो नेपालले आफ्नो स्थापनाको शुरुवाती चरणदेखि नै मूलरुपमा शिक्षा, स्वास्थ्य, कृषि, जस्ता राष्ट्रका अहम् विषयहरुलाई कार्यक्रमको केन्द्र भागमा राख्यो । त्यससँगै ज्ञान–विज्ञान, सूचना, कला, साहित्य, सङ्गीतको सेरोफेरोमा अन्य विविध कार्यक्रमहरु निर्माण गर्दै लग्यो । शिक्षामूलक, सूचनामूलक, मनोरञ्जनात्मक प्रकृतिका कार्यक्रमहरु प्रसारण हुन थाले ।

२०१४ सालमा रेडियो नेपाल बाहिरको सहयोगमा कार्यक्रम निर्माणका लागि छुट्टै युनिट निर्माण भयो । खासगरी प्रौढ शिक्षाका लागि चेत भवनमा एउटा रेकर्डिङ स्टुडियो स्थापना गरी अन्य केही कार्यक्रम पनि त्यहाँबाट रेडियो नेपालका लागि उत्पादन हुन थाले ।

टिका भण्डारी

२०१५ साल पछि रेडियो नेपालका कार्यक्रममा जनार्दन शर्मा, लक्ष्मण लोहनी, शकुन्तला शर्मा, शान्ता श्रेष्ठ, रामलाल जोशी, कल्याणी रिमाल, हिरण्य भोजपुरे, रामविक्रम सिजापती, कमल प्रधान, कृष्ण ताम्राकार, किरण खरेल, यादव खरेलका आवाजहरु सुनिन थाले ।

रेडियो नेपाल स्थापना भएदेखि करिव १ दशकसम्म उल्लेखनीय कार्यक्रम सुरु भएको देखिन्न । २०१७ सालमा सुरु भएको संसदीय समीक्षा ३ महिनामै बन्द भयो । २०१८ सालतिर रेडियो नेपालबाट रुपक, छलफल आदि प्रसारणमा आउन थाले । अखबार सम्बन्धी कार्यक्रम भने २०५६ सालमा आएर मात्र सुरु भयो ।

२०१९ देखि धर्मराज थापा सङ्गीत प्रमुख भएपछि लोक लहरी सञ्चालन आउन थाल्यो । २०२३ सालबाट कृषि कार्यक्रम सुरु भयो । कृषि कार्यक्रमको प्रारम्भदेखि नै जेटिए आमा लक्ष्मी भुषालको प्रस्तुतिलाई आज पनि सन्झने गरिन्छ । नुपुर भट्टाचार्यको रेडियो डाक्टर कार्यक्रम पनि निकै प्रभावकारी मानिन्थ्यो ।

२०२४ सालदेखि केही राजनीतिक प्रकृतिका कार्यक्रम समेत प्रसारण हुन थाले । बीबी सिंहले भूपु सैनिक कार्यक्रम सञ्चालन गरे भने युवक कार्यक्रम खगेन्द्र नेपालीले । गाउँ फर्क, छात्र कार्यक्रम, मजदुर कार्यक्रम, विदेशमा बस्ने नेपालीहरुका लागि कार्यक्रम पनि सञ्चालनमा आउन थाले ।

गाउँफर्क कार्यक्रममा राष्ट्रिय पञ्चायत सदस्यहरुले बोल्ने गर्दथे । राष्ट्रिय तथा स्थानीय सरोकारका राजनीतिक विषयवस्तुहरु उक्त कार्यक्रम प्रस्तुत गरिन्थ्यो । प्रस्तोता रामविक्रम सिजापतिले कार्यक्रमलाई वर्गीय हित र विकास गतविधि लक्षित गरेका थिए ।

२०२५ सालबाट सुरु भएको शैक्षिक कार्यक्रम विद्यार्थी लक्षित थियो । २०२६ सालबाट धार्मिक कार्यक्रम सुरु भयो । प्रसारक पुरुषोत्तम सापकोटाले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए । उनले २०६३ सम्म धार्मिक कार्यक्रमको जिम्मेवारी सम्हाले ।

