टिका पहारी : सिनेमादेखि खेती-किसानीसम्म


सेताम्मे केस, सेतै जुँगा । खिरिलो तर अग्ला कद । कुर्ता–पाइजामामा ठिंग उभिदा टिका पहारीको ओजिलो व्यक्तित्व प्रकट हुन्छ । र, यस्तो लाग्छ उनी आफ्नो गह्रौं आवाजमा कुनै डायलग बोल्न लाग्दैछन् । त्यस्तो आवाज, जसले मुटुमा सानोतिनो कम्पन पैदा गर्छ । मनमा त्रासदी पैदा गर्छ ।

जसै टिका पहारीको प्रसंग आउँछ, नेपाली सिनेमाका कुटिल भिलेनको रेखाचित्र आँखै अगाडि नाच्न थाल्छ । नेपाली सिनेमाले जतिबेला बामे सर्न सुरु ग¥यो, ठीक त्यही बेला टिका पहारीको पर्दापण भयो । ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘दुई थोपा आँशु’ जस्ता थुप्रै सिनेमामा उनको अभिनयले दर्शकमा गहिरो छाप छाड्न सफल भयो ।

अहिले उनका छोरा पुस्ताले नेपाली सिनेमा कब्जा गर्दैछ, यद्यपि उनको उपस्थिती कमजोर छैन । अहिलेपनि । उनी उसैगरी आफ्नो गह्रौं आवाजमा डाइलग फलाकिरहेका छन् ।

गाउँको बसिबियालो

एकाएक टिका पहारी गुमनाम भए । सुनियो, उनी खेतीपातीमा लागेका छन् । गाउँमै । हाम्रो प्रश्नको पुष्टि गर्दै उनले सुनाए, ‘हो, यसबीचमा म गाउँमै गएर माछा पाल्न थालें ।’

१० बिघा जमिनमा पोखरी बनाए । माछा पाले । स्थानिय बजारमा बिक्री गरे । गाउँको बसिबियालो ।

एक किसिमको रवाफ थियो । गाउँलेले मान्थे । श्रद्धा गर्थे । छिमेकको झै–झगडा, सानोतिनो मुद्दा प्रहरीकहाँ पुग्दैनथ्यो । जिल्लासम्म फैलदैनथ्यो । त्यसको उनी आफै समाधान खोजिदिन्थे ।

रंगिला संसारभन्दा बेग्लै आनन्द । ‘गाउँमा बस्नुमा आफ्नै मजा’ फिल्मी चक्करमा पुना, मुम्बई छिचोलेका पहारीले भने, ‘त्यहाँ एकदम गाउँले भएर बसियो । फिल्मको काम आउथ्यो, गरिएन ।’

बिहान ५ बजे उठ्यो । माछा पोखरीतिर टहल्न निस्कियो । ९ बजेतिर खाना खायो । गाउँ-समाजको काममा लाग्यो । कहिले विकासे छलफल, कहिले जन्त त कहिले मलामी । समाजसेवामा लागे । यसैगरी एक दशक बित्यो ।

गाउँको रनघन

गाउँमा ठाँटले बसेका थिए, पहारी । मुम्बईबाट फर्केपछि अञ्चलभरकै ठूलो गोबरग्याँस प्लान्ट उनैले लगाएका थिए । आफ्नो घर झलमल्ल । घरमात्र होइन, आसपासका छिमेकका घरले पनि टुकी बत्ती बाल्नुपर्ने वाध्यता टरेको थियो ।

एक बिघा जमिनमा माछा पालेका थिए । अर्कोतिर हाँस, कुखुरा, बाख्रा पनि । डाइनेमो चलाएर धान कुट्ने । रनघन थियो गाउँ । ‘गाउँमा बसेपछि पनि यस्ता कुरा बजारमा किन्न जानुपर्ने भयो भने त भएन नि’ उनले थपे, ‘ आफन्त आउँछन्, कलाकार साथीभाई आउँछन्, आफैले पालेको कुखुरा ख्वायो, माछा ख्वायो ।’ कोहि सुटिङ गर्न पुग्थे, कोहि भेटघाटका लागि । करिष्मा मानन्धर ‘बाबुसाहेव’को टिम सहित त्यही पुगिन् ।

