प्रदूषित हावाले दम, खोकी र हृदयघात बढ्नसक्छ – Online Khabar


हामीले सास फेर्ने हावामा विभिन्न घातक ग्याँस मिसिइरहेको छ । अव्यवस्थित शहरीकरण, मोटर–गाडीको अत्यधिक प्रयोग, विभिन्न उद्योग, कलकारखाना, धुलाम्य सडक यी सबै वायु प्रदूषणका कारखाना हुन् भन्दा फरक पर्दैन ।

यही कारण हाम्रा पुर्खाहरूले जस्तो हामीले स्वच्छ सास फेर्न पाएका छैनौं । आजभन्दा ४० वर्ष अगाडि प्रदूषणको तह अहिलेको जस्तो थिएन । किनकि, प्रदूषणको स्रोत त्यतिबेला कम थियो । पछिल्लो समय प्रदूषण र मानिसमा पनि स्वास्थ्य संस्थामा जँचाउन जानुपर्छ भन्ने जनचेतना बढेकाले श्वास–प्रश्वासका रोगी बढेका छन् ।

हावामा मिसिएका धूलो–कणले मानव स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउँछन् । धूलो–कण विभिन्न साइजका हुन्छन् । जसलाई पीपीएममा नापिन्छ । सामान्यतया प्राकृतिक बनावटमा नाकबाट ठूला कणहरू भित्र छिर्न खोजे भने हाम्रो नाकभित्र भएको रौंले त्यसलाई छेक्ने काम गर्छ । हाच्छिउँ गरेर या खोकेर पनि त्यसमा भएका हानिकारक कुराहरूलाई प्रवेश गर्न रोक्ने प्राकृतिक बनावट हुन्छ । तर हावामै घुलिएर आउने साढे २ पीपीएमभन्दा कम साइजका धूलोका हानिकारक कणहरू चाहिं सीधै हाम्रो फोक्सोमा प्रवेश गर्छन् ।

स्वस्थ व्यक्तिको शरीरले लामो समयसम्म यस्तै हावा लिइराख्नुपर्ने अवस्था आयो भने दमखोकी, हृदयघात समेत हुनसक्छ । मुटुमा रगत संचार गर्ने नसाहरू यस्तो प्रदूषित हावाले साँघुरो बनाइदिने भएकाले युवा र स्वस्थ मानिसलाई हृदयघात भयो भने पनि असामान्य मान्नुहुँदैन ।

हाम्रो देशमा सामान्य अवस्थामा पनि बर्खाको समयमा बाहेक अन्य बेला हावा सास फेर्न योग्य हँुदैन । किनकि, मोटर, इँटा भट्टाको धूलो, उद्योग–कारखानाको प्रदूषण र सडक–धूलोको समिश्रणसँगै हावाले नै भारतबाट प्रदूषण ल्याउने भएकाले हामीले सास फेर्ने यहाँको हावा प्रदूषित छ । त्यसैले तुवाँलो लागेको बेला मात्र प्रदूषण भयो भन्नु भन्दा पनि यो बाहेक अरू समयमा पनि हामी प्रदूषित हावामै सास फेरिरहेका छौं ।

प्रदूषणले पार्ने असरलाई दुई भागमा विभाजन गर्नुपर्ने हुन्छ । एउटा छोटो अविधिमा पार्ने असर— जस्तो कि तपाईंले सास फेर्दा (तपाईंलाई स्वस्थ व्यक्ति मान्दा) एकदमै प्रदूषित हावा तपाईंको फोक्सोमा पस्यो भने अकस्मात् आँखा पोल्ने, टाउको दुख्ने या नाकहरू बन्द हुने, हाच्छिउँ आउने, घाँटी चिलाउने, खोकी लाग्ने जस्ता समस्या देखिन्छन् ।

अहिले तुवाँलो लागेको अवस्था भएकाले विषाक्त कणहरू हाम्रो वातावरणमा विद्यमान छन् । यस्ता विषाक्त कणहरू पहिला पनि हाम्रो शरीरलाई हानिकारक हुने तहमै थिए । अहिले त्यसको गुणा धेरै बढेकाले छोटो अवधिमै स्वास्थ्यमा कुनै समस्या नभएका मानिसलाई समेत यस्ता समस्या देखा पर्न सक्छन् ।