२०२६ सालदेखि नै यादव खरेल, दामोदर अधिकारीले काव्य कुञ्ज नामक साहित्यिक कार्यक्रम सुरु गरे । उक्त कार्यक्रममा काव्यिक क्षेत्रका व्यक्तित्वहरुको सिर्जनात्मक अभिव्यक्तिहरु सुन्न पाइन्थ्यो । २०२८ सालमा तत्कालीन श्री ५ को सरकारले विकासका लागि सञ्चार नीति अख्तियार गरेपछि रेडियो नेपालमा खासगरी महिला, युवा, बालबालिका, विकास, खेलकुद, पर्यटन लगायतका कार्यक्रम प्रसारण हुन थालेको देखिन्छ ।

२०३० को दशक आएपछि अंग्रेजी भाषाका कार्यक्रमहरु समेत प्रसारणमा आए । गौरी केसी, माइकल चन्द, बिना गुरुङ, भारती सेलवाल, मञ्जु कार्की आदिले म्युजिकल आवर, सन्डे म्युजिक जस्ता अंग्रेजी कार्यक्रमहरु सञ्चालन गरे ।

हिरण्य भोजपुरे कार्यक्रम महाशाखा प्रमुख भएपछि रोदी, चौतारी, हाम्रो संस्कृति जस्ता नयाँ कार्यक्रमहरु सुरु भए । स्रोतामाझ अधिक लोकप्रिय भएका ती कार्यक्रम प्रजातन्त्र पुनर्स्थापनापछि पनि निरन्तर भए ।

३० को दशकमा वन बाटिका कार्यक्रम पनि सञ्चालन भयो, जसलाई कमल प्रधान, कृष्णा ताम्राकार आदिले सञ्चालन गरेका थिए । पछि नेपाल वातावरण पत्रकार समूहले सामुदायिक वन कार्यक्रम सञ्चालन गर्यो । वन मन्त्रालय अन्तर्गत चरण विकास कार्यक्रम र नेपाल परिवार नियोजन संघले मातृ शिशु कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

२०३४ देखि हास्य व्यंग्यात्मक पञ्चरङ्गी कार्यक्रम रेडियो नेपालबाट गुञ्जन थाल्यो । स्वर संवाद कार्यक्रममा पङ्तीकारसँगको कुराकानीमा उक्त कार्यक्रमबारे सोधिएको प्रश्नमा मह जोडीका एक कलाकार हरिवंश आचार्य भन्छन्, ‘त्यो कार्यक्रम पञ्चायती शासन व्यवस्थाको विसङ्गत पक्षमाथि प्रतीकात्मक व्यंग्य थियो, समाजलाई त्यसले नयाँ विचार र सन्देश दियो ।’

उक्त कार्यक्रममा मह जोडी लगायत राजपाल हाडा, धु्रव हाडा, गोविन्दसिंह रावत, खेम शर्मा, शिवहरी पौडेल आदिले सामाजिक, राजनीतिक व्यंग्य प्रस्तुत गर्दथे । २०३४ सालबाट यज्ञनिधि दाहालले साहित्य संसार कार्यक्रम सुरु गरे, जुन प्रजातन्त्रपछि पनि धेरै वर्ष नेपाली साहित्य जगतमा एउटा चर्चित कार्यक्रमका रुपमा प्रसारणमा रह्यो ।

साहित्य संसारले धेरै कवि, साहित्यकारलाई नेपाली साहित्यको मूलधारमा ल्याउन भूमिका खेल्यो । पछि केही समय उक्त कार्यक्रम सञ्चालनमा सिर्जना शर्मा, आमोद भट्टराई, बमबहादुर जिताली, गिता कार्कीले समेत सहयोग रहेको देखिन्छ । ३० कै दशकमा उदाएका बासुदेव मुनाल, पाण्डव सुनुवार, सूर्र्य कुमारी पन्त, धन लामा, मदनदास श्रेष्ठ आदिको भूमिका कार्यक्रम उत्पादन तथा प्रसारणमा महत्वपूर्ण रह्यो ।

ध्रुव थापा, दारमित प्रधान, नरेन्द्र चटपटे, हमबहादुर बस्यालले शैक्षिक कार्यक्रममार्फत रेडियो नेपालका स्रोतालाई शैक्षिक सामाग्रीहरु प्रवाह गरेको देखिन्छ । पाण्डव सुनुवारको रोदी, इन्द्रेणी, बासुदेव मुनालको बाल कार्यक्रम, धन लामा, दामोदर अधिकारीको सुन्दर सुशील, सूर्र्य कुमारी पन्तको महिला कार्यक्रम निकै लोकप्रिय मानिन्छन् ।