गौरव, सौरभ, सुलभ सानै थिए । चाडपर्वमा गाउँ जान मरिहत्ते गर्ने । ‘बच्चाहरु मात्र होइन, अरु इष्टमित्र पनि गाउँ नै जानुपर्छ, रमाइलो गर्नुपर्छ भन्थे’ यसो भनिरहँदा उनी रौसिए, ‘त्यसबेला गाउँमा छुटै इन्जोए हुन्थ्यो ।’

अहिले भने छोराहरु हुर्किए । आ–आफ्नै कामधन्दामा व्यस्त भए । गाउँ जाने फुर्सद भएन । उनलाई पनि एक्लै धुमधुम्ती बस्न मन लागेन । शहर छिरे । ‘तर, अहिले पनि म कहिले यता, कहिले उता बस्छु’ पहारीले सुनाए, ‘पूर्णकालिन शहरिया भइसकेको छैन ।’

२०२४ सालदेखि नै हो, उनको काठमाडौंसँग संगत । तर, उनले काठमाडौंलाई कहिल्यै आफ्नो बनाउन सकेनन् । ‘यहाँको मान्छेहरुको सोचाई, व्यवहार मलाई पटक्कै रुच्नैद’ उनी भन्छन्, ‘त्यही भएर मलाई काठमाडौं आफ्नो जस्तो लाग्दैन ।’ विगतमा उनी काठमाडौंमा सुटिङका लागि आउथे, सुटिङ सिध्याउनसाथ झिटीझ्याम्टा बोकेर गाउँ फर्कन्थे ।

काठमाडौं उनलाई फाप्दैन पनि । धुलो, धूँवाले समाइहाल्छ । घाँटी खसखसाउँछ, खोकी लागिहाल्छ । ‘गाउँ गएपछि सबै साफ, आफै ठीकठाक हुन्छ’ उनले भने ।

गाउँको अर्ग्यानिक धूलो

उनलाई गाउँको धूलो पच्छ । ‘त्यो अग्र्यानिक धूलो हो नि त’ भन्दै उनी मज्जाले हाँसे ।

त्यसो त उनी स्वस्थ्य दिनचर्या अपनाउँछन् । सादा खाना खान्छन् । व्यायाम गर्छन् । पहिले बिहान हिँड्थे । अहिले प्राणायाम गर्छन् । पुनामा कलाकारिता सिक्दै उनले प्राणायाम विधी सिकेका । त्यसबेला अभिनय र आवाजका लागि यसले सघाउँछ भन्ने सुनेका थिए । अहिले स्वस्थ्यका लागि अपरिहार्य भनेर बुझेका छन् । ‘यसैले मेरो डरलाग्दो रोग पत्तासाफ गरिदियो’ उनले भने, ‘यो कुरा सुनाउँदा कसैले पत्याएनन् ।’

त्यसबेला मस्तसँग मदिरापान गर्थे । मदिराले कलेजो खायो । लिभर सिरोसिसका सिकार भए उनी । त्यसपछि चट्टै मदिराको संगत छाडे । प्राणायामलाई निरन्तरता दिए । स्वस्थ्य खानपान र दिनचर्या पालना गरे । रोग आफै ठीक भयो ।

सानैदेखि उनले चिल्लो पीरो खाएनन् । सादा खाना खाए, दाल, भात, तरकारी । दाल चाहि नभइ नहुने । अहिले पनि यहि क्रम जारी छ । त्यसो त उनलाई खाना बनाउन पनि जाँगर चल्छ रे । ‘मैले बनाएको ननभेज खाएर त छोराहरु समेत अघाउँदैनन्, त्यती मीठो हुन्छ’ भन्दै उनी फेरी मज्जाले हाँसे ।

सुटिङ छाडेर माछापालनमा

उनी मुम्बई बस्थे । रंगमञ्च र फिल्ममा रमाइरहेका थिए । एउटा हिन्दी फिल्मकै छायांकनका लागि नेपाल आएका थिए । फिल्ममा नेपालको कथा समेटिएको थियो । पहारी नेपाली प्रहरी अफिसरको भूमिकामा थिए । प्रहरीकै गेटअपमा उनी एयरपोर्टमा थिए । अचानक दाई भेटिए । दाई, गाउँबाट आएका आमाबुवा लिन गाइरहेका रहेछन् । ‘रमाइलो किस्सा छ’ पहारीले सम्झिए, ‘दाई एयरोपर्ट भित्र प्रवेश गर्न पाउनुभएन । म प्रहरीको पोशाकमा थिएँ, सरासर रनवेमा गएर बुवाआमालाई लिएर आएँ । कसैले छेकबार गरेनन् ।’

