१९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
कोरोना महामारीलाई देखाएर गत वर्ष सरकारले प्रति दिन सुन आयातको परिमाण १० किलोमा झरेको थियो । सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्यविधि २०६८ लाई शंसोधन गरेर इजाजत पत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पुर्याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । यस अघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो ।
सुनको कोटा बढाउने राष्ट्र बैंकको निर्णयप्रति सुन चाँदी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् । आफूहरुको माग गरेको भन्दा कम मात्रामा आयात परिमाण बढाइएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माािणक रत्न शाक्यले बताए । महासंघले दैनिक ३० किलो सुन आयात गर्न पाउनु पर्ने माग सरकार समक्ष राख्दै आएको उनले बताए । ‘हुँदै नभएको भन्दा त यत्ति हुनु पनि ठिकै हो तर यत्तिले हाम्रो माग धान्दैन्,’ अध्यक्ष शाक्यले भने ।
थप कोटा वृद्धिबारे राष्ट्र बैंकसंगु पुन छलफल गर्ने पनि अध्यक्ष शाक्यले बताए । सुनको अधिक माग हुने मौसममा बजारमा चरम अभाव भएपछि दैनिक सुन आयातको कोटा बढाउन गत मंसिर देखि सुन व्यवसायीहरुले सरकारलाई आग्रह गर्दै आएका थिए ।
हेर्नुहोस् विज्ञप्ति :