रेडियो नेपालबाट प्रसारण हुने महिला कार्यक्रम शान्ता श्रेष्ठ, प्रभा बस्नेत, रश्मिराज्य लक्ष्मी, मिठु देवी, सूर्र्य कुमारी पन्त, इन्दिरा श्रेष्ठ, धन लामा, हुँदै चन्दा विष्टले सञ्चालन गर्दै आएको देखिन्छ । २०३० बाट सुरु भएको स्कुल प्रसारण कार्यक्रमलाई रिताराज गुरुङ, रानी गुरुङले सञ्चालन गरेका थिए भने त्यसको संयोजन र सहजीकरण पुष्पलता श्रेष्ठले गरेकी थिइन् ।

त्यसबेलाका प्रश्नोत्तर कार्यक्रम, सुनगाभा, गीति कथा, नारी कार्यक्रम, कृषि कार्यक्रम, बाल सभा, ग्रामीण कार्यक्रम आदि सूचनामूलक कार्यक्रमहरु रेडियो नेपालका स्रोताहरुले सम्झिरहने कार्यक्रमहरु हुन् । २०४१ देखि रसरंग, सुन्दर सुशील सङ्गीत, फोनइन कार्यक्रम प्रायोजित हुन थाले ।

त्योबेला रेडियो नेपालका कार्यक्रमसँगै नारा, गीत, लघुनाटिका, छलफल, गीति विज्ञापन, परिसंवाद आदि समेत प्रसारण हुने गरेका थिए ।

रेडियो नेपालले राष्ट्रिय महत्वका घटना, पर्व, अवसर, साँस्कृतिक, धार्मिक मेला, राजनीतिक, सामाजिक महत्वका घटना, खेलकुद, साङ्गीतिक प्रतियोगिता, सम्मेलन, सङ्गीत उत्सव, महोत्सव, राष्ट्रिय व्यक्तित्वका शव यात्रा, प्राकृतिक विपतका घटना, दक्षिण एसियाली खेलकुद प्रतियोगिता आदिका अवसरमा प्रत्यक्ष प्रसारणमा समेत योगदान दिंदै आएको देखिन्छ ।

नेपालमा टेलिभिजन नभएको अवस्थामा फुटबल कमेन्ट्री रेडियो नेपालको निकै प्रभावकारी कार्यक्रम मानिन्थ्यो । यादव खरेल, दामोदर अधिकारी, खगेन्द्र नेपाली, नरेश अधिकारी, पुरुषोत्तम सापकोटा, ध्रुव थापा, पाण्डव सुनवार आदिले त्यसको जिम्मेवारी सम्हाले ।

पञ्चायतकालमा श्री ५ का औपचारिक भ्रमणका कार्यक्रम, राष्ट्रिय पञ्चायतलाई श्री ५ को सम्बोधन समेत प्रत्यक्ष प्रसारणमा प्राथमिकतामा पर्दथे । २०४० सालमा रेडियो नेपाल विकास समितिमा रुपान्तरण भएपछि व्यापारिक प्रयोजनका हिसावले कार्यक्रम उत्पादन हुन थाले । त्यसअघि रेडियो नेपालको सम्पूर्ण खर्च श्री ५ को सरकारले व्यहोर्थ्यो । त्यसबेला विचारमूलक बहस, संवाद, राजनीतिक सामाजिक विषयमा खुला छलफल, जनसहभागितामूलक कार्यक्रमहरुको अभाव रह्यो ।

२०४६ पछिका कार्यक्रम 

२०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा त्यसको सकारात्मक प्रभावहरु पर्न सुरु गर्यो । बन्द नेपाली समाज खुला हुने क्रम सुरु भयो । रेडियो प्रसारणमा पनि ठूलो परिवर्तन आयो । कार्यक्रमहरुमा राजनीतिक, सामाजिक लगायत अन्य सामयिक विषयवस्तुले स्थान पाउन थाले ।

मुलुकमा ठुल्ठूला राजनीतिक परिवर्तनहरु भए पनि सामाजिक जीवनमा बदलाव आइहाल्ने भन्ने हुँदैन । त्यसका लागि सामाजिक रुपान्तरणको आवश्यकता पर्दछ । यही ध्येयअनुरुप रेडियो नेपालले आफ्ना समाचार, समाचारमूलक कार्यक्रम तथा शिक्षामूलक कार्यक्रमहरुमा सामाजिक परिवर्तन र रुपान्तरणका पक्षहरुलाई समेट्न थाल्यो