आमाबुवा काठमाडौं बस्न नमान्ने । गाउँमा अरु दाजुभाई छैनन् । अन्ततः पहारी आफै तम्सिए, गाउँ फर्कन । फिल्मी छाडे, गाउँ फर्किए । ‘बुवाआमा यहिँ (काठमाडौं) बस्न मानेको भए म बम्बे फर्कन्थे, तर उहाँहरु गाउँ नै जानुपर्ने । अरु भाई काठमाडौंमा बस्ने । त्यही कारण बुवाआमा लिएर म गाउँ गएँ ।’

उनकै भनाईमा त्यसबेला कलाकारको फेम मात्र हुन्थ्यो, खर्च हुँदैनथ्यो । काठमाडौंमा बसेपछि यहाँको खर्च धान्न सकिदैनथ्यो । त्यसैले माछापालन चाहि सेफ साइड भयो ।

तर, माछापालनमा लागेपछि उनी ग्रामिण परिवेशमै रमाउन थाले । यसबीचमा फिल्मका अफरहरु आए । तर, उनले पन्छाइदिए ।

पछिल्लो समय भने उनले सुखले बस्न पाएनन् । फिल्म खेल्नैपर्ने भयो । खेले पनि । कहिले छोरोको करले, कहिले आफ्नै रहरले ।

गाउँ छैन गाउँजस्तो

‘अब गाउँ, गाउँजस्तो रहेन’ उनले बिरत्तिएको भावमा भने, ‘पहिले जस्तो छँदै, छैन ।’ ग्रामिण परिवेशबारे कुरा उप्काउनसाथ उनमा जुन उत्साह हुनुपथ्र्यो, त्यस्तो भएन । पहारीले स्पष्ट त भनेनन्, तर गाउँले आफ्नोपन गुमाइसकेको भने संकेत गरे । सायद यहि कारण उनी गाउँ छाडेर शहर पसे । हामीले यस्तै ठान्यौं ।

‘राजनीतिले गाउँलाई उथलपुथल बनाएको छ’ पहारी सुनाउँछन्, ‘पहिले जस्तो सामाजिक सद्भाव छैन भनेपनि हुन्छ ।’ यो जाति–त्यो जाति, यो पार्टी–त्यो पार्टी, पहाडे–मधेसी यस्ता दुषित भावनाले समाजलाई छियाछिया बनाइरहेको छ । न मर्दाको मलामी, न पर्दाको जन्त ।

‘पहिले कस्तो मिलेर बस्थे’ उनी अलि आवेगमा आए, ‘अहिले टुक्रा-टुक्रा गराइयो क्या ।’

माओवादी द्वन्द्वमा उनी गाउँमै थिए । द्वन्द्वको चपेटामा धेरैले गाउँ छाडे । उनी गाउँमै अडिए । स्थानिय प्रशासन र सेनाले बोलाएर स्पष्टिकरण मागेछन्, ‘सबै भागे, तपाई किन बस्नुभएको ? माओवादीसँग सम्पर्क छ ?’

पहारीले गह्रौं आवाजले भनेछन्, ‘यो कुरा मलाई सोध्ने होइन, तपाईहरुले खोज्ने हो । खोज्नुहोस् ।’

हुन त माओवादीहरु उनका घरमा आउँथे । भेट्थे । तर, चन्दा मागेनन् । दुख दिएनन् । मधेसी आन्दोलनमा पनि त्यस्तै भयो । कसैले उनीमाथि चोर औंला ठड्याएनन् । ‘हो, मलाई त कसैले छोएनन्’ उनले थपे, ‘तर, मैले के महसुष गरें भने पहिले जस्तो हावा छैन अहिले । मलाई नोक्सान नपु¥याएपनि, साथ दिने पनि छैनन् । पहिले जस्तो हार्दिकतापूर्वक साथ दिँदैनन् । त्यसअघि कम्तीमा दुई पटक सोच्छन् ।’

अर्कोतर्फ गाउँमा अहिले उनका समकालिन छैनन्, दौतरी छैनन् । सबै सकिए । ‘पहिला १५ किलोमिटर आसपासमा मेरा आफन्त, साथीभाई थिए’ पहारीले भने, ‘अहिले कोहि छैनन्, एकजना पनि छैनन् । कतै साथीभाईकहाँ गएर केहि क्षण भलाकुसारी गरौं भन्दा त्यो छैन ।’

तस्वीरहरु : टिका पहारीको फेसबुकबाट



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0