अहिलेको अनुपातको प्रदूषणमा स्वस्थ व्यक्तिको शरीरले लामो समयसम्म यस्तै हावा लिइराख्नुपर्ने अवस्था आयो भने दमखोकी, हृदयघात समेत हुनसक्छ । पक्षघात र फोक्सोको क्यान्सर गराउन यस्तो प्रदूषित हावा उत्तिकै जिम्मेवार हुन्छ । कसै कसैलाई बिर्सने रोग ‘डिमेन्सिया’ समेत हुन्छ । मुटुमा रगत संचार गर्ने नसाहरू यस्तो प्रदूषित हावाले साँघुरो बनाइदिने भएकाले युवा र स्वस्थ मानिसलाई हृदयघात भयो भने पनि असामान्य मान्नुहुँदैन ।

केही मानिसलाई यस्ता दीर्घरोग पहिले नै छन् तर औषधि खाएको कारण या स्वस्थ हावामा भएका कारण उसको स्वास्थ्य स्थिर छ भने पनि त्यस्ता मानिस अहिलेको जस्तो प्रदूषित हावाको सम्पर्कमा आए भने अथवा अहिलेको जस्तो वातावरणमा सास फेर्नु पर्‍यो भने उसको विद्यमान रोग थप बढेर जान्छ ।

दमखोकी भएर सामान्य जीवन बाँचिरहेको मानिस यस्तो वातावरणमा टिक्न सक्दैन । उसलाई सास फेर्न गाह्रो भएर निमोनिया जस्तो संक्रमण थपिन सक्छ । पहिले खाइरहेको औषधिले स्वास्थ्यलाई नियन्त्रणमा राख्न सक्दैन र अस्पतालमा भर्ना गरेर औषधि उपचार गर्नुपर्ने तहसम्म पुग्छ ।

निमोनिया थपिएको अवस्थामा त झन् गाह्रो भएर थप जटिलता आउन सक्ने परिस्थिति बन्न सक्छ । जसका कारण आकस्मिक रूपमा नागरिकले धान्न नसक्ने गरी उपचार खर्च बढ्छ ।

हाम्रो देशको सन्दर्भमा यो तुवाँलो हट्दा पनि स्वस्थकर वातावरण छैन । सधैंजसो प्रदूषित वायु भएकाले शहरमा बस्ने अधिकांश मानिसलाई श्वासप्रश्वास सम्बन्धी रोगहरू शुरू भइसकेको छ । त्यसैले सम्पूर्ण उमेर समूहका मानिस जुनसुकै समयमा सचेत हुनुपर्छ ।

सामान्यतः वृद्धवृद्धाको भन्दा युवाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यसैगरी बालबालिकाको पनि प्रौढ मानिसको तुलनामा कमै हुन्छ । यस्ता प्रदूषणबाट वृद्धवृद्धा र बालबालिका स्वाभाविक रूपमा अन्य उमेर समूहभन्दा बढी आक्रान्त हुन्छन् ।

वृद्धवृद्धाहरू जीवनभरि यस्तो प्रदूषित हावामा सास फेरिरहेका छन् भने रोगले पनि च्यापिसकेको हुन्छ । त्यस्तो व्यक्तिलाई यो अवस्था झन् हानिकारक छ ।

नेपालमा कतिपय अवस्थामा प्रदूषणकै कारणले मानिस बिरामी भएको भनेर छुट्याउन सकिंदैन । किनकि, मानिसले धुम्रपान गरिरहेको र प्रदूषित हावा पनि खाइरहेको हुन्छ । कोही धुम्रपान नगर्ने मानिस मास्क नलगाइकन हिंड्दा झन् बढी प्रदूषणले आक्रान्त बनाउन सक्छ । अहिले कोभिडको कारण मास्क लगाउने सन्दर्भ फेरिएको छ । जसका कारण धेरै मानिस कोभिड सँगसँगै विषाक्त धूलो–कणहरूबाट पनि जोगिएका छन् ।

कसरी जोगिने ?