घटना र विचार, चिन्तनको चौतारी, परिक्रमा, परिवेश जस्ता कार्यक्रमहरु सञ्चालनमा आए । तिनले प्रजातान्त्रिक मूल्य मान्यताप्रति जनताको आस्था बढाउने काम गरे । सांसद, मन्त्री फोन इन जस्ता कार्यक्रमहरु आए । पछि त जनतासँग प्रधानमन्त्री कार्यक्रम पनि सञ्चालनमा आयो ।

राष्ट्रिय सञ्चार नीति २०४९ लागु भएपछि निजी क्षेत्रलाई समेत सूचनामूलक मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन गर्न खुला गरियो । त्यसपछि नै रेडियो नेपालको कार्यक्रम उत्पादनमा वेलकम, क्लासिक एड, थम्प्सन नेपाल आदि बाह्य संघ संस्था र एजेन्सीहरु आएको देखिन्छ । पछि त्रिकोण एड्भरटाइजिङ्ग, प्रिज्मा, मिडिया हब, क्रियशन, मिराज एड्भरटाइजिङ्ग, एड मिडिया, क्लासिक, इको यो लहरमा थपिंदै गए । हाल म्याक्स, की एड्भरटाइजिङ्ग, भेराइटिज एड्भरटाइजिङ्ग, क्रियशन आदिले विभिन्न समयमा रेडियो नेपाललाई विज्ञापन तथा प्रायोजन उपलब्ध गराउँदै आएका छन् ।

रेडियो नेपाल एफ.एम. काठमाडौं १०० मेगाहर्ज, रेडियो सगरमाथा, रेडियो कान्तिपुर, इमेज च्यानल, क्लासिक एफ.एम., हिट्स एफ.एम. लगायत विभिन्न निजी क्षेत्रका व्यावसायिक तथा सामुदायिक रेडियोहरुको स्थापनाले नेपालको प्रसारण क्षेत्रलाई व्यापक बनायो । ती सञ्चार माध्यमहरुले ठूलो संख्यामा सङ्गीतकर्मी जन्माउने भूमिका खेले । व्यावसायिकता र सामुदायिकताको विकास हुँदै गयो । रेडियोमा शिक्षामूलक कार्यक्रमहरुको संख्या बढेर गयो ।

रेडियो नेपालकै सन्दर्भमा भन्नु पर्दा मानव अधिकार शिक्षा, हाकाहाकी, दलित जागरण, अपाङ्ग आवाज, असल शासन, साथीसँग मनका कुरा, सरकारी संघ संस्थाहरुबाट सञ्चालितमध्ये कृषि, परिवार नियोजन तथा रेडियो शिक्षक तालिम, जनस्वास्थ्य, आदि कार्यक्रमहरु धेरै नै प्रभावकारी भए ।

२०४६ पछि एक्सन पप लहर, राजधानीको सन्देश, फोन इन, तपाईं यो गीत गाउनु होस्, ओके गोर्खाली आवाज, चित्रमाला जस्ता मनोरञ्जनात्मक कार्यक्रम प्रायोजित भए । तीमध्ये धेरैजसो कार्यक्रम धनेन्द्र विमलले संयोजन गरेकोे देखिन्छ । यी र यस प्रकृतिका अनेकन प्रभावकारी कार्यक्रमहरु प्रसारण गरेर रेडियो नेपाल जनता माझ झन् लोकप्रिय बन्दै गयो ।

प्रजातन्त्र स्थापनापछि खुला राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै रेडियो नेपालले आफ्ना कार्यक्रमहरुमा व्यापक रुपान्तरणको आवश्यकता महसुस गर्यो । प्राप्त लोकतन्त्र, सुशासन, विकास, समृद्धि, सामाजिक न्याय, स्वास्थ्य, शिक्षा, मानव अधिकार लगायतका आम सरोकारका विषयमा कार्यक्रम केन्द्रित गर्न थाल्यो ।

भौगोलिक विभाजन अनुसार क्षेत्रीय प्रसारणको अवधारणा अनुरुप २०५१ साल भदौ १ गतेबाट क्षेत्रीय प्रसारण सेवा प्रारम्भ भयो । रेडियो नेपालमा राष्ट्रिय भाषाका समाचार र कार्यक्रमहरु २०४७ बाटै बज्न थालिसकेका थिए । २०५२ मा रेडियो नेपाल एफएम काठमाडौं १०० मेगाहर्जबाट कार्यक्रमहरु प्रसारण हुन थाले ।

नेपाली समाजमा आएको नवचेतना, परिवर्तनलाई आफ्ना कार्यक्रमका विषयवस्तुमा रुपान्तरण गर्नु आफैंमा चुनौतिपूर्ण थियो । ती चुनौतिहरुलाई अवसरका रुपमा बदल्दै लामो समयदेखिको राजनीतिक द्वन्द्व, वृहत शान्ति सम्झौता, संविधान सभाको निर्वाचनपछिको संक्रमणकालीन राजनीतिक परिस्थितिमा सुझबुझका साथ रेडियो नेपालले आफ्ना कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गर्न थाल्यो ।

मुलुकमा ठुल्ठूला राजनीतिक परिवर्तनहरु भए पनि सामाजिक जीवनमा बदलाव आइहाल्ने भन्ने हुँदैन । त्यसका लागि सामाजिक रुपान्तरणको आवश्यकता पर्दछ । यही ध्येयअनुरुप रेडियो नेपालले आफ्ना समाचार, समाचारमूलक कार्यक्रम तथा शिक्षामूलक कार्यक्रमहरुमा सामाजिक परिवर्तन र रुपान्तरणका पक्षहरुलाई समेट्न थाल्यो ।

महिलामाथि हुने हिंसा, विभेद, लैङ्गीक असमानता, जातिपाति छुवाछुत, अन्धविश्वास, रुढिवाद, कम्लरी र छाउपडी प्रथा, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, किसान, मजदुर, शोषित, पीडित अपाङ्गता भएका, ज्येष्ठ नागरिक, स्वरोजगार, सामाजिक रुपमा बहिस्कृत, अपहेलित, सिमान्तिकृत र समाजका अन्य विविध आवाजविहीनहरुलाई कार्यक्रमका मूल विषयमा केन्द्रित गर्ने, तत् सम्बन्धी अन्तर्वार्ता, भक्सपप, स्थलगत रिपोर्ट, छलफल, जिल्ला जिल्लामा पुगेर वृहत शान्ति बहस आदिलाई समेट्न थाल्यो ।

२०६२–०६३ को जनआन्दोलनपछि नै यसरी नेपाली समाजको हरेक जाति, वर्ग, तह, तप्का, समूह, समुदाय, पेशा, भूगोल आदिका आधार विषयवस्तु वर्गीकृत गरी लक्षित समूहसम्म पुगी कार्यक्रम निर्माण र तत् अनुरुपको कार्यक्रम प्रसारणले वृहत आकार लिएको हो ।

शान्ति कोष सचिवालयसँग सहकार्य गरेर शान्तिका लागि रेडियो, शान्ति संवाद र जिल्ला केन्द्रित स्थलगत शान्ति बहस सुरु भयो । द्वन्द पीडित, राज्य पक्ष र सरोकारवालाहरुसँग रेडियो संवाद कार्यक्रम थालियो । ती कार्यक्रमका लागि रेडियो नेपालका प्रसारकहरु ३८ जिल्लामा सकृय भए ।

२०७२ सालको महाभूकम्पको समयमा अन्य विद्युतीय सञ्चार माध्यम स्रोता माझ पुग्न नसकिरहेको परिप्रेक्षमा रेडियो नेपालले चौबिसै घण्टा समाचार तथा कार्यक्रमबाट आम नागरिकलाई आपतकालीन सूचना, सन्देश, जानकारी, विचार लगायतका सचेतना सम्बन्धी सामाग्रीहरु प्रसारण गरी विपद व्यवस्थापनमा सूचना संवाहकको जिम्मेवार भूमिका खेल्यो ।

२०७४ सालको निर्वाचनताका निर्वाचन सामाग्रीहरु प्रसारणका प्राथमिकता बन्यो । संविधान सभामार्फत संविधान निर्माणताका शान्ति र संविधानका विषयमा थुप्रै किसिमका कार्यक्रम प्रसारित भए ।