विषाक्त हावाले पार्न सक्ने जोखिम थाहा पाइसकेपछि यसबाट कसरी जोगिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । यो प्रदूषण व्यक्तिगत तहबाट कम गर्न नसकिने भएकाले सकेसम्म काम नपरी घरबाट बाहिर ननिस्कनु उपयुक्त हुन्छ । निस्कनै परे मास्क लगाएर निस्कँदा विषाक्त कण सीधै फोक्सोमा छिर्ने सम्भावना निकै कम हुन्छ ।

केही दिनदेखि बढेको प्रदूषण अहिले घरभित्र समेत छिरेको छ । घरमा बस्दा झ्याल–ढोका बन्द गर्ने हो भने प्रदूषण छिर्दैन । एउटा व्यक्तिले प्रदूषणबाट बच्न गर्न सक्ने काम यिनै हुन् । कतिपय अवस्थामा घरभित्र छिरेको धूलोका कणले पनि मानव स्वास्थ्यमा नकारात्मक असर पार्छन् । त्यसैले घरभित्र बस्दा पनि मास्क लगाउनु उपयुक्त हुन्छ ।

यो बाहेक प्रदूषणका स्रोतहरूलाई नियन्त्रण गर्न राज्यले नीतिगत निर्णय र प्रभावकारी कार्यान्वयन गर्न लाग्नुपर्छ । आमसञ्चारमाध्यमहरूले पनि यस्ता कुराहरूप्रति आम नागरिकको चेतना बढाउन लगातार यो समस्या र यसको गम्भीरतालाई उठाइरहनुपर्छ । त्यसो हुँदा मात्र राज्यले सुन्ने अवस्था आउँछ ।

सवारी चालकलाई मादक पदार्थ सेवन जाँच गर्ने कार्य प्रभावकारी भएको छ । तत्कालै जाँच र कारबाही हुन्छ भनेर मानिसले मादक पदार्थ सेवन गरेर ड्राइभिङ गर्दैनन् । यसले दुर्घटना कम गरेको भन्ने आँकडा सार्वजनिक भएको पनि छ ।

मादक पदार्थ जाँच जस्तै सवारी साधनको प्रदूषण जाँच पनि ग्रीन स्टिकर लगाएको भरमा नभइकन ठाउँको ठाउँ तत्कालै गर्ने र इण्डिकेट गरेको भन्दा बढी धुवाँ फालेको भेटियो भने तत्कालै कारबाही गर्ने हो भने सवारी साधनबाट निस्कने प्रदूषण कम हुन्छ । इँटा भट्टाका चिम्नीबाट आउने धुवाँलाई रोक्ने एकदम प्रभावकारी फिल्टरहरू हुन्छन्, त्यो राख्न अनिवार्य गर्ने हो भने एकदम कालो धुवाँ बाहिर निस्कँदैन ।

प्रदूषण नियन्त्रणमा कतिपय अवस्थामा व्यक्तिको भूमिका हुन्छ भने कतिपय अवस्थामा राज्यको । र, आम मानिसको भूमिका पनि उत्तिकै हुन्छ । बिहानै प्लाष्टिकजन्य फोहोर जलायो भने टोल नै प्रदूषित हुन्छ । खास खास समयमा एउटै फोहोर जलाउँदा असर न्यून गर्न सकिन्छ ।

बिहान फोहोर पोल्नु भन्दा दिउँसो एक–दुई बजे पोल्यो भने त्यसको असर कम हुन्छ । दिउँसो छिटै हावा माथि जान्छ तर बिहान चिसोको कारण हावा तलतलै फैलिएर मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । यो बहुआयामिक समस्या भएकाले त्यस्तै ढंगले नै समाधान गर्न योजना बनाएर लाग्न जरूरी छ ।

वायु प्रदूषण जनस्वास्थ्यको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण समस्या हो । त्यसमा तुवाँलो लागेको बेलामा मात्र जुर्मुराएर हुँदैन । त्यसलाई दीर्घकालीन रूपमा सोच्नुपर्छ । किनकि, तुवाँलो नलाग्दा पनि प्रदूषणले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको थियो ।

सरकारले या आम मानिसले प्रदूषण नियन्त्रण गर्न अपनाउन सक्ने सावधानी पनि नअपनाएका कारण मानव स्वास्थ्यलाई गम्भीर हानि गरिरहेको छ । यसको असर तुरुन्तै नदेखिने भएकाले मानिसहरू चेतेका छैनन्, जब यसको असर देखिन्छ त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ । त्यसबेला यसको असर रोक्न धेरै उपचार गर्न सकिन्न । त्यसैले वायु प्रदूषणलाई रोक्नको लागि नीतिनिर्माण गर्ने र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सबै तहका मानिसले गम्भीर भएर लाग्नुपर्छ ।

(श्वासप्रश्वास रोग विशेषज्ञ डा. कार्कीसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0