२०६३ को अन्तरिम संविधानले प्रत्याभूत गरेका राजनीतिक, सामाजिक तथा अन्य विविधखाले मौलिक अधिकारहरुको उपयोग–उपभोग गर्ने सिलसिलामा राष्ट्रका विज्ञ व्यक्तित्व, राज्यका विभिन्न निकायका व्यक्ति, सरकारी तथा गैर सरकारी क्षेत्रका सरोकारवालाहरु, अधिकारकर्मी, सर्वसाधारण र विभिन्न क्षेत्रका नागरिकहरुका विचार र दृष्टिकोणहरु तत् अनुरुपका कार्यक्रमहरुमा प्रस्तुत गर्दै आयो ।

सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजन जुनसुकै सरकार आए पनि सरकारको पक्षमा एक पक्षीय ढंगबाट समाचार र कार्यक्रम प्रसारण गर्दछन्, रेडियो नेपाल सरकारको मुखपत्र हो भन्ने जस्ता आलोचनात्मक पक्षप्रति समेत सचेत रहँदै आएको छ ।

रेडियो नेपालका समाचार र कार्यक्रमलाई यस्ता आलोचनाबाट मुक्त बनाउन बढीभन्दा बढी सार्वजनिक हितमा प्रयोग गर्न, सार्वजनिक सेवा प्रसारण, पिएसबी अनुकूलका कार्यक्रम निर्माण गर्न २०७० सालमा रेडियो नेपालले २७ पृष्ठको रेडियो नेपालको प्रसारण निर्देशिका र समाचार तथा कार्यक्रम मापदण्ड नै तयार गर्यो । जसले व्यावहारिक, शिक्षामूलक, सूचनामूलक, विकासमूलक, एवम् स्वस्थ तथा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, प्रसारण गर्न सहयोग पुर्याएको छ ।

हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम प्रसारणमा छन् । २४ वटा रिले स्टेसनहरू सहित मिडियमवेभका फ्रिक्वेन्सीहरु, एफ.एम. ब्याण्डका ९८, १०० र १०३ मेगाहर्जसँगै अनलाइन, फेसबुक तथा रेडियो एप्समा समेत रेडियो नेपालका कार्यक्रमहरु उपलब्ध छन् ।

२०७३ भदौ १ गतेदेखि रेडियो नेपाल चौबिसै घण्टा प्रसारणमा छ । संघीयता कार्यान्वयन गर्ने सिलसिलामा दाङ र बर्दिबासलाई समेत प्रदेश प्रसारणमा जोड्दै २०७४ भदौ ७ देखि सातै प्रदेशमा प्रदेश प्रसारण सुरु भएको छ ।

कोभिड–१९ विशेष प्रसारण

अघिल्लो वर्ष यो बेला कोभिड–१९ का कारणले मानिसहरु घर बाहिर निस्कने अवस्था थिएन । जीवनमा पहिलो पटक लकडाउन झेलेका नागरिकहरुलाई कोभिड सम्बन्धी सूचनाहरु प्रवाह गर्नु रेडियो नेपालको प्रमुख दायित्व थियो । रेडियो नेपाल ७० औं वर्षमा प्रवेश गरिरहँदा हामी प्रसारक, प्राविधिकहरु ४६ दिनसम्म बन्दोबस्तीका साथ रेडियो नेपाल भित्रै क्वारेन्टिनमै बसेर चौबिसै घण्टा कोभिड–१९ विशेष प्रसारणमा जुटेका थियौं ।

कोभिड नियन्त्रण, न्यूनीकरणका विषयवस्तुमा केन्द्रित रहेर जनचासोका विषयहरु, डाक्टर विज्ञ आदिका परामर्श, जनताका समस्या र गुनासा, त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण, कोरोना अपडेट, आधिकारिक व्यक्तित्वका धारणा, विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वका सल्लाह सुझाव, नेपाल सरकारका धारणा, लकडाउनको अवस्थामा आम जनताले पुर्याउनु पर्ने सावधानी आदिबारे जनतालाई निरन्तर सुसूचित गराइरह्यौं ।

जनताका अत्यावश्यक सेवा, मनोवैज्ञानिक त्रास, कोरोना संक्रमण, रोकथाम र नियन्त्रणदेखि लकडाउन उल्लंघनका घटनासम्मका अनेकन विषयवस्तुमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गरियो । कोभिड–१९ को समयमा यो पङ्तीकारले नै २९० जनासँगको अन्तर्वार्ता प्रस्तुत गरेको थियो ।

(भण्डारी रेडियो नेपाल सञ्चालक समिति सदस्य तथा कार्यक्रम महाशाखा प्रमुख हुन् ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0